एनपीएल: भव्य आयोजनासँगै केही प्रश्न, केही चुनौती

भविष्यमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाएर भारत र पाकिस्तानलाई बोलाएर खेल सञ्चालन सम्भव छ भन्ने विश्वास एनपीएलले बढाएको छ।

पछिल्लो महिना नेपाल क्रिकेटमय बन्यो। न्युज पोर्टल, सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो तथा टेलिभिजनभर नेपाल प्रिमियर लिग (एनपीएल) छायो। एनपीएलमाथि समाजशास्त्रीको कलम चल्यो, ख्यातिप्राप्त पत्रकारले बहस र विवेचना गरे, विभिन्न अन्तर्राष्ट्रिय मिडियाले एनपीएलबारे लेखे। देशविदेशबाट निकै चर्चा कमाएको एनपीएल नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन भएको थियो। एनपीएल पछिल्लो समय रुचाइएको क्रिकेटको टी२० शैलीमा सम्पन्न भएको हो।

निकट विगत
लामो संरचनामा खेलिने टेस्ट क्रिकेट मात्रै नभएर अहिले विश्वव्यापी रूपमा टी२० शैलीसँगै नयाँ ब्रान्डका रूपमा क्रिकेट परिष्कृत भएको छ। सन् २०१४ मा पहिलो पटक टी२० विश्वकप खेलेको नेपाल एक दशकपछि पछिल्लोचोटि सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा गएर क्रिकेट विश्वकप खेल्यो। नेपाल विश्व क्रिकेटको रंगमञ्चमा उदाउँदो देशका रूपमा सन् २०१४ मै चिनिएको थियो। तर त्यसको एक दशकपछि मात्रै नेपालले सोही फर्म्याटको वर्ल्डकपमा दोस्रो पटक सहभागी जनाउन सकेको हो।

सन् २०१४ मा पहिलोचोटि बांग्लादेशमा आयोजित टी२० विश्वकप खेलेपछि नेपालभित्र क्रिकेटको उभार शुरू भयो। पहिले हल्काफुल्का क्रिकेट हेर्नेले त्यसपछि चाखपूर्वक हेर्न थाले। नेपाली समाजमा क्रिकेटको माहौल शुरू भयो, शहरबजारका चोकचोकमा प्रोजेक्टरसहित वर्ल्डकप हेरियो। त्यसको एक दशकपछि सन् २०२४ मा फेरि त्यस्तै माहौल बन्यो, शहरबजारका चोकचोकमा बिहानैदेखि दिउँसोसम्म क्रिकेट हेरियो/देखाइयो। सन् २०१४ मा बांग्लादेशमा आयोजित विश्वकपमा जस्तै नेपाली क्रिकेट समर्थकले सन् २०२४ मा पनि अमेरिका र वेस्ट इन्डिजमा गएर आफ्नो उपस्थिति जनाए।

एक दशक अगाडिको क्रिकेट वर्ल्डकपताका नेपालमा क्रिकेट चर्चित भएलगत्तै नेपालमा एनपीएल आयोजना गर्ने भनियो। तत्कालीन अवस्थामा संघ तीव्र राजनीतिक चपेटामा थियो। स्वार्थ समूहहरूका कारण पनि एनपीएल आयोजना गर्ने जिम्मेवारी निजी कम्पनीलाई दिइएको थियो। नेपालले टी२० वर्ल्डकप खेले पनि क्यानले एक दिवसीय शैलीमा एनपीएल आयोजना गर्‍यो।

सन् २०१४ को एनपीएल र सन् २०२४ को एनपीएलबीच आकाश पाताल फरक छ। समानता एउटै छ, दुवै एनपीएल हुनुपूर्व टी२० वर्ल्डकपमा नेपालको सहभागिता। क्यानले सन् २०१४ को एनपीएल आयोजनाको जिम्मा निजी कम्पनीलाई दिएको थियो। तर सन् २०२४ को एनपीएल क्यानले आफ्नै जिम्मेवारीमा सञ्चालन गर्‍यो। कुनै पनि संस्थाले यदि काम आफैले गर्दै छ भने उसले धेरै सवालको जवाफ दिनुपर्ने हुन्छ, त्यसका लागि उसले राम्रै तयारी र प्रयत्न पनि गर्नुपर्छ।

