“हाम्रो जन्म सँगसँगै हो, २०१८ सालमा यता ‘रचना’ जन्मियो, त्यही साल उता असममा ‘बिन्दु’ सुरु भयो। अझै हामी दुवै घिटिक–घिटिक बाँचिरहेका छौँ।”
सही तिथीमिति गनेर भन्ने हो भने खड्गबहादुर पौडेल क्षेत्री (केबी नेपाली) अहिले उमेरले ८७ लागे। भारत, असम राज्यको सीमान्तकृत बिन्दु लामडिंगमा बसेर ६५ वर्षयता नेपाली भाषा–साहित्यको उन्नयनमा लागिरहेका यी पात्र एकाएक काठमाडौँमा भेटिए, जसलाई अर्का पाका साहित्यिक पत्रकार रोचक घिमिरेले चिनापर्ची गराइरहेका थिए।
“हाम्रो जन्म सँगसँगै हो, २०१८ सालमा यता ‘रचना’ जन्मियो, त्यही साल उता ‘बिन्दु’ पनि सुरु भयो”, पत्रिका रचनाका सम्पादक पत्रकार घिमिरेले सुनाए, “अझै हामी दुवै घिटिक–घिटिक बाँचिरहेका छौँ।” गणना हिसाबमा द्वैमासिक ‘रचना’को हालै १९३ अंक निस्किएको छ भने ‘बिन्दु’ १४८ अंक पुगेको छ।
न बिक्री हुन्छ, न बजार छ। सित्तैमा पाएमा पढेजस्तो गर्ने केही पाठक भए पनि हुलाकबाट पत्रिका पठाइने एउटै उपाय पनि अब बन्द भैजालाकि जस्तो छ। “केही साल अघिसम्म नेपालमा पनि हुलाकबाटै पत्रिका पठाइदिन्थेँ, तर अहिले पत्रपत्रिका पार्सल बन्द भएको छ। पत्राचार भए पनि बांलादेश, भुटान र नेपालका लागि पोस्टल शुल्क (फरेन–चार्ज) निकै चर्को छ, पत्रिकाको दामभन्दा बढी”, बागबजार भित्रको एउटा प्रकाशन गृहमा भेटिएका नेपालीले सुनाए।
कुनै बेला २ हजार प्रति छापिने ‘बिन्दु’ अहिले ५ सय प्रतिमा झरेको छ। त्यही पनि दार्जिलिङ, सिक्किम, गुवाहटी, डुवर्स, डिग्बोइतिर हुलाकबाट पत्रिका जान्छ थोरतिनो। लामडिंगमा झन्डै ३ हजार नेपाली भाषी भए पनि त्यहाँ ‘बिन्दु’ बिक्री शून्य प्राय छ। “नेपाली भाषी भए पनि यस्ता साहित्यिक पत्रपत्रिका पढ्ने, बुझ्न खोज्ने वा भानुभक्त–देवकोटाको खोजीनिती गर्ने निकै कम छन्”,नेपाली उताको बयान गर्दै थिए, “म पनि अहिले हुलाक वा चिठी पत्रभन्दा बढी इमेल (जीमेल) मा जोडिएको छु।”
केबी नेपाली आफ्ना सुरुवाती दिनमा खड्गबहादुर ‘अभागा’ टाइटलमा लेख रचना लेख्थे। अलिक बितरागी अर्थमा। त्यो बेला लेखक हरि ‘गोर्खा’ राई, अच्छा राई ‘रसिक’ आदि नामहरू पनि टाइटलका भरमा चिनिन्थे, त्यही भएर केबीले ‘अभागा’ राखेका थिए। पछि गएर नेपाली अस्तित्व र पहिचानका कारण उनी केबी नेपाली बने। त्यसमा पनि काठमाडौँमा बालकृष्ण सम, लेखनाथ पौड्यालजस्ता लेखकसँग पत्राचारबाट बनेको सम्बन्ध र एक पटक काठमाडौँमा भएको भेटघाटले केबी ‘अभागा’को नयाँ न्वारान भएको रहेछ। ‘तपाई नेपाली मान्छे, हिन्दी भाषामा लेखिरहँदा तपाईँको पहिचान गुम्ने डर हुन्छ। यही कारण लेखन–प्रकाशन नेपालीमै गर्नुहोस्’ भनेर सुझावसहितको समको पत्र आएपछि उनी नाम–पहिचानमा फेरिएका रहेछन्—केबी नेपाली बनेर।
