यात्रा अस्ट्रेलियाको, कथा कृत्रिम-खोला निर्माणको!

नबहकियोस् र खेत नकाटोस् भनी हाम्रा पुर्खाले भक्तपुर खासांखुसीका दुवै किनारमा बैंस रोपेको पनि ख्याल भयो, जसका कारण  नदी भड्किन पाएको थिएन।

हाम्रो जोडीले २०८१ सालको दशैँ नेपाल र विदेशमा पनि मनाउने निर्णय गरेअनुरूप वैशाखमै त्यो देशको प्रवेश अनुमति लिई महँगो शुल्कमा टिकट काटीवरी ढुक्क बनियो। दशैँको भोलिपल्ट जाने र पुस २८ मा फर्किने योजना बन्यो। सन् २०११, १२, १६ र यो २४ मा गरी यो यात्रा चौथो पटक हुँदै थियो। त्यस देश छोरी, ज्वाइँ र नाति बस्ने देश अस्ट्रेलिया हो।

यो पटकको यात्रा उत्तरको छिमेकी मुलुक चीनको छेङ्दुमा रोकिँदै सिचुवान एयरलाइन्सबाट भयो। तोकिएको समय र मितिमा धुम्मिएको आकाशको घुम्टो छिचोल्दै, मस्त पानी परिरहेको समयमा सिड्नीमा जहाजले सरक्क भुईं छोएर अपराह्नको समयमा हामीलाई ओरालिदियो। कुनै प्राविधिक विषयले होला, त्यहाँबाट निस्केपछि अलिक लामो समय नै सामान लिन कुर्नु परेको थियो र, संयोगले हाम्रै सामान अन्तिममा मात्र आइपुग्यो।

हवाई अड्डाबाट बाहिर निस्कँदा भने सुरक्षा जाँच खासै गरिएन। यद्यपि, बाहिर हामीलाई कुर्न बसेका तीन जनालाई भने भित्र केही अप्ठ्यारो पर्‍यो कि भन्ने चिन्ता परेको रहेछ। यस्तो चिन्ता किन हुन्छ भन्नेबारे कतिलाई थाहा पनि होला। अस्ट्रेलियामा अन्य देशबाट गेडागुडी, सुकुटी, गुन्द्रुक, छुर्पी, बिरुवा, बिउ बिजन आदि लैजान निषेध छ। थाहा नपाएर या जानकारी हुँदाहुँदै पनि कतिपयले अटेर गरेर लगेका हुन्छन्। फारममा 'ल्याएको छैन'मा चिनो लगाएका हुन्छन् र सुरक्षा जाँचका क्रममा अप्ठ्यारोमा पर्छन्। 

अस्ट्रेलियाको केही भूभाग पहिले नै हेरिएको हो। सिड्नीलाई मूल बास मानेर बाहिरको दृश्यावलोकन सन् २०११ मा गोलकोस्ट, २०१२ मा मेलबर्न र राजधानी क्यानबेरा, २०१६ मा दुब्बो तथा २०२४ मा न्यू क्यासल, मेलबर्न, पर्थ तथा तास्मेनियालाई राम्ररी अँगालो मारिएको हो।

पटक–पटक देखेको अस्ट्रेलिया सधैँ वाहवाह लाग्छ किन? व्यवस्थित बस्ती, लमतन्न सिधा चाक्ला सडक, नियमको हुबहु पालना गर्ने जनमानसले नै सायद अस्ट्रेलियालाई यादगार बनाएको हुनसक्छ। यहाँ जनघनत्वको हिसाबले बस्ती विकास गर्न सरकारबाट आह्वान हुन्छ। अमुक घर संख्या तोकेर, रूख जंगल कम कटानी हुने गरी बस्तीको विकास गर्ने आशयसहित विभिन्न निर्माण गर्ने संस्थाले प्रस्ताव पेस गर्छन्।