क्यानमा आफ्नो दोस्रो नेतृत्वको कार्यकाल लिएर आए चतुरबहादुर चन्द। चन्दले आफ्नो दोस्रो कार्यकालमा सन् २०१९ मा निलम्बन फुकुवापछि पहिलो पटक क्रिकेट संघमा भित्र्याएभन्दा निकै फरक टिम लिएर आए। सन् २०२३ को सेप्टेम्बरमा उनले पारस खड्कालाई सचिवमा सँगै लिएर आए। दोस्रो कार्यकालको पहिलो बैठकले एनपीएलको आयोजना क्यान आफैँ गर्ने निर्णय गर्‍यो। नेपाल टी२० लिग आयोजना गर्दा स्पट फिक्सिङ र पारिश्रमिकदेखि मालिक को हो भन्नेलगायत विविध विषयमा विगतमा विवाद भएका थिए। 

त्योभन्दा चर्को विषय क्यानले बिनाप्रतिस्पर्धा विदेशी कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आठ वर्षका लागि जम्मा ३३ करोड नेपाली रुपैयाँमा क्यानको आधिकारिक लिग नेपाल टी२० गर्ने जिम्मेवारी दिएको थियो। यस पटक क्यानले सम्पूर्ण लिग नै आफैँ सञ्चालन गर्दा टिमको फ्रेन्चाइज बिक्री गर्दा खेरी नै लगभग १७ करोड कमाएको छ।

एनपीएलका सबल पक्ष
एनपीएल आफैले गर्न नसक्नेजस्तो गरेर विगतमा क्रिकेट संघ पछाडि बढेको थियो। तर यस पटकको नेतृत्वले आफ्नो पहिलो बैठकमै क्यानको आधिकारिक अन्तर्राष्ट्रियस्तरको लिग एनपीएल हुने र सोको आयोजना आफै गर्ने निर्णय आफैमा निकै महत्त्वपूर्ण थियो। कुनै पनि क्रिकेट गतिविधि हुने देशमा एउटा मात्रै अन्तर्राष्ट्रियस्तरको लिग सञ्चालन हुने गर्छ। एनपीएलको आयोजना क्यान आफैँले गर्नु सबैभन्दा बलियो पक्ष हो। क्यान कुनै सरकारी निकाय होइन। यसको संरचना र काम गर्ने शैली फरक छ। खासमा क्यानले क्रिकेट खेल गतिविधि नै गर्ने हो। तर वर्तमान विश्व परिवेशमा आर्थिक रूपले बलियो बन्नका लागि क्रिकेट हेर्ने निकायले विश्वस्तरका क्रिकेट लिग आयोजना गर्दै आएका छन्।

सन् २००७ मा पहिलोचोटि टी२० वर्ल्डकपपछि सन् २००८ मा शुरू भएको आईपीएल अहिले विश्वका ठूला लिगमध्ये पर्छ। भारत मात्रै होइन, विश्वभरका क्रिकेट खेलाडीका लागि राम्रो कमाइको स्रोत बनेको छ आईपीएल। क्रिकेट खेलेर करोड–करोड कमाउने भएपछि भारतजस्ता देशमा क्रिकेट खेलाडीको जीवन सहज भएको छ।

क्रिकेट लिग क्रिकेट संघ र मातहतका प्रदेश र जिल्ला क्रिकेट संघले सञ्चालन गर्नुपर्छ। क्रिकेट लिग कुनै निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिँदा त्यसमा शंकास्पद गतिविधि देखिन थाल्छ। खेल मिलेमतो हुनेसम्मको जघन्य गतिविधिले खेलको आत्मा (स्पोर्ट स्पिरिट) हराउँछ। हार्ने र जित्ने निश्चित भएर खेलिने खेलले कुनै उपलब्धि दिन सक्दैनन् न त खेलमा मजा नै। केही वर्षअगाडि नेपालमा भएको नेपाल टी२० लिग मिलेमतोजस्ता घटनाबाट प्रभावित हुन पुगे। खेलको परिणाममा पहिल्यै मेलमिलाप गरेर खेलिने खेल वास्तवमा खेल नभई खेलको प्राण अन्त गर्ने जघन्य अपराध हो।

