काठमाडौँ– “टीकाभैरव राजकुलोमा चैत र वैशाखमा १६० लिटर प्रतिसेकेन्ड पानी बग्ने गर्छ। सप्तपाताल पोखरीका लागि १ लिटर प्रतिसेकेन्ड बग्ने पानी भए पुग्छ, हामीलाई चाहिएको पनि त्यति नै हो।”
गत बिहीबार ललितपुर महानगरपालिकाको बैठक हलमा इको कन्सर्नका ‘स्ट्रक्चरल’ इन्जिनियर प्रबिन वज्राचार्यले लामो कार्यपत्रबाट माथिको जानकारी ‘हाइलाइट’ गरे। करिब ३० मिनेटको प्रस्तुतिमा उनले महत्त्व दिएको अर्को विषय थियो– टीकाभैरवदेखि सप्तपाताल पोखरीसम्म पानी ल्याउन तीन चरणमा गर्नेुपर्ने काम र बजेट।
पहिलो चरणमा नल्लुदेखि लेलेसम्म पानी ल्याउन दुई करोड १२ लाख रुपैयाँ, दोस्रोमा लेले (मुहान) देखि बांगेधारासम्म ल्याउन करिब तीन करोड र अन्तिम चरणमा बांगेधारादेखि चिबहालसम्म ल्याउन एक करोड ३० लाख खर्च हुने वज्राचार्यको कार्ययोजनामा उल्लेख छ। बांगेधाराबाट ललितपुर महानगरको सीमाक्षेत्र शुरू हुन्छ।
टीकाभैरव राजकुलोका लागि पानीको बहाव र बजेटको तथ्यांकमा ललितपुर महानगर र गोदावरी नगरपालिका दुवैको बराबर चासोको विषय हो। लगनखेल क्षेत्रमा पर्ने सप्तपाताल र पलेस्वाँ (कमल) पोखरी भर्न ललितपुर महानगरको लागि यो राजकुलो महत्त्वपूर्ण छ। तर राजकुलोको मुहान र अधिकांश भाग गोदावरी नगरपालिकामा पर्छ। त्यही कारण दुवै पालिका राजकुलोमा पहिलेजसरी पानी बगाउन प्रयासरत छन्।
तर राजकुलो पुनर्निर्माण प्रक्रियामा दुवै पालिकाको मतान्तर छ। गोदावरी नगरपालिका पहिला राजकुलोको मुहानबाट काम थाल्नुपर्ने पक्षमा छ। कुलाको मुहान गोदावरीमा पर्छ। तर ललितपुर महानगरले लगनखेलमा पर्ने सप्तपाताल पोखरी व्युँताउने काम थालिसकेको छ। यद्यपि सप्तपातालबाट गोदावरी (चापागाउँ) तर्फको काम कहाँबाट शुरू गर्ने निर्क्योल नहुँदा रोकिएको छ।
हाल राजकुलोमा पानीभन्दा बढी ढल बग्ने गर्छ। मुहानतर्फको क्रसर उद्योग, डेरीदेखि मानब बस्तीबाट छाडिने ढलको फोहोरले गर्दा राजकुलोको पानीमा एमोनिया लगायतका जलप्राणीका लागि हानीकारक तत्व बढीमात्रामा भेटिएको इन्जिनियर वज्राचार्य बताउँछन्।
“तपाईंले कति पानी बगेको देख्नुभयो तर त्यो पानी मुहानबाटै आएको नहुनसक्छ,” कार्यक्रममा गरिएको प्रस्तुतीपछि प्रतिक्रिया जनाउँदै वडा नं ११ का अध्यक्ष नीलबहादुर देशारले भने, “पानी कतैबाट बगेर आएको वा ढल मिसिएको पनि हुनसक्छ। सोही कारण सप्तपातालमा पानी लैजान पुच्छर होइन, शिर (मुहान) देखि काम गर्दै आउनुपर्छ।”
टीकाभैरवदेखि सप्तपाताल
