काठमाडौँ– गत असोज ११ र १२ गतेको वर्षापछि आएको बाढीबाट पाँचथर पावरले सञ्चालन गरेको १४.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना क्षतिग्रस्त भयो। यो आयोजना गत वर्षको बाढीमा पनि क्षतिग्रस्त भएको थियो। आयोजनाको पुनर्निर्माण सकेर सञ्चालनमा नआउँदै फेरि बाढीले क्षति पुर्याएको हो।
गत महिनाको बाढीले पाँचथरस्थित २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको पावर हाउस डुबानमा पर्यो। बाढीबाट यो आयोजना पनि लगातार दोस्रो वर्ष डुबानमा परेको हो।
यो वर्ष बाढीबाट हिउँदको विद्युत् आपूर्ति नै प्रभावित हुने गरी सबैभन्दा ठूलो क्षति माथिल्लो तामाकोशी आयोजनामा परेको छ। ४५६ मेगावाटको यो आयोजनाको विद्युतगृहमा क्षति पुगेको छ। आयोजना प्रमुख पूर्णगोपाल रञ्जितका अनुसार बाढीले विद्युत्गृहको हेर्डवर्क्स कन्ट्रोल बिल्डिङ, बालुवा थिग्राउने मेसिन, गोंगर–लामाबगरको सडक खण्ड र २२० केभी प्रसारण लाइनको टावर नं. ४६ मा क्षति पुगेको छ।
यो पनि: माथिल्लो तामाकोशी बन्द हुँदा हिउँदमा किन छ ‘लोडसेडिङ’को जोखिम?
गत असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी तथा पहिरोबाट करिब ११ सय मेगावाट क्षमताका जलविद्युत् परियोजनामा करिब १६ अर्ब बराबरको नोक्सान भएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बाढीले जलविद्युत्को निर्माण र उत्पादन दुवै प्रभावित भएको बताउँछन्।
बाढी र पहिरोका कारण नेपालको आन्तरिक प्रणालीले काम नगरेपछि ३०० मेगावाट अतिरिक्त विद्युत् भारतबाट आयात गरिएको थियो। बाढी पहिरोअघि नेपालले भारततर्फ दैनिक करिब ७०० मेगावाट विद्युत् निर्यात गर्ने गरेको थियो। “समयमै वर्षासम्बन्धी चेतावनी भए पनि हामीले ठूलो नोक्सान भोग्नुपर्यो,” उर्जामन्त्री खड्का भन्छन्, “समयमै जानकारी नपाएको भए अझ धेरै नोक्सान हुन सक्थ्यो।”
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार बाढीका कारण ऊर्जा उत्पादन तीन हजार मेगावाटबाट एक हजार मेगावाटमा झरेको थियो। अहिले पनि ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी पूर्ण रूपमा बन्द छ।
नेपालले असारदेखि कात्तिकसम्म भारतलाई ऊर्जा निर्यात गर्छ। मंसिर–पुसदेखि भने हिउँदभरि भारतबाट आयात गर्छ। नेपालको ऊर्जा उत्पादन मुख्यतया नदी प्रवाहमा आधारित जलविद्युत् परियोजनाहरूमा निर्भर छ। त्यसकारण, बाढी र पहिरोका कारण ऊर्जा क्षेत्र प्रभावित हुने गरेको छ।
नेपालको कुल उत्पादनको सानो हिस्सा मात्र सौर्य ऊर्जाको छ। अहिले १०० मेगावाट सौर्य ऊर्जाबाट उत्पादन भइरहेको छ। नेपालले सन् २०३० सम्ममा १५ हजार मेगावाट स्वच्छ ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ। तर जलवायु परिवर्तनले ऊर्जा उत्पादनमा चुनौती उत्पन्न गरिरहेको विज्ञहरू बताउँछन्।
नेपाल विद्युत् नियामक आयोगका अध्यक्ष रामप्रसाद धिताल मनसुनमा बाढीले जलविद्युत् आयोजनाहरूमा नोक्सान पुर्याइरहेको र जाडो तथा गर्मीमा पानीको प्रवाह प्रारम्भिक अनुमानभन्दा कम भएको बताउँछन्। उनका अनुसार पानीको स्तर आयोजना शुरू हुनुअघि गरिएको प्रक्षेपणभन्दा ३० देखि ४० प्रतिशतले घटेको छ।
