‘ढुंगा हान्ने, टायर बाल्नेहरूको कुरा सरकारले सुन्यो। शान्तिपूर्ण रूपमा बागमती सफा हुनुपर्छ, संरक्षण हुनुपर्छ, यसलाई मास्नु हुँदैन भन्नेहरूको कुरा कहिल्यै सुनेन।’
मेघ आले तीन दशकभन्दा लामो समयदेखि नदी संरक्षण र प्रवर्द्धनको मुद्दा उठाइरहेका अभियन्ता हुन्। बागमती नदीको संरक्षण र सफाइ अभियानमा पनि उनले २४ वर्ष बिताइसकेका छन्। नदीलाई मानव सरहको अधिकार दिनुपर्छ भन्ने मत राख्ने आले बागमती सफाइ अभियानलाई राज्यले निरन्तर उपेक्षामा पारेको बताउँछन्। २०८० पुस २ गते सर्वोच्च अदालतले गरेको फैसलाले भने बागमती सुधार र संरक्षणमा आशा जगाएको बताउने उनै अभियन्ता मेघ आलेसँग बागमती सफाइ अभियान, संरक्षण र यसको अवस्थाबारे उकालोका लागि लोकेन्द्र विश्वकर्माले गरेको कुराकानीः
बागमती नदीसँग तपाईंको सम्बन्ध कसरी जोडिन पुग्यो?
खोलासँगको सम्बन्ध सानैदेखिको हो। म स्याङ्जाको आँधिखोलामा हुर्किएको मान्छे। खोलासँग खेल्दाखेल्दै खोलाले नै मलाई हुर्कायो। बिस्तारै मेरो दैनिकी नदीसँग बित्न थाल्यो।
विद्यालय शिक्षा पूरा गरिसकेपछि नदीसँग गाँसिएको हुँ। कलेजका दिनहरूमा नदी किनारमा गएर साथीहरूसँग र्याफ्टिङ गथ्र्यौं। कलेजको पढाइ सिध्याएपछि मैले रिभर गाइडका रूपमा काम थालेँ। त्यसयता मेरा लागि नदीसँगको सामिप्य दैनिकी नै बन्यो।
त्यसले गर्दा पनि नदीप्रति माया बढ्दै गयो। सँगसँगै नदी संरक्षणका विषयहरू पनि उठाउँदै गएँ। तर एक्लैले चाहेर केही गर्न सकिँदो रहेनछ। पछि संस्था बनाएर अगाडि बढ्नुपर्छ भन्ने सोच आयो। अनि सन् १९९५ मा नेपाल नदी संरक्षण संस्था दर्ता भयो। सानो समूह बनाएर हाम्रा मासिँदै गएका नदीहरूको संरक्षण गर्नुपर्छ भनेर लागिरहेका थियौँ। त्यसरी हामी लागिरहेको धेरैलाई थाहा हुँदै गयो।
सन् २००१ को एक दिन पर्यटन व्यवसायी अम्बिका श्रेष्ठजीले मलाई उहाँको होटल (द्वारिका) मा बोलाउनुभयो। फोहोर भएको बागमती नदी सरसफाइको विषयमा सल्लाह गर्न बोलाउनु भएको रहेछ। त्यहाँ बागमतीमा चासो राख्नेहरूको उपस्थिति थियो।
छलफलकै क्रममा साथीहरूले नदी संरक्षणका लागि मेरो आइडिया मागे। र्याफ्टिङ गाइड भएकाले मसँग र्याफ्टिङ बोट र गाइडहरू थिए। तिनको सहयोगमा धेरै मानिसलाई बागमतीको नजिक पुर्याउन र बागमतीसँग संवाद गराउन सकिने राय दिएँ।
बागमतीमा जतिबेला पानी बढ्छ, त्यही बेला ‘रिभर फेस्टिभल’ नाम दिएर मान्छे जम्मा पार्नुपर्छ भन्ने सोच पलायो। सँगसँगै आठ–दश वटा डुंगामा बागमतीको निश्चित दुरीसम्म जलयात्रा तय गर्ने, समापन गर्ने ठाउँमा एउटा मञ्च बनाउने र त्यसको नाम ‘बागमती महोत्सव’ राख्ने आइडिया निस्कियो।
साथीहरूले मेरो कुरामा सहमति जनाए। त्यसको केही समयपछि नै बागमती सफाइ अभियान शुरू भयो र बागमतीसँग मेरो सुमधर सम्बन्ध गाँसियो।
सरसफाइ अभियानको तयारी कस्तो थियो?
