Thursday, January 16, 2025

-->

‘सहारा ठानेका छोरा अघि लागे, सरकारले टहराको लायक पनि ठानेन’

कान्छो गणेश विदेश जाने तयारीमा थिए, सोती घटनामा हत्या भयो। जेठो छोराले पनि संसार छाडे। रोगी राधिका र पदम काम गर्न सक्दैनन्। भूकम्पपछि पीडितले टहरा पाए, उनीहरूका लागि सरकार आफ्नो भएन।

‘सहारा ठानेका छोरा अघि लागे सरकारले टहराको लायक पनि ठानेन’
तस्वीरहरू: लोकेन्द्र/उकालो

खलंगा (जाजरकोट)– राधिका बुढामगरको घर हालको कुश गाउँपालिकामा पर्ने बर्खाले गाउँमा थियो। १४ वर्षअघि श्रीमान् पदमसँग गाउँ छाडेर भेरी नगरपालिका–४, खलंगा बस्न आइपुगिन्। सदरमुकाम खलंगा आउँदा उनीहरूको एउटै सपना थियो, दुई छोरालाई पढाउने।

ठूलो छोरो भरत ११ र सानो गनेश ९ वर्षका थिए। छोराछोरीलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने सोचले सदरमुकाममा नाम चलेको शान्ति ज्ञानकुञ्ज बोर्डिङ स्कुलमा छोराहरूलाई भर्ना गरे। तर मजुदुरीको पैसाले निजी स्कुलको खर्च थान्न मुस्किल भयो। “मजदुरी गरेरै पढाउछौँ भनेर शान्ति ज्ञानकुञ्जमा छोराहरूलाई ७–७ कक्षासम्म पढायौँ। पछि त्यहाँबाट तानेर त्रिभुवन माविमा पढायौँ,” उनी भन्छिन्।

खलंगास्थित त्रिभुवन माविबाट भरतले कक्षा १२ उत्तीर्ण गरिसकेका थिए। २०७४ मा एसईई उत्तीर्ण गरेका गनेश कक्षा १२ मा अध्ययनरत थिए। “ढुंगामाटो कुटेको पैसाले के नै हुन्छ र! अरू आयस्रोत थिएन। यहाँसम्म पढाउन निकै गाह्रो भएको थियो,” राधिकाले सुनाइन्, “१२ पास गरिसकेपछि जेठो गाडीको काममा लाग्यो, कान्छो विदेश जाने भनेको थियो।”

जेठो भरतले १२ पास गरेपछि खलंगामा नै बिहे गरे। कान्छो गणेश विदेश जाने तयारीमा थिए। तर २०७७ जेठ १० गते रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको हत्याकाण्डले राधिका र पदमका सारा सपना चकनाचुर बनायो।

अन्तरजातीय प्रेम गरेका जाजरकोटका नवराज विकसहित ६ जनाको सोतीमा हत्या भएको थियो। त्यही घटनामा गणेशको पनि ज्यान गयो। त्यसयता उनलाई वियोगले पछ्याइरहेको छ।

रूकुम हत्याकाण्डको चार वर्षपछि राधिकाले जेठा छोरा भरतलाई पनि गुमाइन्। गएको भदौ २७ गते जेठा छोरा भरतले संसार छाड्ने निर्णय गरे। “मलाई नै यस्तो पीडा भगवानले किन दिइरहेका छन्? मैले कसैको नराम्रो गरेको छैन, तर अब पीर बिसाउने काँध छैन,” उनी भावुक भइन्।

जेठो छोराको मृत्युपछि उनलाई किरिया गर्न पनि धौधौ भयो। राधिकाको परिवारले डेरा गरेको घरमा घरधनीले किरिया गर्न दिएनन्। नगरपालिकाले क्रियापुत्रीका लागि बनाइदिएको टहरानजिक पाल लगाएर किरिया गरे। अहिले उनीहरूले आफ्नो बासस्थान पनि त्यसैलाई बनाएका छन्।

“अर्को छोराको पनि मृत्यु भयो। घरबेटीले चोखिन दिएनन्। पछि यहाँ आयौँ र यतै बसेका छौँ। तल आफ्नो जग्गा खनखान गरेर ठिक्क बनाएका थियौँ, पहिरो गएर पुरिदियो। त्यहाँ जानसक्ने अवस्था छैन,” उनले भनिन्।

