Saturday, October 05, 2024

-->

सार्वजनिक यातायातमा ईभीः चालक भन्छन्– आम्दानी बढ्यो, चार्जिङ स्टेसनकै कमी

काठमाडौँ उपत्यकाभित्र छोटो दूरीमा मात्र नभई आसपासका जिल्लासम्म जाने मध्यम दूरीमा पनि ईभीको प्रयोग बढिरहेको छ। भन्सार विभागको तथ्यांकले समेत यस्ता विद्युतीय माइक्रोबसको आयात बढेको देखाउँछ।

सार्वजनिक यातायातमा ईभीः चालक भन्छन्– आम्दानी बढ्यो चार्जिङ स्टेसनकै कमी

काठमाडौँ– १८ वर्षको तन्नेरी हुँदा गाडी चलाउन थालेका रामेछापका अमृतबहादुर खड्का (५५)ले गएको वैशाख ७ गतेदेखि डिजेल गाडी छाडेर विद्युतीय गाडी (ईभी)को ‘स्टेअरिङ’ समाते। उनी १४ यात्रु क्षमताको विद्युतीय माइक्रोबस गोकर्णबाट कलंकीसम्म चलाउँछन्। पहिलेको तुलनामा आर्थिक रूपमा फाइदा भएको उनको भनाइ छ।

“यो चलाउन सुविधाजनक र आराम छ, थकाई लाग्दैन,” अमृत भन्छन्, “यात्रुलाई पनि आरामदायी छ, त्यसैले यसैमा चढ्न खोज्छन्। तेल हाल्नु पर्दैन, खर्च जोगिएको छ।” गाडीबाट आवाज र धुवाँ नआउँदा पहिलो पटक चढ्ने यात्रुले ‘राम्रो लागेको’ प्रतिक्रिया दिने गरेको उनले बताए।

उनी दैनिक ९ देखि १० हजार रुपैयाँ कुल आम्दानी गर्छन्। त्यसबाट ५ हजार रुपैयाँ साहुलाई बुझाउनुपर्छ। “पहिला दिनमा ३५ सयको डिजेल हाल्नु पथ्र्यो, मुख्य खर्च त्यसैमा हुँदा आम्दानी धेरै थिएन। अब चार्ज गरेको प्रतियुनिट ७ रूपैयाँ लाग्छ। एक दिनमा ८० युनिटको ५६० रूपैयाँ तिरे पुग्छ।”

समितिलाई बुझाउने पैसा र सहयोगीलाई दिने रकम घटाएर दैनिक ३ देखि ४ हजारसम्म आम्दानी गर्छन्। पहिला २ देखि ३ हजार आम्दानी हुन्थ्यो। 

यो गाडी लिएर अमृत काठमाडौँबाहिर पनि गएका छन्। दुई पटक ओखलढुंगा र त्यति नै पटक पोखरा जाँदा लामो दूरीमा समेत सहज भएको उनको भनाइ छ। “खासै समस्या भएन। तर लामो दूरीमा चार्जिङ कहाँ गर्ने भनेर विचार गरेर हिँड्नुपर्ने रहेछ। चार्जिङ स्टेशनहरू अझ धेरै बन्नुपर्छ। काठमाडौँमै पनि अपुग छ,” उनी भन्छन्।

ईभी आयात गर्ने व्यवसायीले त्यसको अनुपातमा निश्चित संख्यामा चार्जिङ स्टेशनहरू पनि बनाउनुपर्ने व्यवस्था लागू गर्नुपर्ने अर्का चालक प्रकाश श्रेष्ठ बताउँछन्। कम्पनीले गाडी दिँदा चालकलाई यसका विशेषताबारे पनि स्पष्ट बताउनुपर्ने उनको भनाइ छ। पेट्रोलियम इन्धनका गाडी चलाउन अभ्यस्त रहेका चालकहरूका लागि ब्रेकमा सन्तुलन बनाउने र गति एकनास राख्ने समस्या देखिएको उनी बताउँछन्। “लामो दूरीमा छिटो कुद्नु पर्ने हुन्छ। अनुभवी चालक छैन भने ब्रेक फाल्ने समस्या देखिन्छ, खास गरी कच्ची बाटोमा यो समस्या आउँछ,” श्रेष्ठ भन्छन्।

