काठमाडौँ– राष्ट्रिय संग्रहालय छाउनीको भण्डारण कक्षमा शिर नभएको एउटा मूर्ति छ। करिब दुई फिट लम्बाइ र तीन फिट चौडाइको मूर्तिलाई ‘बुद्ध प्रतिमा’ भनिएको छ।
संग्रहालय प्रमुख जयराम श्रेष्ठका अनुसार उक्त मूर्ति दुई वर्षअघि गौशला प्रहरी वृत्तबाट ल्याइएको हो। सम्पदा अभियन्ता यादवलाल कायस्थको पहलमा मूर्ति संग्रहालय लगिएको पनि श्रेष्ठले जानकारी दिए।
योसँगै राष्ट्रिय संग्रहालय छाउनीको भण्डारण कक्षमा करिब २०० थान मूर्ति तथा कलावस्तु पंक्तिबद्ध छन्। कतिपय कलावस्तु टुटेफुटेका छन्। कुनै कालखण्डमा विभिन्न स्थानबाट हराएका यी मूर्ति र कलावस्तु बेवारिसे छाडिएका स्थानबाट संग्रहालयमा ल्याइएका हुन्।
यी कलावस्तु विदेशी संग्रहालय वा निजी संकलनकर्ताबाट भने आएका होइनन्। काठमाडौँ उपत्यका र आसपासका जिल्लाका विभिन्न स्थान तथा प्रहरी कार्यालयबाट ल्याइएका हुन्। राष्ट्रिय संग्रहालयका अनुसार हालसम्म जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरका साथै दाङ जिल्ला अदालत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सिन्धुपाल्चोकको मेलम्ची, जिल्ला प्रशासन कार्यालय ललितपुर, काठमाडौँ महानगरपालिका–१० दथुटोल र पशुपति गरी नौ स्थानबाट १९२ मूर्ति तथा कलावस्तु ल्याइएका छन्।
संरक्षणमा रहेका कुनै मूर्ति अभियन्तामार्फत र कुनै पुरातत्व विभागको पहलमा फिर्ता भएका हुन्। लोकेश्वर, चैत्य, राजपुरूष, चण्डेश्वर, चतुरबाहु विष्णु, तोरण गजुर, मुरलीधर, कृष्ण अंकित टुडाललगायत १४ कलावस्तु २०७८ माघ ७ गते जनसेवा प्रहरी वृत्तको प्रशासन शाखाबाट पुरातत्व विभाग हुँदै संग्रहालयलाई हस्तान्तरण भएका थिए। त्यस्तै, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट २०७८ माघ २७ गते २४ थान कलावस्तु विभागलाई हस्तान्तरण भएका थिए।
जनसेवा वृत्तबाटै २०७८ चैत ५ गते बुद्ध, लक्ष्मी र रत्नसम्भव गरी प्रस्तरबाट बनेका तीन मूर्ति र नृत्यदेवी, तारा, मञ्जुश्री गरी ढलोटबाट बनेका तीन मूर्ति विभाग हुँदै संग्रहालयलाई हस्तान्तरण गरिएको थियो। यद्यपि, यस्ता मूर्ति कहाँ, कहिले र कसरी आए भन्ने रेकर्ड प्रहरीसँग पनि नभएको विभागकी पुरातत्व अधिकृत सरिता सुवेदी बताउँछिन्।
तीमध्ये ढलोटबाट बनेको नृत्यदेवीको मूर्ति ठाउँठाउँमा प्वाल परेको छ। तोरण गजुरको पनि माथिल्लो भाग र पिँधको भाग कुच्चिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरबाट २०७८ असार २२ मा प्राप्त भएको लोकेश्वरको मूर्तिको बायाँ हात भाँचिएको र बायाँ तिघ्रा सामान्य चोइटिएको छ।
भक्तपुर नगरपालिका–११ स्थित नेपाल बैंक लिमिटेडमा २०६२ असार १२ गते भेटिएकोे विष्णुको मूर्ति जीर्ण र टुटेफुटेको छ। विष्णु विराजमान भएका नागमध्ये दुई वटाको मुख फुटेको छ। मूर्तिको तल्लो भागको दाहिनेतर्फ फुटेको र ठाउँठाउँबाट टुक्रा निस्किएको छ।