पहिले बागमती सफा नभएसम्म नदी किनारमा मेरो लास नजलाउनू भनेर हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, भैरव रिसाल, हुतराम वैद्य, बसुन्धरा भुसाल, कनकमणि दीक्षित लगायतले इच्छापत्र जाहेर गर्नुभएको रहेछ।
पछि हुतराम वैद्य बासँग भेट भयो। उहाँले पनि आफ्नो लेखबाट सचेत गराउने काम गर्नुभएको थियो। त्यसभन्दा अगाडि कवि सिद्धिगोपाल वैद्यले बागमती सेवा समिति स्थापना गर्नुभएको रहेछ। बागमतीको फोहोर र अतिक्रमणलाई रोक्नुपर्छ भनेर धेरै व्यक्ति र संस्थाहरू लागेको थाहा पाएँ।
हामीले प्रयास थाल्दा बागमतीमा सङ्लो पानी कतै–कतै मात्र देखिए पनि नदीको अधिकांश भाग फोहोर भइसकेको थियो। सफा गर्न मानिसहरू जम्मा पार्न पनि कठिन थियो। पहिले जुटेका कतिपय साथीहरू पछि तयारीको चरणमा आएनन्। फेरि कैयौँ संस्था, व्यक्तिहरूलाई बोलाएर चोभारदेखि सुन्दरीजलको बागद्वारसम्म ओहोरदोहोर गरेर कहाँ–कहाँ के–के गर्न मिल्छ, कहाँ कति सफा गर्न मिल्छ भनेर अध्ययन गर्यौँ।
पहिलो अभियान कहाँबाट र कसरी शुरू गर्नुभयो?
२००१ अगस्ट ११, शनिबारको दिन थियो। बागमती नदी महोत्सवको नाम दिएर तिलगंगादेखि शंखमूलसम्म र्याफ्टिङ गर्यौँ। पहिलो दिन र्याफ्टिङ गर्नेमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि हुनुहुन्थ्यो। त्यसअघि उहाँहरूले कहिल्यै र्याफ्टिङ गर्नुभएको थिएन रे।
र्याफ्टिङको अन्तमा शंखमूलमा मञ्च बजाएर कार्यक्रम गरियो। खुलामञ्च भनेजस्तै बागमती पनि एउटा मञ्च नै भएकाले सरोकार राख्ने मान्छेले आफ्नो कुरा राख्न सकून् भनेर मञ्च दिइएको थियो। बागमतीमा के भइरहेको छ, सरकारले के गरिरहेको छ, हामीले अब के गर्ने भन्ने कुरा आम मान्छेलाई त्यो बेला देखाउन सक्यौँ।

ओमविक्रम विष्ट दाइहरूले गीत गाउँदा, रोबिन, नमस्ते लगायतका ब्यान्डले बाजा बजाउँदा ह्वार्रै मान्छेहरू आइहाले। बागमती सफा गर्न जाऊँ भन्दा कोही आउँदैनथे, तर प्रख्यात कलाकारहरूले गीत गाएपछि सुन्न चाहनेहरू तुरुन्त जम्मा भइहाले।
कलाकारहरूलाई कला प्रस्तुति गर्नुअघि बागमतीको अवस्थाबारे बोल्न अनुरोध गरिएको थियो। त्यस्तो खुला मञ्चमार्फत् हजारौँ मानिसलाई बागमतीसँग संवाद गरायौँ। बागमती सफा गर्ने प्रयासको थालनी त्यसरी गरेका थियौँ।
अभियानमा र्याफ्टिङबाहेक अरू के–के समेट्नुभयो?
