Saturday, October 05, 2024

-->

मइन्टोलको उज्यालोमा पढाइ शुरू भएर देशकै ठूलो आंगिक क्याम्पस बनेको ‘पीएन’

सानो छाप्रोबाट शुरू भएको पीएन कलेजको संरचना यसको ख्यातीसँगै ७२१ रोपनी क्षेत्रफलमा फैलिएको छ। जम्मा ३० जना विद्यार्थी भर्ना लिएर थालिएको क्याम्पसमा अहिले ११ हजार विद्यार्थी छन्।

मइन्टोलको उज्यालोमा पढाइ शुरू भएर देशकै ठूलो आंगिक क्याम्पस बनेको ‘पीएन’

पोखरा– २०१७ सालमा पोखरामा पीएन (पृथ्वीनारायण) क्याम्पस स्थापना भएपछि पश्चिमाञ्चल भेगकै शैक्षिक क्षेत्रको कायाकल्प हुन पुग्यो। स्थापनाको साढे ६ दशकयता यहाँबाट दीक्षित विद्यार्थी देशकै उच्च ओहोदामा पुगेका छन्।

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये सबैभन्दा धेरै विद्यार्थी अध्यापन गराइरहेको देशकै ठूलो क्याम्पस पनि हो पीएन। यसको स्थापनाताकाको संघर्ष समकालीन पुस्ताका विद्यार्थी र अभिभावकहरूको लागि आफैमा प्रेरणाको पाठ बन्न सक्ने त्यसबेलाका योगदानकर्ताहरू बताउँछन्।

बडाहाकिम निवासमा गरिएको परिकल्पना 
धनीमानी, पैसावाला र व्यापारी उच्च शिक्षा अध्ययनको लागि आफ्ना छोराछोरी काठमाडौँ पठाउँथे। पोखराभन्दा निकै अघि शैक्षिक संस्था विकसित भइसकेको पाल्पा पनि पोखरेलीको लागि उच्च शिक्षा लिने थलो थियो। 

२०११ सालमै तानसेनमा खुलेको त्रिभुवन बहुमुखी क्याम्पसमा पोखरा, पर्वतलगायत पश्चिम भेगका जिल्लाबाट विद्यार्थी पुग्थे। क्याम्पसका सूचना अधिकारी पुष्कर आचार्यका अनुसार कर्णालीको जुम्लादेखि समेत उच्च शिक्षा पढ्नेहरू पाल्पा आइपुग्थे। त्यहीँको पाल्पाको पद्म पब्लिक मावि त २००४ सालमै खुलिसकेको थियो भने मोहन कन्या स्कुल र जनता विद्यालयले प्राथमिकदेखि माध्यमिक तहसम्मको शिक्षा दिइरहेका थिए। 

आसपासका जिल्लाहरूमा विद्यालय खुल्ने क्रम बढेपछि भने पश्चिम भेगमा पाल्पाले पाएको शैक्षिक विरासत बाँडिँदै गएको तानसेन बहुमुखी क्याम्पसका प्रमुख पुष्कर रेग्मी बताउँछन्। 

२०१० देखि २०२० साल बीचको दशकमा पुगनपुग पाँच हजार जनसंख्या रहेको पोखराबाट उच्च शिक्षा पढ्न चाहने विद्यार्थी बाहिर जान बाध्य थिए। त्यसबेला कलेज स्थापनाको लागि बलियो आधारस्तम्भ पनि थिएन। नयाँ ठाउँमा क्याम्पस खोल्न कम्तीमा १० हजार जनसंख्या पुग्नुपर्थ्यो। तर त्यसबेला त्यति धेरै मानिसको पाइनु र उनीहरूलाई शिक्षाको महत्व बुझाउनु दुवै असम्भव रहेको कलेजका पहिलो प्रिन्सिपल जर्ज जोन सम्झिन्छन्। 

जर्ज जोन

२००४ सालदेखि संस्कृत पाठशाला चल्दै आएको कास्कीमा अंग्रेजी विषय पनि समेटेर आधुनिक शिक्षाको शुरूआत भने २००६ सालमा भयो। औपचारिक शिक्षा शुरू भएको एक दशकपछि नै पोखरामा कलेज स्थापना गर्नुपर्ने आवश्यकता टड्कारो बन्दै गयो।

