काठमाडौँ– यस वर्षको मनसुन अवधिमा सरदरभन्दा १५.३ प्रतिशत बढी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधि जेठ १९ गतेदेखि असोज १४ गतेसम्म एक हजार ७०६.२ मिलिमिटर वर्षा भएको हो। विभागले २० वटा केन्द्रमा मापन गरिएको वर्षाको परिमाणका आधारमा विवरण अद्यावधिक गरेको छ। मनसुनमा यो वर्ष एक हजार ४७९.७ मिलिमिटर वर्षा हुनुलाई सरदर मानिन्छ।
यद्यपि, विभागले यस वर्षको मनसुन बाहिरिएको घोषणा गरिसकेको छैन। मनसुन बाहिरिने दिन अक्टोबर २ भए पनि अझै एक हप्ताभन्दा बढी समय लाग्ने विभागले जनाएको छ। नेपालमा सामान्यतया मनसुन भित्रिने सरदर मिति जुन १३ (प्रायः जेठ ३० गते) र बाहिरिने अक्टोबर २ (असोज १५ गते) हो। तर यस वर्ष सरदर मितिभन्दा दुई दिनअघि मनसुन भित्रिएको थियो।
विभागका अनुसार गत वर्ष मनसुन अवधिमा सरदरभन्दा १२.४ प्रतिशत कम अर्थात् एक हजार ३०१.४ मिलिमिटर वर्षा भएको थियो। गत वर्षभन्दा यस वर्ष ४०५ मिलिमिटर बढी वर्षा भएको छ। यस वर्ष जुम्ला र कास्कीको लुम्लेबाहेक १८ वटा केन्द्रमा सरदरभन्दा धेरै वर्षा भएको छ। जुम्लामा करिब ९२ र लुम्लेमा ८६ प्रतिशत वर्षा भएको छ। लुम्ले केन्द्रमा गत वर्ष पनि सरदरभन्दा करिब १५ प्रतिशत वर्षा कम भएको थियो।
गत वर्षको मनसुनमा तराईका अधिकांश स्थानमा कम वर्षा भएको थियो। यसपालि तराईमा सरदर र त्योभन्दा बढी वर्षा भएको छ। गत वर्ष जनकपुरमा ५५ प्रतिशत वर्षा भएकोमा यस वर्ष भने शतप्रतिशत वर्षा भएको छ। सिमरामा गत वर्ष २५ प्रतिशत कम पानी परेकोमा यस वर्ष भने करिब नौ प्रतिशतभन्दा बढी वर्षा भएको छ।
त्यस्तै, गत वर्षको मनसुन अवधिमा सरदरभन्दा २० प्रतिशत कम वर्षा भएको भैरहवामा यस वर्ष करिब ३८ प्रतिशत बढी वर्षा भएको छ। गत वर्ष भैरहवासहित नेपालगन्ज, दाङ र धनगढीमा २० प्रतिशत कम वर्षा भएको थियो। यस वर्ष दाङमा सरदरभन्दा ४० प्रतिशत, विराटनगरमा ५८ प्रतिशत र धनगढीमा १८ प्रतिशतभन्दा बढी वर्षा भएको विभागले जनाएको छ।
मनसुनमा वर्षा नै नहुने हिमालपारिको मुस्ताङमा भने लगातार सरदरभन्दा धेरै वर्षा हुन थालेको छ। मुस्ताङको सरदर मनसुनी वर्षा १६० मिलिमिटर रहेकोमा यस वर्ष सरदरभन्दा ८० प्रतिशत बढी अर्थात् २८० मिलिमिटरभन्दा धेरै वर्षा भयो। गत वर्ष मुस्ताङमा १३८ प्रतिशत बढी वर्षा भएको थियो। गत वर्षको तुलनामा यस वर्ष भने मुस्ताङको कम वर्षा हो। काठमाडौँमा पनि सरदरभन्दा ५८ प्रतिशत बढी वर्षा भएको छ। गत वर्ष यो अवधिमा १० प्रतिशत मात्र बढी वर्षा भएको थियो।
कहिले सकिन्छ यस वर्षको मनसुन?
मनसुन बाहिरिनका लागि पूर्वी वायु कमजोर बनेर पश्चिम वायु शक्तिशाली हुनुपर्छ। तर अहिलेसम्म पनि पूर्वी वायु कमजोर बनिनसकेकाले मनसुन कहिले बाहिरिन्छ भनेर भन्न नसकिने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्याल बताउँछन्। “तत्काल ठूलो पानी पर्ने सम्भावना नभए पनि मनसुन बहिरिइनसकेकाले हल्कादेखि मध्यम वर्षा हुने सम्भावना कायम छ,” अर्याल भन्छन्।
नेपालमा मनसुन बाहिरिने समयमा तराईमा भन्दा पनि मध्यपहाडका क्षेत्रमा वर्षा भइरहेको छ। वरिष्ठ मौसमविद् अर्यालका अनुसारमा स्थानीयस्तरमा विकास हुने वायुका कारण यस्तो भएको हो। नेपालका डाँडाकाँडा दक्षिणपूर्व फर्केका छन्। बादल अग्ला डाँडामा ठोक्किएर पनि वर्षा हुन्छ। जसलाई ‘ओरोग्राफिक इफेक्ट’ भनिन्छ।
मनसुन बाहिरिइनसकेकाले दशैँका बेला कस्तो मौसम रहन्छ भन्नेबारे मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले अध्ययन भइरहेको जनाएका छन्।
असोजमा ठूलो वर्षा!
पछिल्ला चार वर्षको मौसमी घटनाले असोज महिनामा धेरै वर्षा भएको देखाउँछ। सन् २०२१ यता असोजमा धेरै वर्षा भएको हो। जल तथा मौसम केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरका सहप्राध्यापक डा. विनोद पोखरेल असोजमा बढी वर्षा हुनुमा तापक्रम वृद्धि कारण रहेको बताउँछन्। “तापक्रम बढी भएको ठाउँमा न्यून चापीय अवस्था हुन्छ। त्यहाँ बादल आउँछ र त्यसले बढी वर्षा हुन्छ,” पोखरेल भन्छन्, “यसको अर्थ चेतावनी (वार्निङ) बढ्यो भन्ने रूपमा बुझ्नुपर्छ।”
मौसमविद्का अनुसार चाप जता कम हुन्छ हावा त्यतै बहन्छ। यसरी हावा बहने क्षेत्रलाई न्यून चापीय रेखा भनिन्छ। गर्मीमा समुद्रबाट आएको बाफ हावाको चाप जता कम छ त्यतै गएर बादल बनेर बर्सिन्छ। जसका कारण मनसुनमा न्यून चापीय क्षेत्रमा पानी पर्छ। तापक्रमले जमिन सतहको तातो हावालाई माथि धकेल्छ र रिक्त ठाउँलाई पूर्ति गर्न चिसो हावा आउने हुन्छ। जति गर्मी भयो जमिनको सतहको हावा माथि धकेलिएर बादल बन्दै गएर वर्षा हुने पोखरेल बताउँछन्।