हात्तीका पछि दौडिने शंकर

हात्तीको पछि दौडिँदा दौडिँदै शंकरले धेरै हात्तीलाई त चिन्न थालेका छन्। कतिपयको नामकरण नै गरिदिएका छन्। उनका अनुसार झापामा अहिले रैथाने हात्ती २५ वटा जति छन्।

झापा— चैत ५ गते बिहान करिब ८ः१५ तिर उनले इलामको रोङ गाउँपालिका—५ मा हात्ती आएको थाहा पाए। उनी आफ्नो बाइक लिएर २० किलोमिटर टाढा रोङतर्फ हुइँकिए। उनी पुग्दा हात्तीले स्थानीय थीरबहादुर राईलाई आक्रमण गरिसकेको थियो। आफ्नै बारीमा हात्तीको आक्रमणमा परेका राईलाई उपचारका लागि अस्पताल लगियो।

उनले घटनाबारे त्यहाँका स्थानीयसँग बुझे। हात्तीबारे सोधखोज गरे। त्यसपछि घाइतेको परिवारलाई राहतका लागि कागजात बनाउन सहजीकरण गरिदिए। 

झापा बाहुनडाँगीका शंकर लुइँटेल (५४) हात्ती आएको सुनिसक्दा सम्भव भएसम्म त्यही ठाउँमा पुग्छन्। साँझ—बिहान भने उनी मेची किनारमा भेटिन्छ। त्यहाँ हात्तीको ओहोरदोहोर नियाल्छन्। चाल र हाउभाउ बुझ्छन्। तस्वीर लिन्छन्। 

शंकर हात्तीको गतिविधि अध्ययन गर्न रुचाउँछन्। हात्ती आएको थाहा पाएपछि रात—बिहान नभनी क्यामरा बोकेर दगुर्छन्। “नेपाल र भारतसीमाको मेची खोलामा हात्ती आउने बाटो आसपास गइरहन्छु। हात्तीका गतिविधि नियाल्छु,” उनी भन्छन्। 

गत फागुन २७ गते बिहान २ बजे शंकरकै घरछेउमा हात्ती आयो। हात्तीको शरीरबाट रगत बगिरहेको थियो। शंकरले हात्तीलाई पछ्याउन थाले। उनले त्यसको उपचारका लागि वन कार्यालय, प्राकृतिक संरक्षण कोषमा खबर पठाए। ११ दिनपछाडि हात्तीको उपचार भयो।

मेचीनगर—४ बाहुनडाँगीमै जन्मिएका शंकरले हात्तीको पछि दौडिन र फोटो खिच्न थालेको २० वर्षभन्दा बढी भयो। उनले थाहा पाउँदादेखि नै मानिस र हात्तीबीच द्वन्द्व थियो। हात्तीले बाली खाने र घर भत्काउने गर्थे। स्थानीयले हात्तीलाई खेदाउन राँको, पुल्ठो बालेर हिर्काउँथे। यो द्वन्द्वमा धेरै मानिसको ज्यान गयो। थुप्रै हात्ती पनि मारिए। त्यसबेला उनी पनि ढुंगामुढामा उत्रिन्थे।

एकदिन उनको खेत छेउमै एउटा हात्तीले बच्चा पायो। अफूसँग भएको रिलवाला क्यामराले त्यसको तस्वीर लिए। छावा देखेपछि उनमा पनि हात्तीप्रति मोह बढ्यो। “मैले रिलवाला क्यामेराले छावाको १३ वटा फोटो खिचेको थिएँ। त्यो छावा हेरेर मलाई माया लाग्यो,” उनी भन्छन्, “शुरूमा धेरै हात्ती थिए, अन्तिममा बच्चासँग एउटा माउ मात्रै रह्यो र छावालाई लिएर मात्रै गयो।”