चाबहिल पहेँलो पुल नजिक रहेको फास्ट चार्ज चार्जिङ स्टेसनका प्रबन्धक पीयूष गुरुङ काठमाडौँभित्र सार्वजनिक सवारीको रूपमा प्रयोग हुने ईभीको संख्या बढ्दै गएको बताउँछन्। त्यहाँ सार्वजनिक यातायातका रूपमा प्रयोग हुने माइक्रोबसका लागि चार वटा र निजी कार, जीप वा भ्यानका लागि एउटा चार्जिङ पोइन्ट छ। दैनिक ३० देखि ४० वटा ईभीले सेवा लिइरहेको उनले जानकारी दिए।

सार्वजनिक यातायातका लागि मात्र नभई निजी स्कुलले र विभिन्न संस्थाले आफ्ना कर्मचारीलाई सामूहिक आवागमन गराउन पनि ईभीको प्रयोग गरिरहेका छन्। प्रबन्धक गुरुङ भन्छन्, “ईभीका लागि चाहिने सर्भिसको लागि हब बनाउने गरी यो सेन्टर (चार्जिङ स्टेसन) शुरू भयो, अहिले आकलनअनुसार नै बिजनेस आइरहेको छ।”

शहरभित्र चल्ने छोटो गन्तव्यका सार्वजनिक यातायात मात्र नभई मध्यमका लागि पनि ईभीको प्रयोग हुन थालेको छ। रामेछापको मन्थली घर भएका चालक शैलेश लिम्बू केही दिनअगाडि मात्र डिजेल गाडीबाट बिदा भएर १४ सिट क्षमताको विद्युतीय माइक्रोबस चलाउन शुरू गरेका छन्। एक पटक पूरा चार्ज गरेपछि काठमाडौँको चाबहिलबाट मन्थली पुगिने उनी बताउँछन्।

काठमाडौँ–मन्थली करिब १३० किलोमिटर छ। यो दूरी धेरै लामो नभएर मध्यम भएका कारण पनि बाटोमा चार्ज गर्नुपर्ने झन्झट नभएको उनी बताउँछन्। मन्थलीमा भने उनले घरैमा चार्ज गर्ने गरेका छन्। “मलाई गाडी चार्ज गर्ने समस्या छैन। ब्याट्री फुल गरेर चाबहिलबाट जान्छु, घरमा पुगेपछि राति चार्जमा राख्छु,” लिम्बू भन्छन्।

अहिले रामेछापसहित दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, चितवन, मकवानपुरलगायत मधेश प्रदेश जाने सार्वजनिक यातायातमा पनि ईभी प्रयोग भइरहेका छन्।

आयातमा उल्लेखनीय वृद्धि
भन्सार विभागको तथ्यांक अनुसार अघिल्ला दुई आर्थिक वर्षको तुलना गर्दा ईभीको आयात ६४७.५ प्रतिशतले बढेको थियो। आव २०७८÷७९ मा एक हजार ८०७ वटा ईभी भित्रिएका थिए भने आव २०८०÷८१ मा यो संख्या ११ हजार ७०१ वटा पुगेका थिए।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका कार्यकारी सदस्य अनुप बराल सार्वजनिक यातायातका रूपमा विद्युतीय भ्यानहरूको प्रयोग बढ्दै जाँदा आयात पनि बढेको बताउँछन्। उनका अनुसार राष्ट्र बैंकको ऋणसम्बन्धी खुकुलो नीतिका कारण बैंकहरू पनि ईभीमैत्री भएको हुनाले बजार बढेको हो। मूल्यको २० प्रतिशत नगद लगानी गरेपछि बैंकले ८० प्रतिशतसम्म ऋण उपलब्ध गराइउने उनले जानकारी दिए।

यस वर्ष आयात भएका ११ हजार ७०१ ईभीमध्ये सार्वजनिक यातायातमा समेत सञ्चालन हुने गाडी पनि छन्। ५१ देखि १०० किलोवाटसम्म ब्याट्री क्षमताका ईभीको संख्या पाँच हजार ८८५ वटा छन्। १०१ देखि २०० किलोवाटसम्मका २१७ वटा, २०१ देखि ३०० किलोवाटसम्मका २७ वटा र ३०० किलोवाटभन्दा बढी क्षमताको एउटा ईभी आयात भएको छ।

आयात भएकामध्ये व्यक्तिगत सवारीका रूपमा बढी प्रयोगमा रहेका ५० किलोवाटसम्म क्षमताका ईभी चार हजार ५७१ वटा अर्थात् ३९ प्रतिशत छन्। अधिक क्षमताका ईभी निजी प्रयोजनमा पनि प्रयोग हुन्छ। तर धेरैजसो सार्वजनिक यातायात, स्कुल र विभिन्न संघसंस्थाका लागि आयात हुने गरेको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्का बताउँछन्।

