नेपालसँग मौखिकरूपमा मात्रै नेपालीलाई रुसी सेनामा भर्ती लिँदैनौँ भनेको रुसले भारतको हकमा भने विज्ञप्ति नै जारी गरेको छ। जबकि रुसी सेनामा भारतीय भन्दा नेपाली धेरै छन्।
काठमाडौँ– “अन्य तीन रेजिमेन्टसँगै हाम्रो ५६औँ इन्फेन्ट्री रेजिमेन्ट पनि ‘कुक्र्स मिसन’को लागि करिब १९०० किलोमिटरको यात्रामा अघि बढ्दैछ। भोलि साँझसम्म गन्तव्यमा पुगेपछि मिसनको निकै चुनौतीपूर्ण कार्यभार शुरू हुनेछ,” रुसी सेनामा आवद्ध नेपाली नागरिक डायमन्ड सी म्याग्देलीले गत हप्ता सामाजिक सञ्जालमा लेखे।
रुसी सेनामा रहेका नेपाली तथा आफ्नो अवस्थाबारे बेलाबेला फेसबुकमार्फत जानकारी दिइरहने म्याग्देलीले त्यसपछि भने कुनै ‘अपडेट’ गरेका छैनन्।
साढे दुई वर्षदेखि चलिरहेको रुस–युक्रेन युद्धमा यही अगस्ट ६ मा पहिलो पटक युक्रेनले रुसमा प्रवेश गरी कुर्स्क क्षेत्र कब्जा गरेको थियो। त्यसयता युक्रेनले रुसमाथि लगातार आक्रमण गरिरहेको छ। त्यसको प्रतिकार गर्न ठूलो रुसी फौज कुर्स्क क्षेत्रमा तैनाथ छ। म्याग्देलीबाहेक त्यसमा कति नेपाली सामेल छन् भन्नेबारे कुनै जानकारी बाहिर आएको छैन।
अन्तर्राष्ट्रिय मिडिया रिपोर्टका अनुसार कुर्स्कमा युद्ध भएयता युक्रेनी सेनाले ६०० रुसी सेनालाई आफ्नो नियन्त्रणमा लिइसकेको छ। युक्रेनको पश्चिमी क्षेत्रमा रहेका क्याम्पहरूमा सयौँको संख्यामा रुसी युद्धबन्दीहरू राखिएका छन्। तीमध्ये धेरै रुसी नै भए पनि विदेशी नागरिकको संख्या पनि उल्लेख्य छ।
कुर्स्क क्षेत्रमा युक्रेनको आक्रमणपछि रुसले जनशक्ति अभावको सामना पनि गरिरहेको समाचारहरूमा उल्लेख छ। रुसी सेनाका प्रधानसेनापति अलेक्जेन्डर सिर्स्कीले कुर्स्कमा पठाइने रुसी सेनाको संख्या लगातार बढिरहेको र त्योसँगै ज्यानको मूल्य पनि चुकाइरहेको बताएका छन्। युक्रेनी सेनाले प्रत्येक दिन ३०० भन्दा बढी रुसी सैनिकहरूलाई मार्ने वा घाइते पार्ने गरेको उनको दाबी छ।
अलजजिराको रिपोर्टअनुसार मस्कोले आफ्ना सशस्त्र सैनिकहरूलाई जगेडा राखेर युक्रेनले आक्रमण गरेको रक्तपातपूर्ण क्षेत्रमा भाडाका सैनिकहरू (कन्ट्रयाक्ट आर्मी) पठाइरहेको छ। रुसी सेनामा भर्ती भएका नेपाली सबै भाडाका सैनिक नै हुन्। जो एक वर्षको लागि ‘करार’मा भर्ती हुने गर्छन्। यस्तो अवस्थामा अझै रुसी सेनामा आवद्ध कति नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने हो भन्ने चिन्ता कायम छ।
ज्यान गुमाउने नेपालीको संख्या
परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म ३४ नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। यस्तै, पाँच जना घाइते भएर उतै उपचाररत छन् भने रुसी सेनाको पक्षबाट लडिरहेका ६ जना नेपालीलाई युक्रेनी सेनाले बन्धक बनाएर राखेको मन्त्रालयले जनाएको छ।