जसरी पनि मान्छेहरूलाई नदी छेउ पुर्याउनु हाम्रो उद्देश्य थियो। त्यसकारण अभियानभित्र वृक्षारोपण, साहित्य रचना, कलाकृति सिर्जना र प्रदर्शनी लगायतका प्रस्तुति समेट्यौँ। सचेतनाका लागि विद्यालयहरूलाई पनि आग्रह गर्यौँ। दशैँ पर्वजस्तै लामो उत्सवका साथ हामीले झन्डै साढे दुई महिना लामो सरसफाइ अभियान चलाएका थियौँ।
त्यो अभियानको नाम के राख्ने भन्ने विषयमा पनि साथीहरूबीच निकै छलफल भयो। हामीसँग उत्सव, महोत्सवहरू छन्। केही हामीले बनायौँ, केही पुर्खाले बनाए। घोडेजात्रा, भोटोजात्रा, इन्द्रजात्रा जस्ता विभिन्न थरीका जात्रा बनाएको भगवानले त होइन, मान्छेले नै हो। हाम्रो कला, संस्कृति परम्परादेखि चलिआएको हो। त्यसमाथि समयसापेक्ष नयाँ किन नथप्ने भन्ने आवाज उठ्यो। पछि ‘एक्कासौँ शदाब्दीको महोत्सव’ नाम दिइयो।
बागमती भनेको नदी मात्र नभएर सभ्यता पनि हो। मानव सभ्यता धर्मभन्दा पनि पहिला आएको हो। त्यसको मुहान नै नदी हो। त्यसकारण बागमती नदी हामी सबै मानव जातिको सभ्यताको मुहान हो।
सन् २००३ बाट सरसफाइ अभियान अलि लामो भयो। चौथो वर्ष अझ लम्बियो। यसलाई सफा बनाउन विभिन्न धर्मका गुरुहरूलाई ल्याउने काम पनि भए। हिन्दू, बौद्ध, मुस्लिम, इसाई र शिख धर्मका पाँच धर्मगुरुलाई बोलाएर आ–आफ्ना धर्मशास्त्रअनुसार नदीको महत्वबारे बोल्न लगाइयो। त्यो कार्यक्रम पशुपतिनाथको पारिपट्टि रामघाटमा गरिएको थियो।
नदी सरसफाइ अभियानलाई धर्मसँग जोड्नुको कारण के थियो?
बागमती नदी एउटै धर्म र जात विशेषको मात्र होइन, सबैको हो। त्यो सोचलाई अगाडि बढाउन हरेक धर्मावलम्बीहरूले बागमतीको विषयमा चासो लिऊन् भनेर यसलाई धर्मसँग पनि जोडिएको हो।
बागमती यस्तो छ भनेर धर्मगुरुहरूले भनून् र मठमन्दिर, गुम्बा, मस्जिद, चर्च, गुरुद्वारा सबैतिर बागमतीको बारेमा कुरा उठोस् भनेर पनि त्यसो गरिएको हो। किनभने हाम्रो समाजमा धर्मगुरु र सेलिब्रिटीहरूको प्रभाव छ।
त्यसको नतिजा कस्तो पाउनुभयो?
