बाह्रै महिना, सातै बार अप्रिल फुलैफुल!

ढाँट्नेहरूले ढाँट्दा आफूलाई फाइदा हुन्छ भन्ने आश गरेर ढाँट्छन् भनिन्छ। तर, यसरी ढाँट्दा नेपाली सेनालाई फाइदा हुने कहीँ कतै देखिँदैन्। त्यसैले उसले ‘किन ढाँटेको हो’ भन्ने कुरा बुझ्न सकिएको छैन।

यो लेख अप्रिल फुल मनाउन लेखिएको होइन। यहाँ लेखिएका सबै कुरा तथ्यमा आधारित छन्। जुन देशमा राष्ट्रपतिले अप्रिल फुल बाहेककै दिनमा औपचारिक समारोहमा ढाँट्छन्, जुन देशको सेनाको जंगी अड्डाले झुटा कुरा लेखी आफ्ना पुर्खाको मानमर्दन गर्छ, जुन देशको पाठ्यक्रम विकास केन्द्रले स्कुलको पाठ्यपुस्तकमा नभएका कुरालाई इतिहास भनी छाप्छ र स्कुलले त्यही झुटा कुरा पढाउँछन् अनि इतिहासकारहरूले झुटा कुरा लेख्छन्, त्यस देशमा ३६५ दिन नै अप्रिल फुल हुँदैन त?

२०८० साल पुस २० गते राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाद्वारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै भने, "म यतिबेला यो क्षणमा नेपाल-अंग्रेज युद्धका क्रममा वीरगति प्राप्त गर्नुहुने ती सपूतहरू लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सुर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हबलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, थरघर नकुल बानियाँ, दल खम्ब थापा, काजी वीरभञ्जन पाँडे, शमशेर राना मगर र जुठे बस्नेतप्रति श्रद्धा व्यक्त गर्दछु।" यो भाषण राष्ट्रपतिको कार्यालयको वेबसाइटमा राखिएको छ।

राष्ट्रपतिले नेपाल-अंग्रेज युद्धमा मारिएका सबै सपुतहरूप्रति श्रद्धा व्यक्त गरेका छैनन्। बुटवलको जितगढी किल्लाको प्रसंगमा आयोजित समारोहमा बोलेकाले उनले त्यही गढीमा वीरगति प्राप्त गर्नेहरूको नाम लिएको हुनुपर्छ। उनले वीरगति पाएका भनी लिएका नाममा काजी वीरभञ्जन पाँडे पनि एक हुन्।

बुटवलको जितगढी किल्लामा नेपाल र अंग्रेजबीच दुईवटा लडाइँ भए। अन्तिम लडाइँ १८७२ वैशाख ७ गते भएको थियो। वीरभञ्जन पाँडे त्यो लडाइँ भएको मितिभन्दा पछिसम्म जीवितै थिए। नपत्याए सार्वजनिक नभएका परराष्ट्रका पत्रको चाङमा रहेको १ सि. ४३७, पाना ४१ पल्टाए हुन्छ। क्याटलगजस्तो देखिने डकुमेन्ट हो त्यो। त्यसको १९२ नम्बरमा लेखिएको छ- अंग्रेजले कुमाउँ सर गर्‍याको खबर दिँदै १८७२ साल जेठ वदि ५ (१८७२ साल जेठ १७ गते) रोज १ मा लाफु चलिचलाउबाट काजी वीरभंजन पाँडेले भीमसेनलाई लेखेको पत्र। अनि १९५ नम्बरमा चाहिँ लेखिएको छ- नेपाली सेना कुमाउ छोडी डोटी आइ बस्याको खबर दिँदै १८७२ साल जेठ वदि १० (जेठ २२ गते) रोज ६ मा कट्टीबाट वीरभञ्जन पाँडेले राजालाई लेखेको अर्जी।

