Tuesday, December 03, 2024

-->

मितेरी सहकारी ठगी प्रकरणः डेढ वर्षअघि नै भएको थियो साढे १२ करोड अनियमितताको ठहर

कांग्रेस उपसभापति धनराज गुरुङले डिभोर्सपछि पनि आफ्नो नाममा रहेको घर/जग्गा धितोमा राखेर दुवै जनाले लिएको ऋण तिरेको संस्थाबाट प्राप्त विवरणले देखाउँछ।

मितेरी सहकारी ठगी प्रकरणः डेढ वर्षअघि नै भएको थियो साढे १२ करोड अनियमितताको ठहर

काठमाडौँ– मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको रकम तत्कालीन महाप्रबन्धकबाट हिनामिना भएकाले छानबिनको माग गर्दै गत साउन दोस्रो साता प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय हेटौँडामा उजुरी दिए। संस्थाकी तत्कालीन महाप्रबन्धक ज्योति गुरुङ १२ करोड ५० लाख रुपैयाँ अपचलन गरेर फरार रहेको भन्दै मितेरीका संस्थापक अध्यक्षसमेत रहेका कुम्भराजले उजुरी दिएका थिए। 

बागमती प्रदेशका सहकारी रजिस्ट्रार राजन पोखरेलले उजुरी आएको पुष्टि गरे। “सहकारी संस्था आफैले बनाएको छानबिन समितिको प्रतिवेदनले ज्योति गुरुङले सहकारी संस्थाको रकम अपचलन गरेको निष्कर्ष निकालेको रहेछ। धेरै समयदेखि फरार हुनुभयो। पैसा फिर्ता नआएको भएर बचतकर्तालाई फिर्ता दिन सकिएन भन्ने व्यहोरा खोलेर सञ्चालक समितिको निर्णयसहित कारबाहीका लागि उजुरी आएको थियो,” रजिस्ट्रार पोखरेलले उकालोसँग टेलिफोनमा भने।

संस्थाकै सिफारिसका आधारमा प्रदेश कार्यालयमा आएको प्रतिवेदनलाई जस्ताको तस्तै केन्द्रीय अनुसन्धान ब्युरोमा त्यतिबेला नै पठाइएको पोखरेलले बताए। उक्त रकम हिनामिना गरेको आरोप लागेकी ज्योति कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुन्। सहकारी ठगी प्रकरणमा गुरुङको नाम पनि मुछिएपछि अहिले बल्ल मितेरी सहकारीको रकम हिनामिनाबारे चर्चा भइरहेको छ। 

मितेरी सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले बताएअनुसार केही दिनअघि यससम्बन्धी उजुरी लिएर जाँदा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दर्ता गरेको थिएन। 

सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले भने मितेरी सहकारीमा भएको रकम अपचलनबारे उजुरी आए पनि रीत नपुर्‍याई ल्याएकाले त्यसलाई दर्ता नगरिएको, तर प्रदेश कार्यालय हेटौँडाबाट आएको उजुरीसम्बन्धमा आफूलाई जानकारी नभएको बताए। “प्रक्रिया पुर्‍याएर आएको उजुरी दर्ता नगर्ने भन्ने हुँदैन, रीतपूर्वक आउनुपर्‍यो भनेका हौँ,” उनले भने। मितेरी सहकारी प्रदेश मातहत रहेकाले उताबाट पत्र आएपछि मात्र उजुरी दर्ता हुने प्रहरीको भनाइ छ। 

सहकारी बचत रकम दुरूपयोग सम्बन्धमा प्रतिनिधिसभाले बनाएको संसदीय छानबिन विशेष समितिमा मितेरीका अध्यक्ष कुम्भराज गुरुङले बयान दिएपछि धनराज गुरुङको नाम मुछिएको तथ्य बाहिर आएको हो। संस्थापक अध्यक्षसमेत रहेका कुम्भराजले भदौ ६ गते समितिमा उपस्थित भएर बयान दिएका थिए। संसदीय छानबिन समितिका एक सदस्यका अनुसार ज्योति गुरुङले महाप्रबन्धक हुँदा १२ करोड ५० लाख रकम हिनामिना गरेको र त्यो विषयमा धनराज गुरुङ पनि जानकार रहेको बयान कुम्भराजले दिएका थिए।