त्यसमा उपलब्ध हुने सडक, बगैँचा, आवास क्षेत्र, ठूलो क्षेत्रफलको पसल (मल्), पानी, विद्युत्लगायत सबै सुविधा उपयोग गर्न सक्ने गरी उपयुक्त योजना पेस गर्नेको लागतसमेत आकलन गरी कत्रो कत्रो इकाईको एक वा दुई तले आवासको के कति मूल्य उपयुक्त हुन्छ, सोको हिसाबकिताब गरी आम जनताले बैंकको ऋण लिन सक्ने आधारसहित तोकिएको शुल्कमा इकाई किन्न नगरपालिका (त्यहाँ काउन्सिल भनिन्छ) ले आह्वान गर्छ। तद्अनुरूप मानिसहरूले भवन किन्न आवेदन हाल्छन्। यस्ता भवन पाउन कतिपय अवस्थामा धेरैको आवेदन पर्ने हुँदा, पाउँदा चिट्ठा परेझैँ हुने रहेछ।

तब न व्यवस्थित बस्ती हुन्छ। हामी कहाँजस्तो तीन आनामा चारतले, पाँच आनामा दश तलेजस्ता तोकिएको मापदण्डबाहिर रहेर जेमन्त घर बनाउने अभ्यास सम्भवतः विश्वमा अन्यत्र कतै पाइँदैन।

फराकिला सडक, कडा नियम र कामैकाम
अस्ट्रेलियामा लमतन्न परेका सिधा र चाक्लो मोटर चल्ने सडक जति देखिए, ती सबै बनाउँदा नै सायद ५० वर्ष सामान्यतः मर्मत गर्न नपर्ने गरी बनाएझैँ लाग्छ। आवास क्षेत्रका साधारण सडक पनि दुवैतिर पैदल मार्गको दायाँबायाँ हरियो चौरको अतिरिक्त हिँड्नका लागि पनि तीनफुटे ढलान गरिएको छुट्टै स्थान हुने हुँदा धुलो, मैलो, गाडिने, छिटा आउने आदि त समस्या छैन। ठूला राजमार्गको त के कुरा गर्ने?

गुगलले तोकेको स्थान पुग्न तोकिएको गतिमा मोटर चलाउन सकिन्छ र सयौँ किलोमिटर एक दुई मिनेटको अन्तर हुन हुन सक्ला, अन्यथा तोकिएको समयमा ठ्याक्कै पुगिन्छ। यो कसरी हुनसक्छ त? सडकमा कुनै बाधा अवरोध नहोस् भनी दायाँ जाने मोटर बायाँ–बायाँ माथि चढ्दै पुलको माध्यमले वा सडक मुनिको गुम्बजबाट राजमार्ग तरेर अर्को पट्टी जान्छन्, ताकि सिधा जाने आउने मोटर कहीँ कतै रोकिनु/छेकिनु पर्दैन। हुन पनि हो, गुगलमा अस्ट्रेलियाको लामो सिधा सडक मात्र भनिदिँदा यो फोटो हाजिर हुन्छ। आइर हाइवे भनिने ९० माइल (१४६ किलोमिटर) को यस्तो सिधा धागो तानेजस्तो यो सडक हाम्रा लागि अचम्म हैन र? 

एक दिन एक युवकले हामीलाई घुमाउन लग्दै थिए। उनले भने, ‘नियम कडा छ। यो अस्ट्रेलिया हो।’ सवारी चालक अनुमति पत्रको १३ अंक हुन्छ। सवारी चलाउँदा गल्ती भई कट्दै अंक १३ पुग्यो भने तीन वर्षसम्म अनुमति पत्र लिने आवेदन दिनसमेत पाइँदैन। रातो बत्तीको अवहेलना, मोटरको तोकिएको हार मिच्ने, आदि आदि मध्ये कुनै त्रुटि त यस्तो ठुलो हुन्छ, जसमा सात अंक एकैचोटि घट्न सक्छ रे। तब न अनुशासन कायम हुन्छ।

