यसपालि नाडा अटो शोमा राखिएका गाडीमा १० लाख रुपैयाँसम्म छुट दिइयो। यस्तो छुट कसरी तय हुन्छ भन्ने न उपभोक्ताले थाहा पाउँछन्, न त पारदर्शी नै हुन्छ।
काठमाडौँ– भृकुटीमण्डपमा भदौ ११ देखि १६ गतेसम्म चलेको १६औँ संस्करणको नाडा अटो शोमा दुई वटा विषय चर्चामा रहे। पहिलो, विद्युतीय सवारी (ईभी)को लोकप्रियता। दोस्रो, बिक्रेता कम्पनीले गाडीहरूमा दिएको छुट।
अहिले पेट्रोलियम इन्धनका गाडीभन्दा ईभी आयातमा भन्सार महसुल कम लगाउने सरकारको नीति छ। यस्ता गाडी किन्न बैंकहरूबाट ८० प्रतिशतसम्म ऋण पाइने नेपाल राष्ट्र बैंकको नीतिले बजार बढ्दो छ। त्यसमाथि नाडा अटो शोमा पाइने छुटले ग्राहक ईभीतर्फ आकर्षित भएका छन्।
नाडा अटो शोमा भेटिएका शान्तिनगर बस्ने विनय यादव आफूसँग भएको महिन्द्राको क्वान्टो गाडी साट्ने योजनामा थिए। “धेरैजसो ब्रान्डले मूल्य छुटको आकर्षक स्किम दिएको बताए,” यादव भन्दै थिए, “मैले लिन खोजेको गाडीमा छुट कम थियो, अरूमा अलि धेरै। गाडी त मैले साटिनँ तर मनमा लागेको के हो भने– कति छुट दिने वा नदिने कसरी तय हुन्छ?”
पेट्रोलियम इन्धनबाट चल्ने गाडीको ठाउँमा ईभीको प्रयोग बढाउन सरकारले भन्सारमा भारी सहुलियत दिए पनि यसको फाइदा उपभोक्तालाई भएको छ कि छैन यकिन नै नभएको यादव बताउँछन्। “भन्सार भएर आउने वस्तुको लागत कति छ र यसको अधिकतम मूल्य कतिसम्म लिन सकिन्छ भन्ने सरकारले सजिलै मापन र अनुगमन गर्नसक्ने विषय हो, खै त गरेको?” उनी भन्छन्।
व्यक्तिले चाहेमा आफ्नो लागि नयाँ गाडी भन्सार तिरेर पनि भित्र्याउन नसक्ने कानून बनाएर सरकारले व्यापारीहरूको फाइदाका लागि काम गरेको उनको आरोप छ। अहिले पनि गाडीहरूको मूल्यमा सरकारले चासो नलिनु र छुटका कारण ‘लुट’ खुल्दै जानु आश्चर्यजनक नभएको उनी बताउँछन्।
बिक्रेताले कसरी छुटमा गाडी बेच्न सक्छन् भन्ने उपभोक्ताले थाहा नै पाउँदैनन्। न त यस्तो छुट पारदर्शी नै बनाइन्छ। कतिपय कम्पनीहरूले नाडा अटो शोमा दिइएको छुट दशैँतिहारसम्म नै दिने जनाएका छन्।
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटो शोमा शुरू गरेको ५० हजारदेखि १० लाख रुपैयाँसम्म छुट घोषणालाई दशैंँतिहारसम्मै निरन्तरता दिने जनाएको छ। यसबाहेक स्क्र्याच कार्ड, लक्की ड्र, एक वर्षको बीमा तथा कर, ६ वर्षसम्मको नि:शुल्क सर्भिसजस्ता प्रायः दिइने अफर पनि कम्पनीले राखेको छ।
हुन्डाईका सिनियर सेल्स अफिसर डेनिस श्रेष्ठ १० लाखको छुट २०२१ मोडलको प्यालिसेड गाडीमा मात्र दिएको र २०२४ मोडलमा ४ लाख मात्र छुट हुने बताउँछन्। उक्त गाडीको मूल्य २ करोड ३५ लाख ९६ हजार छ।
“अटो शोमा गाडी कम्पनीहरूले आफूतिर ग्राहक आकर्षित गर्न अफरहरू घोषणा गर्छन्। प्रतिस्पर्धाको बजार छ, हामीले पनि घोषणा गर्नैपर्यो। गाडी मन पराएर बसेका ग्राहकको ध्यान अन्त नजाओस् भनेर पनि यो जरुरी हुन्छ,” उनी भन्छन्, “प्यालिसेडबाहेक अरू गाडीमा ५० हजारदेखि साढे २ लाखसम्मको छुट दिइएको छ।”
नक्सालस्थित पारामाउन्ट मोटर्स प्रालिले एमजी ब्रान्डको जेडएस मोडलमा ६ लाख रुपैयाँ छुट दिएको छ। अटो शोपछि पनि यो ‘अफर’लाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ। सामान्य अवस्थामा ५२ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको एमजी जेडएस अहिले पारामाउन्टले ४६ लाख ९९ हजारमा बेचिरहेको छ। यो छुट मूल्यको ११ प्रतिशतभन्दा बढी हो।