“संस्थाकी प्रबन्धक रहेकी ज्योतिले साढे १२ करोड (हालसम्मको ब्याजसहित झन्डै १५ करोड) अपचलन गरेको र त्यसबारे आन्तरिक रूपमा चेतावनी दिएर छानबिन गर्न थालेपछि डिभोर्स गरेको भनेर उहाँले भन्नुभएको थियो। त्यसपछि पटक–पटक रकमको लागि ताकेता गर्दा माननीयज्यू (धनराज) सँग पनि धेरै पटक बैठक भएको र तिर्ने प्रतिबद्धता पनि आएको भन्नुभएको थियो,” नाम नखुलाउने शर्तमा समितिका ती सदस्यले भने, “ज्योति गुरुङले लिएकोसहित ८०/८५ लाख रुपैयाँ ऋण धनराज आफैले तिरेको भन्दै डिभोर्समाथि नै उहाँ (कुम्भराज) ले शंका गर्नुभएको थियो। ”

८२ वर्षको उमेरमा पनि विभिन्न निकायमा उजुरी र बयानका लागि धाउनुपरेको भन्दै कुम्भराज समितिको बैठकमा रोएको पनि ती सदस्यले बताए। उकालोसँगको कुराकानीमा पनि कुम्भराजले यो प्रसंग उल्लेख गरेका थिए। ज्योति २०७६ माघदेखि सम्पर्कविहीन छिन्। धनराजले भने २०७६ फागुन २९ मा श्रीमतीसँग डिभोर्स भइसकेको संसदमै बताइसकेका छन्।

तथापि मितेरी सहकारीबाट प्राप्त विवरणअनुसार उनले २०८१ जेठ ६ सम्म सात पटकमा गरी ९१ लाख २५ हजार रुपैयाँ तिरेको पाइएको छ। संस्थाकी तत्कालीन महाप्रबन्धक ज्योतिले २०७६ साउनसम्म उनका श्रीमान् धनराजको नाममा रहेको घर/जग्गा धितो राखेर पनि पटक–पटक वैधानिक रूपमै ऋण लिएको विवरण पनि भेटिएको छ। धनराजले पछिल्लो पटक २०७७ फागुनसम्म सहकारीबाट ऋण लिएका थिए। 

धनराजको नाममा रहेको घर/जग्गा धितोमा राखी दुवै जनाले ऋण लिएको संस्थासँग ऋण माग गर्दै उनीहरूले बुझाएको निवेदनले पुष्टि गर्छ। धनराजले उनको नामको घरजग्गा धितोमा राखेर लिएको ऋण डिभोर्सपछि अर्थात् २०८१ जेठसम्ममा चुक्ता गरेका छन्। त्यसमा उनका पूर्वश्रीमतीले लिएको ऋणसमेत हुनसक्ने कागजातहरूबाट देखिन्छ। 

डेढ वर्षअघि बनेको प्रतिवेदन
बेलायती र भारतीय सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरू मिलेर २०५७ सालमा ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानमा मितेरी बचत तथा ऋण सहकारी संस्था खोलेका थिए। सहकारीको स्थापनाकालदेखि नै लेखापाल हुँदै काम शुरू गरेकी ज्योति गुरुङले २०७५ सालदेखि रकम अपचलन गर्न थालेको संस्थाका अध्यक्ष गुरुङ बताउँछन्। २०७० सालमा सहकारीको कोषाध्यक्ष बनेकी ज्योति २०७५ सालमा महाप्रबन्धक थिइन्। सोही पदमा रहँदा नै उनले रकम हिनामिना गरेको अध्यक्ष गुरुङको आरोप छ। 

कुभ्मराजका अनुसार रकम हिनामिना भएको थाहा पाएपछि शुरूमा संस्थाले चेतावनी दिएको थियो। “२०७६ मा हामी बोर्डका नौ जना सदस्य उहाँको श्रीमान्–श्रीमती (धनराज र ज्योति) सँग मिटिङ बसेका थियौँ। ज्योतिले पैसा बैंकक पुगेकाले उता गएर ल्याइहाल्छु भनिन्। त्यसपछि धनराजलाई के गर्ने भनेर सोध्दा सबै उसले गरेको हो भनेर आँशु पुछ्न थाल्यो,” कुम्भराजले उकालोसँग भने, “छोरा पनि इन्जिनियर भएर अस्ट्रेलिया गएको छ। उसले पनि कमाउला, म पनि अलि–अलि जुटाउँला भनेर गयो। तर ज्योति गुरुङले पैसा पठाइनन्।”

यस विषयमा कुराकानी गर्न उकालोले पटक–पटक प्रयास गरे पनि धनराज सम्पर्कमा आएनन्। तर विभिन्न सञ्चारमाध्यममा प्रकाशित उनको भनाइअनुसार उनले पैसा तिर्न सहमति गरेको भन्ने सहकारीका अध्यक्षको भनाइको खण्डन गरेका छन्।