हाम्रो मोटर मेलबर्नका लागि कुद्यो। ६ दिनको दिन वासस्थान फर्केर आइयो। अस्ट्रेलियामा कतिपय सडकमा अमुक स्थानबाट वारपार गर्दा सडक करको रकम स्वतः काटिने बन्दोबस्त छ। सोको बाबजुद, घर आएदेखि फुत्तफुत्त सडक प्रयोगको बिल आउन थाल्यो। बिल नतिरी गुडेको भनेर फटाफट जरिबानासहित थपिँदै आउँदो रहेछ। अर्थात् करिब ७०/८० डलर लाग्नु पर्नेमा ३०० बढी नै तिर्नेगरी बिल आइपुग्यो। यदि ती रकम पनि तोकिएको दिनभित्र भुक्तानी नभए दोब्बर-चौबर हुँदै बढ्दै जाने रहेछ। नियम साँच्चै कडा रहेछ, अस्ट्रेलियामा।

सन् २०१२ मा देखेको मेलबर्न र अहिले मुख्य शहर त बरु धेरै परिवर्तन भएको छैन, दायाँबायाँ, अगाडि पछाडि भने सडक सञ्जाल र बस्ती विकास अगणीतीय छन्। त्यहाँ शहर आदि त घुमियो नै, ग्रेट ओसियन ड्राइभ भने विशेष खालको रह्यो।

काम, काम र कामबिना अस्ट्रेलियामा वा भनौँ कुनै पनि देशमा मानिस बाँच्न सक्दैनन्। पढाई बरु कतिपय अवस्थामा म थोर थोरै पढ्छु, धेरै समय लगाउँछु भन्न पाइयो। तर काम गर्न सकिएन र पाइएन भने त बाँच्ने कसरी? काममा रहेको बेलामा मोबाइलको प्रयोग गर्ने, चुप लागेर बस्ने, आराम गर्ने, अल्याङटल्याङ गर्ने आदि त विकसित देशहरू सबैमा सम्भवै छैन। काम चोर भयो भने त भोलिदेखि नै कामबाट वञ्चित हुने हो।

हामी अढाई महिना बस्दा सिड्नीमा रहेकी एक भान्जीले हामीकहाँ आउन भरमग्दुर कोशिश गर्दा नसकेबाट पनि काम पहिलो प्राथमिकता भन्ने बुझिन्थ्यो नै। उनलाई मिल्दा हामीलाई नमिल्ने, हामीलाई मिल्दा उनलाई नमिल्ने भइरह्यो। उतातिर काममा यति खटिनुपर्ने रहेछ कि, हामीले धेरै युवाका कुरा सुन्यौँ; अलिक बिदा कमाएकाहरूले भने, ‘अब त चार दिन बिदा लिएर पूरै समय सुतेरै बिताउने हो।’ काम कति कडा हुन्छ र कति थाक्छ मान्छे, यो अभिव्यक्तिले पुष्टि गर्छ।

फर्केर काठमाडौँ उपत्यकाको कुरा गरौँ। देशका पढेलेखेका योजनाकारले उपत्यकालाई कंक्रिटको जंगल बनाए। मधेशमा समथर भूभाग छ, काठमाडौँमा कृषि मन्त्रालय राख्छन्, जलस्रोतको धनी देश भनिन्छ, तर उपत्यकामा पानीको व्यवस्थापन सहज छैन। पानी बग्ने कुलो पुरेर नागबेली र साँघुरा सडक बने। तिनमा स–साना बस चलाउने अनुमति दिइयो।

सडकको लम्बाइभन्दा सवारीसाधनको संख्या धेरै भयो। यसो भएपछि सवारीसाधन कमिलाको ताँतीमा, पञ्चमीको पाइलामा गुड्नुपर्छ। भौतिक पूर्वाधारको कुनै आधारशिला नबनाई, केबल थुप्रिएको जनघनत्वलाई आधार बनाएर रातारात गाउँपालिकाबाट नगरपालिका, नगरपालिकाबाट उपमहानगर र महानगरपालिका घोषणा हुने भएपछि हुने यही हो। 