मृत्यु भएकाहरूको शव नेपाल झिकाउन २२ जनाको डीएनए परीक्षण गर्न पठाइएको छ। रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म १५० नेपाली स्वदेश फर्किसकेका छन्। अझै ३२३ जनालाई उद्धारको माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन परेको छ। यस्तै, ११६ जना सम्पर्कमै नरहेको भनी उद्धारका लागि उनीहरूका परिवारले परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन्।
“पछिल्लो अवस्था के छ सबै भेरिफाइ गरेर भन्नुपर्ने हुन्छ, मृत्यु पुष्टि गर्नको लागि डीएनए पठाएका थियौँ, त्यसको अपडेट हुन बाँकी छ। यो संख्यामा तलमाथि हुनसक्ला। उद्धारको लागि निवेदन आउने क्रम पनि जारी नै छ,” मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने।
‘रुसी सेनामा आवद्ध नेपालीको जीवनार्थ अभियान’ की संयोजक कृतु भण्डारी ६१ भन्दा धेरै नेपालीको मृत्यु भइसकेको बताउँछिन्। “मृत्यु भएका ६१ जनाकै परिवारसँग हामीले सम्पर्क गरेका छौँ, यो संख्या अझै धेरै हुनसक्छ,” उनले भनिन्।
रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्नेबारे पनि सरकारसँग यकिन तथ्यांक छैन। तर पाँच हजार भन्दा धेरै नेपाली रुसी सेनामा भर्ना भएको हुनसक्ने रुसमा रहेका वा रुसी सेनाबाट फर्केका नेपाली बताउँछन्। पूर्व परराष्ट्रमन्त्री बिमला राई पौड्यालले गत माघमा राष्ट्रियसभामा बोल्दै १४–१५ हजार नेपाली रुसी सेनाको अग्रपंक्तिमा रहेर युक्रेनसँग लडिरहेको दाबी गरेकी थिइन्।
अहिले भर्ती रोकिएको दाबी
गैरआवासीय नेपाली संघ (एनआरएनए) रुसका अध्यक्ष केशव तिमिल्सिना नेपाली नागरिकलाई रुसले आफ्नो सेनामा भर्ती गर्न रोकेसँगै उक्त समस्या समाधान हुँदै गएको बताउँछन्।
“यो मुद्दा अब सेलाइसक्यो। रुसले नै भर्ना लिन रोकेको जनाएको छ। त्यसैले नयाँ आउने छँदै छैनन्। पुराना पनि एक वर्षको कन्ट्र्याक्ट सकेर फर्किंदैछन्,” उनी भन्छन्, “गत फेब्रुअरीसम्म धेरै भर्ना भएका थिए। अब चार–पाँच महिनापछि उनीहरूको अवधि पनि सकिन्छ र नेपाल फर्किन्छन्।”
रुसस्थित नेपाली दूतावासले त्यहाँको रक्षा मन्त्रालयसँग वार्ता गरेर नेपाली नागरिकलाई सेनामा भर्ती नगर्ने विषयमा सम्झौता नै गरेको उनको दाबी छ।
यता, परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राई भने कुनै औपचारिक सम्झौता नभएको तर मौखिक आश्वासन दिएको बताउँछन्। “नेपाली नागरिक भर्ना नगर्ने भनेर रुसले मौखिक जानकारी गराएको हो। कुनै औपचारिक सम्झौता भने भएको छैन,” उनले भने।
नेपालको तुलनामा रुसी सेनामा भर्ती हुने भारतीय नागरिकको संख्या निकै कम छ। त्यहाँका सञ्चारमाध्यले जनाएअनुसार अहिले ६१ जना भारतीय नागरिक रुसी सेनामा छन्। चार जनाको मृत्यु भइसकेको छ। नेपाललाई मौखिक आश्वासन मात्र दिएको रुसले भारतको सन्दर्भमा भने विज्ञप्ति नै निकालेर भारतीय नागरिकलाई सेनामा भर्ती नलिने जानकारी गराएको छ।
