खोकनामा फर्पिङ, लेलेलगायत दक्षिण ललितपुर तथा चितवन, दाङलगायत ठाउँबाट तोरीको आयात हुन्छ तर देशभित्रको आयातले एकचौँथाइ माग मात्र धानिन्छ। विदेशबाट हुने आयातको भरमा कसरी उत्पादन भइरहेछ खोकनाको तेल?
काठमाडौँ– त्यो दिन थियो १९९६ मे २३ अर्थात् २०५३ जेठ १० गते। यो दिनलाई कतिपय खोकनाबासीले सम्झिरहेका छन्। यही दिन खोकना अस्थायी रूपमा विश्व सम्पदा क्षेत्रमा सूचीकृत भएको थियो। यसका दुई वटा मुख्य आधार थिए– ‘भर्नाकुलर भिलेज’ (कुनै पनि भौगोलिक ठाउँको मौलिक बनावट, भाषा, भौतिक संरचना मिलेर बनेको, विशेषतः नेवार बस्ती) र तोरीको तेल।
काठमाडौँको केन्द्रबाट करिब आठ किलोमिटर दक्षिण ललितपुरमा पर्ने खोकनामा दशैँ नमनाइए पनि दशैँमा धेरै खपत हुने तोरीको तेलका लागि प्रसिद्ध छ। दशैँको बेला सिकाली जात्रामा व्यस्त हुने खोकनाबासीले तेल भने बेचिरहेकै हुन्छन्। खोकनामा पाइला राखेसँगै तोरीको तेलको रागले आगन्तुकलाई स्वागत गर्छ।
यहाँ पेलिने तेलका लागि तोरी यहीँ उत्पादन हुन्थ्यो। यहाँको तोरीको बीउ प्रसिद्ध थियो। तर अहिले यहाँ पेलिने तोरीमाथि प्रश्न उठ्न थालेको छ। नेपालमा उत्पादित तोरीले माग नधान्दा फ्रान्स, अस्ट्रेलिया तथा युक्रेनबाट ठूलो मात्रामा तोरी आयात हुन्छ।
तेल मिलको बदलिँदो स्वरूप
लिच्छविकालीन बस्ती मानिने खोकना पुग्दा बसपार्कनजिकै दुई वटा तोरी तेल मिल देखिन्छन्– सिकाली खोकना र गाँबु तोरीको तेल मिल।
व्यक्तिगत रूपमा चलिरहेको गाँबु खोकनाको पुरानो तोरीको तेल पेल्ने मिलमध्ये एक हो। यहाँ एउटा आधुनिक र एउटा परम्परागत मेसिनबाट तेल पेलिन्छ। खोकनामा तेल उत्पादनका लागि राणा प्रधानमन्त्री जुद्ध शमशेरले गबु ज्यासा तेल मिल स्थापना गरेको यहाँका स्थानीय बताउँछन्।
पुरानो मिलबाट गुणस्तरीय तेल उत्पादन हुने भए पनि तोरी पेल्न लामो समय लाग्ने कारण आधुनिक मिल हाल्न थालिएको मिल संचालकहरू बताउँछन्। सहकारीमार्फत १९ वर्षअघि स्थापना भएको सिकाली खोकना तेल मिलमा पनि आधुनिक मेसिन छन्। यसका संचालक हरिराम डंगोलले तीन आधुनिक मेसिनमार्फत तोरी पेल्ने गरिएको बताए।
यो मिलबाट दैनिक ४५० देखि ५०० लिटर तेल उत्पादन हुने उनको भनाइ छ। त्यसका लागि ९०० केजी तोरी पेल्नुपर्छ। उत्पादन भएको तेल मिलबाटै खुद्रा पनि बिक्री हुन्छ भने देशका विभिन्न भागमा समेत पठाइन्छ।

खोकनामा १३ वटा तेल मिल छन्, जसमध्ये सिकाली खोकना र मंका तेल मिल सहकारीअन्तर्गत सञ्चालन भएका हुन्। सिकाली खाेकना मिल सिकाली बहुउद्देश्यीय सहकारीले र मंका तेल मिल योगदान उपभोक्ता सहकारीले सञ्चालन गरेका हुन्। योदान सहकारीका अध्यक्ष ज्ञानेन्द्र महर्जन भन्छन्, “हाम्रोमा उत्पादन भएको तेलको २० प्रतिशत स्थानीयले किन्छन्। ४० प्रतिशत सहकारीमार्फत देशका विभिन्न भागमा जान्छ। बाँकी ४० प्रतिशत विदेश जान्छ, जसका लागि ६–७ वटा कम्पनी मध्यस्तकर्ता छन्। हामी वितरक हौँ।”
महर्जनका अनुसार खोकनामा ६०० वर्षभन्दा अगाडिदेखि तेल पेल्न थालिएको हो। कुनै समय यहाँ उत्पादन भएको तेल अन्नसँग सट्टापट्टा गरिन्थ्यो। एक माना तेल बराबर ६ माना तोरी लिने गरेको आफ्ना बाजेबराजुबाट उनले सुनेका थिए। तर पछि यसैलाई आधुनिक व्यवसाय बनाइएको उनको भनाइ छ। “अहिले बजारसँगको प्रतिस्पर्धा गाह्रो भइरहेको छ,” उनी भन्छन्, “गुणस्तरमा हामी सम्झौता गर्दैनौँ, त्यसैले अन्य तेलको तुलनामा मूल्य बढी हुन गइदिन्छ।”
एक लिटर तेल उत्पादनका लागि साढे दुई किलो तोरी आवश्यक हुन्छ। अध्यक्ष महर्जनका अनुसार तेल बिक्रीबापत वर्षको करिब ५० लाख रुपैयाँको कारोबार हुन्छ। तेलभन्दा पनि पिनाबाट फाइदा हुने उनी बताउँछन्। पिना मल, दाना आदिका रूपमा गाइभैँसी फार्ममा जान्छ। यो प्रतिकिलो ५० देखि ५५ रूपैयाँमा बिक्री हुन्छ।