“गर्मीमा चरम खडेरी बढिरहेको छ र वर्षा अचानक हुँदा बाढीले जलविद्युत्लाई नोक्सान पुर्याउने गरेको छ,” धिताल भन्छन्, “हामी केवल जलविद्युत्मा निर्भर रहन सक्दैनौँ, ऊर्जा स्रोतहरूको मिश्रण आवश्यक हुन्छ। जलविद्युत् हाम्रो ऊर्जा विकासको मेरुदण्ड हो, तर पछिल्लो घटनाले ऊर्जा स्रोतहरूको विविधीकरण गर्ने आवश्यकता देखाएको छ। हामी भने पूर्णरूपमा जलविद्युत्मै निर्भर छौँ।”
वातावरण नीति केन्द्र, इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ता मरियम जकारियाका अनुसार नेपालमा परेको विस्फोटक मनसुनी वर्षा जलवायु परिवर्तनले बढाएको हो। जकारियाले भनेकी छन्, “यदि वायुमण्डलमा जीवाश्मा इन्धनको अत्यधिक भार थिएन भने ती बाढी कम तीव्र र कम विनाशकारी हुने थिए।”
लगातार नोक्सानी
बाढीले प्रत्येक वर्ष नेपालको जलविद्युत् क्षेत्रलाई प्रभावित गरिरहेको छ। स्वतन्त्र उर्जा उत्पादक संघ (इपान)का अध्यक्ष गणेश कार्की गत वर्ष पूर्वी नेपालमा बाढीले करिब ६०० मेगावाटका २४ भन्दा बढी जलविद्युत आयोजनालाई नोक्सान पुर्याएको बताउँछन्। उनका अनुसार, त्यस बेला करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो।
त्यसैगरी, २०७८ सालमा गण्डकी प्रदेशमा १८ जलविद्युत् आयोजना बाढीले क्षतिग्रस्त भएका थिए, जसमा करिब १० अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो। “तीन वर्षदेखि हामी बाढीका कारण जलविद्युत्मा लगानी गुमाउँदै आएका छौँ,” अध्यक्ष कार्की भन्छन्, “एकातिर हामीले प्रत्यक्ष रूपमा पैसा गुमाउँदैछौँ र अर्कोतर्फ निर्माण समय बढ्दैछ। यस वर्षको बाढीले बन्दै गरेको आयोजनाको समयावधि एक वर्षले बढ्नेछ।”
बाढीले आयोजनाको पहुँच मार्गहरू ध्वस्त भएको उनी बताउँछन्। त्यस्ता आयोजनामा नयाँ सडक र अन्य संरचना बनाउनुपर्दा समय अझै थपिनेछ।
विज्ञहरू जलवायु परिवर्तनका कारण आगामी दिनमा बाढी अझ तीव्र हुने सम्भावना रहेको बताउँछन्। भारतको राजस्थानस्थित सेन्ट्रल युनिभर्सिटीमा वातावरण विज्ञानका प्राध्यापक सोमेश्वर दास नेपालको भौगोलिक अवस्थाका कारण बाढीको जोखिम सधैँ रहने र जलवायु परिवर्तनले यो जोखिमलाई धेरै बढाएको बताउँछन्।
“नेपालका नदीहरूमा बाढीको सधैँ चिन्ता रहन्छ। एउटा जोखिम हिमताल विस्फोटको हो र अर्को मनसुनको मौसम, जसले चरम वर्षा ल्याउँछ,” प्रा दास भन्छन्, “हामी प्रकृतिलाई नियन्त्रण गर्न सक्दैनौँ, तर सरकारले तयारीका लागि कदम चाल्नुपर्छ। जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीहरूको लागि जलविद्युत् लगानीकर्ताहरूले सचेत रहनुपर्छ।”
जलविद्युत् परियोजनाहरूको निर्माणअघि भूगर्भ र जलविज्ञानको अध्ययन अपर्याप्त रहेको भन्दै विज्ञहरू सचेत गराउँदै छन्। त्रिभुवन विश्वविद्यालयका केन्द्रिय भूविज्ञान विभागका सहायक प्राध्यापक रञ्जनकुमार दाहाल लगानीकर्ताले पूर्वनिर्माण अध्ययनमा लगानी बढाउनुपर्ने बताउँछन्।
जलविद्युत् क्षेत्रमा आकर्षण, तर जोखिम