विशेषतः उपन्यास तथा कविता, कथा, गीत लेखनमा आफ्नो जीवन बिताएका केबी कतै केही उपलब्धि भइजाला भनेर होइन कि नेपाली भाषाको इज्जत र पहिचानका लागि लागेका रहेछन्। उनका ‘मेरो घर मेरो संसार’, ‘समर्पण’, ‘तस्बिर एक रातको’, ‘हत्याकारी’(असमिया) आदि उपन्यास प्रकाशित छन्। नागाल्यान्ड, कोहिमाबाट प्रकाशित हुने रमिता साप्ताहिकको संयुक्त सम्पादक रहिसकेका उनका कृतिहरू उडिया, असमिया, बंगला, हिन्दी भाषामा अनूदित भैसकेका छन्।
“हामी यता हेरिकन उता अँध्यारो जगतमा छौँ। जुनकिरी आफ्नो उज्यालो देखेर आफै रमाएझैँ हामी पनि आफैमा दंग परेर बसेका छौँ”,केबीले सुनाए, “कहिलेकाहीँ बाहिरी जगतको उज्यालो हेर्न निस्कन्छौँ, फेरि आफ्नै गुफामा छिरिहाल्छौँ।” उनका अनुसार नेपालमा कमलबाबु (साहित्यकार कमलमणि दीक्षित) होउन्जेल निकै संगत थियो, जोगाजोग हुन्थ्यो पनि। यताका पत्रिका उता जान्थे, उताको ‘बिन्दु’ मदन पुरस्कार पुस्तकालयसम्म आउँथ्यो। तर, अहिले आएर केबीका निम्ति नेपाल भन्नासाथै पशुपतिनाथको दर्शनमात्रै भएजस्तो भान पर्न थालेको रहेछ। निकै दूरदराजको सम्पर्क–सम्बन्ध !
⁎⁎⁎
असम, डिग्बोइमा जन्मे–हुर्केका खड्गबहादुर पौडेल क्षेत्रीको प्राथमिक तहका नेपाली शिक्षक थिए—जशु सुब्बा। उनी विद्यालयमा पढाउनेभन्दा बढी नेपालबाट गएका र आफूले थाहा पाएका भाषा–साहित्यका कुरा गर्ने गर्थे। एक पटक जशुले कक्षामा महाकवि देवकोटाको ‘मुनामदन’को पाठ सस्वर सुनाउँदै त्यसको कथा बनाएर थव व्याख्या बुझाएका थिए। त्यही कथा र मुना–मदनको सदृश्य बयानबाट प्रेरित भएर खड्गबहादुर भावनामा डुब्ने कवि–लेखक बनेका रहेछन्। त्यही प्रेरणाबाट उनले सन् १९६० मा पहिलो खण्डकाव्य ‘नवअश्रु’ लेखेका रहेछन्— बेहुली बिदाइको आँसु–कथा।
केबीसँग डिग्बोइका अर्का प्रतिभा हरिभक्त कटुवालसँग निकटको सम्बन्ध थियो। डिग्बोइमै एक पटक केबीले कवि कटुवालसँगको सहकार्यमा ‘साहित्यिक चक्र’ अन्तर्संवाद पनि चलाएका थिए, तर त्यो लामो चलेन। सन् ६० को दशकमा केबीले ‘बिन्दु’ सुरु गर्दा हरिभक्तले ‘कोपिला’ साहित्यिक पत्रिका थालेका थिए। डिग्बोइ छँदै केबीले हरिभक्त र रुद्रबहादुर गाइनेसँग मिलेर नेपाली भाषामा नाटक लेख्ने र मञ्चन समेत गर्थे। कतिपयमा त हरिभक्त कटुवालले अभिनय समेत गरेका रहेछन्।

