Thursday, January 16, 2025

-->

अमेरिकी राजनीतिमा ‘यहुदी लबी’, यसकारण प्रिय बन्यो इजरायल

अमेरिकामा भर्खरै सम्पन्न राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भए। चुनावी अभियानका क्रममा ट्रम्पले ‘यहुदी कार्ड’ प्रयोग गरेको टिप्पणी हुने गरेको छ।

अमेरिकी राजनीतिमा ‘यहुदी लबी’  यसकारण प्रिय बन्यो इजरायल
सन् २०१९ मार्च २५ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गोलान हाइटलाई इजरायली हिस्साको रूपमा मान्यता दिने घोषणामा हस्ताक्षर गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हेरेर मुस्कुराउँदै। तस्वीरः एपी

काठमाडौँ– मध्यपूर्वमा अमेरिकाको सबैभन्दा घनिष्ठ देश हो इजरायल। जारी गाजा युद्ध होस् या यसअघि इजरायल संलग्न अन्य युद्ध, अमेरिका जहिल्यै उसैको पक्षमा दह्रो उभिन्छ। उसलाई प्रशस्त आर्थिक तथा सामरिक सहयोग गर्दै आएको छ।

गाजा युद्धका लागि इजरायललाई अमेरिकाले एक वर्षयता मात्रै २२.७६ बिलियन डलर अर्थात् ३० खर्ब रूपैयाँभन्दा बढीको आर्थिक सहयोग गरेको छ। अमेरिकी सैन्य सहायता सबैभन्दा धेरै पाउने देश इजरायल नै हो। उसले सन् १९५९ यता २५१.२ बिलियन डलर सहयोग पाइसकेको छ। इजरायलसँग ‘आइरन डोम’ नामक मिसाइल प्रतिरक्षा प्रणाली छ। करोडौँ डलरको यो प्रणाली पनि अमेरिकी सहयोगबाटै निर्माण गरिएको हो, जसले बाहिरबाट आफ्नोतर्फ प्रहार गरिएका मिसाइललाई हावामै नष्ट गर्छ।

अमेरिकाले इजरायललाई यसरी निःशर्त समर्थन गर्नुका पछाडि धेरै कारण छन्। तीमध्ये प्रमुख कारण अमेरिकाको राजनीतिमा व्याप्त ‘यहुदी लबी’लाई लिने गरिन्छ।

दोस्रो विश्वयुद्धपछि बनेको इजरायल विश्वमा एक मात्र यहुदी (जिउज) देश हो। विश्वभरका यहुदी धर्मावलम्बीलाई इजरायलले आफ्नो नागरिक स्वीकार्छ। इस्वी सम्वतको पहिलो शताब्दीमा रोमनहरूले जेरुसेलममा आक्रमण गरी यहुदीको मन्दिर नष्ट गर्नुका साथै उनीहरूलाई त्यहाँबाट लखेटे। त्यसपछि यहुदी युरोपतिर फैलिए। फेरि दोस्रो विश्वयुद्धका बेला जर्मन तानाशाह हिटलरको निर्देशनमा करिब ६० लाख यहुदी मारिए, जसलाई ‘होलोकास्ट’ नामले पनि चिनिन्छ।

पटकपटक जातीय बर्रबरता खेप्दै आएका यहुदी आफ्नो पहिचान खोज्न र आफूलाई सुरक्षित राख्न विश्वका विभिन्न देशमा पुगेका छन्। बेलायती उपनिवेशताका १६औँ शताब्दीदेखि अमेरिका प्रवेश गरेका थिए। जिउज भर्चुअल लाइब्रेरीका अनुसार अमेरिकामा सन् १६२४ मा २५ जना यहुदी थिए। सन् २०२४ मा आइपुग्दा यो संख्या झन्डै ७७ लाख पुगेको छ। अर्थात्, कुल अमेरिकी जनसंख्याको २.३० प्रतिशत यहुदी छन्।

तर अमेरिकी राजनीतिमा अल्पसंख्यक यहुदीको उपस्थिति भने उल्लेख्य छ। त्यहाँको वर्तमान संसद् (कंग्रेस)मा ७ प्रतिशत यहुदी छन्।