रकम हिनामिना भएपछि उक्त संस्थाले सञ्चालक समितिका सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएर डेढ वर्षअघि नै छानबिन गरेको थियो। उक्त समितिले २०७९ फागुनमा सञ्चालक समितिलाई बुझाएको प्रतिवेदन उकालोले प्राप्त गरेको छ जसमा १३८ बचतकर्ताको १२ करोड ५० लाख रुपैयाँ हिनामिना भएको उल्लेख छ।

समितिको प्रतिवेदनमा संस्थाले कारोबारको पूर्ण विवरण नराखेकोे, प्राप्त कागजात अध्ययन गर्दा पनि स्पष्टरूपमा राख्नुपर्ने अभिलेख अध्यावधिक नगरेको, फर्जी खाता खोलेर कर्जा लगानी भएको जस्ता अनियमितता पहिल्याएको थियो। आन्तरिक छानबिनको प्रतिवेदनमा रकम हिनामिना गर्ने कर्मचारी तत्कालीन महाप्रबन्धक ज्योति गुरुङ नै भएको अनुमान गर्न सकिने आधारहरू प्रशस्त भएको उल्लेख गरेको छ। 

“यसमा अन्य कर्मचारीको हात छ या छैन भनेर किटान गर्न सकिने अवस्था छैन। रकम किटान गर्न लेखापरीक्षण गर्नुपर्ने देखिन्छ। कार्यकारी अध्यक्ष र अन्य कर्मचारीहरूको भनाइबाट पनि रकम हिनामिना भएको भन्ने देखिन्छ,” प्रतिवेदनमा भनिएको छ। 

संस्थाबाट प्राप्त कागजात एवं जिम्मेवार कर्मचारीहरूबाट समितिले बटुलेको विवरणअनुसार संस्थाको अनुमानित १२ करोड ५० लाख रुपैयाँ हिनामिना भएको र यो रकम थपघट हुनसक्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। तत्कालीन महाप्रबन्धक गुरुङ २०७६ माघ १८ गतेदेखि कार्यालयमा गयल रहेको र उनलाई पत्राचार गर्ने प्रयास गर्दा कहीँ कतै सम्पर्क हुन नसकेकाले प्रतिक्रिया लिन नसकिएको पनि छानबिन प्रतिवेदनमा उल्लेख छ।  

ठूलो रकम हिनामिना भएकाले संस्था आर्थिक संकटबाट गुज्रिरहेको डेढ वर्षअघि नै औँल्याइएको थियो। गैरकानूनी कार्य गर्ने कर्मचारी जोसुकै भए पनि प्रचलित कानूनबमोजिम कारबाही गरी रकम असुल उपर गर्नुपर्ने ठहर छानबिन समितिले गरेको थियो। संस्थाले यथाशीघ्र लेखापरीक्षण गराई रकम यकिन गर्नुपर्ने सुझाव पनि समितिले दिएको थियो।

आन्तरिक छानबिन समितिले रकम हिनामिना भएको किटान गर्दै प्रतिवेदन बुझाएको झन्डै डेढ वर्षपछि मात्र संस्थाका अध्यक्ष त्यससम्बन्धी उजुरी लिएर प्रदेश सहकारी राजिस्ट्रारको कार्यालयमा पुगेको देखिएको छ। हिनामिनाबारे जानकारी भएर पनि लामो समयसम्म संस्था किन मौन बस्यो? यो प्रश्न अध्यक्ष कुम्भराजलाई सोध्दा उनले जवाफ दिए, “ज्योति र धनराज गुरुङ दुवैले संस्थामा आएर रकम फिर्ता गर्ने मौखिक प्रतिबद्धता जनाएकाले असुल हुने आशामा हामीले पर्खियौँ।” 

गत मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका उपसभापति गुरुङले ज्योतिसँग सम्बन्ध बिच्छेद भइसक्दा पनि प्रश्न उठाइएको भन्दै आफूलाई मुछ्न नमिल्ने दाबी गरे। त्यसअघि सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले मितेरी सहकारीको ठगी प्रकरणमा कांग्रेस नेतामाथि पनि छानबिन हुनुपर्ने माग राखेका थिए।

कांग्रेस नेता गुरुङले भने आफू छानबिनका लागि तयार भएको भन्दै सहकारी ठगीसम्बन्धी प्रतिवेदन आउन लागेको अन्तिम समयमा विषयवस्तुलाई अन्तै मोड्न यस्तो कथा रचिएको आरोप लगाए। “यो घटनाको छिटोभन्दा छिटो छानबिन गर्न माग गर्छु। मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, सञ्चालक समितिका सदस्यहरू को कसलाई छानबिन गर्नुपर्ने हो तुरुन्तै गरियोस्। यदि यो विषयमा ममाथि कुनै आशंका छ भने ममाथि पनि छानबिन होस्,” गुरुङले मंगलबार संसद‍्मा भने।


सम्बन्धित सामग्री