‘यसरी राजनीतिक बल र फाइदा लिएर एउटा जातिविशेषको सांस्कृतिक धरोहरमाथि आक्रमण गर्नु हुँदैन, गर्न मिल्दैन। योचाहिँ सामान्यतया सबैले बुझिदिनुपर्ने विषय हो।’
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्बाङ) प्रखर कवि भईकन लिम्बू भाषा–व्याकरण तथा याक्थुङ्(लिम्बू) जातिको जीवनदर्शन मानिने मुन्धुमका अध्येता पनि हुन्। पाँचथरको पौवासारताप मूलघर भएका काइँलाले मुन्धुम विषयक एक दर्जनभन्दा बढी कृतिको लेखन, संकलन तथा सम्पादन गरेका छन्। काइँलालाई सोमबार अपराह्न धुम्बाराहीस्थित निवासमा भेट गर्न जाँदा उनी स्वीस अध्येता जर्ज भान ड्रिमको हालै प्रकाशित ‘अ ग्रामर अफ लिम्बू’ अध्ययन गर्दै थिए।
“अरू त ठीकै रहेछ। सबै भाषावैज्ञानिकका कुरा थाहा पनि हुन्न। तर, जर्जले एक ठाउँमा लिम्बू जातिका युमा र थेवालाई ‘स्पाउस’ (दम्पती अर्थमा) भनेका रहेछन्, यो त गलत हो। राईका सुम्निमा–पारुहाङ दम्पती भएपछि यो पनि होला भन्ठाने कि?”, जर्जको मोटो पुस्तकमा रातो कलमले चिह्न लगाउँदै ८५ वर्षीय काइँलाले पुस्तक परतिर थन्क्याए। र, उकालोका लागि देवेन्द्र भट्टराईसँग कुराकानी शुरू गरे मुन्धुम, मुक्कुम्लुङ र केबलकारको विकासबारे।
यतिखेर पूर्वीपहाड ताप्लेजुङको पाथीभरामा केबलकार लैजाने विषयले निकै चर्चा पाएको छ। त्यो पहाडमा लिम्बू जातिको जातीय र सांस्कृतिक नाभि जोडिएका कारण केबलकार निर्माण गर्न नदिने र दिने दुई पक्ष पनि देखिएका छन्। तपाईंले यसलाई कसरी हेरिरहनुभएको छ?
खोई, त्यो हाम्रो सांस्कृतिक थलोमा केबलकार लगेर के फाइदा हुन्छ, मैले थाहा पाउन सकेको छैन। सबैभन्दा ठूलो कुरा भनेको केबलकार बनाउँदा हाम्रो जैविक कुरा, वन–जंगल मासियो भन्ने पनि हो। हामी प्रकृतिपूजक जाति हौँ, हाम्रो प्रकृतिमाथि खेल भयो भन्ने हो। अझ धार्मिक–सांस्कृतिक महत्त्वको ठाउँमा यो खेला किन गरिँदै छ, मैले बुझेको छैन।
केबलकार बनाउने नै भए अर्कै रुट, अर्कै दिशामा जानुपर्थ्यो। पिता–पुर्खादेखि हामीले मानिआएको, श्रद्धालुले धागो टाँगिबसेको त्यही ढुंगा, त्यही धूप, सल्ला र लालीगुराँसको बाटोमा किन जानुपरेको हो? अर्को कुरा, इतिहासको त्यो लिम्बुवानमा कहीँ कसैको किपट भूभाग पनि होला, त्यो के–कसरी हात पारेका हुन्— यो पनि महत्त्वपूर्ण छ।
त्यो भूमिमा केबलकार बनाउने कुरो आएपछि पहिलेदेखि नै विरोध भइरहेको रहेछ। तर, यसपालि बनाउन थालेपछि भने यसभित्र लुकेको विषय नराम्रै रूप बाहिर देखा परिहाल्यो। फेरि, यो केबलकार बनाउने व्यवसायी समूहलाई सरकारले काँधमा यसरी बोकेको छ कि त्यो हेर्नेलाई लाज लाग्न थालेको छ। यसमा अलिक ढिपी देखियो। व्यापारी–व्यवसायीको धनसम्पत्ति रक्षा गरिदिने कुरा त सरकारको कर्तव्य हो नै। तर त्यही बहानामा आफूसँग भएभरको सुरक्षा फौज र अरू संयन्त्र खटाएर खतरा निम्त्याउने काम सरकारले गरेको छ। त्यो किन त्यति जरुरी अवस्था थियो कि बन्दुक, गोली–गट्ठासहितका त्यति धेरै पुलिस त्यो डाँडामा पठाउनुपर्ने?
