सन् १९४० को दशकदेखि फाट्टफुट्ट नेपाली अमेरिका जान थालेका थिए। अहिले त्यहाँ साढे ३ देखि ४ लाख नेपाली छन्। ट्रम्पले ल्याएको नयाँ आप्रवासन नीतिले कति नेपाली प्रभावित हुन्छन्? के उनीहरू घर फिर्नुपर्छ?
काठमाडौँ– अहिले साल त घुमी आएँ अम्रिकाका बाल्टिमुर
त्यहाँ पनि पाइँदो रैछ टिमुर सिल्टिमुर।
गत तीजमा सार्वजनिक भएको गीतमार्फत पवित्रा रसाइली र बीबी अनुरागीले अमेरिका पुगेको नेपाली स्वाद र संस्कृतिबारे बोलेका छन्। विशाल अमेरिकी भूगोलमा नेपालीपन पुग्न र फैलिन कति समय लाग्यो होला? नेपालीहरू कहिलेदेखि अमेरिका जान थाले होलान्?
सबैभन्दा पहिले अमेरिका जाने नेपालीमा पद्मसुन्दर मल्लको नाम आउँछ। पढ्न कलकत्ता गएका भक्तपुरे राजाका सन्तान पद्मसुन्दर त्यहीँबाट जापान हुँदै सन् १९१९ (१९७६ साल) मा अमेरिका पुगेका थिए। इतिहास अध्येता राजेन्द्र महर्जनका अनुसार पद्मसुन्दरले अमेरिकाबाटै इलेक्ट्रिक इन्जिनियरिङ गरेर सन् १९२४ (१९८१ साल) मा नेपाल फर्किएका थिए। बिनाअनुमति विदेश गएका कारण तत्कालीन नेपाली समाज र शासकले स्वीकार नगर्दा उनी अमेरिका पुग्ने पहिलो आधिकारिक व्यक्ति हुन सकेनन्।
नेपालस्थित अमेरिकी दूतावासको वेबसाइटअनुसार अमेरिका भ्रमण गर्ने पहिलो आधिकारिक व्यक्ति कृष्णशमशेर जबरा हुन्। राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा उनी बेलायतका लागि नेपाली राजदूत रहेका बेला सन् १९३९ मा त्यहीँबाट अमेरिका गएर नेपाल फर्केका थिए।
त्यसपछि, उनका उत्तराधिकारी जनरल सिंहशमशेर जबरा सन् १९४५ को अन्त्यतिर अमेरिका पुगेका थिए। सन् १९४६ मा कमान्डिङ जनरल बबरशमशेर जबराको नेतृत्वमा अमेरिकी विदेश र सामरिक मन्त्रालयको पाहुना भई गएको नेपाली मिसनले जुलाई २५ देखि अगस्ट १ सम्म वासिंगटनको भ्रमण गरेको थियो।
इतिहासकार रमेशकुमार ढुंगलेको रिसर्च नोट ‘नेप्लिज इमिग्रेन्ट्स इन द युनाइटेड स्टेट्स अफ अमेरिका’मा उल्लेख भएअनुसार नेपालीको अमेरिका भ्रमण सन् १९४० को दशकमा शुरू भएको हो। सन् १९४७ मा दुई देशबीच दौत्य सम्बन्ध स्थापित भयो, जसले गर्दा कूटनीतिक मामिलामा अमेरिका जाने नेपाली बढ्न थाले।
ढुंगेलका अनुसार पहिलो पटक सन् १९५२ मा एक नेपालीले आप्रवासीका रूपमा अमेरिकामा स्थायी बसोबास पाएका थिए। अमेरिकामा नेपाली आप्रवासीको संख्यामा क्रमिक वृद्धि सन् १९५६/५७ पछि मात्र हुन थालेको हो। त्यसअघि नेपालीलाई अमेरिकामा ‘अन्य एशियाली’को श्रेणीमा राखिन्थ्यो।
सन् १९९० को दशकपछि अमेरिकामा नेपालीहरूको आप्रवासन ह्वात्तै बढेको विभिन्न तथ्यांकले देखाउँछ। त्यही बेला अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) प्रणाली लागू गर्नु, नेपालमा पनि प्रजातन्त्र पुनर्बहालीपछि नागरिकलाई देश छाड्न सहज हुनुलगायत कारणले अमेरिका जाने नेपालीको संख्यामा वृद्धि भयो।
“सन् १९८० को दशकको अन्त्यसम्म उच्च शिक्षित र प्राविधिक रूपमा दक्ष नेपाली मात्र अमेरिका जाने गरेकोमा १९९० मा डीभी प्रणाली आएपछि कम शिक्षित नेपालीलाई पनि अमेरिका प्रवेश गर्न सहज भयो,” ढुंगलेको रिसर्च नोटमा उल्लेख छ।
कुनै पनि देशका नागरिकले अमेरिकामा स्थायी बसोबास अनुमति प्राप्त गरिसकेको छ भने उनीहरूलाई आप्रवासी (इमिग्रेन्ट) भनिन्छ। यस्तै, कुनै निश्चित उद्देश्य, जस्तै– पर्यटन, व्यापार, अध्ययन, वा उपचार गर्न निश्चित समयका लागि अस्थायी प्रवेश अनुमति दिइएको छ भने उनीहरू गैर–आप्रवासी (नन–इमिग्रेन्ट)मा राखिन्छन्।
अहिले कति नेपाली छन्?
