ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न असहज परिस्थिति सामान्य बने पनि त्यहाँका नेपाली विद्यार्थी अझै ढुक्क छैनन्। के भइरहेछ यो घटनाको अनुसन्धान?
काठमाडौँ– भारतको ओडिसा प्रान्तस्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल मृत भेटिएको १५ दिन नाघिसकेको छ। नेपालसँगै भारतमा समेत ठूलो विमर्शको विषय बनेको प्रकृतिको मृत्यु घटनाबारे सत्यतथ्य बाहिर ल्याउन ओडिसा पुलिसले अनुसन्धान शुरू गरेको पनि दुई साता पुग्यो। योसँगै ओडिसा प्रान्तीय सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समिति पनि घटनाबारे अध्ययन गरिरहेको छ।
तर कुनै निकायको अनुसन्धानले अहिलेसम्म घटनाबारे कुनै सत्यतथ्य सार्वजनिक गरेको छैन। बरु अनुसन्धान चलिरहेकै बेला यही बीचमा यो घटनाको अनुसन्धान गरिरहेका प्रहरीका अनुसन्धान अधिकृत परिवर्तन गरिएको छ। शुरूमा ओडिसा प्रहरीका डेपुटी कमिस्नर पिनाक मिश्रले अनुसन्धानको नेतृत्व गरेका थिए। तर पछिल्ला केही दिनयता उनी अनुसन्धानको जिम्मेवारीमा छैनन्। किन त?
मिश्रले अनुसन्धानको जिम्मेवारीबाट अरू कुनै कारणले नभई आफ्नो बढुवा भएकाले अलग भएको बताएका छन्। उनका अनुसार यो घटनाको अनुसन्धानमा अहिले कमिस्नर एस देव दत्त सिंहले नेतृत्व गरिरहेका छन्।
“मेरो त प्रमोसन भइसक्यो। अहिले कमिस्नर सिंह सरले नै सबै अनुसन्धानको नेतृत्व गरिरहनुभएको छ,” मिश्रले उकालोसँग भने, “अहिले यसमा के भइरहेको छ, त्यो जानकारी मसँग छैन। तर अनुसन्धान फुलप्रुफ चलिरहेको छ। यसका अपडेट उहाँले प्रकृतिको बुबालाई पनि सिधै शेयर गर्नुहुन्छ।”
प्रकृतिका बुबा सुनिल लम्सालका अनुसार प्रकृतिको पोस्टमार्टम रिपोर्ट आइसकेको छ। तर त्यसमा के छ भन्नेबारे आफूलाई पनि जानकारी नदिइएको उनले बताए।
“दुई दिनअघि मेरो कमिस्नरसँग कुरा भएको थियो। उहाँले नै पोस्टमार्टम रिपोर्ट आएको बताउनुभएको हो। अनुसन्धान चलिरहेकै भएर होला, त्यसका धेरै कुरा खुलाउनु भएन,” लम्सालले भने, “विश्वविद्यालयको इन्टरनेसनल रिलेसन अफिस (आईआरओ) मा पनि कम्प्लेन गर्दा प्रकृतिले स्पष्टसँग समस्या खुलाएको छ भन्नुभएको छ। उसको डायरी नोटहरूमा लेखिएको कुराहरूले पनि केस बलियो नै बन्छ भन्नुभएको छ।”
लम्सालका अनुसार ओडिसा प्रहरीले आईआरओका कर्मचारीहरूउपर पनि अनुसन्धान गरिरहेको छ।
फागुन ८ गते छानबिनका लागि ओडिसा सरकारले गठन गरेको उच्चस्तरीय समितिले विश्वविद्यालयका संस्थापक अच्युता समान्तालाई समेत बयानका लागि बोलाएको थियो।
यता दिल्लीस्थित नेपाल राजदूतावासमा कार्यरत नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्मा भने अनुसन्धानबारे आफूसँग कुनै जानकारी नभएको बताउँछन्। उनका अनुसार त्यही छँदा उनले कमिस्नर सिंहलाई निष्पक्ष छानबिनका लागि आग्रह गरेका थिए।
“पहिलो कुरा हाम्रो हैसियत नै पुग्दैन उनीहरूलाई अनुसन्धानबारे सोध्ने,” शर्माले भने, “दोस्रो कुरा हामी कूटनीतिक च्यानलबाट गएका थियौँ, त्यही भएर राम्रोसँग अनुसन्धान गरिदिनुस्, अन्याय नहोस् भनेर आग्रह गर्यौँ।”