बागमती सफा बनाउन संस्कार विकास गर्नुपर्यो भनेर त्यस्तो गरिएको हो। यो कुरा कतिले बुझे, कतिले बुझेनन्। बागमतीलाई सांस्कृतिक, सामाजिक, धार्मिक वातावरणका रूपमा बुझ्नुपर्छ। राजनीतिक र आर्थिक रूपमा लिनुपर्छ। त्यसको लागि अभियानलाई सबैतिर फैलाइएको थियो।
गाउँतिर पानीको कुलो सफा गर्न जाँदा बाजागाजासहित सफा गर्न जाने चलन थियो। बाजाको तालमा हामी कुलो सफा गथ्र्यौं। त्यसरी नै बागमतीको सफाइमा पनि हामीले बाजासहित अभियान शुरू गरेका थियौँ। बागमती नदी सफा राख्न सबैभन्दा बढी तात्नुपर्ने काठमाडौँवासीलाई ब्युँझाउन पनि पञ्चेबाजा बजाएर बागमतीलाई फोहोरमुक्त गर्ने काममा अघि बढ्यौँ।
बागमती सफाइलाई हामीले दिवसकै रुपमा मनाउन शुरू गरेका थियौँ। विश्व वातावरण दिवस छ। तर हाम्रो आफ्नै के छ भनेर खोजी गर्दा काठमाडौँ उपत्यकामा परम्परादेखि चलेको सिथि नखः लगभग त्यही समयमा पर्ने रहेछ। सिथि नखः भनेको नेवारी पर्व हो जसमा पानीको मुहान, पँधेरा र बाटोघाटो सफा गरिन्छ। सिथि नखःलाई बागमतीसँग जोडेर देशभर प्रवर्द्धन गर्ने सोच हामीले बनायौँ। त्यो बेला धिमे, पञ्चेबाजाहरू पनि आए। स्कुलहरूमा पनि बिदाको दिन बागमती सफा गर्न सचेतना जगाइयो।
बागमती भन्नेबित्तिकै सबैको हात नाकमा जान्थ्यो/जान्छ। तर सफा त देखाउनुपर्यो। त्यसको लागि स्कुलका विद्यार्थीहरूको सहभागितामा सुन्दरीजलदेखि गोकर्णेश्वरको उत्तर बाहिनीसम्म ७ किलोमिटर डुंगादौड गरायौँ। त्यसबेला विद्यार्थीहरूले बागमतीको सफा पानीमा पौडिन र खेल्न पाए।
विद्यार्थीलाई नै किन जोड दिनुभएको थियो?
आजका विद्यार्थी नै भोलि गएर राजनीतिज्ञ हुन्छन्। नीति निर्माण गर्ने ठाउँमा तिनै पुग्छन्। कोही व्यवसायमा स्थापित हुन्छन्। उनीहरूले अहिलेको अवस्था देख्छन्, सरसफाइका लागि भइरहेका प्रयत्न हेर्छन् र बागमतीका लागि भविष्यमा केही गर्न दिमाग लगाउँछन् भनेर यस्तो गरिएको थियो।
विद्यार्थीको मात्र नभई हामीले मिडियाको पनि डुंगादौड प्रतिस्पर्धा गराएका थियौँ। मिडियाहरूले बागमती प्रदूषणलाई गम्भीतापूर्वक लिऊन् भनेर त्यसो गरियो। त्यसबाहेक होटल, पसल लगायतका व्यवसायबाट निस्कने फोहोर बागमतीमै जान्छ। व्यवसायीहरूकहाँ त्यो सचेतना पुर्याउन उनीहरूबीच पनि प्रतिस्पर्धा गरायौँ।

सन् २००८ मा एउटा अर्को आइडिया आयो। भर्खरै दोस्रो जनआन्दोलन सकिएको थियो जसमा सात वटा पार्टी सहभागी थिए। त्यतिबेला ‘डुंगा डिप्लोमेसी’ नाम दिएर सात दलका नेताहरूलाई सँगै डुंगामा राखेर बागमतीको अवस्था देखाएका थियौँ।
डुंगालाई देश सम्झिनुपर्यो। देश बनाउन सबै मिलेर एउटै बाटोमा कसरी डुंगा खियाउने त भनेर डुंगादौड गराइएको थियो। त्यतिबेला अस्ट्रेलियाली राजदूत लगायतका कुटनीतिज्ञहरू पनि सहभागी भएका थिए। नेता र कुटनीतिज्ञहरूले बागमतीको अवस्थाबारे बुझून् भनेर त्यसो गरिएको थियो।
जात्रा त थुप्रै छन्। तर जलजात्रा रहेनछ। बागमती जलजात्रा गर्ने कुरा भयो। त्यो पनि गरिरहेका छौँ। त्यसपछि घाटदेखि घरसम्म जानेजस्ता कार्यक्रमहरू भए।
घाटदेखि घर जाने अभियान किन?