परराष्ट्रकै अर्को पोका १ सि. ४४१, पोका नं ८, पत्रसंख्या १३ मा 'भानिज कर्णेल' उजीरसिंह थापालाई वीरभञ्जन पाँडेले जयद्रथ अधिकारी र बाला सिंहसँग मिलेर जेठ सुदि ३ (जेठ ३० गते) रोज ७ मा लेखेको पत्र छ। अनि यसैको पत्रसंख्या १४ मा चाहिँ वीरभञ्जन पाँडेले जयद्रथ अधिकारीसँग मिलेर मुकाम लाफू चलिचलाउबाट जेष्ठवदि ५ रोज १ (जेठ १७ गते ) मा राजालाई पठाएको अर्जी छ। अर्थात् वीरभञ्जन पाँडे बुटवलको लडाइँ भएभन्दा पछिसम्म जीवित थिए।

'जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्त्वपूर्ण स्थल हो। आधुनिक हतियारमा आएका अंग्रेज फौजलाई कर्नेल उजिरसिंह थापाको नेतृत्वको नेपाली फौजले पराजित गरेपछि बुटवलगढीको नाम जितगढी रहेको भन्ने मैले सुनेको थिएँ,' राष्ट्रपतिले सोही समारोहमा भनेका थिए। राष्ट्रपतिले यो कुरा सुनेको होइन भन्न मिल्दैन। के मात्र भन्न मिल्छ भने यो हल्ला हो र हल्ला कसैले पनि फैलाउन हुँदैन।

प्रमाण के छ?
बुटवलको लडाइँ लड्न आएको अंग्रेज सेनाका कमान्डर मेजर जेनरल जोन सलिभन उडले पहिलो लडाइँ हुने बित्तिकै लेखेको पत्रमा त्यस ठाउँलाई जितगढ भनेका छन्। उनलाई यो कुरा पाल्पाली ब्राह्यमण कनकनिधि तिवारीले बताएका थिए। त्यसको अर्थ हो, यस किल्लालाई पहिले पनि जितगढ भनिन्थ्यो। नपत्याए उनको चिठी भएको र सन् १८२४ मै छापिएको 'पेपर्स रेस्पेक्टिङ द नेपाल वार'को पेज ५२४ मा हेर्दा हुन्छ।  

ढाँट्ने मामलामा नेपाली सेना झन् के कम! नेपाली सेना, जंगी अड्डाले २०७७ साल फागुनमा प्रकाशित गरेको 'नेपालका ऐतिहासिक गढी किल्ला तथा युद्धस्थलहरूको परिचय' पल्टाउँ। त्यसको पेज ९१–९२ मा लेखिएको छ- "प्रसादसिंह बस्नेत र सरदार बखतसिंह बस्नेत, बज्रबाणी भैरव र वीर दल पल्टन लिई बारागढी हान्न गएका थिए। अन्य कप्तानहरूमा वीरकेशर पाँडे र लप्टन पृथी हमाल थिए।"

सत्य कुरा के हो भने बारागढी नेपाली सेनाले हानेकै थिएन। यो अंग्रेजकै कब्जामा थियो। नपत्याए मैले माथि नाम लिएको किताब 'पेपर्स रेस्पेक्टिङ द नेपाल वार'को पेज ५१३ देखि १४ मा छापिएको अंग्रेजका फिल्ड कमान्डरले आफ्नो हेडक्वार्टरलाई पठाएको पत्र हेरे हुन्छ। नेपाली सेनाका पुर्खा प्राण शाह, रणवीरसिंह र दलभञ्जन पाँडेले पर्सा र समनपुरको लडाइँ भएको तेस्रो दिनमा रतनपुरबाट राजा, भीमसेन थापा र रणध्वज थापालाई दुईवटा पत्र (राष्ट्रिय अभिलेखालय, पोका ३, पत्रसंख्या ३२६ र परराष्ट्रका सार्वजनिक नभएका कागजपत्र, १ सि. ४४१, पाना ८, पत्र संख्या १८) पठाएका थिए। यसमा उनीहरूले लेखेका छन्, बारालाई चाहिँ अहिले नछुने निधो भयो।

लडाइँ गर्न पठाउने कमान्डरले लडाइँ हुने बित्तिकै लेखेको पत्रमा बारामा हमला नगर्ने निधो भएको थियो भन्छन् तर लडाइँ भएको धेरै वर्षपछि नेपाली सैनिकले इतिहास लेख्दा बारामा पनि हमला भयो भन्छ। पर्सा गढीको लडाइँबारे त्यस किताबको पेज ९६ मा भनिएको छ– रंजित चौधरीले ठूलो संख्यामा भैँसी तथा राँगाहरूको सिङमा मसाल बाँधी...छाड्दा गोर्खाली फौज ठूलो संख्यामा रहेको भान अंग्रेजमाझ परी दुस्मन फौजलाई त्यहाँबाट भगाएको भन्ने कथन रहेको छ।