तत्कालीन बडाहाकिम नारायणप्रसाद, राष्ट्रिय पञ्चायतका सदस्य मुक्तिनाथ शर्मा, नगरप्रमुख शिवबहादुर थापा, मल्टिपर्पोज हाइस्कुलका हेडमास्टर श्यामप्रसाद पन्त, शिक्षा अधिकारी राजेश्वर श्रीवास्तवलगायत शिक्षाप्रेमीले नालामुखस्थित बडाहाकिमको निवासमा २०१७ सालतिर कलेज सञ्चालन समिति गठन गरे। कलेज स्थापनाका लागि शिक्षा मन्त्रालयबाट सम्बन्धन पाउन नेपाल सरकारको कोषमा २५ हजार रुपैयाँ जम्मा गर्नुपर्थ्यो। तर समितिले जम्मा १७ हजार रुपैयाँ मात्रै जुटाउन सक्यो। 

“मलाई खबर गर्दा २५ हजार उठिसकेको र पैसाको लागि कुनै समस्या नभएको बताइएको थियो। तर यहाँ आइसकेपछि त्यति मात्रै पैसा उठेको थाहा पाएँ,” क्याम्पसका संस्थापक प्रिन्सिपल जोन सुनाउँछन्। उनका अनुसार गाउँमा सम्पन्न मानिस कोही पनि थिएनन्। अधिकांशले जीविकोपार्जनका लागि खेतिपाति गर्थे, व्यापारीहरूले संघर्ष गरेर व्यवसाय चलाइरहेका थिए। सबैको आर्थिक हैसियत न्यून थियो। 

जसोतसो चाँजोपाजो मिलाएर २०१७ भदौ १७ गतेदेखि बेलुका ६ बजेबाट ९ बजेसम्म तीन घण्टाको कक्षा चलाउने गरी पढाइ शुरू भयो। “राति मइन्टोल (पेट्रोम्याक्स) बालेर त्यसैको उज्यालोमा पढाएर थालनी गरेका थियौँ,” जोन सुनाउँछन्। 

कलेज स्थापना गर्दा राजाको नामबाट नामकरण गर्नेबारे छलफल भयो। त्यसो गर्दा सरकारबाट अनुदान पाइने आकलन सञ्चालक समितिले गरेको थियो। शुरूमा ‘महेन्द्र कलेज’ नाम राख्ने छलफल चले पनि सञ्चालक समितिले ‘पृथ्वीनारायण कलेज’ नै छनोट गर्‍यो।

बाँसको टहरोबाट थालनी
कलेज सञ्चालन गर्ने सबै तयारी पूरा भयो। अंग्रेजी, अर्थशास्त्र र राजनीतिशास्त्र प्रिन्सिपल जर्ज जोनले पढाउने भए। नेपाली विषयका लागि शिक्षक देवीरमण शर्मा नियुक्त भए। नदिपुरस्थित कन्या क्याम्पस (तत्कालीन रत्नराज्य कन्या प्राथमिक विद्यालय) मा रात्रिकालीन कक्षा शुरू भयो। “यहाँ आएर पढाउँछु भन्ने मेरो कुनै सोच थिएन। संयोगवश आएको थिएँ,” जोन पुरानो स्मृति कोट्याउँछन्।

२०१३ सालमा विमान चढेर पहिलो पटक पोखरा उत्रिएका जोनले एयरपोर्टबाट चोरसाँघु तरेर रानीपौवा हुँदै महेन्द्रपुलसम्म पुग्दा खाली चौरबाहेक एउटा घर पनि देखेका थिएनन्। त्यही रित्तो चौर अहिले घरैघरले भरिएर घना शहरमा बदलिएको छ। मइन्टोल बालेर सानो झुप्रोबाट पढाइ शुरू भएको पीएन कलेजको संरचना यसको ख्यातीसँगै ७२१ रोपनी क्षेत्रफलमा फैलिएको छ। स्थापनाकालमा जम्मा ३० जना विद्यार्थी भर्ना लिएर थालिएको क्याम्पसमा अहिले ११ हजार विद्यार्थी अध्ययनरत छन्। 

त्यसबेला प्रत्येक दुई वर्षमा अन्तिम परीक्षा हुन्थ्यो। पहिलो पटक १६ जनाले प्रवीणता प्रमाणपत्र तहको परीक्षा दिएकोमा १३ विद्यार्थी उत्तीर्ण भए। त्यो समयमा नेपाली कांग्रेसको सरकार थियो। गृहमन्त्री सूर्यप्रसाद उपाध्याय पोखरा आउने भए। उनको सत्कारको तयारी चल्दै थियो। कांग्रेसनिकट भ्रातृ संस्थाले राति सांस्कृतिक कार्यक्रम चलाउन कन्या स्कुलमा त्यसको रिहर्शल गर्दै थिए। यता पीएन कलेजको रात्रिकालीन पढाइ चलिरहेको थियो। 