देश देशावर 
सिक्न धेरै तिरबाट सकिन्छ। जीवा लामिछानेको 'देश देशावर'मा धरै देशका कुरा छन्। लामिछाने विश्वका धेरै देश भ्रमण गरिसकेका छन्। किताबमा क्रुज भ्रमणको कथा छ। समुद्रमा अलिक लामो समयको अनुभव गर्ने हेतुले धेरै रात समुद्रमा बग्ने र दिउँसो टापुहरूमा घुम्न दिने गरी ७००० यात्रुहरू बोकेको ‘रोयल क्याराबियन क्रुज’मा तैरिरहँदा एक दिन हैटीको लावादी टापुमा पुग्दा प्रतिपर्यटक १२ का दरले ८४ हजार डलर राजस्व सरकारले उठाएको कुरा सोचनीय छ।

मनोरञ्जनको राजधानी लसभेगासका सम्पूर्ण होटलका कोठामा एक/एक रात बिताउन एक व्यक्तिलाई २८८ वर्ष लाग्छ। अमेरिकाकै ५० मिलियन डलरको लागतमा बनेको हुभर बाँध (सन् १९३१ मा थालनी भई तोकिएको समय- १९३६ भित्र सम्पन्न भएको) हेर्न मान्छेहरू हेलिकप्टरमा जान्छन्। यसको आकार यति ठूलो छ कि सो बाँधमा प्रयोग भएको रोडा ढुंगाले सानफ्रान्सिस्कोदेखि २९०० भन्दा बढी माइल टाढा न्यूयोर्कसम्म आठ हारको सडक बन्न सक्छ भनिन्छ। कति भव्य संरचना? क्यानडाको अन्टोरियो तालको प्रसंग पनि पुस्तकमा छ। नेपालको राराभन्दा सयौँ गुना ठूलो यो ताल १९ हजार वर्ग किलोमिटरमा फैलिएको छ। लामिछाने लेख्छन्: यही ताल हेर्न मात्र पनि अत्यन्त ठुलो संख्यामा पर्यटक आउने रहेछन्।

बियरको खोलो बग्ने म्युनिख अक्टोबर मेलामा लामिछानेले एउटा पर्चा भेटे: वीरेन्द्र बियर!, उनको खोजी शुरू भयो। दुई दिनसम्म मरिमेटेर खोज्दा ‘टुर्बिनेन ब्रुअरी कम्पनी’का संस्थापक आडियान बेबरलाई भेटे। बेबर नयाँ काममा नयाँ नाम खोज्दा रहेछन्। गुगलमा उनले गोर्खा, हिमाल आदि हेरे, ती त चलिसकेका रहेछन्। हेर्दै जाँदा वीरेन्द्र राजालाई नेपालीले श्रद्धापूर्वक हेरेको भेटेछन् र नाम पनि बियरसँग बियरेन्द्र अलिक मिलेको लागेकोले वीरेन्द्र बियर राखेको भन्ने थाहा पाउँदा नेपालसँग जोडिएको र आफ्नो स्वर्गवासी राजाको नाम भएकोमा जीवालाई आनन्द आएछ।

यही बियर पर्यटनमा तीनतारे होटलमा म्युनिखमा प्रतिरात ६५० युरो तिरेको कुरा पनि वर्णन छ। जर्मनीको रेगेन्सबुर्ग शहरनजिक उद्यमी हेरिबेर्ट विर्थले १८० रोपनी जग्गामा ठूलो धनराशि र मूल्यवान् समय खर्चेर ‘नेपाल–हिमालय मण्डप’ बनाएका रहेछन्। त्यहाँ लिच्छविकालीन मन्दिर, मल्लकालीन धारा, राणाकालीन चित्र, पाटी, पौवा, सत्तल, बौद्धस्तुप, काष्ठकला, टुँडालका कामकला, कुमालेको सीप आदि सानो नेपाल नै देख्न पाउँदा एउटा विदेशीको नेपाल प्रेममा जीवा आश्चर्यचकित भएछन्।

