काठमाडौँ– “विद्यालयका पाठ्यक्रममै अरबी भाषा राखेर पढाउन पाए धेरै नेपालीको भलो हुने थियो।” केही महिनाअघि रिपोर्टिङका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुग्दा त्यहाँका सहसचिवस्तरका एक कर्मचारीले भनेका थिए। वैदेशिक रोजगारीका लागि खाडी गएका नेपाली समस्यामा पर्ने, ठगिनेलगायत सन्दर्भमा उनले यस्तो बताएका थिए।
अब नेपालीको श्रम गन्तव्य देशको भाषा पाठ्यक्रममै राखेर पढाउन थालिसकिएको छ। तर त्यो अरबी नभएर कोरियन भाषा हो। अहिलेसम्म विद्यालय तहमा पढाइ हुने विदेशी भाषा अंग्रेजी मूल विषयका रूपमा समावेश छ। केही सामुदायिक विद्यालयले भने कोरियन भाषा पनि पढाउन थालेका छन्।
दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित सिद्धरत्ननाथ माविले चालु शैक्षिक वर्षदेखि कक्षा ११ मा कोरियन भाषा पढाउन थालेको छ। ऐच्छिक तेस्रो समूहअन्तर्गत कोरियन भाषाको पढाइ शुरू गरेको प्रधानाध्यापक उत्तम खनालले जानकारी दिए।
व्यवस्थापन संकायअन्तर्गत कक्षा ११ को पाठ्यक्रममा अर्थशास्त्रको साटो कोरियन भाषा पढाइ हुन्छ। प्रधानाध्यापक खनालका अनुसार अहिले ६५ जना विद्यार्थीले सो भाषा पढिरहेका छन्। भाषा पढ्नेको आकर्षण आफूले सोचेभन्दा राम्रो भएको उनको भनाइ छ।
“कैलाली, बर्दियादेखि पढ्नका लागि विद्यार्थी यहाँ आएका छन्। डेरा गरेर बसेका छन्। विद्यार्थीको समस्या छैन,” खनाल भन्छन्, “यस क्षेत्रमा अधिकांश १२ कक्षा पास गरेर वैदेशिक रोजगारीमा जान्छन्, यही भाषा पढ्नका लागि धेरै खर्च गर्नुभन्दा पाठ्यक्रममै पढ्न पायो भने उनीहरूको त्यो खर्च जोगिन्छ।”
कोरियन भाषा शिक्षणका लागि विद्यालयले स्थानीय कविराम चौधरीलाई शिक्षक नियुक्त गरेको छ। दक्षिण कोरियाबाट उच्च शिक्षाका साथै विद्यावारिधिसमेत गरेका चौधरी सोही विद्यालयका पूर्वविद्यार्थी पनि हुन्।
दाङमा आफ्नो विद्यालयले कोरियन भाषा पढाउन थालेपछि अन्य विद्यालयले पनि चासो दिन थालेको प्रधानाध्यापक खनाल बताउँछन्। कक्षा ११ मा कोरियन भाषा पढिरहेका विद्यार्थीले कक्षा १२ मा पनि यही विषय पढ्न पाउने उनको भनाइ छ।
त्यसैगरी, कालीकोटको महावै गाउँपालिका–२ स्थित तिला माध्यमिक विद्यालयले पनि कोरियन भाषा पढाउन थालेको छ। विद्यालयले यो शैक्षिक सत्रमा कक्षा ११ मा कोरियन भाषा पढाउन गत साउन अन्तिममा शिक्षक माग गर्दै गरेको विज्ञापन सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो। कतिले विरोध जनाएका थिए भने ‘राम्रो’ भन्नेहरू पनि धेरै थिए।
पहिलो पटक कक्षा ११ सञ्चालनको अनुमति पाएको विद्यालयले पहिलो शैक्षिक सत्रमै कोरियन भाषा पढाउन थालेको हो। गाउँपालिकाको शिक्षा शाखाको अनुमति तथा विद्यालय व्यवस्थापन समितिको निर्णयमा यो भाषा पढाउन थालिएको प्रधानाध्यापक दिनेशबहादुर शाही बताउँछन्।
