Thursday, January 16, 2025

-->

जाजरकोट भूकम्पका एक वर्ष
सरकारले देखेन चिउरीवासीको घाउ, घर ठड्याउन फेरि कालापहाड

गत वर्ष भूकम्पमा घाइते शरीर लिएर बाँचेका चिउरीवासीलाई अझै बासकै चिन्ता छ। सद्दे पुरुष कोही काम खोज्दै कालापहाड पुगेका छन्, कोही जाने योजनामा।

सरकारले देखेन चिउरीवासीको घाउ घर ठड्याउन फेरि कालापहाड

जाजरकोट– एक वर्षअघि आइलागेको विपत्ति बिर्सिन चिउरीकी हिरा कुमाई (८०) अनेक कोशिश गरिरहेकी छन्। तर जति नै बिर्सूं भन्दा पनि सम्झना गाढा भएर आइदिन्छ।

बारेकोटको फूलबारी लेकलाई केन्द्रबिन्दु बनाएर २०८० कात्तिक १७ गते जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गयो। त्यही भूकम्पले हिराको जीवनमा शोक र समस्या ल्याइदियो।

भूकम्पमा परेर नलगाड नगरपालिका–१ चिउरीमा १३ जनाले ज्यान गुमाए। कुमाई परिवारका पाँच जनाको ज्यान गयो। 

हिराका जेठा छोरा दत्तबहादुर (५८), नाति भीमसेन (२४) सन्दीप (४), नातिने बुहारी कमला (२१) र देवर अमृतका छोरा सुजल (२३) को ज्यान गएको थियो। मृत्यु हुने अरू आठ जना पनि हिराका नातेदार हुन्। 

भूकम्पले घर भत्कियो। उनी आफै पनि घाइते भइन्। मेरुदण्ड भाँचिएका कारण उनको कम्मरमुनिको भाग चल्दैन। “छोरा, नाति, पनाति बाटो लागे। कम्मर चल्दैन। हिँडडुल गर्न सक्दिनँ। रित्ता टहरोमा बस्नुपरेको छ। धौ दिन काटिखानु छु,” उनी भन्छिन्। 

हिरा कुमाई।

हिराका पीडा यति मात्र छैनन्। भूकम्पपछि आफूलाई स्याहार गर्ने छोरालाई पनि उनले गुमाइन्। भीरबाट लडेर गत असार ५ गते साइँलो छोरा शान्तिबहादुरको मृत्यु भयो। उनी भन्छिन्, “नामको मात्र हिरा रहेँछु बाबु, भाग्य खोटो रहेछ। सुःख–दुःख हेर्ने छोरानाति छैनन्। हामी रहेर के गर्नू!” 

सिसापानी र चिउरीको सीमाबाट बग्छ नलगाड नदी। बैरेताल टापुको घाट नलगाड नदीसँगै जोडिएको छ। भूकम्पबाट ज्यान गुमाएका चिउरीका १३ जनालाई यही घाटमा एकसाथ दाहसंस्कार गरिएको थियो। 

२०८० कात्तिकको अन्तिम सातातिर गरिएको सामूहिक दाहसंस्कारको सम्झनाले हिरालाई सताइरहन्छ। “हे भगवान मलाई मात्र किन छाड्यौ? सम्झना नआइदिएको भए हुन्थ्यो। चाँडो झल (रात) परिदिए हुँदो हो। चाँडो दिन बुरिदिए हुँदो हो। कतैबाट आइहाल्छन् कि भन्ने लाग्छ,” उनी भन्छिन्।

हिराको परिवार ठूलो थियो। दशैँ, तिहार र चाडपर्वमा आफन्तले आँगन भरिन्थ्यो। “आफन्त, भाइपट्टी खेरिने, हाँसो उठाउने गर्थे। आँगनमा जन्ती बसेको जस्तो हुन्थ्यो,” उनी भन्छिन्।

अब आँगन रित्तो भएको छ। अहिले उनको बसाइ चिसो टहरामा छ। शरीर स्वस्थ छैन। न्यानो चाहिन्छ। “औषधि खान्छु। अस्ति स्वास्थ्यबाट मान्छे आएका थिए। तातो गरेर बस्नु भनेर औषधि। तातो गरेर बस्न घर भए हुन्थ्यो,” उनी भन्छिन्। 

बाँच्नेलाई बासकै पिरलो
भूकम्प गएको वर्षदिन बितिसक्दा पनि सरकारले आवास बनाउने तयारी थालेको छैन। कल्पना महर पनि चिसो टहरामै कष्टसँग बसेकी छन्। विश्व खाद्य कार्यक्रमले चिउरीमा बनाइरहेको सडकका काम गर्ने कल्पना भन्छिन्, “भूकम्पबाट ज्यान जोगियो, चिसोबाट जोगाउन गाह्रो छ।”

भूकम्पको झट्काले उनको ढुंगामाटोको घर गर्ल्यामगुर्लुम्म ढल्यो। छोराछोरी र परिवार जोगिए, बासस्थान जोगिएन। उनीहरूले टहरोमा जेनतेन एक वर्ष बिताए। यो वर्ष बालबच्चालाई चिसोबाट कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ।

टहरोमा राति शीत पस्छ। भुइँ चिसो हुन्छ। “चिसोले बच्चा बिरामी हुन्छन्। सरकारले टहराकै पैसा दिएको छैन, घर कहिले बनाइदिने होला? बस्न गाह्रो भयो,” उनी भन्छिन्।