अनि समनपुरको लडाइँबारे त्यस किताबको पेज ७५ मा लेखिएको छ- स्थानीय बासिन्दाहरूले ठूलठूला भैँसी, राँगाहरूका दुवै सिङमा मसाल बाली चारैतिरबाट आक्रमण गराइदिए। र राँगाहरूभन्दा पछाडि स्थानीय व्यक्तिहरूले घरेलु हतियार लिई आक्रमण गरेका थिए। स्थानीयहरूका अनुसार नेपाली सेना त्यस स्थानमा चार दिनपछि मात्र पुगेका थिए।

यो हल्लाबारेमा जंगी अड्डाका यसअघिको प्रकाशनमा पनि लेखिएको थियो तर त्यसमा यो कुरा सही होइन भनेर स्पष्ट रूपमा लेखिएको थियो। यहाँ भने त्यस कुरालाई छुटाएर यही हल्लालाई सही बनाएर लेखिएको छ। यसमा दुई वटा प्रवृत्ति देखिन्छ। पहिलो, बस्तुभाउ तथा अरिंगाल आदि बिच्क्याएर लडाइँ जितको कथा अघि क्याप्टेन किनलोकसँगको सिन्धुलीगढीको लडाइँका बेला हालिएको थियो। समनपुर र पर्सामा तिनै कथा दोहोर्‍याइएका हुन्।  

दोस्रो, नेपाली सेना त्यहाँ चार दिनपछि मात्र पुगेका थिए भनी त्यस लडाइँमा वीरतापूर्वक लडेका र ज्यान दिएका आफ्ना पुर्खाको मानमर्दन गरिएको छ। यी दुई ठाउँका लडाइँमा नेपाली सैनिकले लडेको विवरण दिइएका केही दस्ताबेज छन्। दिनेशराज पन्तले सम्पादन गरेको 'गोरखाली विजययात्रा'को पेज ५८ मा लेखिएको छ- समनपुरमा नेपालीतर्फ बलवंत रैका, बलभद्र राउत, अमल्दार जीवन सवाससमेत २०/२५ जना ढले, ४०/५० जना घाइते भए।

परराष्ट्र मन्त्रालयका सार्वजनिक नभएका कागजपत्रका खातको पोको नम्बर १ सी. ३८६, ०/१ मा 'गढ हान्न जान्याहरूको विस्तार' लेखिएको एउटा पुरानो कागज छ। त्यसका अनुसार पर्सागढीमा हमला गर्न जाँदा ४४ जना नेपाली सैनिकको ज्यान गएको थियो। धेरै जना घाइते भएका थिए। त्यस दस्ताबेजमा ती दुई ठाउँमा ज्यान गुमाउने र घाइते हुनेहरूबारे साँच्चै नै विस्तारमा उल्लेख छ।

ढाँट्नेहरूले ढाँट्दा आफूलाई फाइदा हुन्छ भन्ने आश गरेर ढाँट्छन् भनिन्छ। तर यसरी ढाँट्दा नेपाली सेनालाई फाइदा हुने कहीँ कतै देखिँदैन। त्यसैले उसले किन ढाँटेको हो भन्ने कुरा बुझ्न सकिएको छैन।

त्यस किताबका सम्पादकमा ती विद्वानहरूको पनि नाम छ जसले सम्पादन गरेको प्रकाशनलाई आँखा चिम्लेर पत्याए हुन्छ। अनौठो लागेर एकजना सम्पादकलाई सोध्दा उहाँले भन्नुभयो- "यो कुरा हामीले पनि छापिएपछि मात्र देखेका हौँ।"