नेपालमा क्यान क्रिकेट अनुगमन र व्यवस्थापन गर्ने एक मात्रै संस्था भएकाले सोको जस अपजस सबै उसले लिनुपर्ने हुन्छ। त्यसैले ऊ मातहत बाहिर गएर प्रतिस्पर्धात्मक क्रिकेट खेल गतिविधि गराउन निजी संघसंस्थालाई जिम्मा दिनु खेल गराएर पैसा कमाऊ भन्नु हो। संघ आफैले जुवा खेलाउन सक्दैन, किनभने उसलाई आईसीसीले निरन्तर निगरानी गरिराखेको हुन्छ। तर निजी संस्थालाई खेल गतिविधि सञ्चालन गर्ने जिम्मा दिँदा उसले फाइदा कमाउन जे पनि गर्न सक्छ या भनौँ जुवा नै खेलाउन पनि सक्छ। 

क्यानले एनपीएलको आयोजना गर्दा कमाएको फाइदालाई क्रिकेटको विकासमा लगाउन सक्छ। तर निजी संस्थाले प्रतियोगिता आयोजना गरी कमाएको फाइदा आफै लिएर जाने हो। क्यानले कमाएको फाइदा क्रिकेट गतिविधि सञ्चालन, खेलाडी उत्पादन, खेलमैदान व्यवस्थापन, कोच, अम्पायरदेखि खेल मैदानभित्र राम्रो क्रिकेट देखाउनसम्म लगानी हुन सक्छ। 

निजी क्षेत्रले क्रिकेटमा गर्ने भनेको लगानी हो। जस्तो कि आफ्नो व्यापार प्रवर्द्धनका लागि 'स्पोन्सर' इत्यादि। निजी क्षेत्रले क्रिकेटको क्लब र फ्रेन्चाइज चलाउन सक्ला तर सिंगो प्रतिस्पर्धात्मक खेल प्रतियोगिता सञ्चालन गर्न सक्दैन। यसको उदाहरण विश्वभर हुने क्रिकेट र फुटबलका लिगको सञ्चालनलाई हेर्न सकिन्छ।

यस पटक नेपालमा सम्पन्न एनपीएलले धेरै अर्थमा सकारात्मक सन्देश दिएको छ। क्रिकेट खेलेर पनि जीविका राम्रोसँग सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। क्रिकेट खेलेर समाजमा इज्जत प्रतिष्ठा कमाउनेदेखि देशविदेशमा आफ्नो देशको झन्डा उचाल्ने मौका पाउन सकिन्छ भन्ने सन्देश पनि दिएको छ। देशको आर्थिक गतिविधि चलायमान गराउन पनि क्रिकेटले सघाएको छ। खेल पर्यटनमार्फत ठाउँ–ठाउँमा खेलाडीको घुमफिरले आर्थिक कारोबार बढाएको छ। विश्वभरका विभिन्न क्रिकेट लिगमा सहभागी भई लाखौँ करोडौँ कमाउन सकिन्छ भन्ने उदाहरण दिएको छ। 

हाम्रा क्रिकेट खेलाडीले विदेशी कोच, खेलाडीसँगै उठबस गर्नेदेखि प्रशिक्षण एवं अभ्यास गर्दा नयाँ–नयाँ खेलकौशल सिक्ने मौका पाएका छन्। अन्तर्राष्ट्रियस्तरका टिभी च्यानलबाट विश्वभर हाम्रा विज्ञापन भएको छ। नेपालजस्तो कमजोर अर्थतन्त्र भएको देशले पनि विश्वस्तको लिग आयोजना गरेर राष्ट्रिय आत्मविश्वास सिर्जना गराएको छ। क्रिकेटका माध्यमबाट सिंगो देशलाई एकताको सन्देश प्रसार भएको छ। संघीयताको अभ्यास गर्दै गरेको हाम्रो देशमा आआफ्नो प्रदेशको फ्रेन्चाइज टिमलाई समर्थन गर्दै प्रदेशको स्वामित्व लिने मौका प्रदेशवासीलाई मिलेको छ।