त्यसपछि उनलाई मान्छेले हात्तीसँग हात्तीसँग हिंस्रक व्यवहार गरिरहेको अनुभूति भयो। “आखिर उनीहरूको पनि बच्चा, परिवार हुँदोरहेछ। एकअर्कालाई प्रेम गर्दा रहेछन्,” उनी भन्छन्।

हात्ती आतंक भएको गाउँमा त्यति बुझेर मात्रै पुग्दैन थियो, हात्तीको आक्रमणले धेरै मान्छेले ज्यान गएको थियो। कतिका घर भत्किएका थिए। 

शंकरको सम्झनामा २०६३ सालपछि झापामा हात्तीको समस्या बढेको थियो। हात्तीले मान्छेका घर भत्काउने, बालीनाली खाइदिने गर्थे। 

शंकर मात्र नभई मेचीनगर—४ का वर्तमान वडाध्यक्ष अर्जुन कार्की लगायत हात्तीको पनि संरक्षण गर्नुपर्ने पक्षमा थिए। तर उनीहरू गाउँलेलाई बुझाउनसक्ने अवस्थामा थिएनन्। हात्तीलाई कुटपिट नगर्न सम्झाउँदा हात्तीबाट पीडित स्थानीय आक्रोशित हुन्थे। पीडितहरूले सरकारसँग राहतका लागि माग गरिरहेका थिए। 

स्थानीयको मागको सुनुवाइ ढिला गरी भयो। सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०६९ पारित गर्‍यो। पीडित परिवारलाई थोरै राहत मिल्यो, तर पाउने प्रक्रिया झन्झटिलो थियो। “निवेदनको फर्म्याट, स्थलगत सरजिमिनको फर्म्याट, प्रहरी चौकीकै कभर लेटरको फर्म्याट आफैले तयार गरिदिएँ,” उनी भन्छन्, “त्यसपछि बल्ल मान्छेले मेरा कुरा सुन्न थाले।”

उनकै सहजीकरणले राहत पाउन थालेपछि फोटो खिच्न हात्तीले आक्रमण गरेका ठाउँमा हेर्न बोलाउन थाले। शंकरसहित केही स्थानीयले हात्तीको आतंक बढेपछि त्यसलाई रोक्न तारबार गर्ने प्रस्ताव गरे। “म आफै पनि भारतका विभिन्न ठाउँमा डुल्दा तारबार लगाएको देखेको थिएँ,” उनी भन्छन्, “सबैलाई समस्या भएकाले सहमति पनि भयो।”

शंकरले भारतको महानन्दा वाइल्डलाइफ स्यान्चुरीमा गएर तारबारबारे बुझेर आए।  उनीहरूको प्रस्तावअनुसार तत्कालीन जिल्ला विकास समितिको बजेटबाट करिब १४ किमि सीमा क्षेत्रमा तारबार गरिएको थियो। 

पछि राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि विश्व बैंकको सहयोगमा करिब १८ किमि तारबार लगाइदियो। यस्तो तारबारको बीचबीच भागमा सोलार ल्यानल राखेर करेन्ट छाड्ने गरिन्छ। त्यसले हात्तीलाई सीमाबाट नेपाल छिर्न रोक्ने अपेक्षा थियो। 

तारबारले शुरूमा हात्ती सीमाबाट आउन केही कम भए पनि बिस्तारै काम गर्न छाड्यो। शंकर भन्छन्, “शुरूमा हात्ती आउन कम नै भएको थियो। तर हात्ती बाठो हुने रहेछ। सुकेको काठले हिर्काएर विचार गरेर मात्रै छिर्ने, कतिपय तार चुडाँएर पनि छिर्न थाले।”

त्यसपछि मेचीनगरमा हात्ती–मानव सहअस्तित्वको खोजी शुरू भयो।

अनुसन्धानकर्ताका सहयोगी
बाहुनडाँगीमा हात्ती र मानवद्वन्द्व छ भन्ने थाहा पाएपछि धेरै अनुसन्धानकर्ता अध्ययन गर्न त्यहाँ पुगे। उनीहरूको अध्ययनमा शंकरले सहयोग गर्ने गरेका छन्।

विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)बाट अध्ययन गर्न गएका दिनेश न्यौपाने बाहुनडाँगी पुगेका थिए। उनले शंकरकै सहयोगमा आफ्नो अनुसन्धान पूरा गरे। हात्तीकै विषयमा विद्यावारिधि गरेका डा. अशोक रामलाई पनि उनले सहयोग गरेका थिए। यस्तै, वन्यजन्तु विभागका अधिकृत अभिनय पाठकलाई पनि उनले अनुसन्धानमा सहयोग गरिरहेका छन्।

अनुसन्धानकर्तासँग जोडिँदा शंकरलाई पनि धेरै फाइदा भएको छ। उनी भन्छन्, “उहाँहरूसँग काम गर्दा मैले थुप्रै ठाउँ घुम्ने मौका पाएँ। दिनेश सरसँग जोडिएपछि चितवनको कार्यक्रममा मलाई पनि बोलाइएको थियो। त्यहाँ प्रह्लाद योन्जनसँग भेट भयो। उहाँ संरक्षणकर्मी हुनुहुँदोरहेछ। उहाँसँग भेटेपछि म पनि संरक्षणको काममा लागेको हुँ।”

उनले यही क्रममा नेपाल र भारतका थुप्रै आरक्षण र निकुञ्ज घुमेका छन्। उनी अनुसन्धानकर्तालाई हात्तीका चाल, क्रियाकलाप, स्वभावबारे बताइदिन्छन्। उनीसँग भएका तस्वीरहरू पनि दिन्छन्। 

शंकरले हात्तीको पछि दौडिँदा दौडिँदै धेरै हात्तीलाई त चिन्न पनि थालेका छन्। कतिपयको नामकरण नै गरिदिएका छन्। उनी भन्छन्, “झापामा अहिले रैथाने हात्तीहरू करिब २५ वटा छन्। त्यसमध्ये १७ वटाको त नामकरण नै गरिदिएको छु। यी नेपाल–भारत सीमाबाट ओहोरदोहोर गरिरहन्छन्।” 

भारतको असमदेखि नेपालको कोशी नदी हुँदै अझ पश्चिमसम्म हात्तीहरू आवतजावत गर्ने पुरानो बाटो हो। तर त्यही बाटो छेकिनेगरी अहिले बस्ती बस्दा मानव-हात्ती द्वन्द्व बढेको उनको बुझाइ छ।

कसरी हुन्छ मानिस र हात्तीको सहअस्तित्व?
हात्तीलगायत जनावरलाई कुनै भौगोलिक सिमाना सीमाना लागू हुँदैन थियो। हात्ती आफ्नो बाटोमा हिँड्छ, त्यो रुट वर्षौंदेखि तय छ। तारबार लगाएर पनि छेकिएन। त्यसपछि शंकरलगायत स्थानीय र विज्ञ मानव र हात्तीबीचको सहअस्तित्व कायम गर्नतर्फ लागे।

अहिले स्थानीय पनि हात्तीसँग सहअस्तित्वका लागि तयार भएको शंकर बताउँछन्। उनी भन्छन्, “हात्तीलाई तारबार भारततिर पनि असफल भएको देखियो। त्यसपछि हात्तीलाई सीमा कायम गरेर हुँदैन, मानव र हात्ती दुवै जोगाऔँ भन्नेमा पुग्यौँ।”

उनका अनुसार हात्ती शान्तिप्रिय जनावर हो। तर यसलाई चलायो भने बिच्किन्छ। हात्तीलाई आफ्नो रुटमा हिँड्न दिनुपर्ने उनी बताउँछन्। “जंगलहरू टुक्रिएका कारण उनीहरू कहिलेकाहीँ सडकमा निस्किन्छन्,” उनी भन्छन्, “आहारको खोजीमा बालीमा पुग्छन्। तर मान्छेले देख्नासाथ लाइभ गर्दिन्छन्। सयौँ मान्छे भेला भएर कुटपिट गर्ने, बाटो छेक्ने गरेपछि हात्ती पनि आक्रमणमा उत्रिन्छ।”