यतिसम्म छुट दिएर अटो शोमा बेच्दा अन्य बेलाको मूल्य अचाक्ली हुनसक्ने उकालोको प्रश्नमा कम्पनीका सेल्स अफिसर मनोज थापालले २०२३ मोडलको एमजी जेडएसमा मात्र छुट रहेको बताए। “स्टक क्लियरेन्सका लागि हो। कम्पनीसँग स्टकमा रहेका २०२३ मोडलको जेडएसमा मात्र यो छुट हो,” उनी भन्छन्, “यद्यपि, २०२३ मोडलभन्दा २०२४ मा केही फरक छैन, एक वर्ष पुरानो मोडल भएकोले मात्र नाफाको ठूलो हिस्सा छोडेर बेचेको हो।” अन्य मोडलमा ४९ हजारदेखि एक लाखसम्म मात्र छुट दिएको उनले बताए।
चिनियाँ ब्रान्ड जिलीको विद्युतीय गाडी जिकर एक्सका दुई मोडल नाडा अटो शोमा राखिएका थिए। यसै वर्ष नेपाली बजारमा आएको यो गाडीको बिक्रेता पायोनियर मोटोकर्पले ५ लाख रुपैयाँसम्म छुटको अफर दिएको थियो। सारडा ग्रुप अन्तरगतको बिक्रेता कम्पनीले यो ब्रान्डमा ‘टु ह्विल ड्राइभ’ र ‘फोर ह्विल ड्राइभ’ गाडीहरू प्रदर्शनी गरेको थियो।
टु ह्विल ड्राइभ भेरियन्टको मूल्य ८४ लाख ९९ हजारबाट घटाएर ७९ लाख ९९ हजार रुपैयाँ राखिएको थियो। फोर ह्विल ड्राइभ भेरियन्टको मूल्य १ करोड ५४ लाख ९९ हजारबाट घटाएर १ करोड ४९ लाख ९९ हजार रुपैयाँ राखिएको थियो। उक्त स्किम नाडा अटो शोको समयमा मात्र रहेको कम्पनीका प्रतिनिधि रुपेश श्रेष्ठ बताउँछन्।
एमएडब्लू वृद्धि मोटर्स प्रालिले पनि सेरेस–३ मा नाडा अटो शोका लागि छुट घोषणा गरेको थियो। यसअघि ग्राहकलाई ४९ लाख ९९ हजार रुपैयाँमा बेचिएको एसयूभी सेरेस–३ लाई साढे ४ लाख छुटसहित कम्पनीले ४५ लाख ४९ हजार रुपैयाँमै बुक गरेको जनाएको थियो। यसैको प्रिमियमको मूल्य ५२ लाख ९९ हजार रुपैयाँबाट ४ लाख १२ हजार घटाएर ४८ लाख ८७ हजार रुपैयाँमा दिने घोषणा कम्पनीको थियो।
नाडा अटो शोपछि छुट मूल्यलाई निरन्तरता नदिइएको कम्पनीका बजार प्रवर्द्धन अधिकृत विराज श्रेष्ठले जानकारी दिए। हरेक वर्षजस्तै नाडा अटो शोमा मात्र छुट दिइएको र अहिले त्यो अफर नरहेको उनको भनाइ छ। कम्पनीको अरू नीतिगत कुरा आफूलाई थाहा नभएको पनि उनले बताए।
चिनियाँ विद्युतीय सवारी उत्पादन ब्रान्ड स्काइवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्सले यसपल्ट नाडा अटो शोमा विद्युतीय एसयूभी बीई ११ का दुई भेरियन्ट र ईटी ५ सार्वजनिक गरेको थियो। अटो शोमा गाडी लिने ग्राहकले कम्पनीको सबै मोडलमा ५ लाख रुपैयाँसम्मको छुट घोषणा गरेको थियो। त्यस्तै, नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटले अटो शो अवधिभर स्कर्पियोको खरिदमा २ लाख र एक्सयूभी ७०० खरिदमा ४ लाख रुपैयाँसम्म छुट दिने घोषणा गरेको थियो।
सीजी मोटर्सले नाडा अटो शोसम्म नेटा भी भेरियन्टका गाडी ४ लाख रुपैयाँसम्म छुटमा दिएको थियो। नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक रहेको सिप्रदी ट्रेडर्सले नाडा अटो शोमा टियागो ईभीमा १ लाख रुपैयाँसम्मको छुट र थाइल्यान्ड टुर प्याकेजको अफर दिएको थियो।
भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी हरिहर पौडेल कम्पनीहरूले बजार रणनीति अन्तर्गत बेलाबेलामा छुट र अफरहरू दिने गरेको बताउँछन्। औपचारिक माध्यमबाट भन्सारमा मूल्य घोषणा गरी भित्रिएका गाडिहरूमा नियमबाहिर गएर असुलेको नाफामा छुट दिएको जस्तो आफूलाई नलागेको उनको भनाइ छ।
“कम्पनीहरूले दिएको छुटबाट मात्र उनीहरूले धेरै नाफा लिइरहेको भन्न मिल्दैन र तथ्य स्थापित पनि हुँदैन। अरू धेरै कुराहरूले मूल्य प्रभावित गरेको हुन्छ,” उनी भन्छन्, “सर्भिस र पाटपुर्जाबाट पछि लामो समयसमम नाफा कमाउने उद्देश्यले न्यून नाफामा पनि गाडी बेचेको हुनसक्छ।”
आफ्नो ब्रान्डको उपस्थिति सडकमा बाक्लो देखाउन पनि केही समयका लागि यस्ता स्किमको सहयोग कम्पनीहरूले लिएको हुनसक्ने पौडेलको आकलन छ। सम्बन्धित कम्पनीहरूले यसबारे बताउन सक्ने निर्देशक पौडेलको प्रतिक्रिया छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