२०६६ सालमा भक्तपुरको डेकोचामा भेटिएको र पहिचान नखुलेको मूर्ति स्थानीय हरिभक्त कुसाथे (७२) ले काँधमा बोकेर हिँडेको अवस्थामा फेला परेको थियो। ढुंगाले बनेको उक्त मूर्ति लामो समय जिल्ला प्रहरी परिसर भक्तपुरमा रह्यो। मूर्तिको दाहिने भागमा सानो चिलजस्तो आकृति र बीच भागको बायाँतर्फको आकृति आधा फुटेको छ भने मूर्तिको बायाँ भाग पनि फुटेको छ। २०७८ साउन ११ गते भक्तपुरकै दधिकोटमा बेवारिसे अवस्थामा भेटिएको गरूडासन नारायणको मूर्ति विभिन्न ठाउँमा फुटेर छियाछिया छ।
उद्दार गरिएका अधिकांश कलावस्तु राम्रो अवस्थामा नभएको राष्ट्रिय संग्रहालय प्रमुख श्रेष्ठ बताउँछन्। “प्रहरी वृत्तमा फिर्ता आएका मूर्ति अधिकांश संरक्षण नभएको पाइयो। ती टुटफुट भएको देखिन्छ,” उनी भन्छन्, “ती मूर्ति कतिपय व्यक्तिले धर्म परिवर्तन गर्दा त्यागेका वा फ्यालेको पनि हुनसक्छ।”
संस्कृतिविद् गोविन्द टण्डन मासिएको गुठी व्यवस्था मूर्ति तथा कलावस्तु जीर्ण अवस्थामा भेटिनुको पहिलो कारण भएको बताउँछन्। “पहिले गुठीअन्तर्गत मठमन्दिरको रेखदेख समुदाय तहमा हुन्थ्यो। मठमन्दिर संरक्षण हुनु भनेको त्यहाँ रहेका मूर्ति सुरक्षित हुनु हो,” उनी भन्छन्, “गुठी व्यवस्था मासिएसँगै मठमन्दिरको हेरचाह हुन छाड्यो। मूर्ति हराउन, बेवारिसे अवस्थामा रहन थाले।”
भण्डारण कि संरक्षण!
वसन्तपुरका स्थानीय तथा सम्पदा अभियन्ता यादवलाल कायस्थका लागि न्युरोडको जनसेवा प्रहरी वृत्त ‘पानीपँधेरो’ हो। उनी दैनिक न्युरोड हुँदै आवतजावत गर्छन्। एकपटक प्रहरी वृत्त पुग्दा भगवानको मूर्ति जीर्ण अवस्थामा फालेको देखे। “हिटी सरसफाइमा लागेको मान्छे म, देवीदेवताको बेवारिसे अवस्था देखेपछि देशभित्रका यस्ता मूर्ति खोजबिनको अभियान शुरू गरेँ,” उनी भन्छन्, “हामी विदेशबाट मूर्ति फिर्ताका लागि कस्सिएका छौँ तर देशभित्रै यस्तो हालतका मूर्तिको हेरचाह गर्ने जिम्मा कसले लिने?”
आफू सामाजिक सञ्जाल फेसबुकमा बढी सक्रिय रहेका कारण आफ्ना क्रियाकलाप त्यता साझा गर्ने र यस्ता मूर्ति भएका स्थानमा सम्पर्क गर्न सजिलो भएको उनी बताउँछन्। उनका क्रियाकलापबारे थाहा पाएर सिन्धुपाल्चोकबाट एक व्यक्तिले मूर्ति लिन आउन अनुरोध पनि गरेका थिए।
सिन्धुपाल्चोकका ती व्यक्तिले घरअघि बालुवा खन्ने क्रममा भेटिएको मूर्तिलाई घरमा राखेका थिए। “घरमा मूर्ति राखेसँगै उनलाई असामान्य गतिविधिको महसुस हुन थालेछ, अनि मलाई लैजानका लागि भन्नुभयो,” कायस्थ भन्छन्, “हामीले २१ जनाको समूह बनाएर मूर्ति लिन गयौँ।” उक्त मूर्ति पनि अहिले राष्ट्रिय संग्रहालयमा छ।
त्यसैगरी, उनले एकपटक अनामनगरको प्रहरी चौकीभित्र बागबजारको चिबा देय् (चैत्य) देखे। त्यहाँ एक जना प्रहरी चिबा द्यमाथि टेकेर जुत्तामा पालिस लगाइरहेका थिए। “केही समय त मेरो भनाभन नै भयो। उहाँहरूको लागि त्यो ढुंगाको मूर्ति मात्र होला,” उनी भन्छन्, “तर हाम्रो लागि भगवान हुन्। हाम्रो आस्थामाथि जुत्ताले टेकेर पालिस लगाएको देख्दा कस्तो भयो होला?”