राधिका र पदमले दुई छोराका लागि खलंगामा थारेरै जग्गा किनिदिएका थिए। भिरालो ठाउँमा जग्गा भएकाले पहिरो निरन्तर आइरहन्छ। झुप्रो बनाएर बस्ने अवस्था छैन।

राधिका आजभोलि स्वास्थ्य समस्याका कारण गिटी कुट्न र बालुवा बोक्न सक्दिनन्। उनको फोक्सोको शल्यक्रिया गरेको तीन वर्ष भयो। श्रीमान् पदम पनि मृगौलाका रोगी हुन्। उनलाई दुई वर्षअघि मृगौलाको समस्या भएपछि प्रदेश र भेरी अस्पताल धाइरहनु पर्छ।

वडाले विपन्नको सिफारिस गरिदिएपछि डायलासिस निःशुल्क भयो। तर औषधि खर्च महँगो हुने राधिका बताउँछिन्। कुराकानी गर्दा पनि उनका आँसु धामिँदैनन्। “महँगो छ डायलासिस, औषधि गर्न हम्मेहम्मे छ। सुर्खेतका डाक्टरले टाढा नजाऊ, नजिकै बस भन्छन्। सुर्खेत बस्ने आर्थिक अवस्था छैन,” उनी भन्छिन्।

राधिकालाई आजभोलि बारम्बार एउटै कुरा मनमा आइरहन्छ, “कुशेबाट खलंगा नआएको भए यी सारा दुःखले छोप्दैन थियो कि!” सोती हत्याकाण्डमा ज्यान गुमाएका कान्छा छोराको मृत्युपछि आफूलाई फोक्सोमा समस्या देखिएको त्यसपछि कहिल्यै दुःखले नछाडेको उनी गुनासो गर्छिन्। “दुवैजना निरोगी भए पनि कामकाज गरेर जीवन बिताऊँ भन्नु, त्यो पनि छैन,” उनी भन्छिन्।

राधिकालाई धुवाँ नजिक बस्न हुँदैन। कान्छो छोराको मृत्यु नै फोक्सोको रोग आउनुको कारण बन्यो। “बढी रोएपछि फोक्सो सुकिजाने रहेछ। छोराकै बिलाउनामा रोएको रोयै गरेँ। फोक्सो सुकेपछि हातगुडा केही चल्ने रहेनछन्,” उनी भन्छिन्।

फोक्सोको समस्या देखिएपछि अप्रेशन गर्ने पैसा थिएन। जिल्ला अस्पतालमा जनशक्ति र उपकरण पनि थिएनन्। काठमाडौँबाट गएको डाक्टरहरूको टोलीले निःशुल्क उपचार गरिदियो।

भूकम्पपछि सरकारले पनि बेवास्ता गरेको राधिकाको गुनासो छ। सरकारले उनीहरूका लागि गाँस र बास दिएको छैन। जेठो छोरा भरतको मृत्युपछि भेरी नगरपालिकाले एउटा त्रिपाल उपलब्ध गराएको छ। त्यसबाहेक कुनै किसिमको सहयोग नपाएको उनी बताउँछिन्। “सरकारले राहत, टहरा केही दिएको छैन। खगेन्द्र सर (अभियन्ता खगेन्द्र सुनार) आएका बेला एउटा ब्लाङ्केट र पाल दिनुभएको थियो, त्यो बाहेक केही पाएका छैनौँ,” उनी भन्छिन्।

भूकम्पपछि टहराका लागि राधिकाको परिवार नगरपालिका कार्यालय पुगेको थियो। तर कर्मचारीले बसाइँसराइ चाहिने भन्दै फर्काइदिए। “बसाइँसराइ ल्याउन टाढा जानुपर्छ। बुढा मृगौलाका बिरामी छन्, तत्कालै उता जाने मेसो मिलेन। पछि सञ्चो भइसकेपछि गयौँ। समय सकिइसक्यो भने, उता पनि काम भएन,” उनी गुनासो गर्छिन्।

अहिले चाहिँ उनीहरूलाई बसिरहेको ठाउँ पनि छाड्नु पर्ने हो कि भन्ने चिन्ता छ। “यहाँ पनि कसैले नबस्ने भन्छन्, कसैले बस्ने भन्छन्। सहारा ठानेका दुवै छोरा अघि लागे, सरकारले टहराकै नागरिक ठानेन। अब कता बस्ने होला समस्या भएको छ,” उनले दुखेसो पोखिन्।


सम्बन्धित सामग्री