टीकाभैरव राजकुलो गोदावरी नगरपालिका वडा नं ६ (लेले–चारघरे), १० (प्याङगाउँ), ११ (चापागाउँ), १२ (थेचो) हुँदै बग्छ। ललितपुर महानगरतर्फ वडा नं २६ (सुनाकोठी) र २७ (धापाखेल, चापागाउँ चारदोबाटो) वडा नं. ५ (लगनखेल) सम्म पर्छ। टीकाभैरवदेखि सप्तपाताल पोखरीसम्म करिब २२ किलोमिटर लामो राजकुलो लिच्छविकालमै बनेको पद्मसुन्दर जोशीले आफ्नो पुस्तक ‘हिति प्रणाली’मा उल्लेख गरेका छन्।
हिति प्रणालीको प्रादुर्भाव किराँतकालीन समयबाट भएको छनक सुनाकोठीस्थित भृगेश्वर महादेव मन्दिरमा रहेको अभिलेखबाट पाइने उनले लेखेका छन्। तर लिच्छिवि शासनमा हिति प्रणाली विकास र विस्तार भएको तथा मल्लकालीन समयमा व्यापकता पाएको हो।
काठमाडौँ उपत्यकामा बुढानीलकण्ठ प्रणाली, बागेश्वरी प्रणाली तथा टीकाभैरव प्रणाली जस्ता ठूला हिति प्रणाली धेरै छन्। उपत्यकामा जम्मा ५७३ वटा हिति प्रणाली छन्। पुस्तकमा जोशी लेख्छन्, “लेले र नल्दु खोलामा बाँध बाँधी ल्याएको पानीलाई देधः अर्थात् राजकुलोमार्फत वादे (चापागाउँ), थेच्व, सुनागुथि, ध्वांला हिति, नखिपोत, थसिखेल, महालक्ष्मीस्थान हुँदै लगनखेल पुर्याई लगनखेलका पोखरी भर्ने गरिन्छ।”
तर २२ किलोमिटरको टीकाभैरव राजकुलो अहिले कतै पानी बगिरहेको अवस्थामा यथावत् छ भने कतै जीर्ण छ। कतै त राजकुलो नै मासिएका छ। लेले इन्टेक (मुहान) देखि टीकाभैरव चारघरे क्षेत्र करिब १.८ किलोमिटर दूरीमा खास बस्ती नहुँदा राजकुलोमा खासै क्षति भएको छैन। तर पहिरोलगायत प्राकृतिक कारणले निर्बाधरूपमा पानी बग्न सकेको छैन। राजकुलो भत्किएका स्थानमा कतै पाइप राखिएको छ।
इको कन्सर्नले गरिरहेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी अध्ययनमा यस क्षेत्रलाई ‘नो ह्याबिटाट जोन’ अर्थात् मानवबस्तीरहित क्षेत्र भनेको छ। मुहान (इन्टेक) क्षेत्रमा ६–७ घरको सानो बस्ती भएको अध्ययन टोलीका सुपरभाइजर समेत रहेका इन्जिनियर वज्राचार्य बताउँछन्।
उनका अनुसार बस्ती शुरू भएका शहरबाहिरका क्षेत्र र घना शहरी बस्ती भएको क्षेत्रबाट राजकुलो अतिक्रमण शुरू हुन्छ। लेलेदेखि चिबहालसम्म इन्टेक क्षेत्रमा फोहोरका थुप्राहरू छन्। २.७ किलोमिटरको शहरको बाहिरी क्षेत्रमा जग्गा प्लटिङ र बस्ती विकासका कारण राजकुलोमा प्राकृतिकरूपमा पानी बग्न पाएको छैन। मुहानदेखि पाउलीसम्म इँटका पर्खालसहितको मौलिक स्वरूपमा देखिएको राजकुलो मानवबस्ती पसेसँगै कतै ह्युमपाइप, कतै डाइभर्सन पर्खाल र कतै पाइपमा बग्छ। कतै स्ल्याबले छोपिएको छ।
चापागाउँ, पाउलीबाट घना शहरी बस्ती शुरू भएपछि थेचोबाहेक अन्य क्षेत्रमा राजकुलो खुलारूपमा बगेको बिरलै देखिन्छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानीको पाइप बिछ्याउन सडक खन्दा ह्युमपाइपले प्रतिस्थापन गरिएका राजकुलोका डोबहरू देखिएको छ। विभिन्न स्थानमा राजकुलोमाथि घर र सडक बनेका छन्। राजकुलोको प्राकृतिक सौन्दर्य हराएको वज्राचार्य बताउँछन्।