चाडपर्व तथा जात्रामा २०–२५ प्रतिशतले तेलको माग बढ्ने उनी बताउँछन्। नेवार समुदायले भुटेको तोरीको तेल खरिद गर्छन्। क्षेत्रीबाहुनले भने काँचो तोरीको तेल खोज्छन्। “बजारमा पाउने तेलमा मिसावट हुन्छ। हामी शुद्ध तोरीको तेल पिन्छौँ,” उनी भन्छन्।
खोकनामा तेल उत्पादनको बदलिँदो प्रविधिलाई महर्जन सकारात्मक मान्छन्। परम्परागत शैलीबाट पिनिने तेल र मेसिनमा पिनिने तेलमा गुणस्तरीय भिन्नता भए पनि बजारमा पाइने मिश्रित तेलभन्दा कैयौँ गुणा स्वस्थवर्धक रहेको उनी बताउँछन्। परम्परागत शैलीबाट पेलिने तेल गुणस्तरको हुन्छ।
युक्रेनको युद्धले निम्त्याएको चुनौती
तेलका लागि आफ्नै उत्पादनबाहेक खोकनामा फर्पिङ, लेलेलगायत दक्षिण ललितपुरबाट मात्र नभई चितवन, दाङबाट पनि तोरी आउँछ। तर यतिले मात्र तेलको माग धान्न सक्दैन।
यहाँ फ्रान्स, अस्ट्रेलिया र युक्रेनबाट पनि तोरी आउँछ। युक्रेन खोकनामा तोरी निर्यात गर्ने प्रमुख देशमा पर्छ। यहाँको तोरी कालो हुन्छ। तोरीमा सबैभन्दा राम्रो बाल तोरी, त्यसपछि पहेँलो सर्सिउँ र तेस्रोमा मात्र कालो तोरी पर्छ। खोकनामा बाल तोरी र कालो तोरी मिसाएर तेल पेलिन्छ। सलगम तोरीको तेल पनि पेल्ने गरिन्छ।
नेपालमा उत्पादन हुने तोरी गुणस्तरीय हुने योगदान उपभोक्ता सहकारीका सदस्य रमेश महर्जन बताउँछन्। तर नेपालको उत्पादनले एकचौँथाइ माग मात्र धान्छ। अस्ट्रेलियाबाट आउने तोरी पनि गुणस्तरीय हुने उनी बताउँछन्। “विदेशबाट आउने तोरीमा नेपाली तोरीको जस्तो बास्ना हुँदैन, नेपाली तोरी मिसाउनै पर्छ,” उनी भन्छन्, “नेपालभित्रको २५ प्रतिशत र बाहिरको ७५ प्रतिशत तोरी मिसाएर पिन्ने गर्छौं।”

सिकाली खोकना तेल मिलका सञ्चालक हरिराम महर्जनका अनुसार बाहिरबाट आएको कतिपय तोरीमा नेपाल र भारतबाट ल्याइएको ६० प्रतिशतसम्म तोरी मिसाउनुपर्छ। नेपाली तोरी नमिसाए बास्ना नआउने र नबिक्ने उनी बताउँछन्।
युक्रेनमा भएको युद्धको कारण तोरी नआउँदा तेलको भाउमा वृद्धि भएको यी व्यवसायीको गुनासो छ। सहकारी अध्यक्ष ज्ञानेन्द्र महर्जनका अनुसार न्यूनतम ९० रूपैँया प्रतिकिलोमा खरिद गरिरहेको तोरी युद्धका कारण प्रतिकिलो १६० रूपैँयासम्म पुगेको छ। जसले गर्दा तेल प्रतिलिटर ३४० बाट ४५०–४८० रूपैँयासम्म पुगेको छ।
युक्रेन युद्धले तेल उत्पादनमा प्रभाव परे पनि यही कारण मात्र भाउ नबढेको श्री खोकना कुमारी तेल मिलका सञ्चालक रवीन्द्र महर्जन बताउँछन्। युद्धको कारण युक्रेनबाट तोरीको आयात घटेपछि अन्य देशले भाउ बढाएको र विचौलियाले पनि खेलेको उनको भनाइ छ। “माग बढेपछि अस्ट्रेलिया र क्यानडाले तोरीको भाउ बढाए,” उनी भन्छन्, “यसमा विचौलियाले पनि चलखेल गरे। युद्धलाई मात्र तेलको भाउ बढ्नुको एकल कारण मान्न सकिँदैन।”
तोरीको तेलले मुटुको रोग निम्त्याउने भन्दै अपूरो अनुसन्धानका आधारमा केही वर्षअघि समाचार आउँदा पनि व्यापारमा प्रभाव परेको उनी सम्झन्छन्। त्यस बेला खोकनाको तेल व्यवसाय झन्डै धरासायी बनेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
