कुलीनतन्त्रसँग लड्दैछन् बर्नी, हामी पनि लड्नुपर्छ (मंगलवार)

सन् १९९० पछि रुसमा भित्रिएको सीमित कुलीनतन्त्रले त्यहाँको कतिपय प्राकृतिक संसाधन कब्जा गर्न सफल भएको थियो। इटली, जर्मनी, अस्ट्रिया र फ्रान्स र धेरै अफ्रिकी देशमा यसको लहर देखा परेको छ। 

मार्च २०, २०२५ बाट सिनेटर बर्नी स्यान्डर्सले संयुक्त राज्य अमेरिकाका लागि 'फाइटिङ ओलीगार्की टुर' (कुलीनतन्त्रसँग लड्न–यात्रा) नामक अभियान सुरु गरे। उनले छ स्थानमा गरेको र्‍यालीसहित भेलामा अमेरिकी धनाढ्य र अभिजात वर्गले सरकारमा हालीमुहाली गर्दै फेदका मान्छे, आमजनता, कामदार वर्ग, मध्यम वर्ग र पेसारत निम्न बुर्जुआ वर्गको सेवा सुविधा खोस्दै गरेको तर्कसहित खासगरी राष्ट्रपति डोनाल्ड ट्रम्प र कर्पोरेट धनाढ्य इलन मस्कको अधिनायकी चरित्रको भण्डाफोर गरे।



उनले यी दुईको कृत्यको प्रतिरोध गर्न आव्हान गरे। नेब्रास्का, एरिजोना, कोलोराडो र आइओवामा उनलाई सुन्न हजारौँ मानिस सडकमा आए। अझ डेनभरमा त यो टुरले विशाल रूप लियो। उक्त विशाल जनसभामा त्रियासी वर्षीय बर्नी स्यान्डर्सले आफ्नो राजनीतिक यात्राको क्रममा लामो समयदेखि उठाइरहेका मुद्दा; अमेरिकी समाजको प्रगतिशील रूपान्तरणको विचार, कामदार–मजदुर तथा मध्यम वर्गको आय वृद्धि र ज्याला वृद्धि, निःशुल्क स्वास्थ्य बिमा एवं सस्तो शिक्षा प्रणाली, अमेरिकामा तीव्र दरले बढ्दै गएको आर्थिक असमानता तथा अमेरिकी-सैन्य-प्रजातन्त्रको अनुपयुक्त ढाँचाको अन्त्यजस्ता विषयमा प्रभावशाली वक्तव्य दिँदै धेरैको मन जित्न सफल भए।



अमेरिकी ओलीगार्की (कुलीनतन्त्र) विरुद्ध आम लडाइँको आवश्यकता र त्यस लडाइको स्वरूपबारे बिस्तारमा बोले। उनलाई पैँतिस वर्षीय ओकासी क्रुजले साथ दिएकी छन्, उनी चर्चित अमेरिकी प्रगतिशील सामाजिक अभियन्तासमेत हुन्। राज्यसत्ता चलाउने सानो झुन्ड, गुट र समूहलाई चिनाउन दार्शनिक अरिस्टोटलले ओलिगार्की शब्दको प्रयोग गरेका थिए। यो यस्तो प्रणाली हो, जो परिवारवादजस्तै देखिने भए पनि केही भिन्न रूपमा क्रियाशील रहन्छ, जसमा केही सीमित संख्याका घरानियाँ, दरवारिया या आसेपासे–भाइ भतिजा वा त्यस्तै स्वार्थ समूहले राजनीतिलाई दुरुपयोग गर्दै सीमित व्यापारी वर्गका लाभका लागि पहिलो चरणमा त वित्तीय नीति कब्जा गर्छ। अनि क्रमशः समग्र राज्य संयन्त्र र थप नीतिहरूमाथि नै कब्जा जमाउँछ र ती नीतिहरूबाट शक्ति आर्जन गरी सरकारी धनको अकुत भ्रष्ट्राचार गर्छ, फेरि सोही धन प्रयोग गरी राजनीति कब्जामा राख्न सफल रहन्छ।



पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष आफ्नो बिदाइ मन्तव्यमा अमेरिकी नवधनाढ्य वर्गले राजनीति नै कब्जा गर्न सक्ने देखिएकाले आम मानिसका लागि कल्याणकारी प्रजातन्त्र धरापमा पर्दैछ भनेर चेतावनी दिएपछि यो प्रणालीबारे छलफल अलि चर्चामा आयो। अमेरिकामा टेस्लाका इलन मस्क, मेटाका मार्क जुकरबर्ग र अमेजनका जेफ बेजोसजस्ता धनाढ्य–कर्पोरेट अल्पसमुह हुन्। बर्नी स्यान्डर्सले पनि यही आम प्रजातन्त्र कसरी विगत केही दशकबाटै नव धनाढ्यहरूको पोल्टामा जाँदै छ भनेर सचेत गराइरहेका थिए। अझ यति बेला त डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि उनका अधिकांश नीति इलन मस्कको प्रभावले बनेको भनिएको छ, जो अमेरिकी प्रजातन्त्र, वैश्विक लोकतन्त्र र सामाजिक आर्दशविपरीत छन्।



मस्क कुनै जन निर्वाचित पदाधिकारी पनि होइनन् तर उनी सार्वजनिक प्रशासन सुधारका प्रमुख बनाइएका छन्, जनमत नै नलिई राज्यको हर्ताकर्ता भएका छन् र उनबाट कैयौँ सरकारी व्यक्तिको घटुवा/पजनीको सिकार भएका छन्, यो सरासर गैरप्रजातान्त्रिक हो भनिएको छ। ट्रम्प एलजिबीटीक्यु (लैंगिक अल्पशंख्यक) लगायतलाई पनि गाली गर्छन्, न्यायालयको अपमान गर्छन्, आणविक सैन्य खर्च बढाउँदै छन्, व्यापार कर लाद्दै ग्रीनल्यान्ड, पानामा र मेक्सिकोलाई कब्जा गर्ने धम्की दिन्छन् तर इजरायलको गाजा नरसंहार (जेनोसाइड) लाई समर्थन गर्छन्। यो सरासर दुश्चरित्रपूर्ण अधिनायकवाद हो। यी दुईको कृत्य मानव अधिकारको उपहास हो, जो अमेरिकी संविधानवाद र प्रजातन्त्रको मूल्य मान्यता विपरीत छ भनिएको छ।



यसै कारण अमेरिकी प्रजातन्त्रलाई सही दिशामा लैजानुपर्नेछ, यो प्रजातन्त्र आमजनताका लागि हुनुपर्छ। अन्यथा, यहाँ सदैव निरकुंश सम्भ्रान्तहरूले रजगज गर्छन्, यसैले आम अमेरिकीलाई 'जाग्नुहोस् र यिनको प्रतिरोध गर्नुहोस्' भन्दै बर्नीको यात्रा निस्केको हो। अमेरिकी मध्यम वर्ग बर्नीको यी कुरामा दम छ भनेर सुन्दैछन् र ओलीगार्कीबिरुद्धको चेतना निर्माणमा हातेमालो गर्दैछन्। यति बेला सेतै कपाल फूलेका, लगातार प्रगतिशील अडानमा रहिरहेका प्रौढ राजनीतिज्ञ बर्नीलाई संसारले पनि चासो दिएको छ, अमेरिकामा उनको मिडिया लोकप्रियता माथि चढेको पनि छ।



 



के छन् बर्नी स्यान्डर्सका एजेन्डाहरू?

 



सन् १९४१ म ब्रुकलिनमा जन्मेका, सिकागो विश्वविद्यालयबाट स्नातक गरेका बर्नी स्यान्डर्स सन् १९८१ मा, पछि गृहनगर बनाइएको बर्लिङटन शहर (र्भमोन्ट स्टेटमा पर्ने) को मेयर भए र सो पदमा लगातार चार कार्यकाल रहे पनि। उनी सन् २००७ देखि सिनेटर पनि भए। खासमा उनी डेमोक्रेटिक पार्टी नजिकका समाजवादी र जो बाइडेनका साथी/समर्थक भनिए पनि स्वतन्त्र रूपले चुनाव जितेका पनि छन्। एक पटक राष्ट्रपति उम्मेदवारका लागि डेमोक्रेटिक पार्टीका प्रतिस्पर्धी पनि भए। उनी मेयर भएका बखत स्थानीय रूपमा आम जनताका हितकारी कामहरू गरे। खासमा बर्नी प्रगतिशील बिचार राख्छन्, उनी मार्क्सवादबाट प्रभावित छन् र सोसल डेमोक्रेट हुन् पनि भनिन्छ। 



 