ललितपुर महानगरको सीमा शुरू हुने धापाखेलबाट राजकुलो हराएको छ। चक्रपथ क्षेत्रमा पनि सडक विस्तारसँगै राजकुलो हराएको छ। ललितपुर महानगरले यो राजकुलो चापागाउँ दोबाटो नभई महालक्ष्मीस्थानबाट घुमेर सैनिक क्याम्प हुँदै सप्तपाताल पुर्याउने योजना बनाएको छ।
टीकाभैरव राजकुलो चापागाउँ, थेचो र सुनाकोठीका पोखरीमा आउने पानीको स्रोत पनि हो। गोदावरी–११ का वडाध्यक्ष नीरबहादुर देशार आफ्नो वडाका ११ वटा पोखरीमध्ये नौ वटा यही कुलोको पानीमा निर्भर रहेको बताउँछन्।
गोदावरी–१२ का वडाध्यक्ष जगतबहादुर महर्जनका अनुसार थेचोमा पोखरी भरेपछि मात्र निकाल्न पाइने जात्रा पनि प्रचलनमा छ। त्यसकारण राजकुलोको सामाजिक तथा सांस्कृतिक महत्त्व भएको उनी बताउँछन्।
भर्खरै सम्पन्न रातो मत्स्येन्द्रनाथको जात्रा सम्पन्न भएको खबर पाताललोकमा पुर्याउने विश्वासका साथ सप्तपाताल पोखरीमा एक जोडी माछा छाड्ने चलन छ। तर पोखरीको अस्तित्व मेटिँदा वर्षौंदेखि सानो खाल्डो खनेर माछा छाड्ने गरिएको छ।
टीकाभैरव कि सप्तपाताल?
राजकुलो पुनर्निर्माणअघि ललितपुर महानगरले सप्तपाताल पोखरी खन्न थालेको छ। २०३४ सालमा नमूना मच्छिन्द्र व्यावसायिक माध्यमिक विद्यालयले अतिक्रमण गरेको उक्त पोखरीको जग्गा २०औँ वर्ष मुद्दा लडेर फिर्ता गरिएको थियो। पोखरीलाई पुरानै स्वरूपमा ब्युँताउने योजनासहित आर्थिक वर्ष २०७७/७८ बाट काम शुरू गरिएको ललितपुर महानगरको पूर्वाधार निर्माण महाशाखा प्रमुख प्रदीप पौडेलले जानकारी दिए।
कुनै समय सप्तपाताल पोखरी टीकाभैरव राजकुलोबाट बग्ने पानीले भरिने गर्थ्यो। परम्परागत पानी प्रणालीलाई जीवन्त राख्ने उद्देश्यले टीकाभैरव राजकुलोदेखि सप्तपाताल पोखरीसम्म पानी ल्याउने योजनाअनुरूप काम भइरहेको महानगरले जनाएको छ।
कुल आठ करोड लगानी चाहिने पोखरी निर्माण योजना २०८३ सम्मका पूरा गर्ने महापालिकाको लक्ष्य छ। चालु आर्थिक वर्षमा चिबहालदेखि सप्तपातालसम्मको काम भने पूर्ण गरिछाड्ने पूर्वाधार निर्माण महाशाखा प्रमुख पौडेलले बताए।
गोदावरी नगरपालिकातर्फ राजकुलोको काम शुरू भएको छैन। तर राजकुलो बग्ने वडाका अध्यक्षहरू मुहानबाट काम हुनुपर्ने बताउँछन्। गोदावरी–१२ का वडाध्यक्ष महर्जन भन्छन्, “हामी उहाँहरूलाई पानी दिन तयार छौँ। यसमा गोदावरी नगरपालिका र वडाध्यक्षहरू बाधक छैनन्, तर उहाँहरू (ललितपुर महानगरवासी) मुहान नभई पोखरीबाट काम शुरू गर्दै हुनुहुन्छ। त्यसो गर्नु उचित होइन।”
