दशैँको बेला लाहुरे छुट्टीमा घर आउँदा रेडियो मात्र होइन, उनीहरूले नाडीमा बाँधेको घडी पनि आउँथ्यो। छुट्टी सकेका लाहुरेलाई फर्किने बेलाको बाटोखर्च तिनै रेडियो र घडीले जुटाइदिन्थे।
पोखरा– अहिलेका व्यस्त बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक बन्नुअघि गणेशटोल, मोहरियाटोल, भैरवटोल, बागबजार इलाका पोखराका व्यापारिक गढ थिए। भैरवटोलदेखि अलि मास्तिर लागेपछि मोहरिया टोलमा श्यामप्रसाद श्रेष्ठको कपडा पसल थियो।
पोखरादेखि पर्तिर पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङसम्म उनको पसलको व्यापारिक नाता जोडिएको थियो। २००७ सालमा प्रजातन्त्र आउनुअघि नै श्रेष्ठ परिवारको व्यापारिक विरासत चारै दिशामा फैलिएको थियो।
त्यसबेला अहिलेजस्तो सूचना र सञ्चारको माध्यम हातहातै थिएन। रेडियो सुन्नु धनीमानीको महँगो सोखमा सीमित थियो। रेडियो नेपालको स्थापना २००७ साल चैत २० गते मात्र भएकाले त्यसअघि नेपाली भाषामा रेडियो बज्ने कुरा भएन। सामान्य खेतीकिसानी गरेर पेट पाल्नेहरूका लागि रेडियो खरिद गर्नु मात्र होइन, रेडियोबाट बज्ने हिन्दी समाचार सुन्नु पनि ठूलै गौरवको विषय बन्थ्यो।
“वरिपरिका छिमेकीहरू साँझबिहान घरका कामकाज सकेर रेडियो सुन्न हाम्रो घरको पिँढीमा जम्मा हुन्थे। समाचार सुन्नेहरूको मेला नै लागेझैँ हुन्थ्यो,” पोखराका उनै पुराना व्यवसायी श्यामप्रसादका छोरा जवाहरलाल श्रेष्ठ (८३) सम्झिन्छन्। उनका अनुसार त्यसबेला भारतको ‘दूरदर्शन’, ‘सिलोन’ जस्ता रेडियो स्टेसनबाट प्रसारित समाचार सूचनाका मुख्य स्रोत हुन्थे। गीत, संगीत सुन्न पनि भारतीय रेडियोकै भर पर्नुपर्थ्यो।
१८ सय लगानी: रेडियो इतिहास भयो, जग्गाको मूल्य ३ करोड पुग्यो
अहिलेजस्तो आकर्षक शहरको रूपमा पोखराले आफूलाई बदल्नुअघिको बञ्जर जमिनमा २०१८–२० सालसम्म व्यापारीको आँखा पुगेको थिएन। झाडी नै झाडीले भरिएको बुट्टयान र खुला चौरमा घना बस्ती बस्ला भन्ने कसैले सोचेको पनि थिएन। २० को दशकमा पोखरामा जग्गाको भाउबारे प्रस्ट्याउँदै जवाहरलाल आफ्नो व्यक्तिचित्र ‘मेरो संक्षिप्त जीवनचरित्र दर्पण’मा लेख्छन्, “विसं २०२०/२२ सालमा, जो हामी आजभोलिको कोठामा बिछ्याउने कार्पेटको मूल्य एक स्क्वायर फिटको १५० देखि २०० सम्म पर्दछ भने त्यही पैसाले त्यतिखेरको समयमा डाँडापाखाको जग्गा एक रोपनी किन्न सकिन्थ्यो।”
व्यापारबाट मनग्गे आम्दानी भइरहेको थियो। त्यसैले श्रेष्ठ परिवारले जग्गाजमिन जोड्नेतर्फ ध्यान दिएन। “यो रेडियो मैले २०१८/१९ सालमा १८ सय रुपैयाँ तिरेर किनेको हुँ। यसमा ६ वटा ब्याट्री लाग्छ। १८ सय रुपैयाँमै बागबजारमा जग्गा पनि किनेको थिएँ,” उनी भन्छन्, “त्यसमध्ये दुई–अढाई करोड रुपैयाँको जग्गा बेचिसकेँ। अझैँ एक करोडको सम्पत्ति बाँकी नै छ।”

