Saturday, November 02, 2024

-->

उपराष्ट्रपति कार्यालयमा कर्मचारीः स्थायी दरबन्दीभन्दा सचिवालयमा धेरै, अधिकांश फुर्सदिला

उपराष्ट्रपति कार्यालयका लागि मासिक ४५ लाख रुपैयाँ खर्च भइरहेको छ। तर राष्ट्रपति कार्यालयमा हुने सपथग्रहण र अन्य महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुनेबाहेक उपराष्ट्रपतिलाई नियमित जिम्मेवारी छैन।

उपराष्ट्रपति कार्यालयमा कर्मचारीः स्थायी दरबन्दीभन्दा सचिवालयमा धेरै अधिकांश फुर्सदिला

काठमाडौँ– नेपालको संविधान, २०७२ अनुसार उपराष्ट्रपतिले राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू सम्पादन गर्नुपर्छ। त्योबाहेक दैनिक रूपमा उपराष्ट्रपतिले अन्य काम गर्नुपर्दैन। उपराष्ट्रपतिको कार्यालयले प्रत्यक्षरूमा सार्वजनिक सेवा प्रवाह नगर्ने हुनाले न्यून संख्यामा कर्मचारी दरबन्दी राखिएको छ।

तर उपराष्ट्रपतिको निजी सचिवालयमा स्थायीभन्दा धेरै कर्मचारी भर्ती गरिएको छ। उपराष्ट्रपतिको कार्यालयमा १२ जना स्थायी कर्मचारी छन्। कार्यालयका सूचना अधिकारी उपसचिव गीता गुरूङका अनुसार उपराष्ट्रपतिको निजी सचिवालयमा भने १५ जना भर्ती गरिएको छ। जसमध्ये पाँच जना विज्ञ र १० जना सचिवालयका कर्मचारी छन्। 

कार्यालयमा एक जना सचिव, एक जना सहसचिव, दुई जना उपसचिव, दुई जना शाखा अधिकृत, एक जना लेखा अधिकृत, तीन जना नायब सुब्बा र दुई जना कम्प्युटर अपरेटरको स्थायी दरबन्दी छ। त्यसबाहेक, चार जना हलुका सवारी चालक र ६ जना कार्यालय सहयोगीलाई करारमा नियुक्त गरिएको छ।

उपराष्ट्रपति र उनको निजी सचिवालय तथा कार्यालयका स्थायी कर्मचारीका लागि गत असार महिनामा मात्र ४४ लाख ११ हजार २२३ रूपैयाँ खर्च भएको छ। जसमध्ये उपराष्ट्रपतिको तलब तथा अन्य सुविधामा ४ लाख १२ हजार ७८ रूपैयाँ खर्च भएको छ। यो खर्च मासिक पारिश्रमिक, अन्य सुविधा, विविध भत्ता, इन्धन, सवारीसाधन मर्मत, मसलन्द तथा कार्यालय सामग्री, अनुगमन मूल्यांकन, भ्रमण र विविध शीर्षकमा भएको हो।

त्यस्तै दरबन्दीका तथा निजी सचिवालयमा कार्यरत कर्मचारीको पारिश्रमिक, कर्मचारी पोसाक, महँगी भत्ता, कर्मचारीको बैठक भत्ता, अन्य भत्ता, पदाधिकारीका अन्य सुविधा, भत्ता, पानी तथा बिजुली, सञ्चार महसुल, इन्धन, बीमा तथा नवीकरण खर्चलगायतमा ३९ लाख ९९ हजार १४५ रूपैयाँ खर्च भएको छ।

स्थायी कर्मचारीभन्दा ठूलो संख्यामा निजी सचिवालय बनाइएकाले त्यसमा धेरै खर्च भइरहेको कार्यालयकै एक कर्मचारी बताउँछन्। “हामी स्थायी र करारसमेत गरेर २२ जना दरबन्दीका कर्मचारी छौँ। तर निजी सचिवालयमा १५ जना नियुक्त गरिएको छ,” ती कर्मचारी भन्छन्, “उपराष्ट्रतिको त्यति धेरै भूमिका र काम नै हुँदैन। किन यत्रो सचिवालय बनाएर खर्च गर्नू?”

राष्ट्रपतिकै लागि पनि त्यति धेरै विज्ञ र निजी कर्मचारी आवश्यक नपर्ने उनको भनाइ छ। आवश्यक पर्ने अवस्थामा परामर्श दिने विज्ञ वा कर्मचारी सरकारले नै व्यवस्था गरिदिन सक्छ। उपराष्ट्रपतिको कार्यालयको वेबसाइटको विवरणअनुसार मञ्जारूल अन्सारीलाई जनसम्पर्क तथा समन्वय विज्ञ, विनोदकुमार पौडेललाई वैदेशिक मामला विज्ञ, मिथिलेशकुमार सिंहलाई कानून विज्ञ, चन्देश्वर सदा (मुसहर)लाई वातावरण तथा जलवायु परिवर्तन विज्ञ र जगेन्द्रबहादुर छन्त्याललाई भाषा, कला तथा संस्कृति विज्ञका रूपमा नियुक्त गरिएको छ। 