स्थानीय तहको सहमतिमै काम थालिएको भए पनि पछि विवाद आएको चर्चा बढी गरिन्छ। हरेक विकास–निर्माणमा यसैगरी बाधा–विरोध हुने गरेको सिको पाथीभरामा पनि देखियो नि?
त्यसो होइन। के गरियो, कसरी विकासको घिर्लिङ त्यो डाँडामा लैजाने कुरा भयो— बुझिनसक्नु भएको छ। त्यो मुक्कुम्लुङ हामी लिम्बू जातिको मुन्धुममा उल्लेख हुने स्थान हो। सांस्कृतिक र धार्मिक महत्त्वको त्यो पवित्र स्थानमा सबै कुरामा आघात पुग्ने गरी केबल कार नबनाउँदा पनि हुन्थ्यो नै। बनाउनै परे पनि नयाँ दिशा, पइन्टमा लगेर बनाउनु ! किन त्यही पैदल बिन्दुमा निहुँ खोज्न जानु ? मुक्कुम्लुङको त्यही पाथीभरा डाँडामा खुत्रुक्क उत्रने गरी किन चाहियो केबलकार? जस्तो— मलाई लागेको के भने सदरमुकाम फुङलिङबाट तल्लो फेदी (चर्चामा रहेको काफ्लेपाटी) सम्म त्यो घिर्लिङ बनेको भए यस्तो अप्ठ्यारो आउने थिएन कि?
शायद यहाँ व्यापार र राजनीतिले काम गरेको हुनुपर्छ। यसरी राजनीतिक बल र फाइदा लिएर एउटा जातिविशेषको सांस्कृतिक धरोहरमाथि आक्रमण गर्नु हुँदैन, गर्न मिल्दैन। योचैँ सामान्यतया सबैले बुझिदिनुपर्ने कुरा हो। यो सरकारले गम्भीरतासाथ ध्यान दिनुपर्ने कुरा थियो। तर सरकार आफैँले एउटा व्यापारी वर्गलाई बोकेर हिँडेको देखिन्छ। कतिसम्म भने केबलकार बनाइछाड्ने उनीहरूको योजना पूरा नहोइन्जेल प्रहरी शक्ति लिएर सरकार पनि सँगसँगै हिँडेको देखिन्छ, यो नराम्रो हो।
फेरि हामी जनताले चित्त नबुझ्दा आन्दोलन गर्न पाउनु त अधिकारै हो, यो स्वाभाविक पनि हो। तर, आन्दोलनकारीमाथि पूरै नियत राखेर हतियार प्रयोग गर्ने, त्यो पनि मार्ने नियतमै बन्दुक चलाउनु ठीक देखिएन। सरकारले सोझै छातीमा ताकेर त कहीँ नि हान्दैन, गोली त अन्यत्र चल्नुपर्ने हो। घुँडादेखि तल मात्रै गोली हान्ने होइन र? यहाँ त सोझै छातीमा ताकेर हानेको छ। कसैको छातीमा र कसैको कुममा लागेको छ गोली, कसैको करङ भाँच्चिएको भनिएको छ। केही मान्छे मारेपछि भीड तर्सिन्छ र भाग्छ भनेजस्तो माहौल देखियो। यसरी एउटा व्यापारीको हितमा लागेर जनताको बोली बन्द गर्ने सरकारको यो चाला ठीक भएन। मलाईचैँ पटक्कै राम्रो लागेन।
के भनिँदै छ भने ताप्लेजुङ, पाथीभरा, मुक्कुम्लुङको कुरामा बाहिर–बाहिरका मान्छेले बोल्नुको अर्थ छैन। यो अरूको सरोकारको कुरा होइन भनिएको छ नि?