आजभोलि मेचीनगरमा हात्तीले अलिअलि बाली खाँदा स्थानीय खेदाउन जाँदैनन्। उनीहरूले बाली र घरको बीमा गरेका छन्। हात्तीले क्षति गरे शंकरले कागजात मिलाउन सहजीकरण गरिदिन्छन्।

त्यसबाहेक, उनीहरूले गाउँलेसँग मिलेर आफूले लगाउने बालीमा पनि परिवर्तन गरेका छन्। उनीहरू पहिले धान, मकैजस्ता बाली लगाउँथे, अहिले हात्तीले मन नपराउने चिया, आलु, रबर, कागतीलगायत बाली र फलफूल लगाएका छन्। बरु हात्तीले मनपराउने खालका वनस्पती बस्तीभन्दा टाढा जंगलतीर लगाउन थालेको शंकर बताउँछन्। 

“हात्ती हिँड्ने ठाउँका घर छेउछाउ हात्तीले नखाने बाली लगाएपछि द्वन्द्व धेरै कम हुँदोरहेछ,” उनी भन्छन्, “हात्तीले रक्सी पनि मन पराउने भएकाले उनीहरूको रुट आसपासका घरमा त्यो पनि बन्द गरेका छन्।”

हात्ती आउने क्षेत्रमा हिँड्दा आफूले पनि सजकता अपनाए जोगिन सकिने शंकर बताउँछन्। “हात्तीले छावाहरूलाई सँगै लिएर हिँडेका हुन्छन्। उनीहरू मान्छेको उपस्थिति देखे भने त्यता आउँदैनन्। तर एकदुई भाले हात्ती पनि सँगै हुन्छन्, तिनीहरू आउँछन्। तिनीहरूलाई छेकेर कुट्ने, ढुंगा हान्ने गर्नु हुँदैन। एकतिरबाट जान छाडिदिनु पर्छ।”

आफूहरूको सक्रियताले मेचीनगरमा अहिले हात्ती देख्दा तर्सिने, आक्रमण गर्ने अवस्था हराउँदै गएको नरहेको शंकर बताउँछन्। बाहुनडाँगीमा विगत केही वर्षदेखि मानवीय क्षति पनि नभएको उनको भनाइ छ।

मेचीनगरमा हात्ती हेर्नक थुप्रै अग्ला टुंगहरू पनि बनाइएको छ, जसबाट हात्तीको निरीक्षण गरिन्छ। हात्ती आएको थाहा पाएपछि शसस्त्र प्रहरीले साइरन पनि बजाइदिन्छ। 

शंकर पनि मान्छेलाई हात्ती आएको सूचना दिन ‘हात्ती सूचना केन्द्र’ नामको फेसबुक पेज चललाइरहेका छन्। जसमा हात्ती आएको थाहा पाएपछि त्यहाँ सूचना राखिदिन्छन्। 

दुई छोरा, एक छोरी, श्रीमती र आमासहित शंकरको ६ जनाको परिवार छ। चार बिघामा लगाएको खेतीले उनीहरूको परिवार पालिएको छ। उनका छोराछोरी पनि उनीजस्तै वन्यजन्तुप्रति रुचि देखाउँछन्। अहिले जेठो छोरो अमेरिकामा वन्यजन्तुबारे स्नातकोत्तर गरिरहेका छन्। 

अरू दुई छोरा र छोरी पनि उनीसँग हात्ती हेर्न हिँड्छन्। छोराछोरीलाई उनी बुझाउँछन्- हात्ती प्रकृतिका उपहार हुन्, यिनीहरूको कुनै सिमाना हुँदैन। हिँडडुल गर्न पासपोर्ट, भिसा चाहिँदैन। त्यसैले यिनीहरूलाई अवरोध गर्न हुँदैन।