अन्तरपालिका तहको कार्यक्रम भएका कारण योजनाको सञ्चालन र व्यवस्थापनको लागि पुनः बैठक बस्नुपर्ने पूर्वाधार निर्माण महाशाखा प्रमुख पौडेल बताउँछन्। “दुवै पालिका मिलेर चालु आर्थिक वर्षमै योजना कार्यान्वयन गर्नु पर्नेछ। समन्वय हुन सकेमा हामी नै काम शुरू गर्छौं। नत्र विनियोजन भएको बजेट उहाँहरूलाई हस्तान्तरण गरी समानान्तर रूपमा काम हुनेछ,” उनले भने।
गोदावरी–१० का वडाध्यक्ष शेखर न्यौपाने ललितपुर महानगरले राजकुलो नभनी ‘पानी लैजाने’ मात्र भनेको कारण चापागाउँलगायत क्षेत्रमा ‘किन कुलो खुला राख्नुपर्यो’ भन्ने प्रश्न उठेको बताउँछन्। आफूहरू पुरानो राजकुलोलाई जस्ताको तस्तै बनाउने पक्षमा रहेको उनको भनाइ छ।
शहरी विकास विशेषज्ञ तथा हिति प्रणाली पुस्तकका लेखक पद्मसुन्दर जोशी अन्तरनगरपालिका तहको काममा समय लाग्ने हुँदा ललितपुर महानगर र गोदावरी नगरपालिकाले आ–आफ्नो क्षेत्रबाट काम शुरू गर्नुलाई अन्यथा मान्न नहुने बताउँछन्।
राजकुलोमा पर्ने तलको भाग विशेषतः चिबहाल क्षेत्रबाट शहरी बस्ती अझ घना भएको कारण राजकुलोलाई खुला छाड्नु उपयुक्त नहुने र पुनर्निर्माण गर्न पनि कठिन हुने ललितपुर महानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख पौडेल बताउँछन्। “घना बस्तीका भवनहरू भत्काएर जग्गा प्राप्ति गर्न ग्राहो हुने देखियो,” उनले भने, “प्राविधिककै सल्लाहमा ललितपुरको सिमानाबाट पाइप लगाएर ल्याउन लागिएको हो।”
पौडेलका अनुसार टीकाभैरवको राजकुलोमा बग्दै आउने पानीलाई शुद्ध पार्न ‘ट्रिटमेन्ट’ गर्नु पर्नेछ। बढी जनघनत्व भएको क्षेत्रमा खुला राख्दा पानीमा पुनः प्रदूषण हुने सम्भावनालाई पनि उनले औँल्याए।
टीकाभैरवका स्थानीय गंगाराम श्रेष्ठ (५०) सयौँ वर्षदेखि चलिआएको राजकुलो रोकिन नहुने बताउँछन्। महानगरले चिबहालबाट ६ इन्चको पाइपमा राखेर सांकेतिक राजकुलो लैजाने तयारी गरेको भन्दै उनले असन्तुष्टी पोखे।
टीकाभैरवस्थित भगवती टोलका ठाँउ–ठाउँमा गुम्बज शैलीमा बनेको पुरानो राजकुलोका अवशेष भेटिन्छन्। ती अवशेष राजकुलोको बीचबीचमा बन्ने गरेको पञ्चायतकालीन वडाध्यक्षसमेत रहेका स्थानीय यज्ञबहादुर नगरकोटी (७४) बताउँछन्। उनका अनुसार तत्कालीन समयमा ६ फुट चौडाइको राजकुलो खुला र निर्बाध थियो।
“खोलानालाको भर हुन्न, भल आएर कसैलाई बगायो भने पाइपमा कसरी खोज्न जाने। पोखरीसम्मै खुला बनाएर लैजानुपर्छ,” नगरकोटी भन्छन्, “पहिले थेचोका किसानहरू असारे रोपाइँका लागि वर्षमा एक पटक राजकुलो सरसफाइ गर्न आउँथे। अनि पाटनको औद्योगिक क्षेत्रबाट पाटनको सबै धारामा पानी पुग्थ्यो। अहिले त राजकुलो बनाउने हल्लाखल्ली मात्र सुनेको हो।”
राजकुलोको अवस्थाः पाइपैपाइप
