वर्षाको ढाँचा बदलिएको छ र सुख्खा खडेरीको समयावधि बढ्दो छ। उच्च तापक्रम तथा घनिभूत वर्षाका कारण बालीनालीमा लाग्ने कीरा र पशुजन्य रोग बढ्दो क्रममा छन्। यसले उत्पादकत्व घटाउँदैछ।
धान नेपालको प्रमुख खाद्यान्नका साथै देशको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने बाली हो। नेपालको कुल खेतीयोग्य जमिनमध्ये १५ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा खेती हुने गरेको छ। यो बाली तराई, पहाड, उच्च पहाडदेखि हिमालसम्म लगाइने गर्छ। धान उत्पादनको हिसाबले तराईले ६८ प्रतिशत, पहाडले २८ र उच्च पहाडी क्षेत्रले ४ प्रतिशत योगदान गरेको पाइन्छ। नेपालमा यसको उत्पादकत्व भने अन्य देश तथा महादेशका तुलनामा निकै कम छ।
नेपालमा धेरै प्रकारको धानखेती गरिन्छ। यहाँ स्थान विशेष र मौसम हेरेर वर्षे, चैते, भदौरे र हिउँदे धानखेती गर्ने चलन छ। प्रायःजसो नेपालको तराई भूभागमा वर्षेधानखेती बढी गर्ने गरिन्छ। वर्षामा सहजै आकाशे पानी उपलब्ध हुनाले पनि यो अभ्यास रहेको हो। यो धान मुख्यतः असारमा लगाई असोज अन्तिमदेखि कात्तिकसम्म बाली भित्र्याउने गरिन्छ। नेपालमा धानको कुल उत्पादन र उत्पादकत्व वर्षामा निर्भर रहिआएको छ। यसका साथै प्राकृतिक प्रकोप, रोग तथा कीराको प्रकोपले पनि धान उत्पादन घटाउन भूमिका खेलिरहेका छन्।
जलवायु परिवर्तन र यसका असर
विश्वव्यापी रूपमा तापमान र मौसमको स्वरूपमा लामो अन्तरालमा आउने फरकपनलाई जलवायु परिवर्तन भनिन्छ। यो परिवर्तनले जलवायुका कैयौँ पक्षलाई प्रभावित तुल्याउँछ, जस्तै: वर्षाको सही पूर्वानुमान गर्न सकिँदैन, ऋतुजन्य मौसमको ढाँचा बदलिदिन्छ, विषम प्रकृतिका मौसमजन्य घटना: भारी हिमपात, सुख्खा खडेरी, उष्ण र ठन्डी वायुभाटा पैदा हुने र अचानक हिमताल फुट्नेलगायत सम्भावना बढाइदिन्छ। नेपालमा हुने सरदर वार्षिक वर्षामध्ये ८० प्रतिशत वर्षा मनसुन याममा हुनेगर्छ। यो वर्षा अब बढेर १५–२० प्रतिशतसम्म बढ्ने र हिउँदे वर्षा भने घट्ने अनुमान छ। हिउँद र वर्षाकालमा हुने वर्षाको विषमता नै नेपालमा जलवायु परिवर्तन अनुकूलनको कठिन चुनौती हो। यसका साथै विश्वको औसत तापक्रम वृद्धिभन्दा नेपालको ऋतुजन्य तापक्रम द्रुत गतिमा बढ्दो छ र यो प्रवृत्तिको निरन्तरता कायम हुने सम्भावना छ।