होइन, कसले यस्तो कुरा गरेको? सांस्कृतिक धन र सभ्यता ‘लोकल’ हुन्छ र? त्यो जाति जहाँ–जहाँसम्म व्याप्त छ, त्यहाँ–त्यहाँसम्म यसको मर्म–धर्म जोडिन्छ। त्यसको उत्पत्तिको थलो आफ्नै होला तर त्यसलाई पालन गर्ने (मान्ने, पुज्ने) मान्छेको फैलावटअनुसार त्यसले भौगोलिक सिमानालाई नाघेर जान्छ। मुक्कुम्लुङबारे संसारभरका लिम्बू जातिले बोल्न पाउँछन्, बोल्नुपर्छ। यो मानव अधिकारको कुरा कहाँ ‘लोकल’ हुन्छ? जहाँसम्म बाहिरकाले बोल्न पाइँदैन भनेर भनिएको छ, यो त कुनै व्यापारिक समूहको इन्ट्रेस्टमा जोडिएर सरकारले गरेको फत्तुर कुरा हो। त्यहाँ सरकारले जनता, वर्ग, जातिलाई फुटाएर शासन गर्न खोजेको देखिन्छ। सरकारले त सबैप्रति निष्पक्षताले हेर्नुपर्ने हो। ऊ सांस्कृतिक सम्पदा संरक्षण गर्नेतिर जानुपर्ने हो, कानूनलाई हेर्नुपर्ने हो।
तपाईं मुन्धुमको ज्ञाता र शोधकर्तासमेत हुनुहुन्छ। मुक्कुम्लुङको महिमालाई कसरी अर्थ्याइएको छ मुन्धुममा?
हो, मुन्धुममा राम्रोसँग उल्लेख छ मुक्कुम्लुङ। हामी लिम्बूको पवित्र श्रुतिशास्त्र हो—मुन्धुम। सृष्टिपछाडि पृथ्वी बन्दाखेरि हावापानी, माटो, ढुंगा र पहाड–पर्वतको कुरा आउँछ। यी सबै तत्त्वको निर्माण कसरी भयो भन्ने बयान आउँछ। पछि कथाको बिस्तार हुँदै जाँदा लिम्बूको आराध्यदेवी युमा पृथ्वीमा मानव जातिको हालत के छ भनी बुझ्न आउँदा यो डाँडामा आइपुगेर, यहाँ एकछिन तान फिँजाएर बसेको (बुनेको) कथा पनि आउँछ। यसरी, तान बुन्नु भनेको सामान्यतया मान्छेको जीवन(शैली)लाई सहज बनाउनु हो। अझ नजिकैको अर्को फक्ताङलुङ(कुम्भकर्ण) डाँडोलाई त मुन्धुममा ‘पृथ्वीको नाभि’ मानिएको छ। यसरी लिम्बूहरूको निम्ति शक्तिको पीठ हो—मुक्कुम्लुङ।

यत्ति हो कि लिम्बू जातिले आफ्ना देवीदेवता मान्ने कुरा घरभित्रै सीमित राखे, उनीहरूले घरलाई नै मन्दिर बनाए। यसकारण लर्को लागेर पूजा गर्न उनीहरू बाहिर कतै गएनन्। धेरैपछि (२००० सालतिर) ताप्लेजुङका मादेन, सुब्बाहरूले घण्टी–ध्वजा लगेर माथि मुक्कुम्लुङ डाँडामा राखेका रहेछन्। त्यो पूजाआजा देखेर हिन्दू दर्शनार्थीको पनि त्यहाँ आवतजावत बढेको हो। हाम्रो जातिले त सधैँसधैँ प्रकृति पूजा गर्यो। हावापानी, माटो, वन–जंगल, ढुंगा, पर्वतमा आफ्नो मुन्धुमी शक्ति पहिल्याएको हो हाम्रो जातिले। त्यसमा पनि मुन्धुममा आएको मुक्कुम्लुङलाई लिम्बूहरूले आफ्नो पहिचान, संस्कृति र अस्तित्वमा जोडेका हुन्।
मठमन्दिर बनाउने भन्ने कुरा त धेरैपछि बडाहाकिम शासन हुँदा आफ्नै सोखमा, धर्मका नाममा कहीँकतै बनाएका हुन्। तेह्रथुम, ताप्लेजुङतिर त्यस्तै देखिएको छ। तल पाँचथरमा त २०२९ सालमा मात्रै मन्दिर बनेको हो। इलाममा बडाहाकिमहरूले माई, भीमसेन मन्दिर बनाएका हुन्।
तर, अहिले यही मुद्दा थोरै ‘जातीय’ बनेको देखिन्छ नि। जस्तो, लिम्बूको पाथीभरा होइन, मुक्कुम्लुङ हो। बाहुनहरूको मात्रै पाथीभरा हो भन्दै अर्कै तप्कामा बहस शुरू भएको छ नि?
