रुसी सेनामा भर्ती भएका राजकुमारलाई ६ महिनापछि युक्रेन पठाइयो। त्यहाँ गएको ९ दिनपछि युक्रेनको ड्रोन आक्रमणमा परे। चारैतर्फबाट घेरेर ड्रोनले बम हान्दा उनको समूहका सबै मारिए, उनी मात्र बाँचे।
काठमाडौँ– २०८१ जेठ अन्तिम साता। विराटनगरमा रहेको राजकुमार निरौलाको परिवारलाई रुसबाट अप्रिय खबर आयो– रुसी सेनामा भर्ना भएका राजकुमारको मृत्यु भयो।
राजकुमारसँगै भर्ना भएका उनका साथीले उनको मृत्युको खबर पठाएका थिए। करिब एक महिनाअघि युद्धक्षेत्रमा गएदेखि परिवारसँग सम्पर्क थिएन। एक्कासि मृत्युको खबर आउँदा परिवारमा रुवाबासी चल्यो।
साथीले दिएको खबरलाई आधिकारिक मानेर परिवारले कुशको शव बनाई दाहसंस्कार गरे। श्रीमतीले सिन्दुर पुसिन्। तर किरिया थालेको चौँथो दिन अर्काे खबर आयो— राजकुमार ज्युँदै छन्।
***
रुसी सेनामा भर्ना हुनुअघि राजकुमार ललितपुरमा मास्क उत्पादन गर्ने उद्योग चलाउँथे। कोभिड संक्रमणको बेला शुरू भएको व्यवसाय एक समय राम्रै चल्यो। त्यसपछि भने ठिकठाक मात्र थियो। परिवार चलाउन पुगिरहेकै थियो।
गत वर्ष उनले साथीको माध्यमबाट एक जना एजेन्टलाई भेटेपछि उनको सोच बदलियो। एजेन्टले उनलाई रुसी सेनामा भर्ती खुलेको र मासिक ३ लाख कमाइ हुने बताए। त्यति मात्र नभई वर्षदिनमै स्थायी बसोबास अनुमति (पीआर) पाइने र परिवारलाई पनि उतै लैजान मिल्ने लोभ देखाए।
मध्यम उद्यम गरी बसेका राजकुमार लोभिइहाले। “व्यवसाय ठिकै चलिरहेको थियो,” उनी भन्छन्, “जिन्दगी राम्रो बन्छ भने किन नजाने भन्ने सोच आयो।”

त्योबेला रुस–युक्रेन युद्ध चर्किएरहेको खबर उनलाई जानकारी थिएन। दलालले पनि बताएनन्। उनी मासिक ३ लाख र पीआरको लोभमा २०८० असोजमा रुस पुगे र सेनामा भर्ती भए।
भर्ती भएको ६ महिनासम्म उनी परिवारको सम्पर्कमा थिए। ह्वाट्सएपमार्फत कुराकानी भइरहन्थ्यो। शुरूमा सबै ठीकै लाग्यो। तर युद्ध चर्किंदै जाँदा स्थिति भयावह बन्दै गयो।
युद्धक्षेत्रको अवस्था सुनेर उनीसहित केही नेपालीले भाग्ने प्रयास गरे। तर रुसी सेनाले उनीहरूलाई पक्राउ गरिहाल्यो। त्यसपछि उनलाई पनि युद्ध क्षेत्रमा पठाइयो।
रुसी सेनाको क्याम्पबाट उनलाई युक्रेनको भूभागमा लगिएको थियो। त्यहाँ पुगेको ९ दिनपछि युक्रेनले आक्रमण थाल्यो। उनीसहितको टोली ड्रोनबाट घेरिए। आकाशमा उडिरहेका ड्रोनले बम वर्षाउन थाले।
उनको समूहमा १४ सैनिक थिए। ड्रोन आक्रमणमा उनीबाहेक सबै मारिए। मृत्यु हुनेमा एक नेपाली पनि थिए। आफ्नै आँखाअगाडि प्राण त्याग गर्दा साथीलाई आफूले पानीसमेत दिन नपाएको उनी बताउँछन्।
राजकुमार मुस्किलले बाँचे। ड्रोन आक्रमणबाट भाग्नेक्रममा उनको हातमा छर्रा लाग्यो। उनी घाइते भए।