रिहर्शल गर्नेहरूको होहल्ला र चर्को आवाजका कारण कक्षामा पढिरहेका विद्यार्थीहरू रुष्ट बने। ती दुई समूहबीच भनाभन भयो। त्यो घटनापछि विद्यार्थीहरूले छुट्टै पढ्ने ठाउँको माग गरे। संस्थापक प्रिन्सिपल जोनले बताएअनुसार आफू र आफ्ना गुरुहरूको ‘हुर्मत लिएको’ ठाउँमा गएर पढ्न उनीहरू तयार भएनन्। भोलिपल्टदेखि कन्या स्कुलबाट केही तल नारायणथानको पौवामा कक्षा चालु भयो। २०१७ साल मंसिर १७ गते पोखरा आएका गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले कलेजको औपचारिक उद्घाटन गरे।

पौवामा सधैँ पढाउन सक्ने अवस्था थिएन। पुस–माघको चिसो रातमा कक्षा चलाउनु चुनौतीपूर्ण बन्दै थियो। “उनीहरूले होइन, हामीलाई आफ्नै ठाउँ चाहियो भनेर पैसा उठाउनका निम्ति सांस्कृतिक कार्यक्रम आयोजना गरे,” जर्ज जोन भन्छन्, “त्यसबेला अधिकांश स्कुलको पढाइ छाप्रोमा हुन्थ्यो। खरले छाएर चित्रा (बाँसको चोयाले बुनेको छेकबार) ले बेरेको। हामी पनि त्यस्तै सानो छाप्रो बनाऊँ भनेर विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम आयोजना गरे।”

नालामुखमा फिल्मघर बन्दै थियो ‘जयरामजीको सिनेमाघर’। तर हलले स्वीकृति पाएको थिएन। त्यही निर्माणाधीन फिल्म हलमा विद्यार्थीहरूले दुई दिन सांस्कृतिक कार्यक्रम देखाएर विद्यार्थीहरूले १८ सय रुपैयाँ जति उठाएका थिए। 

क्याम्पस भवन बनाउन पोखरामा उपयुक्त स्थानको खोजी भयो। अन्ततः भीमकालीपाटन (बगर) मै क्याम्पसको भवन बनाउने निधो भयो। केआई सिंह पुलदेखि बगर झर्ने ओरालो भागसम्म एउटा पनि घर थिएन। “मैले ३०० रोपनी जग्गा अनि १० लाख रुपैयाँको भवन चाहिन्छ भनेर नक्सा पनि तयार पारेर सञ्चालक समितिमा राखेको थिएँ,” जर्ज जोन सुनाउँछन्। 

कर्मचारीलाई तलब दिन पनि हम्मेहम्मे परिरहेको क्याम्पसले १० लाख रुपैयाँ खर्चेर भवन बनाउन सक्ने अवस्था थिएन। तर सञ्चालक समितिले प्रस्ताव अघि बढाउने आश्वासन दियो। 

विद्यार्थीहरू क्याम्पसको छुट्टै भवन बनाउन जुर्मुराए। बाँस र खर माग्न स्थानीयको घरघरै पुगे। एक महिनामा ३५० घना जति बाँस जम्मा पारेर हेर्दाहेर्दै पढ्न मिल्ने टहरो तयार भयो। २०१९ भदौ १ गते नदिपुरबाट कलेज भीकालीपाटनमा सर्‍यो।

वरिष्ठ कलाकार तथा कार्टुनिष्ट दुर्गा बराल ‘बात्स्यायन’लाई पनि कलेजको टहरो बनाउन सहयोग जुटाउने उद्देश्यले नाटक मञ्चनदेखि विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको सम्झना छ। “त्यसबेला नाटक ‘मुनामदन’ मञ्चन भएको थियो। मदनकी आमा बनेर नाटक खेलेको थिएँ,” उनी भन्छन्। 

‘बात्स्यायन’ पीएन क्याम्पसमा दोस्रो ब्याचका विद्यार्थी हुन्। घरघरै पुगेर बाँस र खरको जुगाड गर्ने काम अघिल्लो ब्याचले गरे पनि आफूहरूले क्याम्पसको प्रशासनिक खर्च जुटाउन नाटक मञ्चन गरेको उनले सुनाए। 