दुर्बल पक्ष
भव्य रूपमा सम्पन्न भएको एनपीएलमा केही कमजोरी पनि देखिए। क्यान आफै संलग्न भएर आयोजना गरेको एनपीएलमा लगानीको स्रोतको लागि यथेष्ट विज्ञापन खोजिएका थिए। तर सजिलै पैसा आउने विज्ञापन भन्दै सट्टेबाजी गर्ने साइटको सरोगेट कम्पनीको विज्ञापन देखाउँदा क्यान आलोचित बन्यो। नेपालको कानूनले सट्टाबाजीलाई गैरकानूनी भनेको छ। त्यसको सिधा विज्ञापन नगरे पनि घुमाउरो ढंगले विज्ञापन गरेर पैसा उठाउने गलत कामबाट एनपीएल अछुतो रहन सकेन।

ठूला लगानीको विज्ञापन आउन नसकेको अवस्थामा सजिलै र ठूलो लगानी आएको भन्दै सरोगेट कम्पनीलाई ठाउँ दिँदै जाँदा कुनै समय अरू विज्ञापनको यस्ता विज्ञापनले पूरै खेलमैदान घेर्न सक्छ। राज्यले पनि खेल कार्यक्रममा लगानी नगर्ने, निजी संस्थाले पनि लगानी नगरेको अवस्थामा सट्टेबाजी कम्पनीको लगानी स्वीकार गर्न सकिन्छ भन्दै क्यान सचिव पारस खड्काले पछिल्लो पटक एक टेलिभिजन वार्तामा अभिव्यक्ति दिए। यसलाई सामान्य रूपमा लिनु हुँदैन। खड्काको ठूलो चर्चामाझ यो विषय ढाकिन पुग्यो तर उनको अभिव्यक्ति अनुचित हो। 

एनपीएलको फाइनलतिर आइपुग्दा भएका केही घटना निकै खतरापूर्ण र संवेदनशील छन्। एनपीएलको टाइटल जनकपुर बोल्ट्सले जितेपछि जनकपुरका समर्थकलाई अराष्ट्रिय तत्त्वझैँ व्यवहार गरेको सामाजिक सञ्जालमा देखियो, त्यो निन्दनीय छ। त्यसमा संलग्नलाई गम्भीर सजाय हुनुपर्छ। त्यस्तै, एनपीएलको शुरूआती दिनमा दर्शक व्यवस्थापनमा क्यान चुक्न पुग्यो। यति ठूलो प्रतियोगिता आयोजना गर्दा त्यसका धेरै पक्षमा ध्यान दिन सकेन। 

एनपीएल दिउँसो आयोजना हुनुलाई अर्को दुर्बल पक्षका रूपमा लिन सकिन्छ। खेल प्रतियोगिता हेर्ने दर्शकलाई फुर्सदको समय आवश्यक पर्छ। त्यसबाहेक फाइनलजस्ता अत्यन्त महत्त्वपूर्ण अर्थ राख्ने खेलमा दर्शकले आफ्नो काम छाडेर पनि खेल हेर्न मैदान पुग्छ या टेलिभिजन सेट अगाडि बस्छ। बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म क्रिकेट वा जुनसुकै खेल गतिविधि हेर्ने समय मिलाउन जोकोहीलाई धौधौ हुन्छ। चाहना हुनेले पनि यस पटक क्रिकेट राम्रोसँग हेर्न पाएनन्। अफिसमा हुनेले कम्प्युटरको एउटा ट्याबमा युट्युबमा एनपीएल खोलेर बसे। 

एनपीएल बेलुकाको समयमा भइदिएको भए लाखौँ मान्छेले टेलिभिजनमा हेर्थे। त्यसका लागि एउटा सुविधासम्पन्न स्टेडियम भइदिएको भए बेलुका एनपीएल हेर्नेको दर्शकको उपस्थिति उल्लेखनीय हुने थियो। फ्लडलाइटबिनाको र गतिलो स्टेडियमबिनै एनपीएल हुनु एनपीएलको दुर्बल पक्ष हो, भलै यसैलाई हामीले सकारात्मक पनि भनेका छौँ। क्रिकेट संघले निरन्तर क्रिकेट स्टेडियम बनाइदिने जिम्मा सरकारको हो भनिरहे पनि ऊसमेत उम्कन गाह्रै छ।