रक्षा मन्त्रालय आफू मातहतको नेपाली सेनामार्फत यसरी आफ्ना आदर्श पुर्खामाथि धावा बोल्दै छ, उनीहरूको निधारमा कलंक लगाइदिँदै छ। अनि, शिक्षा मन्त्रालयचाहिँ पाठ्यक्रम विकास केन्द्रमार्फत अशिक्षा फैलाउँदै छ, कलिला विद्यार्थीको दिमागमा मनगढन्ते कुरालाई इतिहास भनेर थोपर्दैछ। (गलत लाग्छ मलाई मेरो देशको इतिहास/भूपी शेरचन)

पाठ्यक्रम विकास केन्द्रले तयार गरेको सामाजिक अध्ययन, कक्षा- ९ एउटा उदाहरण हो। नपत्याए त्यस किताबका दुईवटा पाठ: नेपाल अंग्रेज युद्धः कारण र प्रभाव (पेज १८१-१८३) र नेपाल अंग्रेज युद्धमा वीरवीरंगनाको योगदान (पेज १८४-१८७)हेरौँ। त्यसमा भनिएको छ: मार्क्युस अफ ह्यास्टिङ्सले नेपालविरुद्ध युद्ध घोषणा गरे।

खासमा यो पहिलेका इतिहासकारले चलाएको हल्लाको रिसाइकल हो। जुन कागजलाई युद्धको घोषणा भनिएको छ त्यो घोषणा नभइ युद्ध गर्नु आवश्यक थियो भनी उनले आफ्ना मित्रशक्ति र हाकिमलाई विश्वस्त बनाउन लेखेको कागज हो।

नेपाल-अंग्रेज युद्धको शुरूआत नोभेम्बर १ (कात्तिक १८ गते) मा भएको हो भनी त्यसमा उल्लेख छ। यो पनि गलत हो किनभने अक्टोबर २४ (कात्तिक १० गते) मै कर्णेल मबीले नालापानीमा हमला गरिसकेका थिए। नराम्रो हार खाएर आफ्ना केही सैनिक गुमाइसकेका थिए।

नपत्याए नालापानीबाट १८७१ कात्तिक वदि ६ रोज ५ मा वलभद्र कवर, रिपुमर्दन थापा, गजसिं था, दलजित कवर र दयाराम खड्काले राजालाई पठाएको अर्जी हेरौँ (यो अर्जी भेटाउने संकेत होः सार्वजनिक नभएका परराष्ट्रका कागज, १ सी. ४४६, पाना १२ को दोस्रो पत्र )। जसमाथि हमला भयो उसले हमला हुने बित्तिकै लेखेको चिठीमा कात्तिक १० गते पहिलो पटक हमला गर्‍यो भनेका छन्। त्यसको २०० वर्षभन्दा पछि प्रमाण नहेरी लेख्नेले कात्तिक १८ गते भन्छ। यस्तो लेखिएको पाठ्यपुस्तक सरकार छाप्छ अनि आफ्नो देशको भविष्यलाई ढाँट्छ।   

त्यस किताबमा लेखिएको छ: 'वि.सं. १८७२ फागुन २० (३ मार्च १८१६) मा शान्ति र मित्रता सन्धि भयो।'

यो सन्धि १८१५ डिसेम्बर २ मा भएको थियो। यसको प्रमाण योगी नरहरिनाथले सम्पादन गरेको 'इतिहास प्रकाशमा सन्धिपत्रसंग्रह' को भाग १ को पेज ८१ र ८७ मा छ।  

त्यस किताबमा नालापानीमा एउटा तोप थियो भनी लेखिएको छ। त्यस लडाइँमा बलभद्र कुँवरसँगै लडेका अर्का कप्तान रिपुमर्दन थापाले जनरल भीमसेन थापा र रणध्वज थापालाई झन्डै एक मिटर लामो चिठी (राष्ट्रिय अभिलेखालय, डिएनए २/१५) लेखेर नालापानीको लडाइँको बयान गरेका छन्। त्यसमा उनले लेखेअनुसार नालापानीमा ८ तोप थिए। त्यसमध्ये एउटा तोप फुटेको थियो। तीनवटा तोप पर्खाल भत्किदा किल्लाबाहिर किल्ला परेका थिए।