राजनीतिमा यहुदी लबी
भर्खरै अमेरिकामा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ। रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएका छन्। चुनावी अभियानका दौरान उनले ‘यहुदी कार्ड’ प्रयोग गरेको टिप्पणी हुने गरेको छ।

“डेमोक्रेटिकले जित्यो भने देशमा यहुदीहरू बस्न सक्ने अवस्था रहने छैन,” यहुदीहरूलाई लक्षित गर्दै ट्रम्पले भनेका थिए, “हजारौँ वर्षसम्म इजरायल हामीसँगै रहोस् भन्ने सुनिश्चित गर्न म तपाईंहरूसँग काम गर्नेछु। यदि उनी (कमला ह्यारिस) राष्ट्रपति बनिन् भने तपाईंहरूसँग इजरायल रहने छैन।” 

रिपब्लिकन पार्टीले चार वर्ष पहिले २६ प्रतिशत मात्र भोट पाएको उल्लेख गर्दै ट्रम्पले यस पटक यहुदीहरूबाट कम्तीमा ५० प्रतिशत मत पाउने आशा व्यक्त गरेका थिए। नभन्दै अमेरिकाको चुनावी परिणाम निर्धारण गर्ने मानिएका सात स्विङ स्टेटमा उनले ‘क्लिन स्वीप’ नै गरे। ब्रान्डिज युनिभर्सिटीका अनुसार यी राज्यमा यहुदी मतदाताको संख्या धेरै छ। डेमोक्रेटतर्फ बढी झुकाव हुने मानिएका यहुदीको मत तान्न ट्रम्पको ‘यहुदी कार्ड’ले पनि भरथेग पुर्‍यायो।

अमेरिकामा इजरायललाई अमेरिकी समर्थक भएको वकालत गर्ने धेरै संस्था छन्। सबैभन्दा ठूलो र राजनीतिक रूपमा शक्तिशाली अमेरिकी–इजरायल पब्लिक अफेयर्स कमिटी (एआईपीएसी) हो। संगठनका सदस्यहरूले अमेरिकी राजनीतिलाई चुनावी कोष संकलनमार्फत पनि प्रभाव पार्छन्।

यस संगठनले वासिङ्टनमा वार्षिक सम्मेलन आयोजना गर्दछ, जसमा व्यक्तिगत रूपमा शीर्ष अमेरिकी राजनीतिज्ञसहित लगभग २० हजार मानिस सहभागी हुन्छन्। यस पटक राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प पनि सामेल थिए। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु नियमित रूपमा उपस्थित हुन्छन्।

इजरायल समर्थक यी समूहले अमेरिकी संघीय राजनीतिक उम्मेदवारहरूलाई लाखौं डलर दान गर्छन्। सन् २०२० को राष्ट्रपति चुनावको अभियानमा इजरायल समर्थक समूहहरूले ३०.९५ मिलियन दान दिए, जसमध्ये ६३ प्रतिशत डेमोक्रेट र ३६ प्रतिशत रिपब्लिकनहरूलाई गएको थियो। यस वर्ष १०० मिलियन डलर दान दिने घोषणा थियो। एआईपीएसीबाहेक ‘जे स्ट्रिट’ र ‘ज्वाइन्ट एक्सन कमिटी फर पोलिटकल अफेयर’ (जेएसी)लगायत इजरायली संगठनले अमेरिकी निर्वाचनमा लाखौँ डलर दान गर्छन्।

‘द जिउज अमेरिकन’ र ‘द जिउज पावर’ पुस्तकका लेखक तथा पत्रकार जेजे गोल्डबर्ग यहुदी शक्तिलाई राजनीतिक प्रभावको सन्दर्भमा व्याख्या गर्दै भन्छन्, “अमेरिकी निर्वाचनमा यहुदी मत एक पुरस्कार हो।” उनी यहुदीसँग स्विङ स्टेटको चाबी भएको बताउँछन्। साथै, यहुदी उर्जावान स्वंसेवक भएको र उनीहरूको चन्दाले चुनावलाई प्रभावित पारिरहेको गोल्डबर्गको तर्क छ।