स्थानीय बलबहादुर विकको समस्या पनि उही छ। उनले भने टहरो बनाउन सरकारले दिने ५० हजार रूपैयाँ पाइसकेका छन्। त्यसमध्ये, दोस्रो किस्ताको २५ हजार पाउन एक वर्ष नै पर्खनु परेको उनी बताउँछन्। “रूपैयाँपैसा भए घर बनाइहाल्ने थिएँ। सरकारले देला र खाउँला भन्ने छैन, सुरसार नै देख्दिनँ। भारततिर जाने सोचेको छु,” बलबहादुर भन्छन्।

गरिबीले उनलाई पढ्न लेख्न दिएन। ज्यालामजदुरीबाट गुजारा चलाउँछन्। मजदुरी गरेरै भए पनि चिउरीमा ढुंगामाटोको घर उभ्याएका थिए। त्यही घर भूकम्पमा परेपछि बनाउने आर्थिक अवस्था छैन।

अहिले उनी विश्व खाद्य कार्यक्रमले चिउरीमा गरिरहेको सडक सुधारको काममा भेटिए। “अहिले टहरामा बसाइ छ, घर बनाउने हैसियत छैन। त्यसका लागि कमाइ गर्न परिवार लिएर (भारत) जानुपर्छ। ८/१० वर्ष उतै बस्नुपर्छ,” उनले भने।

घर बनाउन कालापहाडको भर
ज्यालामजुदरी गर्न चिउरीका धेरै स्थानीय भारतको कालापहाड जाने गर्छन्। भारतमा ६ महिना बिताएर नेपाल फर्कन्छन्। भूकम्पले घर भत्काइदिएपछि मोते चदारा भारत पुगे। 

घर बनाउन नसकेर कालापहाड लाग्ने मोते एक्ला होइनन्। सर्जन घेतमालले त पाँच जनाको परिवारै लिएर ६ महिनाअघि कालापहाड गइसकेका छन्। खले घेतमाल पनि परिवारसहित भारत गइसकेका छन्। नपेन्द्र चदार, टकबहादुर कुमाई, दीपक विकलगायत पनि कालापहाड गइसकेको स्थानीय हिताराम महरले जानकारी दिए।

विश्व खाद्य कार्यक्रमले चिउरीमा गरिरहेको सडक सुधार।

चिउरीबाट कालापहाड जानेको संख्या ठूलो छ। भूकम्पपछि धेरैले भारतको बसाइ लम्ब्याउन थालेको अर्का स्थानीय दलवीर विक बताउँछन्।

दलवीरले भूकम्पमा छोरी र श्रीमति गुमाए। उनी पाँचतारा युवा संरक्षण मञ्चमा काम गर्छन्। “६ महिना मजदुरी गरेर कमाएको पैसाले घर बनाउन पुग्दैन। त्यसैले मान्छेहरू लामो समय भारतमै बस्ने गरेर जान थालेका छन्,” उनी भन्छन्।

सरकारले घर नबनाइदिए चिउरीका धेरै स्थानीय कालापहाड हानिने उनी बताउँछन्। कतिपय संस्थाले केहीलाई अस्थायी आवास बनाइदिएका छन्। तर त्यसको संख्या न्यून छ।

चिउरीमा छिमेकी समाज संस्थाले २१ वटा भूकम्प प्रतिरोधात्मक अस्थायी आवास बनाइदिएको छ। तर ११ सय ५४ टहरामा बस्ने परिवार अझै बासको खोजीमा छन।

एक वर्ष बितिसक्दा पनि सरकारले आवास व्यवस्थापनका लागि नीति नबनाउनु दुःखद् भएको नेरा प्राथमिक विद्यालयका शिक्षक हर्कबहादुर नाथ बताउँछन्। उनी भन्छन्, “सरकारले टहरा दिएपछि  पुगिसकेको ठानेको छ। नागरिकका समस्यालाई गम्भीर रूपमा नलिएको देखिन्छ। अस्थायी आवासका लागि ५० हजार दिएर टार्ने जस्तो देखियो।”

नगरपालिका कार्यालयका अनुसार चिउरीसमेत पर्ने नलगाड–१ मानवीय र भौतिक रूपमा बढी क्षति हुने वडा हो। यहाँ २७ जनाको ज्यान गएको थियो। यो वडामा चिउरीमा १३, पालीमा आठ र कल्पतमा ६ ज्यानको मृत्यु भएको थियो। 

वडाध्यक्ष धनबहादुर महर पनि संघीय सरकारसँग असन्तुष्ट छन्। उनी भन्छन्, “संघसंस्थाले काम गर्न थाले भने घर उठाउन सकिन्छ कि! नत्र सकिने अवस्था छैन। टहराको पैसा सरकारले अल्झाइरहेको छ। घर बनाउने कुरा परको हो।”

आफूहरूले समन्वयबाहेक अरू काम गर्न नसक्ने उनको भनाइ छ। यता, संघीय सरकारले ‘भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८०’ बनाएको छ। यसमा टेकेर स्थानीय सरकारले अनुदानको काम गरिरहेका छन्। 

चिउरीको जस्तो बासको समस्या नलगाडभरि छ। नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत संघीय सरकारको ढिलासुस्तीका कारण भूकम्पपीडितले बासको समस्या भोगिरहेको बताउँछन्।

“पीडितलाई समस्यामै राख्नुपर्छ भन्ने उद्देश्य होइन। बजेट भएको भए हामी व्यवस्थापन गरिसक्थ्यौँ,” उनी भन्छन्, “अर्को कुरा, कार्यविधि बनेको छैन। त्यसले पनि समस्या ल्याएको हो।”


सम्बन्धित सामग्री