एउटै लगानीमा किनेको जग्गाको मूल्य १६ हजार गुणाभन्दा बढीले वृद्धि हुँदा रेडियो भने केबल बिर्सिइँदो इतिहासको साक्षी मात्रै बनेको छ। “रेडियोकै मूल्यमा किनेको जग्गा आधा बेच्दा पनि त्यति धेरै आम्दानी लिएँ। तापनि मलाई रेडियो किनेकोमा पश्चात्ताप छैन। किनभने त्यसले धेरै कुरा सिकायो,” उनी भन्छन्। त्यही गुणको मूल्य देखेर नै बिग्रेर काम नलाग्ने भइसक्दा पनि ६३ वर्ष पुरानो त्यो रेडियोलाई श्रेष्ठ परिवारले अमूल्य सम्पत्ति मानेर सुरक्षित राखेको छ।
दशैँमा लाहुरेले ल्याउने रेडियोसँगै भित्रिन्थ्यो खुशियाली
व्यापारिक विरासत भएका श्रेष्ठ परिवारमा २०१५ सालतिरै रेडियो भित्रिइसकेको थियो। काठमाडौँमा ‘हिजमास्टर सर्भिस’ नामको दोकानबाट रेडियो खरिद गरेको उनलाई सम्झना छ। सामान्य खेतीकिसानी गर्ने परिवारले काठमाडौँबाट रेडियो किनेर ल्याउने सम्भावना निकै कम हुन्थ्यो।
तर रेडियो बिक्रेता नै बिक्री गर्न पोखरा आएको बखत आफूहरूले त्यसलाई किनेको उनी सम्झन्छन्। देश, दुनियाँको खबर सुन्न आफ्नो आँगनमा छरछिमेकी जम्मा भएको क्षण सम्झँदा अहिले पनि छुट्टै आनन्द छाउने उनी बताउँछन्।
समयक्रमसँगै गाउँगाउँबाट गल्लाको पछि लागेर पल्टन गएकाहरूले घरगाउँमा रेडियो भित्र्याउन थाले। लाहुरेहरू प्रायः दशैँ मनाउन छुट्टीमा आउँदा ल्याएको रेडियो पल्टनमा फर्किंदा बिक्री गरेर जान्थे। यसरी घरगाउँमा रेडियोको पहुँच सहज बन्दै गयो।
बेलायती सेनाबाट अवकाशप्राप्त धर्मराज गुरुङ छुट्टीपिच्छे घर आउँदा रेडियो ल्याउने गरेको सम्झन्छन्। “त्यतिखेर छुट्टी ५/७ महिना पाइन्थ्यो। पल्टनबाट आउँदा रेडियो ल्याउने, छुट्टीभर बजाएर फर्किनुअघि बेच्ने चलन थियो,” उनी भन्छन्, “छुट्टीपिच्छे घर आउँदा ल्याएको रेडियो जम्मा गर्दा त घरभरि हुने भयो। त्यही भएर हरेक वर्ष छुट्टीमा आउँदा नयाँ राख्ने र पुरानो बेच्ने चलन थियो।”
पल्टनबाट पाँच पटक छुट्टीमा आउँदा उनले चार रेडियो बेचे। त्यसबेला आफूले २५–२६ सयदेखि तीन हजार रुपैयाँसम्ममा रेडियो बिक्री गरेको उनी सझन्छन्। त्यसबेला सबैभन्दा महँगो पर्ने जापानी ‘फिलिप्स’ कम्पनीको रेडियो तीन हजारसम्मा बिक्री हुन्थ्यो।
घर आउँदा लाहुरेले ल्याउने अर्को चिज हुन्थ्यो चुरोट। लाहुरबाट ल्याएको चुरोट गाउँभरिका आफन्तजनलाई बाँडेको गुरुङ सम्झना गर्छन्। रेडियो भने घर आउनेबित्तिकै बेच्दा राम्रै मूल्य पाए पनि ६–७ महिना छुट्टी बसेर फर्किने बेला भएपछि कम मूल्यमै बिक्री गर्न बाध्य हुन्थे उनीहरू। “नयाँ रेडियो नै बेच्यो भने १७/१८ सयमा बिक्री हुन्थ्यो। हाजिरा लाग्ने बेलामा त चलाएको रेडियो भनेर हजार–१२ सयमा मात्रै बिक्री हुन्थ्यो,” गुरुङ भन्छन्, “६ महिना गाउँमा बस्दा लाहुरे पल्टेर पहाडतिर ठोक्किएर ड्यामेज पनि पनि भयो नि, त्यसैले सस्तोमा बेच्नुपर्थ्यो।”
पल्टनबाट रेडियो किनेर ल्याउँदा ४०–५० डलरसम्ममा पाइन्थ्यो। एकदमै महँगो ९० मलायन डलरसम्मको रेडियो बिक्री हुने गरेको उनलाई सम्झना छ। त्यसबेला एक डलरको नेपाली सटही दर भने ९ रुपैयाँ १३ पैसा मात्र थियो। पल्टन फर्किंदा रेडियो बिक्री चाहिँ फर्किंदाको बाटो खर्च जोहो गर्नका लागि पनि गरिन्थ्यो। लाहुरेले नाडीमा बाँधेको घडीमा पनि घरगाउँतिर सबैको आँखा पर्ने गर्थ्यो।