अमेरिकाको आन्तरिक सुरक्षा विभाग (डीएचएस)का अनुसार त्यहाँ सवा तीन लाखभन्दा धेरै नेपालीमूलका बासिन्दा छन्। जसमध्ये, सन् २०२४ सम्म दुई लाखभन्दा धेरैले स्थायी आवासपत्र (ग्रिनकार्ड) र झन्डै ८७ हजारले नागरिकता प्राप्त गरिसकेका छन्। यस्तै, २० हजार विद्यार्थी छन् भने २० हजार जनाले शरणार्थी बन्न आवेदन दिएका छन्। ७५ सयले अस्थायी आवासीय अनुमति पाएका छन्।
अवैधानिक रूपमा बस्दै आएकाहरूको रेकर्ड नहुने भएकाले अमेरिकामा रहेका सबै नेपालीको संख्या ठ्याक्कै कति छ यकिन छैन। एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेका अनुसार सबैगरी साढे तीनदेखि चार लाख नेपाली अमेरिकामा छन्।
“प्रत्येक वर्ष १०/११ हजार नेपालीले ग्रिनकार्ड पाउँछन्, पाँच/छ हजारले नागरिकता पाउँछन्,” अध्यक्ष बन्जाडे भन्छन्, “ठ्याक्कै कति छन् भन्न त सकिन्न, साढे तीनदेखि चार लाखको हाराहारीमा रहेको हाम्रो अनुमान हो।”
बन्जाडेका अनुसार विभिन्न उद्देश्यका साथै ‘सुनौलो सपना’ पछ्याउँदै नेपालीहरू अमेरिका पुग्छन्। त्यसमध्ये उच्च शिक्षा, रोजगारीका साथै डीभी परेर र शरणार्थीका रूपमा अमेरिका पुग्नेको संख्या ठूलो छ।
डीभीमार्फत वार्षिक ३/४ हजार नेपाली अमेरिका जान्छन्, जुन संसारभरिबाट डीभी पर्नेहरूको संख्याको ७.५ प्रतिशत हो। अहिलेसम्म डीभी परेर करिब ५० हजार र शरणार्थीका रूपमा गएर ग्रिनकार्ड प्राप्त गरेकाहरू ५१ हजारभन्दा धेरै छन्।
अध्ययन प्रतिवेदन ‘नेपाली माइग्रेन्ट ड्रिम्स इन द अमेरिकन ल्यान्डस्केप’का अनुसार सन् १९९० मा ४३१ जना नेपालीसँग ग्रिनकार्ड थियो। १० वर्षपछि सन् २००० मा यो संख्या ९ हजार पुगिसकेको थियो।
अमेरिकाको जनगणनाअनुसार सन् २०१० सम्म ५९ हजार नेपाली अमेरिकामा बसोबास गर्थे। सन् २०१९ मा एक लाख ९८ हजार र सन् २०२३ मा दुई लाख आठ हजार ७४८ नेपालीले ग्रिनकार्ड लिइसकेका छन्।
यस अध्ययनका अनुसार अहिले अमेरिकामा रहेका नेपालीमध्ये सबैभन्दा धेरै अर्थात्, ४९ प्रतिशत सन् २०१० देखि २०१९ को बीचमा प्रवेश गरेका हुन्। यसको मुख्य कारण २०७२ सालको भूकम्पपछि नेपालीले अस्थायी संरक्षित दर्जा (टीपीएस) सेवा प्राप्त गर्नु र शरणार्थीका रूपमा अमेरिका प्रवेश गर्ने क्रम पनि यही समयदेखि बढ्नु नै हो।
आप्रवासनसम्बन्धी मुद्दाले बेलाबेला अमेरिकाको राजनीति तात्ने गर्छ। दुई साताअघि मात्र दोस्रो कार्यकालका लागि शपथ लिएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई निकाला गर्ने घोषणा गरिसकेका छन्।
ट्रम्पको नीतिले कति नेपाली प्रभावित हुन्छन्?
राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको शुरूआतसँगै आप्रवासन नीतिमा कडाइ गरेका छन्। जनवरी २० मा उनले शपथग्रहण गरेसँगै अमेरिकामा रहेका अवैध आप्रवासीलाई उनीहरूकै देश फर्काउन शुरू भइसकेको छ। प्रहरी र अध्यागमन विभागका अधिकारीहरूले घर–घरमा गएर विदेशीहरूलाई सोधपुछ गरिरहेका छन्।
अमेरिकी अध्यागमनले त्यस्ता आप्रवासीहरूलाई हत्कडी र नेल लगाएर ‘डिपोर्ट’ गरिरहेको भिडियो र तस्वीर बाहिरिएका छन्। अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आईसीई)का अनुसार १३ सय ६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ अवैधानिक आप्रवासी तत्काल निष्कासन गर्नुपर्ने सूचीमा छन्।
उक्त सूचीमा सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको, एल साल्भाडोरलगायत देशका नागरिक छन्। यी प्रत्येक देशका अढाई लाखभन्दा धेरै नागरिक यो सूचीमा परेका छन्। यस्तै, चीनका झन्डै ३८ हजार र भारतका १८ हजार छन्।
यी सबै २०२४ नोभेम्बर २४ सम्म निष्कासनका लागि अन्तिम आदेश भइसकेका तर पक्राउ नपरेकाहरू रहेको आईसीईले जनाएको छ। अहिले देश निकाला गरिएकाहरू पनि यही सूचीमध्ये पक्राउ परेकाहरू हुन्। तर अहिलेसम्म कति नेपाली पक्राउ परेका छन् भन्ने कुनै जानकारी छैन। पक्राउ गरेर कहिलेसम्म नेपाल फर्काइन्छ भन्ने टुंगो पनि छैन।
आईसीईको यो सूचीमा परेकामध्ये अधिकांश नेपाली २०७२ सालको भूकम्पपछि अमेरिका प्रवेश गरेकाहरू हुन्। त्यसभन्दा अगाडि पनि अमेरिका प्रवेश गरेर निष्कासनका लागि आदेश भइसकेकाहरू टीपीएसअन्तर्गत बसिरहेका छन्। अमेरिकाले अहिले १७ देशका नागरिकलाई टीपीएस प्रदान गर्छ।
नेपालमा २०७२ सालको भूकम्पले हजारौँको ज्यान लिएको र लाखौँ घरबारविहीन भएपछि त्यही वर्षको जुन २४ देखि अमेरिकाले नेपालीहरूलाई टीपीएस दिन थालेको हो। त्यसअन्तर्गत गत अक्टोबर २४ सम्म १९ हजार नेपाली अमेरिका पुगेका छन्।
अघिल्लो ट्रम्प प्रशासनले नेपालीले पाइरहेको उक्त दर्जा २०१९ जुनमा समाप्त हुने घोषणा गरेको थियो। तर यो विषय त्यति बेला अदालती प्रक्रियामा गयो र नेपाली टीपीएसवाहकले अमेरिकामा राम्रो योगदान गरेको पक्षपोषण पाउँदा २०२१ सम्मका लागि समयावधि थपियो। पछि बाइडेन प्रशासनले यसको समय २०२५ जुन २४ सम्म पुर्याएको थियो।
यस पटक ट्रम्प प्रशासनले त्यसलाई लम्ब्याउँछ वा अन्त्य गर्छ भनेर अहिल्यै भन्न नसकिने एनआरएनए अमेरिकाका अध्यक्ष डा. बन्जाडे बताउँछन्। “अहिलेसम्म त धेरै देशको टीपीएस बन्द गरेको र कसैको निरन्तरता दिइएको अवस्था हो। अब ट्रम्प प्रशासनले के गर्छ भन्न सकिँदैन। नेपालको टीपीएस आउँदो जुन २४ मा सकिनेछ, त्यसपछि उनीहरूले अमेरिका छाड्नुपर्ने हुनसक्छ,” उनी भन्छन्।
बन्जाडेका अनुसार विद्यार्थी तथा भिजिट भिसामा आएर टीपीएसमा दर्ता भएकाहरू पनि छन्। यसमा दर्ता भएपछि रोजगारी गर्न सजिलो हुन्छ भने, कानूनी हैसियत पनि बलियो हुन्छ। तर यो दर्जा रोकेपछि कि पुरानै हैसियतमा फर्किनुपर्छ, कि देश निकाला हुन्छ। त्यसको अर्थ, विद्यार्थी भिसामा आएको थियो भने त्यही भिसा कायम गर्नुपर्ने उनी बताउँछन्।
‘तल्लो बाटो’ बन्द होला?