नर्डिक समाजवादी प्रारूपको 'वर्कर्स डेमोक्रेसी' पद्धति नै अमेरिकालाई राम्रो हुन्छ भन्छन् उनी, किनभने अहिलेको अमेरिकी पुँजीवादी प्रारूपबाट त्यहाँ थोरै धनाढ्यहरूलाई मात्रै लाभ हुने भएकाले अन्ततः त्यहाँ तानाशाही जन्मने खतरा रहिरहन्छ भनेका छन्। जे भए पनि बर्नी अमेरिकी सैन्य प्रभुत्ववादी पुँजीवाद र नवधनाढयहरूसँग लडेको लड्यै गर्छन्।  यतिखेर अमेरिकी नवउदारवादको रूप 'उबर पुँजीवाद' हो भनेका छन् अर्थात् उच्च प्रविधि-मेसिनलाई श्रमिकको श्रम शोषण गर्ने माध्यम बनाउने र सोको मूल्य अभिवृद्धिमार्फत 'गिग इकोनोमी' वर्चस्वशाली बन्ने खाले (उबर ट्याक्सी कम्पनीजस्तो) यो प्रणाली हो भन्छन्।



अमेरिकी प्रजातन्त्रको मूल्य, संविधानवाद, उच्चप्रविधी विकास, वैज्ञानिक ज्ञान, एकेडेमी संस्था तथा औद्योगिक श्रम तथा पुँजीले आम सर्वसाधारणको भन्दा पनि धनाढ्यको मात्रै सेवा गरेकाले यो ढाँचा परिवर्तन गर्न सबैलाई अपिल गर्छन्। धनाढ्यलाई बढी कर लगाउने राय दिन्छन् भने जलवायु परिवर्तनसँग लड्न राज्यहरू जिम्मेवार हुनपर्छ भन्छन्। मूल जलवायु सन्धि (पेरिस सहमति २०१५) बाट डोनाल्ड ट्रम्पले हात झिक्नु गलत भयो भनेका छन्। श्रमिकको तलब बढाउन जोड दिने उनी निःशुल्क शिक्षा तथा निःशुल्क स्वास्थ्य र बिमा योजनाको समर्थन गर्छन्। विदेश नीतिमा प्यालेस्टाइन र मानवताको पक्षमा बोल्छन्।



अश्वेत जाति, आप्रवासी र एलजिबिटिक्यु अधिकारप्रति अति आदरभाव उनमा देखिन्छ। यसैले बर्नी ट्रम्पका आलोचक हुन्। अमेरिकी सम्भ्रान्त तन्त्रका कट्टर विरोधी हुन्। सन् २०२४ को निर्वाचनमा इलन मस्कले २७० मिलियन डलर ट्रम्पका लागि खर्च गरेको देखिन्छ। अरू धनाढ्यले पनि ट्रम्पलाई आर्थिक सहयोग गरे। कतै यी कुलीनहरूले पैसाको भरमा अमेरिकी चुनाव प्रणाली नै किन्ने त होइनन् भन्ने प्रश्न गर्छन् स्यान्डर्स। फेरि यी १% नव धनाढ्यले ५०% मध्यम आय भएको जनसंख्या बराबरको आम्दानीमा पनि कब्जा गरेका छन्। तिनैले देशको चुनावलाई प्रभावित गर्न पैसा खर्चिने डर देखिन्छ। यस्तै यस्तै नवउदारवाद विरुद्धका मुद्दाले उनलाई अमेरिकी जनता र डेमोक्रेटहरूको बीच सम्मान दिएको छ। यसैले होला, आम जनताहरू अहिले बर्नी र उनको टिमका अमेरिकी प्रगतिशील तप्काहरू सही रहेछन् भन्दैछन्। यो चेतना अमेरिकामा निर्माण हुँदैछ। 



 



संसारभर कसरी पन्पिन थाले कुलीनहरू?

युरोप र एसियामा पनि यस्ता कुलीनतन्त्र/अभिजाततन्त्र देखिन थालेका छन्। सानो संख्यामा रहने यस्ता अरिस्टोक्रेट (अभिजात) हरूले देशका अति महत्त्वपूर्ण विषयमा निर्णय लिन्छन्। सामन्तवादी दरबारियातन्त्र भनेको पनि यही हो। तर कुलीनतन्त्र भने देशभन्दा पनि आफ्नो व्यवसायको हितमा काम गर्छन् र यी कर्पोरेट हुन्छन्। खासगरी देशभक्ति र आर्थिक संरक्षणवादका नाममा ओलीगार्कहरू झनै प्रतिगमनकारी र फासिस्ट शक्तिका रूपमा उदाउँछन्। यिनीहरू लोकतन्त्र, उदारवाद र आर्थिक खुलापन (लेसेज फेयर र ग्लोबलाईजेसन) तथा जलवायु मुद्दाको पूरै विरोध गर्छन्। पश्चिमाहरूका अनुसार सन् १९९० पछि  रुसमा भित्रिएको सीमित कुलीनतन्त्रले त्यहाँको प्राकृतिक संसाधनमा कब्जा गर्न सफल भएको थियो। अहिले इटली, जर्मनी, अस्ट्रिया र फ्रान्स र धेरै अफ्रिकी देशमा यसको लहर देखा परेको छ। 