घाइते अवस्थामै ड्रोनबाट लुक्दै युद्धभूमिमा १४ दिन बसे। आकाशमाथि जतिखेरै ड्रोनहरूले फन्को लगाइरहेका हुन्थे। उनी कहिले झाडीमा लुक्थे, कहिले बंकरमा। चार दिनसम्म त लासहरूको बीचमा रहे। खानेकुरा थिएन, पानी भने मुस्किलले पाए।
१५औँ दिनमा रुसबाट आएको टोलीले उनको उद्धार गरेर अस्पताल पुर्यायो। “युद्धक्षेत्रमा हुँदा बाँचेर फर्कुंला भन्ने लागेकै थिएन,” उनी भन्छन्, “अस्पताल पुगेपछि मात्र बाँच्ने आशा पलायो।”
अस्पतालमा भर्ना हुँदा परिवारसँग सम्पर्क नभएको महिना दिन पुगिसकेको थियो। युद्धक्षेत्रमा भएकाले साथमा फोन थिएन। अस्पताल पुगेपछि साथीको फोनबाट परिवारलाई खबर पठाए।
यता, परिवार उनको मृत्यु भएको खबरपछि किरिया गरिरहेको थियो। त्यो दिन आफ्नो किरियाको चौँथो दिन भएको पनि उनले थाहा पाए, उनी छाँगाबाट खेसझैँ भए। “युद्ध क्षेत्रमा हराएपछि घरमा मेरो मृत्युको खबर पठाइएको रहेछ,” उनी भन्छन्, “महिना दिनसम्म सम्पर्कमा नआएपछि परिवार पनि मृत्यु स्वकार गर्न बाध्य भएछ।”
काजकिरिया गरिरहेकै बेला उनकी श्रीमतीलाई ह्वाट्सएपमा राजकुमार जिउँदै भएको खबर आयो। यो खबरले परिवार पनि आश्चर्यमा परे। जसरी मृत्युको खबर स्वीकार गर्न मुस्किल परेको थियो, त्यसैगरी जीवित भएको खबर पनि पत्याउन मुस्किल परेको उनका दाजु (फुपूका छोरा) दुर्गा भण्डारी बताउँछन्। “हामीलाई भाइको मृत्यु स्विकारर्न मुश्किल परेको थियो,” छिमेकीसमेत रहेका भण्डारी भन्छन्, “जसोतसो मन बुझाएर काजक्रिया थालेका थियौँ, तर केही दिनमै भाइ जिउँदो भएको खबर आयो।’”
राजकुमारले साथीको फोनबाट भिडियो कल गरे। अनि मात्र परिवारलाई उनी जिउँदै रहेको विश्वास भयो। त्यो क्षण एकदमै कारुणिक थियो। न परिवार बोल्न सके, न राजकुमार। मात्र आँखाबाट आँसुका भेल बगे। एक महिना रणभूमिमा हराएका राजकुमार जिउँदै भएको थाहा पाएपछि परिवारमा पनि खुशी छायो।
***
राजकुमार २०८१ भदौमा नेपाल फर्किए। घाइते बिदाको बहानामा उनी नेपाल फर्किन सफल भए।
यता उनको काजकिरिया गरिसकेकाले उनले फेरि जन्मदेखिको संस्कार गर्नुपर्ने भयो। उनी शुद्धाशुद्धी भए। पुनः बिहेसमेत गर्नुपर्यो। हाल उनी परिवारसँग विराटनगरमै छन्।
अहिले उनलाई पैसा कमाउने मोह छैन। देशविदेश पुग्ने चाह छैन। सम्पत्ति कमाउने रंगीन सपनाहरू छैनन्। परिवारको न्यानो साथले उनी दंग छन्। अहिले बाँचिरहेको जीवन नयाँ जीवन जस्तै लाग्छ उनलाई।
“मैले विदेश देखेँ, युद्ध पनि भोगेँ। मृत्युलाई नजिकबाट देखेँ,” उनी भन्छन्, “अब म कतै जान्नँ। बाँकी जीवन परिवारसँग बिताउँछु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