विवाह कूटनीति
दुई देशबीचको सम्बन्ध विस्तारका लागि विवाह कूटनीतिलाई महत्त्वपूर्ण मानिन्छ। पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरणताका यही कूटनीति अपनाएका थिए। इजरायल–अमेरिका सम्बन्ध झन् प्रगाढ हुनुमा विवाह सन्दर्भले थप मलजल गरेको देखिन्छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका तीनै छोराछोरीले यहूदीहरूसँग विवाह गरेका छन्। एश्ले बाइडेनले सन् २०१२ मा हावर्ड केरिनसँग विवाह गर्दा बाइडेनले आफ्नी छोरीले यहूदी छानेकोमा आफूलाई गर्व लागेको बताएका थिए। उनका अरू दुई छोराले पनि यहुदी महिलासँग बिहे गरेका छन्। यस्तै, उपराष्ट्रपति कमला ह्यारिसका पति डग एमहफ यहूदी हुन्। उनको विवाह पनि यहूदी परम्पराअनुसार भएको थियो। 

जो बाइडेनसँग नेतान्याहु

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि यसमा समावेश छ। ट्रम्पकी छोरी इभान्काले सन् २००९ मा यहुदी धर्मावलम्बी जेरेड कुश्नरसँग विवाह गर्नुअघि धर्म परिवर्तन गरिसकेकी थिइन्। दम्पतीले आफ्ना तीन सन्तानलाई यहूदी परम्पराअनुसार नै हुर्काउँदैछन्। सन् २०१७ मा सीएनएनले इमान्कालाई अमेरिकाकी शक्तिशाली यहुदी महिला भनेर लेखेको थियो।

यस्तै, पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टनकी एक्ली छोरी चेल्सी क्लिन्टनले यहुदी मार्क मेज्भिन्स्कीसँग विवाह गरेकी छन्। पूर्वराष्ट्रपति बाराक ओबामाको परिवारको सम्बन्ध यहूदीहरूसँग नभए पनि उनी राष्ट्रपति हुँदा ह्वाइट हाउसका धेरै सल्लाहकार र नजिकका सहयोगीहरू यहुदी थिए। त्यसकारण ओबामा ह्वाइट हाउसमा यहुदीहरूको चाडपर्वमा सहभागी हुन्थे। यीबाहेक अमेरिकाका स्थानीय नेता, व्यवसायी र आमजनताले पनि यहुदीसँग विवाह गरेका छन्। 

प्यू रिसर्च सेन्टरले सन् २०२० मा गरेको एक सर्वेक्षणले अमेरिकामा बसोबास गर्ने करिब ४२ प्रतिशत यहुदीले अन्य धर्ममा विवाह गरेको देखाएको थियो। तर उनीहरूले विवाहपछि यहूदी धर्म त्याग्नुको सट्टा आफ्ना सन्तानलाई यहुदी भएर हुर्काउँदैछन्।

इजरायल–अमेरिका मित्रता
१९४८ मे १४ मा इजरायल राज्य घोषणा भएको केवल ११ मिनेटमा ३३औँ अमेरिकी राष्ट्रपति ह्यारी ट्रुमेनले इजरायललाई एक राष्ट्रका रूपमा मान्यता दिएका थिए।

त्यसअघि, १९१७ नोभेम्बरमा बालफोर घोषणाले प्यालेस्टाइनमा अलग यहुदी राष्ट्रको घोषणा गरेको थियो र बेलायतले तत्काल समर्थन गरेको थियो। त्यसको ठीक दुई वर्षपछि १९१९ मार्चमा तत्कालीन अमेरिकी राष्ट्रपति वुड्रो विल्सनले मित्र राष्ट्रहरूको तर्फबाट यहुदीहरूको मातृभूमिको मागलाई समर्थन गरे। सन् १९२२ मा र फेरि १९४४ मा अमेरिकी संसद्ले बालफोर घोषणाको समर्थनमा प्रस्ताव पारित गर्‍यो। तर यो देशले मान्यता भने त्यसको चार वर्षपछि १९४८ मा मात्रै पायो।