घाटको सरसफाइ के कस्तो छ भनेर बुझ्नलाई त्यो गरिएको थियो। बागमती, विष्णुमती लगायतका नदी छेउछाउ घाटहरू धेरै थिए। घाट सफा छन् कि छैनन् भनेर बुझ्ने, सफा गर्ने, टोल–टोलमा पुगेर मान्छेहरूले हाम्रो घाट फोहोर रहेछ भन्ने लगायतका अभियान चलाउन यसले मद्दत पुर्याएको थियो। यसमा हामीले कुटुम्ब लगायतका ब्यान्डको सहयोग लिएका थियौँ जसले घाटहरूमा गएर निःशुल्क वाद्यवादन गरेको मलाई याद छ।
काठमाडौँमा सांस्कृतिक र धार्मिक महत्व बोकेका १२ वटा ठूला घाटहरू रहेछन्। नदीका ती घाट सफा गरेर उत्सव पनि मनाएका थियौँ। त्यसको उद्देश्य पनि घाट र नदीको नजिक मान्छेहरूलाई पुर्याउनु नै थियो। त्यसले बागमतीसँग मान्छेहरूको संवाद भयो जसले एकअर्काको मर्का बुझ्न र परस्पर जोडिन सजिलो बनायो। त्यो पनि बागमतीलाई सफा राख्ने विषयमा मानिसहरूको ध्यानाकर्षण गराउने फरक तरिका थियो।
कतिपय आन्दोलनकारीले ढुंगा हानेर वा टायर बालेर आफ्नो समस्याप्रति राज्यको ध्यानाकृष्ट गराउँथे। हामीले भने शान्तिपूर्ण रूपमा बागमती सफा हुनुपर्छ, यसको संरक्षण हुनुपर्छ। यसलाई मास्नु हुँदैन भनेर आवाज उठाइरह्यौँ। तर सरकारले यो कुरा कहिल्यै देखेन, कहिल्यै सुनेन।
त्यसबेला सरकारको प्रतिक्रिया कस्तो थियो?
सरकारले त्यो बेला चासो दिएको भए हाम्रा थप अभियानहरू हुँदैनथे। पहिलो चरणको प्रयासपछि हामीले फेरि ‘क्लिन बागमती’ भन्ने अभियान शुरू गर्ने सोच बनायौँ। तर त्यसमा मानिसहरू नआउलान् भनेर त्यसलाई ‘ग्रिन काठमाडौँ, क्लिन बागमती’ भन्यौँ। किनभने ग्रिन सबैलाई चाहिएको छ। क्लिन र ग्रीन सँगसँगै बनाउने भनेपछि सहभागिता जुट्ने आशामा त्यो नाम जुरायौँ।
बागमती सफा नभएसम्म काठमाडौँ ग्रिन हुँदैन भन्ने हाम्रो निष्कर्ष थियो। यस्ता अभियानहरू हामीले सन् २०१२ सम्म निरन्तर जारी राख्यौँ। १२ वर्षमा खोलो फर्किन्छ भन्थे, तर बागमती सफाइमा त्यस्तो स्थिति बनेन।
निरन्तर अभियान चलाउनुभयो, तर बागमतीको अवस्था उस्तै रह्यो। यस्तो हुनुको कारण के पाउनुभयो?