सिड्नीबाट मोटरमा दुई घण्टामा पुगिने झन्डै २०० किलोमिटर टाढा न्यू क्यासल गइयो। त्यो विकासोन्मुख शहर रहेछ। झट हेर्दा सिड्नी बढी घना हुन थाल्यो, किन नजिकै अर्को व्यवस्थित शहर नबसाउने भनेर बिस्तार गरिएझैँ लाग्यो। यहाँ पहिले मोटर गुड्ने सडक, रेलको लिक बनाएपछि अब अन्तर्राष्ट्रिय हवाई अड्डा बनाइने भएछ।

यसरी सन्तुलित विकास भए सिड्नीजस्तो महँगो शहरमा मानिस किन बस्छन्? नगिचै अझ स्वच्छ, सफा, सस्तो र सबै सुविधा पुग्छ भने मानिस ओइरिन्छन् नै। अस्ट्रेलियाले जनघनत्व अलि ठूलो हुनासाथ नयाँ स्थानमा विस्तार गर्ने नीति नै लिएको हुनुपर्छ। 

भ्रमणको बीचमै एक हप्ताका लागि हामी पर्थ गयौँ। पर्थ नेपालीका लागि नेपालबाट नजिक हुने रहेछ। सिड्नी पुग्नुभन्दा पाँच घण्टा दश मिनेट कम उडानमा त्यहाँ पुग्न सकिन्छ। जमिनको हिसाबले हेर्दा पर्थ शहर नजिकका जमिन बलौटे नै हुन्। सडक र बस्ती भने अस्ट्रेलियाका सबै उस्तै मापदण्डका हुने रहेछन्।

सिड्नी र मेलबर्नको दाँजोमा यहाँ घर र जमिन सस्तो, रहनसहन सस्तो, हावा पानी थोरै गरम बढी त हो नि भनिँदो रहेछ। पर्थमा हामीले कुनै दिउँसो अक्युरियमको मज्जा लियौँ, नेसनल पार्क घुम्यौँ र साँझमा मुख्य शहर एलिजाबेथ क्वेको २० मिटर अग्लो पुलबाट झिलिमिली पर्थ हेरेर रमायौँ।

स्वान भ्यालीको हिँडाई, चिडियाघरको घुमाई तथा मण्डुरास्थित समुद्रमा क्रुजबाट डल्फिन हेर्दाको मज्जा अनौठो थियो। डल्फिन हेर्न आधा घण्टा अगाडिदेखि कुरेर हारमा अगाडि परेर क्रुजको बाहिरी नोकमा बसेका हामी बेतोडको चिसो हावाले गर्दा भित्रपट्टी भाग्नु पनि परेको थियो। हेन्ले ब्रुक क्षेत्रमा रहेको मानव निर्मित खोल्सा, बिचमा स–साना तालहरूमा हाँसहरू विचरण गरिरहेका, पानीका विविध प्रकारका फुब्बारा (फोहरा) र पानीको झरझर आवाज यति प्राकृतिक लाग्थ्यो कि मानिसले यस्तो कसरी बनाउन सक्छ?

गर्मीको मौसममा अस्ट्रेलियाको शीतल भूभाग भनिने तास्मेनिया नजाने कुरै भएन। पाँच जनाको समूह एक हप्ताका लागि त्यहाँको सदरमुकाम होबर्ट गइयो। त्यहाँ पनि खानपानलाई मध्यनजर गरेर समुद्र किनारको दुईतले सुविधायुक्त घरमा रह्यौँ। त्यहाँ होबार्टको सिटी म्युजियम, ब्रुनी आइल्यान्ड, अत्यन्त तेज हावा चल्ने स्थान कुनान्यी/माउन्ट वेलिङ्टन, ऐतिहासिक स्थल पोर्ट आर्थर, रिचमण्डस्थित पुरानो होबार्ट शहर, अस्ट्रेलियामा मात्र पाइने लोपोन्मुख जनावर ओम्बाट हेर्न डूडू चिडियाघर तथा तास्मानियन डेभिल्स आदिको भ्रमण गरियो।