इन्जिनियर नरोत्तम श्रेष्ठले तीन वर्षअघि सिँचाइ विभागका लागि टीकाभैरव राजकुलोको अध्ययन गरेका थिए। त्यसबेला राजकुलो खोज्नै कठिन भएको श्रेष्ठ बताउँछन्। “पानी बग्नुपर्ने राजकुलो ढल हो कि खोला छुट्याउनै गाह्रो भएको थियो,” उनी भन्छन्, “ढोलाहिटीमा त राजकुलोमाथि नै स्कुल बनेको छ।”
बस्तीमा राजकुलो घर अगाडिबाटै बगेको छ। कतिपय ठाउँमा स्ल्याब राखिएको छ जुन थेचो क्षेत्रमा बढी देखिने उनी बताउँछन्। चापागाउँमा राजकुलो घरघरका आँगन बनेका छन्। पाउली गणेशदेखि चापागाउँको बैंक चोकसम्म ह्युमपाइप बिछ्याइएको छ। ललितपुर महानगरको सिमानामा पर्ने सुनाकोठीमा पनि राजकुलोमा ह्युमपाइप हालिएको छ।
“छिमेकी वडा (सुनाकोठी) मा ह्युमपाइप राख्न मिल्ने, थेचोमा चैँ खुल्ला गर्नुपर्ने किन भन्दै स्थानीय आउनुहुन्छ,” गोदावरी–१२ का वडाध्यक्ष जगतबहादुर महर्जन भन्छन्, “थेचोको सिमानामा सडक छेउमा राखिएको स्ल्याबबाहेक अन्यत्र राजकुलो खुल्लै छाडेका छौँ।”
एक दशकयता राजकुलो बचाउ अभियानमा लागिरहेका सन्त महर्जन राजकुलो विनाश गर्नतर्फ उद्यत स्थानीयबारे भन्छन्, “राजकुलो छोपियो भने आफ्नो घर, जग्गाअघि बाटो देखिन्छ र जग्गाको भाउ बढ्छ भन्ने लोभ कतिपयमा देखिन्छ।”
यसमा पालिका आफै पनि मुकदर्शक भएर बसेको उनको आरोप छ। स्थानीय तहले तलब दिएर राखेका धपाः (परम्परादेखि राजकुलो सरसफाइका लागि तोकिएको वंशज समूह) को कामकर्तव्यमा समेत उनले प्रश्न उठाए, “उहाँहरू लाजले राजकुलो बचाउनुपर्छ भन्नुहुन्छ, तर यथार्थमा यसलाई छोप्दै गाडी गुडाउने प्रयास भइरहेको छ। नत्र राजकुलोको दायाँबायाँ ४ मिटर छोड्नुपर्ने पालिकाको नीति खै त लागू गरेको?”
टीकाभैरव–१ राजकुलो उपभोक्ता समितिका सदस्य धर्मेन्द्र महर्जन स्थानीयको पहलमा कोरोना महामारीकालमा राजकुलो सरसफाइ गरी ब्युँताउने काम गरेको सम्झन्छन्। करिब ५०० स्थानीयको सहभागितामा चारघरेदेखि बांगेधारासम्म दुई हप्ता चलेको सरसफाइपछि राजकुलोमा पानी बग्न थालेको उनले बताए।
महर्जन राजकुलोको मुहानमा भूक्षयबाहेक अन्य समस्या देख्दैनन्। घना जंगलक्षेत्र रहेको चारघरे हुँदै पाउली आउँदा डिलहरू भत्किने, लेदोले पुर्ने गरेको छ। बस्तीतर्फ राजकुलोमा ढल पनि मिसाइएको छ। चापागाउँ र प्याङगाउँको बीचमा बनेको बसपार्क प्रमुख समस्या भएको महर्जन बताउँछन्। “बसर्पाकबाट आउने पानी राजकुलोबाट जानुपर्ने हो, पानीले बाटो नभेटेपछि कुलोमा नअटाएर बाढीको रूप लिएको छ,” उनी भन्छन्।
यसमा दुई पाालिकाको तालमेल नमिलेको देख्दा उनी चिन्तित छन्। जंगल क्षेत्रमा राजकुलो बिग्रिएका स्थानमा महानगरले ह्युमपाइप वा अन्य पाइप राखेको वा सिल गरेको पाइएकाले त्यसो गर्नु गलत भएको उनको बुझाइ छ। त्यसबाट चराचुरूंगी र जनावरले राजकुलोको पानी प्रयोग गर्न नपाएको उनी बताउँछन्।
