Saturday, February 15, 2025

-->

अनलाइन सपिङका नाममा ठगी: सामाजिक सञ्जालमा आकर्षक विज्ञापन, रकम लिएपछि बेइमानी

पछिल्लो साढे ३ वर्षमा अनलाइन सपिङका नाममा सामाजिक सञ्जालमार्फत झन्डै ९ करोड रुपैयाँ ठगी भएको प्रहरीमा उजुरी परेको छ। सस्तो मूल्यको आकर्षक सामान राख्ने र रकम लिएपछि डेलिभरी नगर्ने घटना धेरै छन्।

अनलाइन सपिङका नाममा ठगी सामाजिक सञ्जालमा आकर्षक विज्ञापन रकम लिएपछि बेइमानी

काठमाडौँ– युनिक कर्नर नाम गरेको टिकटक आईडीमा आकर्षक स्वेटर देखेपछि काठमाडौँ मैतिदेवी बस्ने कोपिला रिजाल (नाम परिवर्तन)ले चासो राखिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा निम्त्याइएपछि त्यसैबाट मूल्य सोधिन्। सामान्यतः बजारमूल्य २ हजारमाथि पर्ने स्वेटर १ हजार मात्र पर्ने बताइएपछि उनले शंका गरिन्।

निकै आकर्षक कपडा भए पनि मूल्य कम भनेपछि उनलाई ‘फेक’ होकी भन्ने लाग्यो। विज्ञापनकर्ताले ठूलो परिमाणमा ल्याएको हुँदा सस्तोमा दिएको बताए। उनी विश्वस्त भइन् र श्रीमान्का लागि एउटा स्वेटर ‘अर्डर’ गरिन्।

अग्रिम भुक्तानी मागिएपछि उनले १ हजार पनि तिरिन्। “तर पैसा आएको छैन, दिदी फेरि पठाइदिनू भन्यो। शुरूमा त स्क्यामजस्तै लाग्यो, तर दुई पटक आयो भने फिर्ता पठाइदिने भनेपछि मैले रिमाक्समा रिफन्ड लेखेर फेरि पठाएँ,” उनले सुनाइन्।

दोस्रो पटक पठाउँदा पनि पैसा नआएको बताइएपछि भने कोपिलालाई ठगिएजस्तो लाग्यो। उनले प्रहरीमा रिपोर्ट गर्ने बताइन्। उताबाट ‘साँच्चिकै हो, म तपाईंलाई भोलि स्टेटमेन्ट नै निकालेर दिन्छु’ भनियो। “भोलिपल्ट बैंक गएर बुझ्दा त एकाउन्टबाट दुई पटक नै पैसा गइसकेको देखियो,” उनी भन्छिन्।

उनले कुराकानी गरेको ‘युनिक कर्नर जिरो सेभेन’ नामको इन्स्ट्राग्राम आईडीमा २ हजार ७४९ फलोअर्स छन्। स्वेटरको विज्ञापन हेरेको टिकटक आईडीमा चाहिँ २० हजार ५०० फलोअर्स छन् र ‘नगरकोट सिटी’ लेखिएको छ। तर यो सबै नक्कली भएको उनी बताउँछिन्।

उनले पैसा पठाएको भोलिपल्टै उनलाई ब्लक गरिसकिएको थियो र मोबाइल नम्बर पनि स्वीच्ड अफ थियो। २ हजार रुपैयाँ गए पनि थप झमेला नगर्ने सोचमा उनले प्रहरीमा उजुरी भने दिइनन्।

त्यस्तै, नवलपरासी सुनवलकी अस्मिता आचार्यले ‘सीएम फेसन्स’ नामको फेसबुक पेजमा जाडोका ‘उलन सेट’को विज्ञापन देखिन्। बजार मूल्य ३५ सय हाराहारी पर्ने सेटलाई २ हजार भनेपछि अर्डर गरिन्।

उनले साथीहरूलाई सुनाउँदा यसरी गरिएको विज्ञापन फेक हुन सक्ने आशंका गरे। अनि अर्डर ‘क्यान्सिल’का लागि सम्पर्क गरिन्। तर उताबाट क्यान्सिल गर्न नमिल्ने जवाफ आयो।

उनले तीन दिनपछि सामान त पाइन् ,तर अर्डर गरेको भन्दा भिन्न थियो। “न जाडोमा लगाउन मिल्ने, न गर्मीमा। पोल्ने खालको चिप्लो कपडो थियो। त्यो त २५० रुपैयाँ जतिमै आउँथ्यो,” उनी भन्छिन्।