मुख्य बसाइको केन्द्र सिड्नी त पहिले पनि राम्ररी नै घुमिएको हो। यो पटक पनि दोहोर्‍याउने तेहेर्‍याउने गरियो नै। वरिपरिका सबै मन्दिरहरू चाहरियो। सर्कुलर के, मेनले, डार्लिङ हार्वर, चाइना मैत्री बगैँचा, समुद्र चचट्टानस्थित पुल, कायमा, ओलाङगोङ तथा शहरका विभिन्न स्थानहरूसँगै छोरीको काम गर्ने लिभरपुर अस्पताल तथा नातिको विद्यालयका विभिन्न कार्यक्रमहरूमा समावेश भइयो।

साथी पुष्कर अर्यालले डाल्मेसिया एभेन्यु, सिड्नीबाट ३१ जनवरी, २०२५ का दिन फेसबुकमा कौवा, सारुङ, भँगेरा, बकुल्ला आदिका आवाज नेपालमा पनि र यहाँ पनि एकै हुने तर मानिसको भने जतासुकै फरक भाषा किन भएको होला भन्ने कुरा गरे। कुरो घत लाग्यो।

प्रकृतिको स्वरूप, माटोमा रहेको उत्पादनको गुण, नदीको छलछल, झरनाको झरझर सबै जहाँसुकै एकै हुने तर हामी मानवमा भने विविधता कसी भएको होलाझैँ लाग्यो। मान्छे अन्य जीवभन्दा 'धेरै चेतनशील' भएकाले यसो भन्ने तर्क जीव वैज्ञानिक र मानवशास्त्रीहरूले देलान्। तर मनमा यस्तै कुरा खेले।

खोला बनाउने परियोजना! 
मेलबर्नमा रहँदा एक वरिष्ठ योजनाविद्सँग घुलमिल भइयो। अस्ट्रेलियामा पानीको व्यवस्थापन सतहको वा जमिनमुनिको प्रसंगमा गफ चल्यो। उनको जवाफ थियो: सतहकै पानी ठूल्ठूला दह बनाई भण्डार गरी प्रशोधन गर्दै वितरण गरिन्छ। अस्ट्रेलिया घुम्ने क्रममा यो देश नेपालको तुलनामा सुख्खाझैँ लागेकोले, सतहको पानी मात्र यहाँका मान्छेका लागि पर्याप्त हुँदैन कि भन्ने लागेको थियो। म गलत रहेछु।

‘व्यवस्थित बसोबास, सुविधाजनक सडक, दैनिक उपभोग्य वस्तुको यथोचित बिक्रीप्रणाली आदि कुराहरू हुँदै गर्दा, हामी मेलबोर्न शहरबाहिर उपयुक्त स्थान छनोट गरेर खोला निर्माण गर्ने अभियानमा छौँ,’ ती योजनाविद्ले भने। खोला निर्माण? म त अवाक् भएँ!

कुरोको चुरो पक्रँदै उनले भने, ‘हामी व्यवस्थित बसोबास गराउँछौँ। त्यस्ता दुई/चार सय–दुई चार सय घरको तीन/चार बस्ती बसाउने, जहाँबाट एक तर्फको भूभाग थोरै भिरालो पर्दै गएको हुन्छ। ती घरघर र बस्तीबाट दैनिक उपयोग भएर निस्कने पानीलाई डुँडहरूको माध्यमबाट एउटा यस्तो स्थानमा ल्यायर खुल्ला छोडिदिने, जसले गर्दा त्यहाँबाट तल्लो भेगमा पानी निर्बाध बग्न सकोस्। सो पानी बग्ने क्षेत्रमा दुबैतर्फ पानी सङ्ल्याउने बोटबिरुवा रोपिदिने। सो स्थान परपर परेको पानी पनि बग्छ, घरघरबाट निस्केको पानी सँगसँगै हिँड्छ। एउटा कुनै दूरी पुग्दासम्म त्यो पानी सङ्लिसकेको हुन्छ, केवल प्रशोधन गर्न मात्र बाँकी रहन्छ। यो आजको आजै हुने होइन, तर लक्ष्यसहित अघि बढ्दा नहुने पनि होइन। अहिले थालनी गर्ने हो भने आगामी ५०/७५ वर्षमा एउटा राम्रै नदीको निर्माण हुन्छ।’