बलभद्र कुँवरले बहादुरीका साथ किल्ला छाडे भनी उनको प्रशंशा गरिएको छ किताबमा। यो काम प्रशंसनीय हो भने यसको जस तल्लो दर्जाका सिपाहीलाई दिनुपर्छ किनभने यो निर्णय तिनले गरेका थिए। माथि भनिएको चिठीमा रिपुमर्दनले लेखका छन्: जुनघरि हेला गरी मिचन आवला तरवार गरि मरौंला भनी बसिरह्या थिउँ। जमादार, हुद्दा, सिपाहीले… तिमी २ ले मरी क्या हुन्छ, हींड भनि हातमा समाति कपतानलाई र मलाई घिसारी दुनतर्फ निकाल्या। 

यसरी निस्किँदा अंग्रेज फौजले केही गर्न सकेन भनी किताबमा लेखिएको छ तर त्यसरी निस्किने मध्येका एकजना सरदार रिपुमर्दन थापाले भनेका छन्– अंग्रेजले पनि सोहरा लगायो। हामीले पनि सोहरा लगायौँ। त्यस किताबले भन्छ: देउथलमा अंग्रेज सेनाको नेतृत्व सेनापति गार्डनरले गरेका थिए।

नेपाल र अंग्रेजबीच भएको त्यो युद्धमा दुईजना गार्डनर सामेल थिए: एक जना सैनिक र अर्को जना गैरसैनिक। ती दुवै कुमाउँमा खटिएका थिए। देउथलमा कोही गार्डनर थिएनन्।

किताबमा लेखिएको छ: युद्ध शुरू हुनुअघि जिलेस्पीले बलभद्रलाई आत्मसमर्पण गर भनेका थिए। तर बलभद्रले दूतकै अगाडि चिठी च्यातेर जवाफ यही हो भनेका थिए।

नालापानीमा युद्ध शुरू भएको भोलिपल्टसम्म जिलेस्पी नालापानीभन्दा धेरै टाढा थिए। यो कुरा 'पेपर्स रेस्पेक्टिङ द नेपाल वार'को पेज ४३५ र ४३६ मा पढ्दा स्पष्ट हुन्छ। त्यसैले उनले चिठी लेख्ने कुरै भएन।

यो कथा सबैभन्दा पहिले लेखक तथा कलाकार जेम्स बेइली फ्रेजरले सन् १८२० मा छापिएको आफ्नो किताब 'द हिमालय माउन्टेन्स' को पेज १४ मा लेखेका थिए। जेम्स आफू सैनिक थिएनन्। उनी नालापानी गएका थिएनन्। यो कथा उनले नालापानीभन्दा टाढा बसेर सुनेका थिए। अंग्रेज सैनिक बलभद्रलाई असामान्य मान्छे ठान्थे। यस्ता मानिसका बारेमा लडाइँ लडिरहेका सैनिकले बढाइचढाइ गरेर कथा हाल्नु अनौठो होइन। सैन्य, दरबारको सेवा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष,  शिकार, पर्वतारोहणलगायतका सामान्य मानिसले हत्तपत्त कुरा थाहा नपाउने पेसाका मानिस यस्ता कथा हाल्न खप्पिस हुन्छन् नै। अंग्रेजले हालेको यत्तिको कथा पाएपछि नेपाली इतिहासकारलाई पुगिहाल्यो!

यसरी हाम्रा विद्यार्थीहरू प्रमाण नभएका र सत्य हुन् कि होइनन् भनी परीक्षा नलिइएका उडन्ते कुरालाई इतिहास भनेर पढ्न बाध्य छन्। इतिहास हाम्रो राष्ट्रको स्मृति हो। इतिहास तन्दुरुस्त नभएपछि हामीले हल्लैहल्लाको इतिहास पढ्नु परेको छ।

यहाँ भन्नै पर्ने कुरा के छ भने ढाँट्नु नपर्ने/नहुने आधिकारिक निकाय/व्यक्तिले हामीलाई दिनैपिच्छे ढाँटिइरहेका छन्। आज 'अप्रिल फुल'का दिन हामी ढाँटबाट जोगिन कोशिश गर्छौं। बाँकी ३६४ दिन हामी बेपरवाह हुन्छौँ। उता ढाँटहरू ढाँटिरहन्छन् किनभने हामी ढाँटका कुरा पत्याइदिन्छौँ।

त्यसैले त भूपिजस्ता कविहरूले लेखिरहन्छन्- यो हल्लै हल्लाको देश हो।