उनले पनि पुलिसमा रिपोर्ट गरिनन्। आफूजस्तै अरू नठगिउन् भनेर ९१ हजार महिला सदस्य रहेको ‘फेमिना’ नामक फेसबुक ग्रुपमा सचेत रहन आग्रहसहित पोस्ट भने गरिन्।

सूचना प्रवधिको सहजतासँगै अनलाइन सपिङको ‘ट्रेन्ड’ बढ्दो छ। सामाजिक सञ्जालमा आकर्षक विज्ञापन राखेर व्यापार गर्न सहज भएसँगै ठगी पनि बढेको छ। प्रहरीका अनुसार, सामान तथा वस्तु बिक्री गर्ने नाममा खुलेका सामाजिक सञ्जालका आईडीबाट सस्तो मूल्यको आकर्षक सामान राख्ने र सर्वसाधरणबाट  रकम लिएपछि सामान डेलिभरी नगर्ने घटना पनि धेरै छन्। 

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार पछिल्लो साढे तीन वर्षमा अनलाइन सपिङको नाममा ८ करोड ७५ लाख रुपैयाँ बराबरको ठगी भएको उजुरी परेको छ। यही अवधिमा ठगीमा संलग्न रहका ४३१ जनालाई प्रक्राउ गरिएको छ भने अदालतमा ६७ वटा मुद्दा दर्ता भएका छन्।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म २८ लाख ६७ हजार रुपैयाँ ठगी भएको उजुरी परेको छ। यस्तै, गत आर्थिक वर्ष २०८०/८१ मा ९७ लाख ६६ हजार रुपैयाँ अनलाइन सपिङको नाममा ठगी भएको छ। सो वर्ष प्रहरीले ४० वटा मुद्दा दर्ता गरेको थियो।

कोभिड माहामारीपछि अनलाइनमा सामान किनमेल गर्ने चलन बढेको छ। ठगीको घटना पनि त्यति बेलादेखि नै बढेको प्रहरीको तथ्यांक छ। आर्थिक वर्ष २०७९/८० मा ७ करोड २६ लाख रुपैयाँ ठगी भएको उजुरी परेको थियो। ठगी संलग्न २४३ पुरुष र ९० महिलालाई प्रहरीले पक्राउ गरेको थियो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पनि अनलाइन सपिङसँग सम्बन्धित ठगीका उजुरी बढ्दै गएको सूचना अधिकारी डिकबहादुर कार्की बताउँछन्। उनका अनुसार रकम भुक्तानी भएर सामान प्राप्त नभएको, विज्ञापनमा एउटा र उपभोक्तालाई अर्कै गुणस्तरहीन सामान दिएको घटना बढी छन्।

“एउटा मोबाइलको विज्ञापनमा कहिल्यै नफुट्ने भनेर भनिएछ, उपभोक्ताले किनेर प्रयोग गरेको केही समयपछि फुटेछ। विज्ञापनमा त फुट्दैन भनिएको थियो भनेर पनि उजुरी आएको थियो,” कार्की भन्छन्।

कतिपय उजुरीमा ठगी गर्ने संस्था पहिचान नखुल्ने खालका र सफ्टवेयरसँग सम्बन्धित हुने हुँदा विभागले त्यस्ता उजुरी प्रहरीको साइबर ब्युरोलाई पठाउने गरेको छ।

नेपाल राष्ट्र बैंकको वित्तीेय जानकारी इकाईले हालै सार्वजनिक गरेको साइबर प्रविधिमा आधारित रणनीतिक विश्लेषण प्रतिवेदन (स्ट्राटेजिक एनालाइसिस रिपोर्ट २०२४) मा वित्तीय अपराधका विभिन्न प्रकृतिबारे उल्लेख छ। जसमध्ये सबैभन्दा बढी २१ प्रतिशत गिफ्ट/पार्सलको लोभ देखाएर ठगी हुने गरेको छ।

सामाजिक सञ्जालमा नक्कली आईडी बनाएर तथा आइफोन उपहार दिने लोभ देखाएर १५/१५ प्रतिशत ठगी हुने गरेको छ। नक्कली अनलाइन प्लाटफर्ममार्फत १३ प्रतिशतले ठगी गर्ने गरेको भेटिएको छ ।

यस्तै, ओटीपीमार्फत १३ र अनधिकृत रूपमा अरूको खातासम्म पहुँच पुर्‍याएर ७ प्रतिशत ठगी हुने गरेको छ। बाँकी १३ प्रतिशतले अन्य माध्यमबाट ठगी गर्ने गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ। यस्तो शंकास्पद वित्तीय कारोबारमा १८ देखि २४ वर्ष उमेर समूहका व्यक्ति बढी संलग्न रहेको पनि उक्त अध्ययनले देखाएको छ।


सम्बन्धित सामग्री