आहा! कस्तो दीर्घकालीन र असम्भवलाई सम्भावना रूपान्तरण गर्ने योजना। सो कुरा सुनिरहँदा दसकौँ अघि धुलिखेल सामुदायिक अस्पतालबाट यसैगरी निस्केको थोरै पानीलाई दुवैतर्फ नर्कट घारीको बीचबाट तल्लो भेगमा पठाउँदा बिस्तारै पानी सङ्लिन्छ भनिएको कुरा मानसपटलमा आइरहेको थियो। त्यस्तै नदी नबहकियोस् र खेत नकाटोस् भनी हाम्रा पुर्खाले भक्तपुर खासाङ्खुसीका दुवै किनारमा बैँसका रूखहरू रोपेको पनि ख्याल भयो, जसका कारण  नदी भड्कन पाएको थिएन। काठमाडौँका अन्य नदीमा सो प्रविधि रूपान्तरण गर्नु साटो, आजकाल देख्दैछु–ती रूखहरू बिस्तारै मासिँदै छन् र नदी उत्ताउलो बन्दैछ। 

यसो गरौँ हामी
अनेकन् जैविक विविधता भएको हाम्रोजस्तो देश पर्यापर्यटनको क्षेत्रमा अब्बल केन्द्र बन्न सक्छ। जैविक कृषिप्रणाली अपनाएर नेपालले ठूलो व्यापारसमेत गर्न सक्छ। प्रविधिको उपयोग गरी नगदमा लेनदेन नगर्दा भ्रष्टाचार घट्दै जान्छ। नेपालमा पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, गोर्खालगायत सयौँ स्थान छन्, जहाँ धेरै भारतीय श्रद्धालु र पर्यटक आउन चाहन्छन्। केवल इच्छा शक्ति हुनुपर्‍यो, नेपालले आफैँलाई चिन्नु पर्‍यो र तद्अनुरूप गर्न तयार हुन भने जरुरी छ। 

पत्रपत्रिकामा विद्युत् प्राधिकरणले विद्युत् मागको उतार चढाव थेग्न, रुकुम स्यार्पुतालमा ३३२ मेगावाटको पम्प स्टोरेज तथा हुग्दी र मेवा खोलामा करिब ४५ र १०३ मिटर अग्लो बाँध बनाई जलाशय निर्माण गरिनेबारे पढियो। प्रकृतिमा एकदम कम क्षतिमा जलाशय बन्न सम्भव छ भने योजना हावामा नउडोस्। एउटा सानो क्षेत्रफलको इन्द्रसरोवरले पनि हिउँदमा पानी कम हुँदा विद्युत् उत्पादनमा भरथेग गरेको छ भने माथि भनिएका जस्ता ठूलो भूभागमा गतिलो सरोवर बनाइ विद्युत् उत्पादन गरी छिमेकतिर बिक्री गर्न सके देशलाई पक्कै लाभ हुन्छ। 

हाम्रा बौद्ध तीर्थस्थलको यथोचित गर्न सके भारतको महाकुम्भमा हिन्दूहरू गएझैँ यता बौद्धमार्गीहरू आउलान्। सगरमाथाको गरिमा व्यापक गर्न मात्र सके पनि यसले हिमालप्रेमी पर्यटक ह्वात्तै बढाउनेछ। हिम खेलकुद, हिमाल चढाउने साहसिक कला वा विभिन्न सरोवर वरिपरि नेपाली घर, संस्कृति, रहनसहन, नाचगान, खान पानको माध्यमबाट नेपाल चिनाउन सकिन्छ। खप्तड, रसुवा, मुस्ताङ, मनाङ आदिमा पर्यावरण अवलोकनको व्यवस्थित यात्रा गराउने व्यवस्था सजिलै गर्न सकिन्छ। गरे कति छ कति!