एनपीएलका अवसर
एनपीएल नेपाली खेलकुद इतिहासकै सबैभन्दा भव्य प्रतियोगिता बनेको छ। आयोजक क्यानले आधिकारिक घोषणा नगरे पनि युट्युबबाट साढे पाँच करोडभन्दा बढी, फ्यानकोड, स्टारस्पोर्ट्स, ओटीटीबाट गरी करोडौँको संख्यामा एनपीएल विश्वभरबाट हेरिएको छ। विगतका वर्षमा नेपाल टी२० लिगबाट गुमेको आईसीसीको विश्वास यस एनपीएलले प्राप्त गर्न सक्ने निश्चय नै छ। टेस्ट राष्ट्रका प्रतिष्ठित खेलाडी यहाँ आएर नेपाली खेलाडीसँग खेल्दा हाम्रा खेलाडीको सीप कौशलमा वृद्धि हुन सक्ने, उनीहरूको सिफारिसमा विश्वका विभिन्न फ्रेन्चाइज लिगमा नेपाली खेलाडी सहभागी हुन सम्भावना बढेको छ।

भर्खरै मात्र चितवन राइनोजका कप्तान एवं मार्की खेलाडी कुशल मल्ल दुबईमा हुने आईएल टी२० मा सहभागी हुने मौका पाएका छन्। प्रख्यात कोच टम मोडी (आईपीएल टिम सनराइजर्सका कोच)ले कुशलको तारिफ गर्दै भिडियो सन्देश दिए। एनपीएल खेलेपछि न्युजिल्यान्डका जिम्मी निशिमले नेपालीको आतिथ्य र नेपाली दर्शकको अद्भुत समर्थनबाट नतमस्तक भएको प्रतिक्रिया दिए। आफूले स्वर्ग आएजस्तै अद्भुत अनुभूति गरेको भनेर शिखर धवनले बताए। यी राम्रा संकेत हुन्। 

यस पटक टीसीएमजस्तो निकै ठूलो भारतीय इभेन्ट कम्पनी एनपीएलसँग जोडिएर काम गरेको छ। उसले आईसीसी र एसीसीका ठूलाठूला इभेन्ट सञ्चालन गर्दै आएको छ। स्टारस्पोर्ट्स र फ्यानकोड आदिलाई उच्चस्तरीय टिभी राईट्स बिक्री गर्न सकिने अवसर पनि एनपीएलले दिएको छ। अब स्थानीय खेलाडीदेखि राष्ट्रियस्तरका खेलाडीको जीवनशैलीमा परिवर्तन हुनेदेखि अन्तर्राष्ट्रियस्तरको लिगमा सहभागी हुनसक्ने अवसर सिर्जना भएको छ। अब नेपाली उत्पादन पनि विदेशी बजारमा ब्रान्डको रूपमा स्थापित हुन सक्नेछ। यसले विश्व भूमण्डलीकरणमा नेपाललाई अर्कै स्तरमा पुर्‍याउन मद्दत गर्नेछ। 

नेपालजस्तो उदाउँदो क्रिकेटिङ देशले आयोजना गरेको यस लिगलाई भविष्यमा अझै नै शक्तिशाली बनाई खेल पर्यटनमार्फत पर्यटन बढाउन सम्भव छ। भविष्यमा गतिलो अन्तर्राष्ट्रियस्तरका मैदान बनाइ भारत र पाकिस्तानलाई बोलाएरै यहाँ खेल सञ्चालन सम्भव छ भन्ने विश्वास एनपीएलले दिएको छ। लगानीको बाटो खोजिरहेका निजी क्षेत्रलाई खेलकुदमा लगानी गर्न सकिन्छ भन्ने विश्वासिलो सन्देश पनि यसले दिएको छ। ठूलाठूला कर्पोरेट हाउसको उपस्थितिले एनपीएललाई अन्तर्राष्ट्रियस्तरको लिग बनाउन अझै बढी टेवा दिन सक्ने अवसर दिएको छ।