बेलायती सेनाबाट अवकाशप्राप्त क्याप्टेन चन्द्र गुरुङ पनि लाहुरसँगै घरगाउँ छिर्ने रेडियोले खुशीयाली भित्र्याएको सम्झिन्छन्। “त्यतिबेलाको जमाना नै रमाइलो थियो। छुट्टी आउँदा रेडियो घन्काउँदै हिँडेपछि बुढाबुढी, केटाकेटी सबै भेटघाट हुने, रेडियो सुन्ने, कुराकानी गर्ने माहोल हुन्थ्यो,” उनी भन्छन्, “बेलायती लाहुरे छुट्टीमा आउँदा आफन्तलाई लुंगी/मखमलको चोलो पनि उपहार दिने चलन थियो। इन्डियाको लाहुरे आउँदा पनि चलन त्यही हो।”
चियापत्ती र चिनी पनि लाहुरेले कोसेलीका रूपमा ल्याउँथे। बदलिँदो परिवेशसँगै पुराना चलन पनि हराउँदै गए। तर यस्ता चलनले घरगाउँमा खुशीयाली पनि भित्रिने गरेको उनलाई सम्झना छ। “गाउँघरमा लाहुरे छुट्टीमा आउँदा सबै भेला हुने, उसका कथा सुन्ने, रमाइलो गर्ने गरिन्थो। चुरोट खानेहरूलाई लाहुरेहरूले चुरोट बाँड्थे। नाचगान गर्ने, रमाउने गुरुङ परम्परा रमाइलो थियो,” उनी भन्छन्।
छुट्टीमा लाहुरे आएसँगै गाउँ भित्रिने खुशी उनीहरू नफर्किंदासम्म अडिन्थ्यो। लाहुरे फर्किएपछि भने गाउँ सुनसान हुने गरेको गुरुङ सुनाउँछन्। “लौ फलानाको छोरा, नाति आयो रे भनेपछि भेला भइहाल्ने, पञ्चेबाजा बजाएर स्वागत गर्ने, एक खालको रमाइलो वातावरण हुन्थ्यो,” उनी भन्छन्, “तर अहिले त गाउँमा मान्छे बस्नै छाड्यौँ। त्यो परम्परा धेरै रमाइलो थियो।”
लाहुरे छुट्टीमा घर आउँदा ल्याएको रेडियो होस् या घडी, उनीहरू जानुअघि गाउँमै बिक्री हुन्थ्यो। जापनिज कम्पनीको ‘फिलिप्स’ रेडियो र ‘साइको’ घडी त्यसबेला खुब चल्तीमा थिए। छुट्टी आएको लाहुरेलाई फर्किने बेलाको बाटो खर्च तिनै रेडियो र घडीले जुटाइदिन्थे। पैसा सकिएका लाहुरे रेडियो र घडीमध्ये एक बेच्न वाध्य हुन्थे। खर्चको खाँचो नभएकाहरूले चाहिँ आफ्ना मन खाएका आफन्त या साथीभाइलाई उपहार दिएर पनि जान्थे।
रेडियो सुन्न लिनुपर्थ्यो ‘लाइसेन्स’
तत्कालीन समयमा रेडियो खरिद गरिसकेपछि त्यसको प्रयोग गर्न पनि सरकारको अनुमति लिनुपर्थ्यो। किनभने रेडियोलाई विलासिताको सामान मानेर सरकारले कर असुल्थ्यो। पीएन क्याम्पस (पृथ्वीनारायण इन्टर कलेज) का पहिलो शिक्षक देवीरमण शर्माको स्मृति ग्रन्थमा उनका छोरा ध्रुव शर्माको नाममा किनिएको रेडियो प्रयोग गर्ने लाइसेन्स नवीकरण गर्न आउन ताकेता गर्दै नगरपञ्चायत पोखराले पठाएको पत्रको प्रतिलिपि प्रकाशित छ।

शर्माका अर्का छोरा डा. अनिल सुवेदी सूचना र समाचारको तृष्णा हुनेहरूले कर तिरेर रेडियो नवीकरण गर्ने गरेको सुनाउँछन्। “बुवालाई ट्रान्जिस्टर रेडियोको लाइसेन्स नवीकरण गर्न नगरपञ्चायतले पठाएको पत्रले तत्कालीन समयलाई गज्जबले चित्रण गर्छ,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