सन् १९४८ मे मा इजरायलका प्रथम राष्ट्रपति चाइम वेइजम्यानले दिएको उपहार ग्रहण गरेपछि खुसी मुद्रामा देखिएका अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यान 

सन् १९६७ मा अरब राष्ट्र र इजरायलबीचको युद्धपछि अमेरिकाले मध्यपूर्वमा इजरायललाई साझेदार बनायो। किनभने, इजरायल बलियो लोकतन्त्रका साथै पश्चिमी देशहरूको प्रमुख सहयोगी थियो। सन् १९७३ मा जब इजरायल फेरि अरब देशहरूसँग युद्धमा उत्रियो अमेरिकाले सैन्य उपकरणसँगै आर्थिक सहयोग गर्‍यो। सन् १९७८ मा इरानमा इस्लामिक क्रान्ति हुँदा त्यहाँ अमेरिका विरोधी लहर फैलिन थाल्यो, अमेरिका आफ्नो मध्यपूर्व नीतिमा इजरायलमासग अझ बढी निर्भर भयो। त्यति बेला शीतयुद्ध चरम अवस्थामा थियो। इजरायलले यस क्षेत्रमा सोभियत प्रभावलाई रोक्न आफ्नो सबै शक्ति प्रयोग गरेर अमेरिकी हितको सेवा गर्‍यो।

त्यसपछि अमेरिका र इजरायलको सम्बन्धमा पखेटा आएजस्तो देखिन थाल्यो। रोनाल्ड रेगन अमेरिकी राष्ट्रपति बनेपछि अमेरिकाले इजरायललाई प्रत्येक वर्ष १.८ बिलियन डलर सहयोग गर्न थाल्यो। दुवै देश मिलेर विश्वका लागि सैन्य उपकरण उत्पादन गर्न थाले।

सन् १९८३ मा लेबनानको राजधानी बेरुतमा रहेको अमेरिकी–फ्रेन्च सैनिक शिविरमा भएको बम आक्रमणमा २४० अमेरिकी सैनिकको मृत्यु भयो। जवाफमा अमेरिकाले इजरायललाई स्वतन्त्रता दियो र केही महिनाभित्र इजरायली सेनाले लेबनानको आधा भाग कब्जा गर्‍यो। अमेरिकाले गोलान हाइट्समा इजरायलको दाबी स्वीकार गर्‍यो, जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता पनि दियो। यसरी यी दुई देशबीचको सम्बन्ध मजबुत बन्न पुग्यो।

इजरायल अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो। दुई देशबीच बर्सेनि ५० अर्ब डलरको व्यापार हुने गरेको छ।

यस्तै, गाजा र अन्य क्षेत्रमा इजरायलको आक्रमणबाट संयुक्त राष्ट्रसंघ विश्वभर कमजोर देखिन थाले पनि अमेरिकाले इजरायलको पक्ष लिन छाडेको छैन। इजरायलविरुद्ध कुनै प्रस्ताव ल्याउँदा अमेरिकाले भिटो गर्छ। अहिलेसम्म अमेरिकाले इजरायललाई बचाउन ५० भन्दा बढी पटक भिटो प्रयोग गरिसकेको छ।

विश्व प्रविधिमा यहुदीको कब्जा
दोस्रो विश्वयुद्धमा अमेरिका नेतृत्वको पश्चिमा गुट (अलाइन ग्रुप)लाई जिताउन महत्त्वपूर्ण मानिएको आणविक बमको निर्माणमा सहयोग गरेका वैज्ञानिक अल्बर्ट आइन्सटाइन स्वयम् यहुदी हुन्। यस्ता सयौँ उदाहरण छन्, यहुदीका कारण अमेरिकालाई विश्व शक्ति बन्न टेवा मिलिरहेको छ।

सूचना प्रतिविधिको क्षेत्रमा यहुदीहरूको छुट्टै उचाइ छ। कम्प्युटरको हार्डवेयरदेखि सफ्टवेयरमा उनीहरूकै दबदबा छ। त्यसैले इजरायल अमेरिकाको सबैभन्दा ठूलो र विश्वसनीय ‘टेक सपोर्ट’ पनि हो।