गैरकानूनी तरिकाले सीमा नाकाबाट अमेरिका प्रवेश गर्नुलाई ‘तल्लो बाटो’ भनिन्छ। दलाललाई ५०–६० लाखदेखि करोड रूपैयाँसम्म बुझाएर अमेरिका पुगेका नेपाली पनि कानूनी रूपमा त्यहाँ बस्न मान्यता नपाउँदासम्म गैरकानूनी हुन्छन्।
यसरी अमेरिका प्रवेश गर्न खोज्ने कतिपय मेक्सिको नाकामै थन्किन्छन्। अमेरिका प्रवेश गर्न सकेकाहरूलाई प्रहरीले भेटेमा पक्राउ गर्छ। कतिको मुद्दा अध्यागमन अदालतमा जान्छ, कतिले शरणार्थी बन्न माग गर्छन्। अदालतले अमेरिकामा बस्न योग्य ठहर नगरे देश निकाला गरिन्छ।
अमेरिकी अध्यागमन आईसीईका अनुसार जो बाइडेनको कार्यकालमा १३२ नेपालीहरू पक्राउ परेका थिए र १३० जनालाई डिपोर्ट गरिएको थियो। त्योबाहेक सीमाक्षेत्रमा कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी)ले पक्राउ गरेर आईसीईको हिरासतमा पठाएका नेपालीहरूको संख्या २७ सयभन्दा बढी थियो।
अमेरिका प्रवेश गर्न मेक्सिको सीमासम्म पुगेकामध्ये कतिले अमेरिका प्रवेश पाए, कति प्रहरीको नियन्त्रणमा छन् र कति लुकिछिपी काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक छैन। डीएचएसको तथ्यांकअनुसार जो बाइडेनको कार्यकालमा राष्ट्रव्यापी अमेरिकी सीमा गस्ती (यूएसबीपी) ले लगभग ९ हजार नेपालीको अभिलेख राखेको थियो। अघिल्लो ट्रम्प प्रशासनको समयमा भने १८ सय ५० नेपाली मात्र अमेरिका प्रवेश गर्न सीमा क्षेत्रसम्म पुगेका थिए।
अहिले ट्रम्प प्रशासनले बाइडेन प्रशासनले जस्तो ह्वारह्वार्ती अमेरिका छिर्न दिने सम्भावना देखिँदैन। आफ्नो पहिलो कार्यकालदेखि नै मेक्सिकोसँगको सीमामा पर्खाल नै लगाउने बताउँदै आएका राष्ट्रपति ट्रम्पले यसपटक यो विषयलाई झन् गम्भीरताका साथ लिने जनाएका छन्। सीमा क्षेत्रमा सेनाको परिचालन पनि बढाएका छन्।
अध्यागमनका लागि बनाइएको ‘कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन एप’ (सीबीपी एप) बन्द भइसकेको छ। ट्रम्पको नयाँ आदेश अनुसार, यस एपमार्फत ‘अपोइन्टमेन्ट’ मात्र रोकिएको छैन, अपोइन्टमेन्ट लिएकाहरूको अपोइन्टमेन्ट पनि रद्द गरिएको छ। एपमा यो सूचना आउनेबित्तिकै अमेरिकी सीमामा हताश आप्रवासीको भीड देखिएको अमेरिकी सञ्चारमाध्यमहरूले लेखेका थिए।
तल्लो बाटोबाट अमेरिका प्रवेश गरेका नेपालीहरू पनि ट्रम्पको कडा आप्रवासी नीतिले हतासमा छन्। टिकटकलगायत सामाजिक सञ्जालमा नेपालीहरूका थुप्रै भिडियो भेटिन थालेका छन्, जसमा ट्रम्प सरकारदेखि त्रसित उनीहरू त्यहाँबाट भागेर मेक्सिको–बोलिभिया हुँदै दक्षिण अमेरिकी राष्ट्रहरूमा गइरहेका देखिन्छन्। भिडियोमा एक जना भन्छन्, “हत्कडी लाएर नेपाल फर्किनुभन्दा बरु मेक्सिको बोर्डर कटेर साउथ अमेरिकातिर जाने प्लान गरिरहेका छौँ। ट्रम्पले हामीलाई अमेरिकाबाट लखेटे।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