जलवायु परिवर्तन हाम्रा लागि दूर भविष्यमा आइपर्ने चुनौती होइन, अहिलेकै खतरा हो—यसले पार्ने आर्थिक प्रभाव सर्वत्र महसुस भइसकेको छ। उच्च तापक्रम र तापक्रमको विभिन्नताले नेपालको कृषि–पारिस्थितिकी प्रणालीमा फेरबदल ल्याइदिएको छ। यसले वर्षाको ढाँचा बदलिएको छ र सुख्खा खडेरीको समयावधि बढ्दो छ। उच्च तापक्रम तथा घनिभूत वर्षाका कारण बालीनालीमा लाग्ने कीरा र पशुजन्य रोग बढ्दो क्रममा छन्। यसले उत्पादकत्व घटाउँदैछ। पानीको अभाव, असन्तुलित वर्षा र बाढीले निर्वाहमुखी कृषिमा आधारित अर्थतन्त्रमा नराम्रो क्षति पुर्याएको छ, पुर्याउँदैछ।
यो वर्षकै कुरा गर्दा भदौदेखि असोजमा अत्यधिक वर्षा भई खेतीयोग्य जमिनसमेत बगे या डुबानमा परे। यसका साथै पहिलेका वर्षहरूमा कम मात्रामा देखिएका वा देखिँदै नदेखिएका समस्या यो वर्ष अत्यधिक मात्रामा देखिएको गुनासो टीकापुर र कैलाली क्षेत्रका किसानले गरेका छन्। मिडियामा अन्य क्षेत्रका किसानका त्यस्तै गुनासो पढ्न पाइएको छ। बाली भित्राउने समय नजिकिँदै गर्दा यस्तो प्रकृति सिर्जित समस्याले उत्पादनमा हानि पुर्याउने चिन्ताले किसानलाई सताएको छ। जलवायु परिवर्तनले धानखेतीमा निम्त्याएका समस्याहरू यस प्रकार छन्:
क. वर्षा ढिलो भई यो वर्ष तापक्रममा समेत वृद्धि भएका कारण बाली प्रजनन चरणमा पुग्दा कीराको जीवनचक्रलाई उपयुक्त हुने सापेक्षिक आर्द्रता तथा वातावरण हुन सहज पुर्याएको देखिन्छ। जसका कारण पात बेरुवा र गबारोजस्ता कीराको वृद्धि भई पात, डाँठ र बालामा असर पुर्याइ उत्पादन घट्ने देखिन्छ। यी चार अध्येताका अनुसार पनि सापेक्षिक आद्रताले गबारो र पात बेरुवा कीराको वृद्धिमा भूमिका खेलेको पाइएको छ।
ख. बाली प्रजनन चरणमा पुग्दा अत्यधिक वर्षा भएका कारण परागणमा असर पुर्याइ ‘पोलन अबोर्सन’को अवस्था निम्तेको देखिन्छ। जसले गर्दा बाला खोक्रा हुने (दाना नलाग्ने) पाइएको छ। पसिनी र डोल्फेरसका अनुसार पनि असन्तुलित वातावरणले पोलेनको विकासमा असर पुर्याएको पाइएको छ।
ग. परागणको समयमा तापक्रममा वृद्धि हुँदा ‘पोलन स्टेरिलिटी’को समस्या हुने हुँदा उचित रूपले दाना नलाग्ने भएको हो। (पसिनी र डोल्फेरस)का अनुसार पनि असन्तुलित वातावरणले पोलेनको विकासमा असर पुर्याएको पाइएको छ।
घ. अनुकूल वातावरण हुँदा विभिन्न रोगले आक्रमण गरी धानको वृद्धिमा असर पुर्याएको देखिन्छ। साथै धानका बालामा पनि विभिन्न किसिमले असर गरेको पाइन्छ। बेभितोरी र घिनीले आफ्नो अध्ययनमा उल्लेख गरेअनुसार पनि मरुवा रोगको असर देखिनमा तापक्रम र सापेक्षिक आद्रताले भूमिका खेलेको पाइएको छ।
१. पहेँलो रङको गबारो
धानबालीमा लाग्ने मुख्य कीरा हो यो र धान बालीको जुन अवस्थामा पनि यसले आक्रमण गर्छ । धान डोलाउनुभन्दा अगाडि गबारोले क्षति गरे धानले क्षतिपूर्ति गर्न सक्छ भने धानको बाला पसाउने र बाला निस्कने बेला यसले क्षति गरे प्रत्यक्ष रूपमा उत्पादन घट्छ।