महानगरपालिकालाई सल्लाह दिँदै आएका विज्ञ पद्मसुन्दर जोशी अबको लागि नयाँ नीति आवश्यक रहेको बताउँछन्। “शहरी क्षेत्र बढ्दै जाँदा कतिबेला को कहाँ आएर बस्छन् थाहा हुँदैन। नबस भन्न मिल्दैन। बस्ती विकास हुने क्रममा राजकुलोको नीतिनियम अवगत गराउनु अत्यन्त जरूरी छ,” उनी भन्छन्। बग्ने क्रममा राजकुलोमा मिसिँदै जाने पानी फिल्टरका लागि केयूकेएलसँग समन्वय गर्नुपर्ने पनि जोशी बताउँछन्।
इको कन्सर्नसँगको छलफलमा महानगर उपप्रमुख मञ्जली शाक्य वज्राचार्य संघीय तथा प्रदेश सरकारसँग नबाझिने गरी ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताउँछिन्। बजेटभन्दा पनि नियमकानूनको मापदण्ड आवश्यक रहेको उनको भनाइ छ।
नगरप्रमुख चिरीबाबु महर्जन जति नै बाधा आए पनि अन्तरपालिका सहयोग र सहकार्य गर्नुपर्ने बताउँछन्। यो राजकुलो राजधानी (काठमाडौँ उपत्यका) को ‘प्राइड प्रोजेक्ट’ भएको हुँदा पैसाको अभाव नहुने उनले बताए।
जब सिँचाइभन्दा सडक आवश्यक भयो
ऐतिहासिक तथा प्राचीन बस्ती भएकोे थेचो मालिगाँ टोलका सन्त महर्जनका अनुसार पहिले कृषि विकास केन्द्र खुमलटारमा पनि यही राजकुलोको पानी पुग्थ्यो। बस्ती विकाससँगै ठूला–ठूला अपार्टमेन्ट र व्यावसायिक तथा आवासीय भवनहरू बनेपछि कृषि र सिँचाइयोग्य जमिन मासिए।
सुनकोठीकी स्थानीय आर्किटेक्ट इन्जिनियर सबिना तण्डुकार सरकारको जग्गासम्बन्धी नीतिलाई यो समस्याको दोषी मान्छिन्। बैंकले बाटो छेउको महँगो जग्गा धितो नराखी ऋण पत्याउँदैन। “बर्सेनि वैदेशिक शिक्षा र रोजगारीमा जानुपर्ने बाध्यतामा मानिसहरू धकेलिइरहेका छन्,” उनी भन्छिन्, “त्यसैको प्रभावले अब हाम्रो महानगरपालिकामा कृषियोग्य जमिनै बाँकी छैन।”
यद्यपि चापागाउँको बजारदेखि लगनखेलसम्मकै पश्चिमी क्षेत्र तथा धापाखेलतर्फ अझै कृषिक्षेत्र भएको सिँचाइ विभागका पूर्व महानिर्देशक ऋषभ रिजाल बताउँछन्। उपत्यकाभित्र त्यति ठूलो कृषि क्षेत्र अन्यत्र नभएको उनको दाबी छ। “राजकुलो मासियो, राजकुलोमाथि बाटो बन्यो, त्यसरी अतिक्रमण भएको छ,” उनी भन्छन्, “दक्षिण ललितपुर कृषिक्षेत्र थियो। शहरीकरणको क्रमसँगै राजकुलो मासिने र मिचिने स्थितिमा पुग्यो।”
जनतालाई सिँचाइभन्दा ठूला आवश्यकता सडकको हुँदा राजकुलो मासिएको रिजाल बताउँछन्। सिँचाइ वा सप्तपातालमा पानी भर्ने दुवै प्रयोजनका लागि राजकुलो आवश्यक हुने उनको भनाइ छ। “यो प्रणालीमा धेरै साझा क्षेत्र पनि छन्। यसलाई सुधार गर्न सके सिँचाइ र पानीको समस्या ललितपुरमा धेरै कम हुन्छ,” उनी भन्छन्। राजकुलोका लागि सिँचाइ विभागबाट वार्षिक रूपमा बजेट छुट्टयाएको उनी बताउँछन्।