 



बेलायतमा किम स्टारर्मरले लेबर पार्टीबाट चुनाव जिते पनि उनले उल्टो काम गरेका देखिन्छन् र केही व्यापारिक स्वार्थ गिरोहले युरोपलाई युक्रेन युद्धमा लैजाने कुचेष्टा गरेका छन्। युक्रेन युद्ध युरोपेली कुलीनहरूको आर्थिक–सैन्य परियोजना हो भनिन्छ। सुरुमा हतियार उत्पादनबाट पैसा कमाउने र पछि युक्रेनको दुर्लभ खनिज (लिथियम, थोरियम, युरेनियम आदि) कब्जा जमाउने खेल भनिन्छ त्यसलाई। एसियन–अफ्रिकी ओलीगार्कहरू त्यहाँका शासकहरूका नातेदार देखिन्छन्, जो पेट्रोल, तेल, खनिज ऊर्जा, तामा, सुन र अन्य महत्त्वपूर्ण संसाधन कब्जा गर्न सफल छ र त्यहाँको राजनीतिलाई आफ्नो खेलौनासरह बनाएको छ। यिनीहरू पहिले सुशासनको नारा लिएर आउँछन् अनि मुख्य नेतृत्व वरपर बस्छन्। पछि बिस्तारै आर्थिक नीतिहरू उपर कब्जा गर्न सफल रहन्छन्।





यसका केही आवरण स्वरूप हेरौँ, उनीहरू कस्तो देखिन्छन्–





क) नव सामन्तवाद (निओपार्टिमोनियल) प्रणाली: यसमा शासकले राज्य र सरकारी सम्पत्ति आफ्नो निजी हो भन्नेझैं व्यवहार गर्छ। नेता संरक्षक भई अकुत भ्रष्ट्राचार गर्छ। अधिकांश व्यापार व्यवसाय यिनकै आसेपासेको हुन्छ। यसर्थ, तिनलाई भारी मात्रामा कर छुट दिइन्छ, तर आम जनतामाथि अधिक कर लाद्छ।





ख) संरक्षणवादी सोच: यसमा बाहिरी उत्पादन बन्द गरी घरेलु उत्पादन बढाउन जोड त दिन्छन्, तर आफ्नो किचेन क्याबिनेटको मान्छेको उद्योगले मात्रै फस्टाउन दिने गरी यस्तो काम गर्छन्। उद्योगको लाइसेन्स उनीहरूले मात्रै पाउँछन्।





ग) बनावटी लोकतन्त्रको प्रयोग, झुन्ड र गुटगत राजनीति हाबी : यसमा नेतृत्वले पार्टी कब्जा गर्छ, उसले नियमित पार्टी बैठक गर्न त गर्छ, तर यो गुटगत र पूर्व निर्धारित रहन्छ। जस्तो, समानुपातिक संसद्, राजनीति नियुक्ति, राजदूत वा यस्तै पदहरू आफ्नै गुटमा पर्छन्। पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर हुन्छ। 





घ) लोकप्रियतावाद र देशभक्तिको विभ्रम निर्माणमा सफल: यसमा पार्टी अध्यक्ष, सभापति वा महासचिव वा सर्वमान्य नेता लोकप्रियतावादमा रमाउँछ, सर्वसत्तावादी (अथोरिटेरियन) प्राधिकारीका रूपमा आउँछ र उसले आम जनतालाई भेडा बनाउन अनेक काल्पनिक कथा (फेन्टासी) पनि निर्माण गर्न सक्छ।



 



ङ) सुशासन र पुन:संरचनाका नाममा आर्थिक नीति कब्जा: यसमा आर्थिक नीति कब्जा गरिन्छ। जनलोकपाल आफैले नियुक्त गर्छन् र आर्थिक अनियमिततामा आँखा चिम्लने गरिन्छ। राष्ट्र बैंक कब्जा गरिन्छ र मौद्रिक नीति आफै अनुकूल बनाइन्छ। पुराना सरकारी संस्थाहरू विघटन गरी नयाँ कामको थालनी गर्दै 'वाहवाह' बटुलिन्छ। 





च) बिग म्यान सिन्ड्रोम  देखिने: कर्पोरेटहरूले सरकार प्रमुखलाई यस्तो बनाउँछन् कि उ राज्यको सबभन्दा उचाइमा छ, अर्थात् उ ठुलो हो। 'बिग म्यान' का रूपमा तिनको पूजा गर्ने, देबत्वकरण गर्नेजस्ता व्यवहार गरिन्छ। यति बेला कानुनको सर्वोपरिता बाधक बनाइन्छ। 



नेपाल सन्दर्भ:  को हुन् ओलीगार्क?