“भारतीय नागरिकलाई रुसमा सैन्य सेवामा भर्ती हुने कुनै पनि प्रकारका योजनामा रुस संलग्न छैन,” भारतस्थित रुसी दूतावासले यही अगस्ट १० मा जारी गरेको विज्ञप्तिमा भनिएको छ। साथै, गत अप्रिलदेखि रुसी रक्षा मन्त्रालयले भारतलगायत धेरै देशका नागरिकलाई सैन्य सेवामा भर्ना गर्न रोकेको पनि त्यही विज्ञप्तिमा उल्लेख छ।
रुसमा रहेका कास्कीका कुमार शर्मा रुसी रक्षा मन्त्रालयको त्यही निर्णयअनुसार नै नेपाली भर्ती पनि रोकेको हुनसक्ने बताउँछन्।
“विदेशीहरू भर्ना गर्दा भाषाको समस्या हुने, त्यसले गर्दा आफू पनि जोखिममा पर्ने र फौजका अरूलाई पनि जोखिममा पार्ने भएकाले भर्ना रोकेको भन्ने सुनिन्छ,” उनले भने। यो निर्णय रुसको रक्षा मन्त्रालयले गर्ने भर्तीमा लागू भए पनि ‘प्राइभेट आर्मी’मा लागू नहुनसक्ने उनको भनाइ छ। रुसी सेनामा भर्ती भएर समस्यामा परेका नेपालीको उद्धारमा पनि संलग्न रहेका शर्माका अनुसार रुसमा अस्मत, अवानगार्दलगायत ‘प्राइभेट आर्मी’ ले रुसी सेनालाई सघाइरहेका छन्। तीमध्ये अवानगार्दमा धेरै नेपाली भर्ती भएका छन्।
“रुसले सेनामा भर्तीको लागि विज्ञापन गरिरहेको छ, मस्कोतिर अझै पनि मैले चिनेका दुई–तीन जना नेपाली दलाल सक्रिय छन्,” उनले भने, “रुसी रक्षा मन्त्रालतर्फबाट नभए पनि ती प्राइभेट आर्मीमा भर्ना हुन सक्छन्, त्यो चाहिँ डर छ।”
म्याग्देली पनि रुसले भर्ना रोक्नुको साटो अझै छ्यापछ्याप्ती विज्ञापन गरिरहेको बताउँछन्। उनका अनुसार २०२४ को लागि रुसले अझै चार लाख स्वदेशी र विदेशी नागरिकलाई भर्नाको लागि विज्ञापन खोलेको छ। अझै पनि सयौँ नेपाली रुसी सेनामा भर्ती हुन खोजिरहेको बताउँछन्।
“रुसका मुख्य शहरहरूमा रुसी सेनामा भर्ना हुन आव्हानसहितको पम्प्लेट र ब्यानर झुन्ड्याइएका छन्। तर म कसैलाई पनि यहाँ भर्ती हुन आउनुहोस् भनेर सुझाव दिन र च्यानल मिलाइदिन सक्दिनँ,” उनले एक महिनाअघि सामाजिक सञ्जालमा लेखेका थिए।
नेपाल सरकारले रुसको लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अनिवार्य गरेको छ। यस्तै, श्रम स्वीकृति पनि बन्द गरेको अवस्था छ। तर पनि नेपालीहरू भारतको बाटो हुँदै अहिले पनि रुस गइरहेको अभियन्ता भण्डारी बताउँछिन्।
“अहिले पनि भारत र दुबईको बाटो हुँदै दर्जनौँ नेपाली रुस पुगेर सेनामा भर्ती भइरकेका छन्। तर भर्खरै भर्ती भएकाहरूले हामीसँग सम्पर्क गर्नुभएको छ, झुक्याएर सेनामा भर्ती गरेको भनेका छन्,” उनले भनिन्।
सेनामा भर्ती भएकाहरूले फोन गरेर त्यहाँको समस्या बाहिर सुनाउन थालेपछि अहिले उनीहरूलाई फोन पनि सीमित रूपमा मात्र दिने गरेको र त्यसैले पनि विस्तृत कुराकानी हुन नसकेको उनले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