एक वर्षको प्रयासपछि उक्त चिबा द्यलाई मेयर बालेन शाहसहितको सहयोगमा बागबजारमै पुनस्र्थापित गरेको कायस्थ बताउँछन्। यस्ता दृश्य र मूर्तिको दुरवस्था स्वयम्भु प्रहरी चौकीलगायत विभिन्न प्रहरी कार्यालयमा देखेको उनको भनाइ छ।
यसअघि, छैटौँ शताब्दीको ब्रह्माको मूर्ति पनि प्रहरी वृत्त गौशालामा भेटिएको समाचार उकालोले प्रकाशित गरेको थियो। मूर्ति अझै सोही वृत्तमा छ। सिमेन्टको गोलाकार बारबीचमा रहेको उक्त मूर्ति प्रहरीले जफत गरेका र कवाडी भइसकेका मोटरसाइकलहरूको बीचमा राखिएको छ।
कायस्थ भने भेटिएका र फिर्ता भएका मूर्तिलाई उद्गमस्थलमा पुनस्र्थापना गराउनु पर्ने बताउँछन्। “हामी काठमाडौँलाई खुल्ला संग्रहालय भन्छौँ अनि हामी नै मूर्ति सबै पुरातत्व विभाग र संग्रहालयभित्र राख्छौँ। के हाम्रा भगवानप्रति न्याय भयो?” उनी भन्छन्।
उनकै पहलमा काठमाडौँ महानगरपालिका–१ को पद्मपाणी लोकेश्वरको मूर्ति उद्गमस्थलमा फिर्ता भएको थियो। उक्त मूर्ति लामो समयदेखि राष्ट्रिय संग्रहालय छाउनीमा थियो। एक वर्षयता उनी लाजिम्पाटको धोबीचौरमा रहेको वामनको मूर्ति पुनस्र्थापनामा लागिपरेका छन्।
३०–३५ साल यता मूर्ति चोरीको क्रम तीव्र हुँदा हराउन सक्ने सम्भावना भएकालाई स्थानीयले नै निवदेन दिएर प्रहरीलाई बुझाउने चलन थियो। यद्यपि, प्रहरी कार्यालयमा रहेका मूर्तिको रेखदेख र पूजापाठ नहुँदा बेवारिसे भइरहेको संस्कृतिविद् टण्डन बताउँछन्। “मूर्ति फिर्ता हुँदैमा खुशी भइहाल्नु पर्ने हुँदैन,” उनी भन्छन्, “ती मूर्तिको दैनिक पूजाआजा नभएसम्म जीवन्त संस्कृति हुँदैन। यसैले जीवन दिनसके मात्र मूर्तिको महत्त्व हुन्छ।”
टण्डन पनि भेटिएका र फिर्ता भएका मूर्ति पुनस्र्थापना गर्नुपर्ने बताउँछन्। “प्रहरी कार्यलयबाट फिर्ता भएका मूर्ति संग्रहालयको भण्डारमा छन्, ती स्थान कस्ता छन्, के त्यहाँ प्रकाश छिर्छ? मूर्तिका लागि अनुकूल वातावरण तयार गरिएको छ?” उनी भन्छन्, “कतिपय ढुंगा नरम अथवा कडा हुन्छ। सोही अनुसार चोइटिएर जाने हुन्छ। संरक्षण हुँदैन।”
‘मूर्तिको सुरक्षा प्रमुख चुनौती’
संग्रहालय प्रमुख श्रेष्ठ भण्डारणमा रहेका मूर्ति प्रदर्शनीका लागि स्रोतसाधनको व्यवस्थापन गरिरहेको बताउँछन्। देशभित्रै भेटिएका मूर्ति पनि विदेशबाट फिर्ता आएका मूर्तिजस्तै अस्थायी प्रदर्शनी कक्षमा राख्ने योजना रहेको उनको भनाइ छ। यद्यपि, यी मूर्तिको पहिचान गर्ने काम बाँकी रहेको उनले जानकारी दिए।
यसरी संग्रहालय पुगेका केही मूर्ति शताब्दीऔँ पुराना भएको श्रेष्ठको अनुमान छ। हाल मूर्तिको सुरक्षा प्रमुख प्राथमिकतामा रहेको उनी बताउँछन्। “२०७२ सालको भूकम्पपश्चात बेवारिसे मूर्तिहरू विभिन्न प्रहरी वृत्तहरूमा रहेका जानकारी पाइयो,” उनी भन्छन्, “उहाँहरूले पनि कहाँको भनेर पहिचान गर्न नसकेको र त्यहाँ पनि राम्रो भण्डारण नभएको अवस्थामा संग्रहालयले आफ्नो गच्छेअनुसार संरक्षकको भूमिका निर्वाह गरिरहेको छ।”
पुरातत्व विभागकी अधिकृत सरिता सुवेदी पनि फिर्ता भएका मूर्तिको सुरक्षा प्रमुख रहेको बताउँछिन्। त्यस्ता मूर्ति र कलावस्तुको सुरक्षाकै लागि राष्ट्रिय संग्रहालय छाउनीमा पठाइने गरेको उनको भनाइ छ। संग्रहालय लैजान प्रहरी कार्यलय, विभाग हुँदै संग्रहालयसम्मको कागजी प्रक्रिया पूरा गर्नुपर्ने उनी बताउँछिन्।