एनपीएलका चुनौतीहरू
आफैले एनपीएल सञ्चालन गर्नु क्यानको ठूलो उपलब्धि हो। उद्योग विभागअन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयमा नेपाल प्रिमियर लिग प्रालि भनेर दर्ता भएको कुनै एक कम्पनीले एनपीएलको ब्रान्ड आफ्नो हो भन्दै क्यानविरुद्ध मुद्दा दायर नै गर्‍यो। विगतमा एनपीएल आफ्नै ब्रान्ड हो भनेर दाबी गर्ने कम्पनीले समेत एनपीएल नाममा प्रतियोगिता आयोजना गर्न छोडेर ईपीएल आयोजना गर्‍यो। नेपाली क्रिकेट बजार आफ्नो हातमा रहेको देखाउन खोज्ने, विज्ञापनलाई रोक्न खोज्ने विभिन्न समूहलाई छलेर अन्ततः क्रिकेट संघले एनपीएल सञ्चालन गर्‍यो। 

नेपाली अर्थतन्त्र खासै ठूलो छैन। क्रिकेट आफैमा नेपालमा उदाउँदो खेल हो। क्रिकेट संघको वार्षिक बजेट नै जम्मा ६४ करोड छ। आठ वटा टिमको सहभागिता र सिंगो एनपीएल व्यवस्थापनबाट एक अर्ब हाराहारीको अर्थतन्त्र एनपीएलले चलाएको छ। क्यानले एनपीएल सञ्चालन गर्दा आफ्ना फ्रेन्चाइज टिमलाई ‘पाँच वर्षसम्म घाटा नै हो’ भनेर अहिले विश्वस्त बनाए पनि दोस्रो-तेस्रो वर्षदेखि फ्रेन्चाइज टिमले लगानीको नाफाघाटाको हिसाबकिताब खोज्नेछ। शुरूको वर्षझैँ माहौल अर्को वर्ष बन्न सकेन र भव्य  एनपीएल हुन सकेन भने फ्रेन्चाइज टिमले हात निकाल्नेछन्। त्यस बेला क्यानलाई निकै ठूलो धक्का हुनेछ। फ्रेन्चाइज टिमको लगानी दीर्घकालीन हुन कति सक्छ, यसले एनपीएलको चुनौती भविष्यमै देखाउनेछ।

पहिलो सिजन आयोजना गर्दा क्रिकेट संघले विदेशी ब्रोडकास्टरलाई पैसा तिरेर क्रिकेट लाइभ ब्रोडकास्टिङ किन्यो। आगामी वर्षमा पनि पैसा नै तिरेर लाइभ गर्नुपर्ने हो कि ब्रोडकास्टरले पैसा तिरेर लाइभ किन्ने हो, त्यो उत्तिकै महत्त्वपूर्ण छ।

नेपालमा विदेशी लगानी भित्र्याउनेबारे कानुनी जटिलता छ। एनपीएलको पहिलो सिजनबाट लोभिएका विदेशी कम्पनीले सहभागिताको लागि चासो देखाउने र नेपालको कानुनी जटिलताका कारण भोलिका दिन असजिलो हुने देखेर नेपाली क्रिकेटमा लगानी गर्न हिचकिचाए भने त्यसको प्रत्यक्ष असर एनपीएलमा हुनेछ। समयअनुसार क्रिकेटप्रेमीको माग उच्चस्तरको हुने, त्यसमा अपेक्षित लगानी हुन नसक्दा एनपीएलले दर्शकको मनोभावनाअनुसार खेलाडी र लाइभ आदि देखाउन नसक्ने हो भने  एनपीएलको भविष्य र सम्भावित अर्बौंअर्बको अर्थतन्त्रमा समेत जोखिम बढ्ने सम्भावना हुन्छ। यसबाट नेपालमा हुने जुनसुकै खेल गतिविधिमा वैदेशिक लगानी भित्र्याउन झनै असहज पनि हुनसक्छ।

नेपाली क्रिकेटले सन् २०१४ मा टी २० वर्ल्ड कप खेल्न पाएको उपलब्धिलाई समेत थेग्न नसकेको विगत छ। नेपाली खेलकुद इतिहासकै निकै ठुलो इभेन्टको रूपमा सम्पन्न भएको एनपीएलको भार थेग्न स्वयम् क्रिकेट संघले कति सक्छ भन्ने विषय महत्त्वपूर्ण छ। क्रिकेट संघभित्र साना ठूला गुटको उपस्थितिले सधैँजसो वादविवाद सिर्जना गर्ने गरेको छ। क्रिकेट गतिविधिभन्दा बढी आफ्ना स्वार्थमा लिप्त हुने प्रवृत्ति र एनपीएललाई अझै परिष्कृत गर्दै ठुलो इभेन्टको रूपमा सञ्चालन गर्न खोज्ने प्रवृत्तिबिच क्रिकेट संघमा लडाई हुनु अब स्वाभाविक देखिन्छ। त्यसको छनक पछिल्ला समय सामाजिक सञ्जालमा विभिन्न पदाधिकारीले अन्तर्वार्ताका क्रममा दिएका अभिव्यक्तिबाट स्पष्ट देखिन्छ।