ओडिसास्थित ‘ओडिया टीभी’मा कार्यरत पत्रकार मधुसूदन मिश्र भने ओडिसा सरकारद्वारा गठन भएको छानबिन समितिउपर शंका व्यक्त गर्छन्। उनका अनुसार समिति गठन भए पनि प्रतिवेदन सार्वजनिक गरिँदैन। “यस्ता उच्चस्तरीय समितिहरू कैयन् संवेदनशील घटनाका लागि कति गठन भए कति। तर न कुनैको प्रतिवेदन सार्वजनिक गरियो, न कसैलाई कारबाही,” उनी भन्छन्, “यो केसमा पनि त्यस्तै नहोला भन्न सकिन्न। केही दिनमा सबैले यो मुद्दा बिर्सिन्छन् भन्ने आसमै सरकार बसिरहन्छ।”
विद्यार्थी फिर्ता नहुँदा परीक्षा सर्यो
केआईआईटी विश्वविद्यालयले स्नातकका सबै विषयको परीक्षा फेब्रुअरी ३० देखि सञ्चालन गर्ने सूचना जारी गरेको थियो। तर परीक्षा शुरू हुनुभन्दा दुई साताअघि (फेब्रुअरी १६) मै विश्वविद्यालयमा यो घटना घट्यो। घटनालाई सूक्ष्म रूपले अनुसन्धान गरेको भए परीक्षा नसर्न पनि सक्थ्यो। तर घटना दबाउने ध्येयले विश्वविद्यालय प्रशासन आन्दोलित नेपाली विद्यार्थीलाई कुटपिट गरेर सबैलाई लखेट्नतिर लाग्यो। त्यसपछि अधिकांश नेपाली विद्यार्थी परीक्षाको समयमा घरमै छन्। थुप्रै विद्यार्थी नेपाल आइसकेका छन्।
सोही कारण विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई पनि सहभागी गराउन १० दिन अघि मात्र मार्च १० सम्मका लागि परीक्षा स्थगन गरेको जानकारी आफूले पाएको नेपाल प्रहरीका एसएसपी शर्माले जानकारी दिए। उनका अनुसार हालसम्म करिब ३०० विद्यार्थी विश्वविद्यालय फर्किसकेका छन्, बाँकी मार्च ४ सम्म फर्किनेछन्।
“म आफैँ दुई सातादेखि त्यहीँ थिएँ। अहिले सबै सामान्य भइसकेको छ। विद्यार्थीहरूलाई सोधेरै फर्कियौँ,” शर्मा भन्छन्, “उनीहरू आफूहरू सुरक्षित महसुस गरिरहेको बताउँछन्। बाँकी विद्यार्थीहरूसँग समन्वय गर्दा सबै फर्किनलाई टिकट काटिसकेको जानकारी पायौँ।”
बी टेक तेस्रो वर्षमा अध्ययनरत एक छात्राका अनुसार उनी अहिले पनि घरमै छिन्। उनका अनुसार उनको टिकट ३ मार्चको छ। “परीक्षा सार्न त सार्यो, तैपनि १० तारिखमै हुने सुनिश्चित भइसकेको छैन,” उनले भनिन्, “हेरौँ, जति पुगेका छन्, उनीहरू अहिले पनि अलिअलि डराइरहेकै छन् जस्तो कुरा गरे। यसले परीक्षाको तयारीमा पनि मानिसक रूपले असर गरिरहेको छ।”
नेपालमा भर्ना दिने त्रिविको आह्वान
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले केआईआईटी विश्वविद्यालयमा समस्यामा परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर अध्ययन गर्ने व्यवस्था मिलाएको छ। फागुन १३ गते विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै यस्तो व्यवस्था भएको जनाएको थियो।
त्रिविका शिक्षाध्यक्ष प्राडा. खड्ग केसीले जारी गरेको विज्ञप्तिमा भारतको केआईआइटी विश्वविद्यालयमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता भएका विद्यार्थीलाई त्रिविको ‘क्रेडिट ट्रान्सफर’ नीतिअनुसार भर्ना हुने व्यवस्था गरिएको उल्लेख छ।
“भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआइटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरूप भर्ना गर्न सकिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्रिविले विद्यार्थी तथा अभिभावकलाई rectoroffice@tu.edu.np र rector@tu.edu.np को वेबसाइटमा सम्पर्क गर्न आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