खासमा अंग्रेज शासनको दबदबाबाट भर्खर निस्किएको भारतका दार्जिलिङ, डुवर्स वा असम (गुवाहटी) आदिमा नेपाली भाषीको पकड र प्रभाव बढे पनि केबी, हरिभक्तहरू बस्ने डिग्बोइ वा लामडिंग धेरै कारणले पछौटेझैं थिए। तर, पुस्तौंदेखि भारतमा जरो गाडेर बसेका नेपालीभाषीलाई कहिले उठीबास लगाउने र नामेट गर्न खोज्ने संस्कारविरुद्ध लेखेर, अभिनय गरेर वा बोलेर लडिरहेका हुन्थे केबी, हरिभक्तहरू। “बिशेषगरी असम राज्यमा नेपालीभाषीलाई उठीबास लगाउने तहको अन्याय भएपछि मैँले एक काव्य ‘प्लेटफार्म’ (१९८४) लेखेको थिएँ। नेपाली भाषी लखेटिएको कथा र उग्रबादी (उल्फा समूह) को दबदबाबारे लेखिएको त्यो कृतिले मलाई निकै चिनायो। दार्जिलिङबाट लेखक आइबी राई समेतले यो कृति हिन्दी र असमिया भाषामा समेत अनुवाद हुनुपर्छ भनेपछि हिन्दीमा समेत निकालेको थिएँ”,आफ्नो विगत सम्झँदै केबी भन्छन्। कालीदास-काव्य ‘मेघदूत’को नेपाली अनुवादका निम्ति केबीले साहित्य अकादमी पुरस्कार (२०१०) पाएका छन्।
⁎⁎⁎
साहित्यिक पत्रकार रोचक घिमिरेका अनुसार, भारतमा नेपाली भाषा–साहित्यको प्रभाव र पकड बँचाएर राख्न केबी नेपाली तथा उनको ‘बिन्दु’ धेरै स्मरणीय माध्यम हो। विगतमा बनारसबाट प्रकाशित हुने ‘उदय’ (सम्पादक/प्रकाशक: दुर्गाप्रसाद श्रेष्ठ)ले नेपाल–भारत नेपाली भाषीको सम्बन्ध–सम्पर्क जोडेर राखेझैं पूर्वोत्तर भारतको एक मात्र साहित्यिक प्रकाशन ‘बिन्दु’ले अझ विशिष्ट योगदान पुर्याएको छ। (संवत् १९९३ माघबाट निस्कन थालेको ‘उदय’ साहित्यिक पत्रिकाको १८३ अंक निस्कियो, गत वैशाखमा विश्राम–अंक निकालेर यो पत्रिका प्रकाशन बन्द भइसकेको छ।)
एक साहित्यिक उत्सवको निम्ता पाएपछि दार्जिलिङका डा. जीवन नाम्दुङ, सिक्किमकी डा. शान्ति क्षेत्री र असम–तेजपुरका पूर्णकुमार शर्माका साथ लागेर काठमाडौँ उत्रिएका केबी नेपाली ‘नेपाललाई पितृभूमी र भारतलाई मातृभूमि’ भन्न रुचाउँछन्। केबी जेजसरी हुन्छ, आफ्नो भुईँलाई बिर्सन चाहन्नन्। उनले सम्झेको त्यो भुईँ माटो भनेको नेपाल हो, नेपाली जाती र नेपाली भाषा हो।
“अरूभन्दा पनि अचम्म लाग्ने कुरा भनेको हामी नेपाली जातिकै लाग्छ मलाई”, कुराकानीको बिट मार्दै केबीले सुनाए, “हामी नेपाली भनेका आलुझैँ रहेछौँ। उता नागासँग पनि मिलेका छौँ, यता असमिया त हामीझैं भइहाले। भारतका सबैजसो राज्यमा हामी छौँ नै, आज बाहिरी विश्वमा पनि नेपाली नपुगेको कतैकहीं बाँकी छैन होला। हाम्रै मिजास, स्वभाव, व्यवहार र मतिका कारणले होला, हामीलाई लामडिंगमा कतिपयले ‘तिमारु आलु होइनौ, महाआलु’ भन्न थालेका छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