मुख्य कुरा सरकारले वास्ता गरेन। तर वास्ता गरेन भनेर अभियान रोक्नु पनि भएन। बरु हाम्रो अभियानमा थप अभियन्ताहरू जोडिनुभयो। पूर्वमुख्यसचिव लीलामणि पौडेल लगायतका व्यक्तिहरू बागमती सफाइ अभियानमा लाग्नुभएको थियो।
ग्रिन काठमाडौँ, क्लिन बागमती अभियान शुरू गरेपछि बागमती सफाइ अभियान पनि जोडिन आएको थियो। त्यसलाई महाअभियान बनाएको हामीले नै हो। ठूलो संख्यामा मानिसहरूको सहभागिता जुटाउन महाअभियान भनिएको थियो। त्यसमा जोडिन आइपुगेका साथीहरूलाई १२ वर्षसम्म हामीले सिकेका कुराहरू यी हुन्, यसको निरन्तरतासँगै नयाँ आइडियाहरू चाहियो भन्यौँ। हामी अहिले पनि त्यसमा समाहित छौँ।
तर विडम्बना, जसरी बागमती सफाइ हुनुपर्ने थियो त्यसरी भइदिएन। यसमा लुकाउनुपर्ने केही छैन। हामीले विरूवा रोपेका थियौँ। त्यसबाट बगैँचाहरू बने। हामीले थालनी गरेको अभियानमा हजारौँ मानिसहरू जोडिन पुगे। दुई–चार चोटि कला र संस्कृति प्रदर्शन पनि भए। त्यो हामीले १२ वर्षभित्र गरेको कुरा थियो।
त्यति गर्दा पनि बागमती सफा भएन। जुनसुकै अभियान जोडिए पनि बागमतीमा इनोभेसन भएर सफाइका नवीन उपायहरू आऊन् भन्ने हामी चाहन्थ्यौँ। तर त्यो चाहना पूरा नहुँदा धेरथोर काम भएर पनि नतिजा आएन।
नतिजा ल्याउन के गर्नुपर्ला?
बागमतीलाई सामुदायिक वनजस्तो बनाउनुपर्ने विचार साथीहरूसँग राखेको थिएँ र अझै पनि राखिरहेको छु। नेपालको सामुदायिक वन त विश्वप्रसिद्ध भयो। सामुदायिक वनजस्तै सामुदायिक नदी खण्ड बनाउँदा राम्रो हुनसक्थ्यो। मान्छेहरूले अपनत्व महसुस गर्थे। यो सोचलाई कार्यान्वयनमा ल्याउने प्रक्रिया अहिलेसम्म अघि बढेको छैन।
पालिका, वडालगायत स्थानीय सरकारका प्रतिनिधि र त्यहाँको टोलसँग मिलेर बागमतीलाई सफा बनाउन जिम्मेवारी बाँडफाँट गर्ने र समुदायलाई अपनत्व दिलाउने काम गर्नुपर्छ। समुदायलाई आफूले सरसफाइ गर्ने स्थान छुट्टयार जिम्मेवारी तोकिदिएपछि दीगो नतिजा आउँछ।
बागमतीको बाटो आसपासका हरेक टोलमा व्यवसायी छन्, स्कुलहरू छन्, युवा सञ्जाल छ। त्यस्तै, धार्मिक तथा सांस्कृतिक संस्थाहरू पनि होलान्। ती सबैलाई गोलबद्ध गरेर सुन्दरिजलदेखि चोभारसम्म सफा राख्यौँ र बागमतीबारे सचेतना फैलाउन सक्यौँ भने बागमतीमा स्वच्छ पानी बगाउन सम्भव छ। सामुदायिक वन सफल भएजस्तै यसले बागमतीलाई सफा बनाउन सक्ने देखेर म त्यसमा लागिरहेको छु।

बागमतीमा धेरै व्यक्तिहरूको योगदान पनि छ। नत्र बागमती अहिलेको जति पनि जीवित रहने अवस्था थिएन। यसमा योगदान कस–कसको छ भनेर खोज्नु पनि पर्छ। हुतराम वैद्य, जसले आफ्नो जीवनको ठूलो कालखण्ड बागमतीमा बिताउनुभयो। भगवानदास मानन्धरको कथा अर्कै छ। टेकु दोभानमा अरू कसैलाई नभनी आफैँ निरन्तर सफा गर्ने। उहाँको अर्को कथा पनि छ। छोरीको विहे हुने दिन घरमा देखिनुभएनछ। कहाँ हुनुहुन्छ भनेर आफन्तले सोधीखोजी गर्दा परिवारले बागमती सरसफाइ गर्दै हुनुहुन्छ भनेछन्। त्यसपछि बागमतीबाट उहाँलाई ल्याएर लुगा लगाएर छोरीको विहेमा सामेल गराइएछ।
अर्का व्यक्ति सिद्धिगोपाल मानन्धर हुनुहन्थ्यो जसले एक्लै गरेर बागमती सफा हुँदैन, संस्था जन्माउनुपर्छ भनेर शंखमूलमा बागमती सेवा समिति नामको संस्था जन्माउनुभयो। त्यस्तै, संस्कृतिविद् सत्यमोहन जोशी, पर्यटन व्यवसायी अम्बिका श्रेष्ठहरूलाई सम्झिनुपर्छ भनेर ब्यानर बनाएर सम्मानस्वरूप शंखमूलदेखि टेकु दोभानसम्म यसपालिको भदौ २ गते पनि हामीले बागमती सम्पदा यात्रा गरेका थियौँ। यस्तै यस्तै प्रयास गर्दै जाने हो।
अब बागमती सफा गर्न कसरी सम्भव होला?