नेपालमा सक्रिय राजसंस्थाका पालामा भारदारी सभा नै जल्दोबल्दो थियो, अर्थ राजनीति उनीहरूले नै तय गर्थे। बि.सं. २०४६ को प्रजातन्त्र पुनर्स्थापनापश्चात् दलाल पुँजीवाद र नव उदारवाद हाबी भएपछि केही निश्चित व्यापारी घरानाको पहुँच राजनीतिमा हाबी भएको देखिन्छ। अहिले सरकारका नीति बनाउने, कानुन बनाउने, अध्यादेश ल्याउनेसम्ममा नेपालका ओलीगार्कहरूले पहुँच राख्छन् भनिन्छ। केही व्यापारीहरू सरकार बनाउने र ढलाउने काममा सफल भए पनि भनिन्छ। नेपालमा पनि चुनावी प्रतिस्पर्धा खर्चिलो बन्दै गएकोले अमेरिकामा इलन मस्कजस्तै कर्पोरेट व्यक्ति यहाँको राजनीतिमा पनि लगानीकर्ताका रूपमा आएका छन्, जो नेपाली राजनीतिका लागि दुर्भाग्य हो।



नेपालमा पनि सबै राजनीतिक दलमा यस्ता खाले सानो स्वार्थी कर्पोरेट झुन्ड जोडिएको देखिन्छ, जसले भूमिगत पैसो लगानी पनि गरिदिने गर्छ र यसका लागि सरकारले तिनलाई कर छुट वा यस्तै वित्तीय सहुलियत दिन्छ वा अन्य सरकारी सम्पत्ति दोहनको चाँजोपाँजो मिलाउँछ। यो भएपछि संघ, प्रदेश र स्थानीय सरकारका बजेट कार्यक्रममा उनीहरू हाबी हुन्छन्, योजनाहरू ठेक्कामा लैजान्छन्। डन र धन हुनेहरू नै चुनाव लड्छन्, पार्टीहरू धनाढ्यसँग लम्पसार हुन्छन्। समग्र राजनीति प्रणाली नै यस्ता ओलीगार्कको कब्जाभित्र पर्छ। उनीहरूका लागि संविधान, प्रजातन्त्र, समाजवाद, संघीयता र आम सर्वसाधारण जनताका अधिकार केही होइनन्। यसर्थ, आम जनता यस्तो प्रजातन्त्रबाट लाभकारी बन्नै सक्दैनन्।



यसैले होला, नेपालबाट आम समुदाय, होनहार युवा, विद्यार्थी, प्राध्यापक, डाक्टर, इन्जिनियर र बौद्धिकहरू विदेश पलायन हुन बाध्य छन्। तसर्थ, नवउदारवादका पिछलग्गु केही निश्चित उद्योगका मानिस, बैंक वा धरानीया वर्ग, प्राइभेट फर्म/कर्पोरेट, स्कुल कलेजका मालिक, भुमाफिया, ठेकेदार, दलाल, तस्कर, व्यापारी, बैंक/सहकारी अपचलनकारी लगायतका 'भल्चर ओलीगार्क' (गिद्धे धनाढ्य वा राजनीतिलाई नै व्यापार मान्ने) सँग हामीहरू सतर्क रहँदै लोकतान्त्रिक पद्धतिको रक्षा गर्नुपर्छ। राष्ट्रिय पुँजीपति वर्ग, स्वाभिमानी उद्योगी, आम किसान मजदुर वर्ग अब सचेत रहनुपर्ने देखिन्छ र स्यान्डर्सझैं हामीले पनि 'बोइकट ओलीगार्की इन नेपाली पोलिटिक्स'को अभियान चलाउनु पर्छ। यसले नेपालको राजनीति प्रणालीलाई प्रगतिशील, सफा र प्रतिस्पर्धी बनाउनेछ र सरकारलाई निष्पक्ष, परिणाममुखी र जनमुखी बनाउन सघाउँछ।



(लेखक सामाजिक न्याय, जलवायु र वातावरणीय ज्ञान मीमांसामा चासो राख्ने गर्छन्।)