फूलबाट निस्केका प्रत्येक लार्भे धानको कलिलो अवस्थामा एउटा गाभोभित्र पस्छ र गाभालाई बढ्न दिँदैन वा मार्छ, जसलाई मृत गावा भनिन्छ। लार्भेले बाला निस्कन लागेका बोटमा पनि सुरुङ बनाउँछ र डाँठ मार्छ र खेतमा भुस मात्र भएका सेता बाला देखिन्छ। गबारोले क्षति गरेको डाँठ उखेल्दा त्यो सजिलोसँगै आउँछ।
व्यवस्थापन विधि
- धान काटिसकेपछि बाँकी रहेका सम्पूर्ण ठुटा निकाली जलाई दिने अथवा खेत जोती पानी लगाउने।
- प्रकाश पासोको माध्यमबाट वयस्क पुतली आकर्षण गरी मार्ने।
- व्यासिलस थुरिन्जियन्सिस ३ ग्राम प्रतिलिटर पानीको दरले छर्कने।
- गबारोका लार्भाहरू फुलबाट निस्केको केही बेरमै धानको डाँठभित्र पस्ने हुनाले रासायनिक विषादीको प्रयोगले यसको रोकथाम गाह्रो छ। प्रतिलिटर पानीमा थायोडान १ देखि २ मिली मिसाइ छर्नाले केही रोकथाम गर्न सकिन्छ।
- गबारोको धेरै प्रकोप (१० प्रतिशतभन्दा बढी) भए रासायनिक विषादी कार्टाप हाइड्रोक्लोराइड ४ प्रतिशत या क्लोरान्ट्रानिलिप्रोल ०.४ प्रतिशत वा फिप्रोनिल ०.३ जीआर दानादार विषादी २५ केजी प्रतिहेक्टर वा क्लोरोपाइरिफस २५ प्रतिशत ईसी २ मिली प्रतिलिटर पानी वा एसिफेट ७५ प्रतिशत एसपी १ मिली प्रतिलिटर पानीका दरले प्रयोग गर्न सकिन्छ। दानादार विषादी प्रयोग गर्दा खेतमा ५ देखि ८ सेमी पानी पाँच दिनसम्म कायम रहनुपर्छ।
२. धानको पात बेरुवा
यसका लार्भाहरूले धानको पातलाई बेरेर भित्रपट्टि बसी पातको हरियो पदार्थ कोतरेर खान्छन् र त्यसकारण पात सुक्छ।
व्यवस्थापन विधि
- धान रोप्ने बेला स्वस्थ र बलिया बेर्नाहरूको प्रयोग गर्ने।
- नाइट्रोजनयुक्त मलको उचित प्रयोग गर्ने।
- काँडेदार डोरी लिई दुवै छेउमा समातेर खेतको दुई छेउमा बस्ने र धानलाई छुवाएर क्रमशः विपरीत दिशातिर जाने। यसो गर्नाले धानको पातमा रहेका पात बेरुवाका लार्भा पानीमा खसेर नष्ट हुन्छन्।
- बी१ नामक जैविक विषादी १.५ मिली प्रतिलिटर पानीमा मिसाइ खेतमा छर्कने। यसरी जैविक विषादी प्रयोग गर्दा प्रतिहेक्टर जमिनमा ५०० देखि ६०० लिटर जैविक विषादी र पानीको झोल प्रयोग गर्ने।
- प्रकोप बढी भएमा अन्तिम विकल्पको रूपमा बजारमा सजिलैसँग उपलब्ध हुने विषादी क्लोरिपाइरिफस २० प्रतिशत ईसी १ लिटर प्रतिमिली २५ का दरले छर्ने।
३. पतेरो
यी कीराले आफ्नो तिखो सुँडले पात र दाना छेडेर भित्रको दूध चुस्छ। पातमा बढी आक्रमण भए धानको बोट नै पहेँलिने हुन्छ र बालामा आक्रमण गरेको छ भने दानामा खैरो दाग देखिने, दाना फोस्रा हुने अथवा आधा फोस्रिएका दाना हुने गर्छ।
व्यवस्थापन विधि
- खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको वैकल्पिक आश्रयस्थल नष्ट गर्ने।
- एकै समय पाक्ने धानका जातहरू छनोट गरी लगाउने।
- प्रकाश पासोको माध्यमबाट वयस्क कीरा मार्न सकिन्छ।
- डर्टी ट्र्यापको प्रयोग गर्ने। यसको लागि गाईभैँसीको ताजा पिसाबमा कपडा या जुटको बोरा भिजाएर एउटा घोचोको एक छेउमा बाँध्ने र सो घोचोलाई धानबारीको बीचमा लगेर गाड्ने गर्नुपर्छ। ट्रयापमा आकर्षित भएका पतेरोलाई बाहिरपट्टिबाट प्लास्टिकको झोलाले छोपी संकलन गरी मार्ने।
- यो कीराको प्रकोप ज्यादा भए अन्तिम विकल्पको रूपमा कीटनाशक विषादी जस्तै, मालाथियन ५० प्रतिशत ईसी २ मिली प्रतिलिटर अथवा साइपरमेथ्रिन २५ प्रतिशत इसी मिली प्रतिलिटर पानीका दरले छर्ने।
४. मरुवा रोग
यो एक प्रकारको ढुसीजन्य रोग हो। पाइरिकुलरिया ओरीजाए नामक ढुसीले यो रोग निम्त्याउने गर्छ। बीउबाट पनि यो रोग सर्ने भएकाले अघिल्लो वर्ष रोग देखिएका ठाउँका बीउ उपचार नगरी प्रयोग गर्दा, रोगी बिरुवा प्रयोग गर्दा यो रोग फैलने सम्भावना प्रबल रहन्छ।
पातमा ससाना सेतो टिका बीचमा भएका लाम्चा र खैरा थोप्ला देखा पर्छन्। फलेको धानमा भने बाला मुन्तिरको डाँठ वरिपरि वा आँख्लामा खैरो रङका दाग देखिने र बाला मर्ने समस्या देखा पर्छ। सिफारिसभन्दा ज्यादा युरिया मल प्रयोग गर्नाले पनि यो रोग फैलन उचित वातावरण बन्छ। व्यवस्थित सिँचाई प्रणाली नहुँदा पनि 'धान ब्लास्ट'को समस्या पर्न सक्छ।
व्यवस्थापन विधि
- रोग निरोधक धानका जातमात्र लगाउने।
- नाइट्रोजनयुक्त मल, जस्तै युरिया मात्र बढी प्रयोग नगरी फस्फोरस र पोटास पनि सिफारिसअनुसार प्रयोग गर्ने।
- प्रतिकिलो २ ग्राम वेविस्टिन वा कार्बेन्डाजिममा १२ घण्टासम्म भिजाएर बीउको उपचार गर्ने।
- लक्षण देखिएका बिरुवा शुरूशुरूमा हटाउने र नष्ट गर्न सकिन्छ। साथै प्राविधिकको सल्लाहअनुसार कार्बेन्डाजिन ५० प्रतिशत डब्ल्युपि दुई ग्राम प्रति लिटर पानीमा, ट्राइसाइक्लाजोल ७५ डब्ल्यूपी ०.७५ ग्राम प्रतिलिटर पानीमा, हेक्साकोनाजोल ५ प्रतिशत ईसी २ ग्राम प्रतिलिटर पानीमा प्रयोग गर्ने।
५. वातावरणले ल्याएका समस्या
पोलन एबोर्सन र पोलन स्टेरिलिटीजस्ता वातावरण सिर्जित समस्या एक पटक निम्तिसकेपछि त्यसको समाधान नमिल्ने हुँदा सकेसम्म त्यस्ता समस्या ननिम्तन दिनेतर्फ लाग्नुपर्छ। बढी तापक्रम सहने, वर्षात् सहनेजस्ता जातको छनोट गरी उपयोग गर्नुपर्छ।
देवकोटा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा कृषि विषयमा स्नातक अध्ययनरत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