अब एक–दुई जनाको प्रयासले मात्र पुग्दैन, बागमती मुभमेन्ट चाहिन्छ। त्यसका लागि जनस्तरबाट जति खबरदारी गर्नुपर्थ्यो त्यो नपुगेको पनि हो। फलस्वरूप हाम्रा अभियानहरूलाई राज्य संरचनाले मजाक बनाएको छ।
राजनीतिज्ञ र शक्तिमा रहनेहरूमा पनि बागमतीलाई सफा देख्ने इच्छाशक्ति चाहिन्छ। हामीले बारम्बार भन्दै आएका छौँ, बागमतीका समस्या पाँच वटा छन्। तिनको समाधानका उपाय पनि त्यति नै छन्। मैले यसलाई बागमतीको पञ्चशील भनेको छु।
ती पञ्चशील के हुन्?
जबसम्म काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदैन तबसम्म बागमती सफा हुँदैन। त्यो फोहोर व्यवस्थापन आम जनताले गरेर सकिँदैन, सरकार नै लाग्नुपर्छ। त्यसलाई कसरी गर्ने, के गर्ने भन्ने विषयका हाँगाबिँगाहरू धेरै छन्।
दोस्रो कुरा चाहिँ बागमती र यसका सहायक नदीमा ढल मिसाउनु भएन। जबसम्म ढल मिसाइन्छ तबसम्म सफा हुँदैन। त्यसकारण ढल व्यवस्थापन कसरी गर्ने हो त्यो सोच्नुपर्यो।
तेस्रो कुरा, बागमतीमा पानीको मात्रा बढाउनुपर्यो। सुक्खायाममा ढलको पानी बगेन भने त्यहाँ कमिला हिँड्छ। मेलम्ची कति छिटो ल्याउने, वर्षाद्को पानी भण्डारण कसरी र कहाँ–कहाँ गर्ने त्यसको योजना बनाउनुपर्छ।
कानून र यसको कार्यान्वयन चौथो उपाय हो। सरकारले सुकुमबासी व्यवस्थापन गर्न सक्दैन। त्यसमाथि अहिले त जसले जहाँ फोहोर फाले पनि हुन्छ भन्ने भइरहेको छ। कतिपय विद्यालय र अस्पतालहरूले बागमतीलाई मिचेका छन्। बागमती, विष्णुमतीलगायत सबै नदीका जग्गा मान्छेहरूले ओगटेका छन्। तिनलाई पहिल्याएर कारबाही गर्ने र त्यसको व्यवस्थापन गर्ने कानून खोई त?