सचिवालयमा प्रमुख स्वकीय सचिव आनन्दकुमार यादव, निजी चिकित्सकको रूपमा डा. शिवजीविक्रम सिलवाल, सह स्वकीय सचिव नन्दकिशोर यादव (कुमोद), स्वकीय प्रेस संयोजक दिनेश यादव र उप स्वकीय सचिव शत्रुधन यादव छन्। त्यस्तै, स्वकीय अधिकृतमा जोगेन्द्र पण्डित कुम्हार, स्वकीय अधिकृतमा विनित यादव, कम्प्युटर सहायकमा विशालकुमार यादव, फोटोग्राफरमा राधेश्याम विश्वकर्मा र टेलिफोन अपरेटरमा मानकुमार मुसहरलाई नियुक्त गरिएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ ले विज्ञ र निजी सचिवालयमा कर्मचारी नियुक्त गर्नसक्ने व्यवस्था गरेको छ। 

उपराष्ट्रपतिका प्रमुख स्वकीय सचिव आनन्दकुमार यादव निजी सचिवालयमा कर्मचारी राख्ने वा नराख्ने विषय सरकारको भएको दाबी गर्छन्। “जति कर्मचारी हुनुहुन्छ उहाँहरूको कुनै न कुनै भूमिका भएकाले नै राखिएको होला,” उनी भन्छन्, “यो त सरकारलाई सोध्ने कुरा भयो नि।”

प्रमुख स्वकीय सचिवले विशिष्ट श्रेणी अर्थात् सचिव सरह सेवा तथा सुविधा पाउँछन्। सह स्वकीय सचिवले सहसचिव, उप स्वकीय सचिवले उपसचिव स्वकीय अधिकृतले नेपाल सरकारको अधिकृतले पाउने सेवा, सुविधा पाउँछन्। 

निजी सचिवालयमा १५ जना कर्मचारी किन आवश्यक पर्छन् भन्ने प्रश्नमा उपराष्ट्रपतिको कार्यालयकी सूचना अधिकारी गुरुङ भन्छिन्, “त्यो विषयमा मलाई जानकारी भएन।”

सभा, समारोह, सपथमा मात्रै उपराष्ट्रपति 
राष्ट्रपतिको अनुपस्थिति हुँदा मात्र उपराष्ट्रपतिले केही कार्यसम्पादन गर्नुपर्ने हुन्छ। त्योभन्दा बाहेक त उपराष्ट्रपति विभिन्न सभा, समारोह, धार्मिक कार्यक्रमलगायत काममा नै व्यस्त हुने गर्छन्। 

राष्ट्रपति कार्यालयमा हुने सपथग्रहण, राष्ट्रव्यापी आयोजना हुने महत्त्वपूर्ण कार्यक्रमलगायतमा उनी उपस्थित हुन्छन्। त्योबाहेक उनको दैनिकी भनेको सम्मान, उद्घाटन, बैठक, विभिन्न धार्मिक र अन्य सामाजिक कार्यक्रममा नै बित्ने गर्छ। 

२०८० साउनदेखि २०८१ असार मसान्तसम्म उपराष्ट्रपतिले सम्मान, उद्घाटन, बैठक, विभिन्न धार्मिक र अन्य सामाजिक कार्यक्रम गरेर ३७ कार्यक्रममा सहभागिता जनाएका छन्। त्यस्तै नेपालस्थित विदेशी नियोगका पदाधिकारी भेटघाट र ती नियोगले आयोजना गरेका कार्यक्रममा ४६ पटक सहभागी भएका छन्।

उपराष्ट्रपतिको कार्यालयको काम
उपराष्ट्रपतिको कार्यालयले देशको समसामयिक एवम् राजनैतिक, आर्थिक, प्रशासनिक, सञ्चार आदि विषयमा जानकारी गराउने तथा आवश्यक सल्लाह दिने काम गर्छ। सार्वजनिक सरोकारका निकाय तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूको कार्यका सम्बन्धमा स्थलगत अध्ययन अवलोकन गराई सोबारे उपराष्ट्रपतिलाई जानकारी गराउने काम पनि कार्यालयको हो। तर यी विषयमा कार्यालयले काम नै गर्दैन।

“कार्यालयको खासै काम छैन, कर्मचारी दैनिक कार्यालय आउने र हाजिर लगाउने मात्रै छ,” त्यहाँ कार्यरत एक कर्मचारी भन्छन्, “पछिल्लो समय त सरकारले कुनै सचिवलाई जगेडामा राख्नुपर्‍यो भने यहाँ सरूवा गरिदिने गरेको छ।”

दैनिक सेवा प्रवाह गर्ने, नीतिनियम र योजना निर्माणलगायत काम गर्ने विशिष्ट श्रेणीको सचिवले यो कार्यालयमा कुनै काममा भूमिका खेल्न पाउदैनन्। कार्यालयको दैनिक प्रशासन सञ्चालन तथा व्यवस्थापन, कार्यक्रम तर्जुमा र कार्यान्वयन तथा अनुगमन, नियुक्ति, पदस्थापन, जनशक्ति विकास, कार्य सम्पादन मूल्यांकन, उपराष्ट्रपतिको आन्तरिक तथा वैदेशिक भ्रमणको व्यवस्थापन सम्बन्धी काम यहाँका कर्मचारीले गर्दै आएका छन्। 

कार्यालय सम्बन्धी बजेट तर्जुमा, निकासा, खर्च, लेखापरीक्षण, विभिन्न कूटनीतिक नियोग एवम् सरकारी तथा गैरसरकारी संघसंस्थाहरूबाट आएका प्रतिनिधि मण्डलको भेटघाट व्यवस्थापन, उपराष्ट्रपतिको भ्रमणसम्बन्धी कार्यक्रमको व्यवस्थापन तथा निजको सम्बोधन, मन्तव्य आदिको तयारी पनि यहाँका कर्मचारीले गर्छन्।


सम्बन्धित सामग्री