ललितपुर महानगरपालिकाबाट प्राप्त राजकुलोको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा उल्लेख भएअनुसार २०१८ साल पुसमा पहिलो पटक भारत सरकारले यसको स्तरोन्नति गरेको थियो। २०६० सालमा नेपालभाषा सहयोग संस्थाले राजकुलोको ठाउँठाउँमा जीर्णेद्धार गरेको उपभोक्ता समितिका सदस्य धर्मेन्द्र महर्जन बताउँछन्।
त्यस्तै, २०६२ भदौमा भारत सरकारकै सहयोगमा राजकुलोको मर्मतसम्भार भएको थियो। त्यसबेला लेले मुहानको बाँध बाँधेर पक्की मुहान बनाइएको थियो। २०७२ को भूकम्पपछि राजकुलोमा ह्युमपाइप राखिएको उपभोक्ता समितिका सदस्य महर्जनले बताए।
इन्जिनियर नरोत्तम श्रेष्ठ राजकुलोको कानूनी हक सडकको भन्दा बलियो हुनुपर्ने बताउँछन्। राजकुलो ल्याउनको लागि सडक भत्काउने विषयमा सहमति हुने सडक डिभिजन ललितपुरका प्रमुख मुकुन्द अधिकारीले बताए। चुनिखेल–लगनखेलमा दुई खण्डमा सडक खन्नका लागि पालिकाबाट माग भएको उनले जानकारी दिए।
“गत वैशाखमा भएको छलफलबाट सडक खन्न दिने सहमतितर्फ सडक डिभिजन सकारात्मक छ, तथापि हामीले सडक खन्नेभन्दा पनि अन्य कुनै प्रविधिबाट प्वाल पारेर अथवा पाइप राखेर लैजान सकिने बताएका थियौँ,” उनी भन्छन्, “अन्तिम छलफल बाँकी छ। तापनि हामी नगरपालिकाको प्रस्तावलाई सहयोग गर्ने पक्षमा छौँ।”
राजकुलो विनाशको शृंखला
टीकाभैरवका स्थानीय गंगाराम श्रेष्ठ ७–८ वर्षअघिसम्म पनि थेचोबाट बाजा बजाएर राजकुलो सफा गर्न आउने गरेको समूहलाई सम्झन्छन्। त्यो बेला कृषि र खेतिपातिको आवश्यकता थियो। राजकुलोको पानीले चापागाउँ, थेचो हुँदै सुनाकोठी, धापाखेल र खुमलटारमा सिँचाइका लागि आकाशको पानीमा भर पर्नेुपर्ने अवस्था थिए। यसका कारण पनि वैशाख–जेठमा गुठीहरू मिलेर पानीका लागि राजकुलो सरसफाइ गर्न आउँथे। तर राजकुलो विनाशकाे शृंखला त्यसभन्दा निकै अगाडिदेखि चलेको थियो।
टीकाभैरवदेखि लगनखेलसम्म आउने राजकुलो विनाशको क्रम २०३४ सालमा चक्रपथ निर्माण थालिएसँगै शुरू भएको शहरी विकास विशेषज्ञ पद्मसुन्दर जोशी बताउँछन्। “राजकुलोको बहावलाई चक्रपथ निर्माणले ब्रेक गरिदियो,” उनी भन्छन्, “त्यसपछि राजकुलो माथि (गोदावरी–चापागाउँ) मात्र चल्यो, तल (लगनखेलक्षेत्रमा) चल्न सकेन।”
रिंङरोड निर्माणको क्रममा राजकुलोको बाटो पूर्ण रूपमा मासिएको थियो। बिस्तारै दक्षिणी भागमा पनि बस्ती विकास हुन थालेपछि राजकुलो अतिक्रमण भई बाटोमा परिणत हुन थालेको उनले उकालोसँगको कुराकानीमा बताए। पछिल्लो समय सुनाकोठीको चिबहालसम्म राजकुलो देख्न सकिन्छ।