यो ठूलो विवादको कुरै होइन। पाथीभराभन्दा नामले अतिक्रमण गरेको यथार्थ हो। शुरूदेखि नै ‘मुक्कुम्लुङको पाथीभरा मन्दिर’ भन्दै जोडेर भन्दिएको भए यो समस्या नै आउने थिएन। पाथीभरा मन्दिरको लोकप्रियताले मुक्कुम्लुङ अलिक ओझेलमा परेको हो। ठाउँ त पाथीभरा होइन नि मन्दिरको नाम पो पाथीभरा हो। मुक्कुम्लुङ डाँडाको टुप्पामा पाथीभरा भन्ने मन्दिर छ, योचाहिँ सत्य हो। त्यही पाथीभरा पनि ‘भरिएको पाथीजस्तो आकारमा त्यो डाँडा उभिएकाले’ यो नामकरण गरिएको हो, अनि देवीको नाम नै पाथीभरा राखिएको हो भनेर व्याख्या गर्दा त भइहाल्यो। लिम्बूहरूले पनि ‘मुक्कुम्लुङ देवी’ हो त भनेका छैनन्। प्रकृतिसँग मिलेर बसौँ भन्ने यो सहअस्तित्वको कुरा पनि हो। बरु अहिले विरोध र विग्रह त त्यही हाम्रो मुक्कुम्लुङमा जान लागेको घिर्लिङ (केबलकार)का कारण मच्चिएको हो नि।
अहिले देशभरका सबैजसो धार्मिकस्थल, डाँडाकाँडामा केबलकार बन्नेक्रम बढेको छ। तपाईंले बुझेको विकास के हो?
म यसरी विकासको सग्लो परिभाषा भन्न नसकौँला। तर, मुक्कुम्लुङको पाथीभरा देवी जाने बाटो सहज भइदिनुपर्यो। ठाउँ–ठाउँमा पाटी, शौचालय, खानेपानी सुविधा दिनुपर्यो। तीर्थालुलाई सेवा, सत्कार र आतिथ्यको व्यवस्था हुनुपर्यो। यसरी सबैतिर केबलकार बनाएरै विकास हुने हो भने त भारतले पनि बद्री–केदारनाथ र चीनले मानसरोवरको टुप्पोमा केबलकार लैजान सक्ला नि! मानसरोवरमा त कोरा यात्रा गर्नैपर्छ, म माउन्टेयरिङ गर्छुभन्दा पनि वरपर हिँड्नै दिँदैन। त्यो बिकट ठाउँमा केबलकार नभएरै पनि आखिर दसौँ लाख तीर्थालु गएकै छन्। त्यही भएर विकास भन्नेबित्तिकै सपाट कुरा गरेर हुँदैन नि। मान्छेको धार्मिक भावनालाई ‘क्यास’ गरेर हरतरहले पैसै कमाउने यो नियत एकदमै गलत छ।
फेरि, डाँडाकाँडामा रहेका देवीदेवतालाई आफ्नो घरको अन्न–चामल, फूलपाती, पानी र चोखोमनितो सर्जाम लैजान प्रतिबन्ध गरिएको रहेछ, केबलकार विकासकै कारण। पाठपूजाका यस्ता सामान त्यहीँ पुगेर किन्नुपर्ने अर्को साइड व्यापार पनि चलेको रहेछ। धर्म र भगवान्का नाममा कति धेरै व्यापार गर्न सकेका हुन्? कति कमाएर कति हुन्छ? म त छक्कै पर्छु। फेरि यस्तो कुरामा नेपाल सरकारलाई व्यापारीको ‘दलाल’ बनाइएको देख्दा दुःख लागेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