एनपीएलको भव्य आयोजनाको जिम्मेवार भन्दै पारस खड्काले तारिफ पाउने क्रम जारी छ। उनको उपस्थिति र उनको कामबाट असन्तुष्ट हुने टिम क्यानभित्रै छ, जसलाई मिलाउन सक्नु खड्काको अर्को चुनौती छ। खड्का महत्वाकांक्षी हुनसक्ने अर्को चुनौती पनि छ। खेल जीवनमा उत्कृष्ट ठहरिएका पारस खेल व्यक्तिको हिसाबले उम्दा स्तरका हुन्। एनपीएलको उत्साहले उनी महत्वाकांक्षी भई आफ्नो टिमभित्र अविश्वास सिर्जना हुन सक्नेसमेत चुनौती देखिन्छ। एनपीएललाई जतिसुकै भव्य र शक्तिशाली लिग बनाए पनि त्यसले अन्ततः नेपाली क्रिकेटलाई टेवा पुर्‍याउन सक्नुपर्छ। एनपीएलबाट क्रिकेट संघलाई आर्थिक फाइदा हुँदै गर्दा नेपालले वान डे अन्तर्राष्ट्रिय मान्यता गुमायो भने एनपीएल हुनु र नहुनु बराबर हुनेछ। एनपीएल भव्य र ठुलो बन्दै गर्दा नेपाली क्रिकेटले टेस्ट मान्यता पाउनु  एनपीएलको एक उपलब्धिको रूपमा पनि गनिनेछ।

एनपीएल यति भव्य भएबाट आगामी वर्ष टियू मैदानमा कम्तीमा स्तरीय कुर्सी र फ्लडलाइटको अपेक्षा राख्न सकिन्छ। अहिलेसम्म धेरै नेपालीको निर्विकल्प क्रिकेट खेल मैदान र धेरै समययता क्रिकेट प्रतियोगिता हुँदै आएको स्थान हो त्यो। तर त्यसको स्वामित्व त्रिभुवन विश्वविद्यालय (त्रिविवि) अन्तर्गत छ। त्रिविविले कुनै बेला क्यानसँगको सम्झौता रद्द गर्‍यो भने अर्को पटक  एनपीएल कहाँ गर्ने भन्ने प्रश्न उब्जन्छ। क्रिकेट संघ अहिले नै कीर्तिपुरको ग्राउन्डको विकल्पमा जान चाहँदैन। क्रिकेटलाई जतिसुकै विकेन्द्रीकरण गर्न खोजे पनि रंगशालाबिना क्रिकेट असम्भव नै हुन्छ। अर्को वर्ष नै काठमाडौँबाहिर एनपीएल गराउन क्रिकेट संघ तयार हुनेछैन भने त्रिवि क्रिकेट ग्राउन्डमा निरन्तर प्रतियोगिता हुँदा पढाइमा समस्या भयो भन्ने गुनासो विद्यार्थी र प्राध्यापकबाट आएको छ। त्रिवि र क्यानबीचको ‘टसल’ दीर्घकालीनजस्तै बन्दै आएको छ।

जेजे भए पनि पहिलोचोटिमै भव्य रूपमा सम्पन्न एनपीएलले नेपाली क्रिकेटको मुहार फेर्ने गरी नयाँ अध्याय थालेको छ। क्रिकेट खेल मात्रै नभएर अर्थतन्त्रको अंग पनि हो भन्ने सन्देश यसले छाडेको छ। कमजोरी हटाउँदै अझ मिहिनेतसाथ प्रतियोगिता सञ्चालन गर्न सके एनपीएलको सुखद भविष्य छ।