पाँचौँ उपाय, सचेतनाका अभियानहरू चल्नुपर्यो। सरसफाइ अभियानहरू गरिराख्नुपर्यो। यी पाँच उपाय बागमतीको पञ्चशील हो। बुद्धका पञ्चशील अनुसरण गरेजस्तै बागमती संरक्षणका यी पाँच सिद्धान्तहरू राज्यले लागू गर्नुपर्छ। त्यति भइसकेपछि बागमती सफा मात्र हुँदैन, ठूलो आर्थिक स्रोत बन्छ।
तर राज्य नै बागमती सुधार होस्, सफा होस् भन्ने चाहँदैन। राज्य सञ्चालकहरूले बुझ्नुपर्ने के हो भने बागमती काठमाडौँ उपत्यकाको सभ्यताको मुहान हो। ठूला–ठूला मठमन्दिरहरू यसका किनारमा छन्। घाटहरू छन्। कति सभ्यताहरू लुकेका छन्। सफा भइसकेपछि यसलाई थेम्स नदीसँग जोड्न सकिन्छ जहाँ कैयौँ पर्यटक आउँछन्, आयस्रोत कति हुन्छ, हुन्छ।
बागमती र सहायक नदीको हकमा पछिल्लो समय सर्वोच्च अदालतले गरेको फैसलालाई कसरी लिनुभएको छ?
अदालतको फैसलालाई तलमाथि गर्न मिल्दैन। कार्यान्वयनमा राज्य अग्रसर हुनुपर्छ। नदीको अधिकारक्षेत्रभित्र पर्ने जग्गाको पहिले जालझेल गरेर बनाइएका लालपूर्जाहरू छन्। ती जग्गा बेचिएको छ, नक्सा पास गरेर घर बनाइएको छ। राज्यले यी सबै समस्याको उचित सम्बोधनसहित नदीमाथि न्याय गर्नुपर्छ।
मानवभन्दा नदी पहिला आएको हो। मान्छेलाई यसको अधिकार खुम्च्याउन छुट छैन। नदीलाई केवल बिनारोकटोक बग्न पाउने अधिकार चाहिएको छ। त्यो सुरक्षित हुनुपर्यो।
तर बागमती नदीको कुरा गरिरहँदा हजारौँको उठिबास हुन्छ भनेर आवाज उठिरहेको छ नि?
अदालतले क्षतिपूर्तिको कुरा गरेको छ। कतिलाई दिनुपर्ने पनि होला, त्यसलाई सरकारले ध्यान दिनुपर्यो। जनतालाई घरबारविहीन बनाउनु पनि भएन। नदीको बहावक्षेत्र मिचिएकै कारण वर्षामा काठमाडौँमा बाढी आउँछ। ठूलो बाढी आयो भने ठूलै हिस्सामा जनधनको क्षति हुन्छ।
अहिले बागमती र सहायक नदी आसपासमा जे जस्ता संरचना बनाइएको छ त्यो मृत्युको पासो हो। नदी उर्लिएर आउँदा केही बाँकी नरहन सक्छ। २४ वर्षको मेरो अभियानले राज्यबाट चरम निराशा मात्र पाएको छ। बागमती र यसका सहायक नदीहरूको उचित संरक्षणमा अदालतको फैसलालाई आधार बनाउनुमा नै यस्ता समस्याको समाधान छ।
बागमती संरक्षण अभियानमा बितेका २४ वर्षको कुन क्षण सबैभन्दा स्मरणीय रह्यो?
यसबीच मैले बिर्सनै नसकिने थुप्रै व्यक्तित्वको संगत पाएँ। तीमध्ये हुतराम वैद्य बासँगको रमाइलो अनुभव छ। शुरूमा मेरो कुरा सुनेर उहाँ निकै रिसाउनुभएको थियो। डुंगा चलाएर बागमती कसरी सफा हुन्छ भन्नुभयो। बागमतीको नजिक मान्छेहरूलाई पुर्याउने उपाय हो भनेर उहाँलाई सम्झाएँ। त्यसपछि भने निकै शान्त भएर तिम्रो कुरा ठीक रहेछ भन्नुभयो। त्यसको एक वर्षपछि उहाँलाई मैले नै डुंगामा चढाएर तिलगंगाबाट शंखमूल पुर्याएँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