भाषा सिक्न भन्दै त्यस भेगका विद्यार्थीहरू पढाइ नै छाडेर नेपालगन्ज, काठमाडौँतिर जान थालेपछि पाठ्यक्रममै राखेर पढाउने निर्णय गरेको शाहीको भनाइ छ। “अहिले विद्यार्थीहरूमा पढ्ने भन्दा पनि कमाइ गर्नुपर्छ भन्ने भावना अधिक देखिन्छ। त्यसैले बीचमै पढाइ छाडेर वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ,” उनी भन्छन्, “विद्यालयमा पढाइसँगै भाषा पनि सिक्न पाए त्यो क्रम रोकिन्छ, कोरिया जाने नै भए पनि कन्सल्टेन्सीमा लाखौँ रूपैयाँ तिरेर भाषा सिक्नु परेन।”
आधारभूत तहमा पनि कोरियन भाषा
तिला र सिद्धरत्ननाथले माध्यमिक तहमा ऐच्छिक विषयका रूपमा कोरियन भाषा पढाउँछन्। झापाको एक संस्थागत (बोर्डिङ) स्कुलले भने आधारभूत तहमै कोरियन भाषा पढाउन थालेको छ। भद्रपुर–६ को ब्राइट स्टार इंग्लिस बोर्डिङ स्कुलले कक्षा ६ देखि ८ सम्म ऐच्छिक विषयको रूपमा कोरियन भाषा पढाइरहेको छ।
ब्राइट स्टारले तीन वर्षदेखि कोरियन भाषा पढाउँदै आएको विद्यालयका प्रिन्सिपल रत्नबहादुर गिरी बताउँछन्। “तीन वर्षदेखि हामीले ऐच्छिक विषयको रूपमा ६, ७ र ८ कक्षामा कोरियन भाषा पढाउँदै आएका छौँ,” उनी भन्छन्, “फरक भाषा पढाउँदा कमजोर विद्यार्थी पनि पढाइमा लगनशील भएको पाएका छौँ, जसले गर्दा अभिभावकहरू पनि सकारात्मक हुनुहुन्छ।”
उक्त विद्यालयले अहिले आन्तरिक व्यवस्थापनमै आधारभूत तहमा भाषा पढाइरहेको छ। सरकारले स्वीकृति दिए कक्षा ९ र १० मा पढाउने योजना रहेको गिरी बताउँछन्।
के छ नीतिगत व्यवस्था?
कन्सल्टेन्सीले गर्दै आएको काम अब विद्यालयले पनि थालेको भनेर कतिपयले सामाजिक सञ्जालमा विरोध जनाएका छन्। तर सरकारले नै विद्यालयहरूले भाषा सिकाउन मिल्ने नीतिगत व्यवस्था गरेको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप (संसोधित २०७९) अनुसार माध्यामिक तहमा ऐच्छिक विषयका रूपमा कोरियन, अरबी, फ्रेन्च, रसियन, चिनियाँ, जर्मन, उर्दु, जापनिजलगायत दर्जनभन्दा बढी भाषा पढाउनसक्ने व्यवस्था छ।
माध्यामिक तह अन्तर्गत कक्षा ९ र १० मा ऐच्छिक प्रथम समूहमा गणित, अर्थशास्त्रसहित विदेशी भाषा पढ्न सकिने व्यवस्था छ। यस्तै, दोस्रो समूहमा, कम्प्युटर, स्वास्थ्य कृषिसहित वास्तुकला, बागवानी, संगीतलगायत सीपमूलक विषय समेटिएका छन्। तर, अधिकांश विद्यालयले ऐच्छिक प्रथम समूहमा गणित र अर्थशास्त्रलाई जोड दिएका छन् भने दोस्रो समूहमा स्वास्थ्य र कम्प्युटरजस्ता विषय बढी पढाउँछन्।
माध्यामिक तहकै कक्षा ११–१२ मा ऐच्छिक तेस्रो पत्रका लागि विभिन्न संकायगत विषयसँगै विदेशी भाषा पढाउन सकिने व्यवस्था गरेको छ। कुन विषय पढाउने भन्ने निर्क्यौल स्थानीय तहसँगको समन्वयमा गर्नुपर्छ।
पाठ्यक्रम प्रारूपमा भनिएको छ, “माध्यमिक तहको कक्षा ९—१२ को पाठ्यक्रम संरचनामा उल्लिखित समूह तथा विषयहरूको सूचीअनुसार हुने गरी ऐच्छिक विषयहरू स्थानीय तहको समन्वय र सहजीकरणमा विद्यालयले छनोट गर्ने छ।”