जलविद्युत् क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ। विशेषगरी भारतबाट ठूलो लगानी भित्रिएको छ। विद्युत् विकास विभागका अनुसार भारतीय सरकारका कम्पनीले कुल चार हजार ५०० मेगावाट जलविद्युत् क्षमताका आयोजनाहरूको निर्माण लाइसेन्स पाएका छन्। थप तीन हजार मेगावाटको प्रस्ताव गरिएको छ।
त्यस्तै, बंगलादेशी लगानीकर्ताहरू पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न चाहन्छन्। नेपालबाट बंगलादेश ४० मेगावाट ऊर्जा निर्यात गर्ने सम्झौतामा नेपाल, बंगलादेश, र भारतले २०२४ अक्टोबर ३ मा हस्ताक्षर गरेका थिए। भारत हुँदै बंगलादेश बिजुली पुग्ने हुँदा यो सम्झौतामा भारतको पनि संलग्नता अनिवार्य छ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ १० वर्षभित्र भारतलाई १० हजार मेगावाट र बंगलादेशलाई ५०० मेगावाट ऊर्जा निर्यात गर्ने लक्ष्य रहेको बताउँछन्। गत वर्ष नेपाल र भारतले भारतलाई १० हजार मेगावाट ऊर्जा निर्यात गर्न सहमति गरेका थिए।
विद्युत् नियामक आयोगका अध्यक्ष रामप्रसाद धिताल महत्त्वाकांक्षी लक्ष्य हासिल गर्न प्रसारण लाइन र अन्य पूर्वाधार पनि बनाउनुपर्ने बताउँछन्। “जलवायु प्रतिरोधी पूर्वाधारमा लगानी बढाउन आवश्यक छ,” उनी भन्छन्, “यदि हामीले विद्युत्को आयोजना निर्माणअघि अध्ययनमा लगानी गर्यौँ भने आयोजना दीर्घकालसम्म टिकाउ हुनेछ।”
वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख सिन्धु ढुंगाना बाढी नियन्त्रणका लागि जलाधार क्षेत्रमा लगानी नगरिएको बताउँछन्। “नेपालका जलविद्युत् परियोजनाहरू मध्यपहाड र हिमालय क्षेत्रमा छन्, जहाँ नदीहरू हिमालबाट बग्छन्,” उनी भन्छन्, “यसकारण जलविद्युत् केन्द्रहरू मनसुनको बाढी र हिमताल विस्फोटबाट आउने बाढीको जोखिममा छन्। त्यहाँ बाढी नियन्त्रण गर्ने गरी लगानी गर्न आवश्यक छ।”
गत साउन ३१ गते सगरमाथा क्षेत्रमा एउटा सानो हिमताल फुटेर थामेगाउँको ९३० किलोवाटको सानो जलविद्युत प्लान्टमा क्षति पुर्याएको थियो। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँमाथिका दुई वटा हिमताल फुटेका थिए। ती हिमताल विस्फोटको जोखिमको सूचीमा थिएनन्। तर ताल विस्फोटपछि आएको बाढीले १३ घर बगायो भने खुम्बु बिजुली कम्पनीको ड्याममा पनि क्षति पुर्याएको थियो।
यी ताल विष्फोट जलवायु परिवर्तनसँग सम्बन्धित भएको विज्ञहरूले बताएका छन्। नेपालको हिमाली क्षेत्रबारे अनुसन्धान गरिरहेका र युनिभर्सिटी अफ अलास्कामा विद्यावारिधि गरिरहेका अमृत थापा भूउपग्रहको तस्वीरलाई विश्लेषण गर्दा माथिल्लो तालमा हिमपहिरो आएको देखिने बताउँछन्। माथिल्लो ताल फुट्दा पानी तल्लो तालमा झरेर बाहिर बग्न थालेको तर बेलुनजस्तो नफुटेको उनको भनाइ छ।
नेपालमा साना तथा ठूला धेरै जलविद्युत परियोजनाहरू हिमालयन क्षेत्रको नजिक छन्। जसले गर्दा ती प्रायः बाढीको जोखिममा छन्। जलवायु परिवर्तनका कारण हिमताल विस्फोटको घटनाहरू बढिरहँदा नेपालमा जलविद्युत् आयोजनाको सुरक्षा प्रमुख चुनौती भएको छ।