अमेरिकी व्यवसायी तथा माइक्रोसफ्टका पूर्वकार्यकारी अधिकृत सीईओ स्टिभन बलमेर हुन् या डेल कम्पनीका मालिक माइकल डेल, यी यहुदी हुन्। अधिकांश ल्यापटप कम्प्युटरमा इन्टेलकै प्रोसेर प्रयोग हुन्छ। अमेरिकन कम्पनी भए पनि यसको मुख्य उत्पादन इजरायलमा हुन्छ र यसमा १० हजारभन्दा धेरै इजरायली यहुदी कर्मचारी छन्।

इजरायलमा निजी क्षेत्रमा सबैभन्दा धेरै रोजगारी दिने कम्पनी हो इन्टेल।

यस्तै, इभिडिया कम्पनीको ग्राफिक्स कार्ड जो गेमिङ ग्याजेटका लागि चर्चित छ, यसमा पनि इजरायलकै दबदबा छ। गुगलका संस्थापक ल्यारी पेजदेखि फेसबुक, इन्टाग्राम, थ्रेडका मालिक मार्क जुकरबर्ग यहुदी हुन्। अहिले एआईको दुनियाँमा चर्चित नाम ओपन एआईका सीआईओ श्याम अल्टम्यान पनि यहुदी हुन्।

यहुदी संलग्न अमेरिकी टेक प्रविधिलाई प्रयोग गरी इजरायलले कसरी आफ्नो स्वार्थ पूरा गर्छ भन्ने देखाउन सन् २०२० मा प्यालेस्टिनी विदेशमन्त्री रियाद अल मलिकीको अभिव्यक्ति सम्झिदा हुन्छ। उनले भनेका थिए, “इजरायल–यहुदीको बाहुल्य रहेको एपल र गुगलले विश्व मानचित्रबाट प्यालेस्टाइन भूमि गायब गर्न थालिसके।”

कृषि, प्रविधि, जलवायुलगायत क्षेत्रमा काम गर्नका इजरायल र अमेरिकाले गत वर्ष मात्रै पञ्चवर्षीय परियोजनाअन्तर्गत संयुक्त रूपमा ७ करोड अमेरिकी डलर लगानी गरेका छन्। यस संयुक्त पहलले यी प्रविधिको क्षेत्रमा अमेरिकी सहयोगलाई बलियो बनाउने र दुवै देशको विदेश नीति लक्ष्यहरूमा योगदान पुर्‍याउने अमेरिकाले जनाएको छ।

प्रविधि क्षेत्रको राजधानी मानिने अमेरिकाको सिलिकन भ्यालीले इजरायललाई समर्थन गर्दै आएको छ। ‘डिजिटल डिग्रोथ’ पुस्तकका लेखक माइकल क्वेट सिलिकन भ्यालीले इजरायलको अर्थतन्त्रलाई बलियो बनाउन र प्यालेस्टाइन कब्जा गर्न आवश्यक उन्नत प्रविधि र लगानीको आपूर्ति गर्दै आएको बताउँछन्। साथै अमेरिकाले पनि यिनै टेक कम्पनीका कारण विश्वमा उपनिवेशवाद सिर्जना गरेको उनको तर्क छ।

“आधुनिक समयका ठूला टेक कम्पनीहरू अमेरिकी साम्राज्य शक्तिको विस्तार हुन्, तिनीहरूले विश्वव्यापी डिजिटल अर्थतन्त्रलाई उपनिवेश बनाउँछन् र उत्तर तथा दक्षिणबीचको विभाजनलाई सुदृढ पार्छन्,” उनी लेख्छन्, “फलस्वरूप, अमेरिकाले डिजिटल पूर्वाधार र ज्ञानको स्वामित्व तथा ग्लोबल साउथबाट स्रोतहरूको निकासीबाट नाफा कमाउँछ।”

यसरी अमेरिका–इजरायलको एकअर्कालाई समर्थन र अविछिन्न मित्रताले यी देशको आन्तिरिक राजनीतिक माहोललाई पनि प्रभावमा पारिरहन्छ।


सम्बन्धित सामग्री