ईभीप्रति जागरुकता बढ्दै गरेको विद्युतीय सवारीका विज्ञ विशाल सिलवाल बताउँछन्। “राजस्व घटेको कुरा आइरहेको छ, त्यो आफ्नो ठाउँमा छ तर ईभी प्रयोगबाट पेट्रोलियम इन्धनको आयात घटेको कुराले पनि महत्त्व राख्छ,” सिलवाल भन्छन्, “ईभी प्रयोगपछिको वातावरणीय सुधारले मानिसहरूको स्वास्थ्यमा पर्ने राम्रो प्रभावलाई समेत हेर्ने हो भने ईभी राम्रो देखिन्छ।”

ईभीको प्रविधिमा विद्यावारिधि गरेका इन्जिनियर सिलवाल नेपालमा चार्जिङ स्टेशनहरूको संख्या तीन वर्ष यता निकै बढेको बताउँछन्। ईभीको संख्याको आधारमा पूर्वाधारहरू बनेपछि अझ सहज हुने उनको भनाइ छ।

नेपालमा अटोमोबाइल बजारको करिब ७० प्रतिशत ईभीले लिइसकेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष ध्रुव थापा बताउँछन्। उनका अनुसार ईभीको बजार विश्वभरि बढिरहेको छ। तर नेपालमा भने समग्र एशियामै उच्च रहेको उनको भनाइ छ।

ईभीमा प्रयोग हुने ब्याट्रीका लागि निरन्तर भइरहेको ‘इनोभेसन’ (अन्वेषण)का कारण यसको बजार दिगो हुने अध्यक्ष थापाको दाबी छ। ८० प्रतिशत ब्याट्री चार्ज हुने र एक पटक चार्ज भएपछि हजार किलोमिटरभन्दा बढी गुड्ने क्षमताका गाडी निकट भविष्यमै आइपुग्ने उनको आकलन छ। पछिल्लो तीन आर्थिक वर्षदेखि ईभी आयातमा सरकारले लगातार भन्सार महसुलमा सहुलियत दिएपछि नेपालमा ईभीको संख्या बढेको अटोमोबाइल व्यवसायीहरू बताउँछन्।

साझा यातायतसँग ४० वटा विद्युतीय बस
साझा यातायातले काठमाडौं उपत्यकाका आन्तरिक गन्तव्यलाई जोड्न नौ मिटर लम्बाइका ४० वटा विद्युतीय बस सञ्चालन गरिरहेको छ। शहरी सार्वजनिक यातायातमा ईभीको प्रयोग बढ्यो भने विद्युतीय सवारीलाई दिइने आयातमा भन्सार सहुलियत र बैंकहरूबाट उपलब्ध भइरहेको ऋण सुविधा सार्थक हुने साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित बताउँछन्।

दीक्षितका अनुसार मुलुकको अर्थतन्त्रलाई उँभो लगाउन सार्वजनिक यातायातको विद्युतीकरण जरूरी छ। सार्वजनिक बस दिनभरि चल्छन् र ‘सरप्लस’ (उपयोगभन्दा बढी) बिजुली उत्पादन भएको रातको बेलाको ऊर्जा खेर जानबाट बच्छ। उनी भन्छन्, “राष्ट्रिय संकल्प र अभियानको रूपमा सार्वजनिक यातायात ब्याट्री–सञ्चालित हुने हो भने एकातर्फ इन्धन आयात र अर्कोतर्फ वायु प्रदूषण ह्वात्तै घट्नेछ।”

अन्य कतिपय देशमा इभीहरू कोइलाभट्टीद्वारा उत्पादित विद्युतबाट सञ्चालन हुँदा वास्तवमा ती गाडी कोइलाबाट चलिरहेको भन्दै दीक्षितले नेपालको विद्युत् स्वच्छ ऊर्जा भएको बताए। सार्वजनिक यातायातलाई विद्युतीकरण गर्न सफल भए जनजीविकामा पनि कायापलट हुने उनको भनाइ छ।
साझा यातायातले अहिले कुल १११ वटा बस सञ्चालन गर्छ। यसमा ४० वटा विद्युतीय र ७१ वटा पेट्रोलियम इन्धनबाट चल्ने बस छन्। यस संस्थाले थप ६० वटा १२ मिटरका विद्युतीय बसहरू थप्ने योजना बनाएको दीक्षितले जानकारी दिए।


सम्बन्धित सामग्री