नेपाल राष्ट्र बैँकका पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीलाई पनि क्याम्पस पढ्दाको याद ताजै छ। प्रिन्सिपल जोनले कलेजको निम्ति खर्च जुटाउन पुस–माघमा छुट्टीको बेला प्रदर्शनी गर्ने, स्थानीय उत्पादन प्रवद्र्धन गर्ने गरेको उनी सम्झन्छन्। 

“हाम्रो प्रिन्सिपल असाध्यै कटिबद्ध हुनुहुन्थ्यो। सिनेमा देखाएर एक/एकपैसा, सुका, मोहोर, रुपैयाँका दरले त्यहाँ प्रवेश गर्नेसँग शुल्क उठाउनुभयो। त्यो सबै पैसा क्याम्पसको आम्दानीको रूपमा जम्मा गरेर पनि त्यहाँ कतिपय भवन बनाइएको छ,” उनी भन्छन्। पीएन क्याम्पस कठिन संघर्ष र तपस्याको बलमा अहिलेको अवस्थामा उभिएको उनले बताए।

राजालाई सत्कार गर्ने थलो 
२०१८ सालमा क्याम्पस अनुगमनका लागि त्रिभुवन विश्वविद्यालयको टोली आउने तय भयो। शिक्षा मन्त्रालयबाट स्वीकृति पाइसकेपछि आंगिकता प्रदान गर्न विश्वविद्यालय क्याम्पस कीर्तिपुरका प्रिन्सिपल र रजिस्ट्रार पोखरा आउँदै थिए। पोखरालाई पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गले जोडिसकेको थिएन। भैरहवा हुँदै पाल्पा क्याम्पस निरीक्षण गरेर आउने क्रममा छाप्रैछाप्रोमा क्याम्पस सञ्चालन भएको देखेर उनीहरू चकित परेका थिए। 

“दुई–दुई वटा बेन्च जोडेर उहाँहरूको लागि सुत्ने ठाउँको व्यवस्था गरियो,” क्याम्पस स्थापनाताकाको गर्तमा घोत्लिँदै जोन भन्छन्। निरीक्षणमा आएका विश्वविद्यालयका रजिस्ट्रारले २०१९ देखि विज्ञान र वाणिज्यशास्त्रको अध्यापन शुरू गर्ने अनुमति दिए पनि पछि ती विषय हटाइयो। मानविकी बाहेकका कक्षा बन्द गरिएकाले आईए र बीएका कक्षा मात्र सञ्चालन भयो। 

२०१९ सालदेखि पोखरामा राजाको ‘सवारी’ हुन थाल्यो। त्यस्तो अवसरमा सार्वजनिक समारोह आयोजना गर्ने ठाउँ थिएन। भीमकालीपाटन नै सम्मेलन गर्ने उपयुक्त ठाउँ ठहरियो। राजाले भनिसकेपछि सबै कुरा पूरा हुन्थ्यो। पञ्चायतका मुख्य सरकारी कर्मचारी पनि पोखरा आउनेजाने क्रम बढेको थियो।  

त्यस्तो अनुकुलताका बीच क्याम्पसलाई पहिलो भवन बनाउन सरकारले एक लाख रुपैयाँ विनियोजन गर्‍यो। राजाबाट उद्घाटन गराउन पाए बाँकी निर्माणको लागि आर्थिक अभाव नहुने आकलन गरेर क्याम्पस भवन शिलान्यासका लागि राजाकहाँ प्रस्ताव पुग्यो। तर शिलान्यास चाहिँ मन्त्री विश्वबन्धु थापाले गरे। कलेजको प्रशासनिक भवन २०१९ सालमा शुरू भएर २०२१ सालमा पूरा भयो। २०३० मा नयाँ शिक्षा नीति लागू भएसँगै पृथ्वीनारायण कलेजले क्याम्पसको मान्यता पाएको थियो।

पञ्चायती व्यवस्थाविरुद्ध जुर्मुराएको पीएन 
पूर्व गर्भनर क्षेत्री २०४६ सालको राजनीतिक परिवर्तनमा पोखराका विद्यार्थीहरूको सक्रिय भूमिका रहेको बताउँछन्। त्यसबेला विद्यार्थी नेता लक्ष्मी कार्कीलाई आन्दोलनमा सरिक भएको निहुँमा होस्टेलबाटै पक्राउ गरिएको थियो। पक्राउपछि हातपात हुने अवस्था सिर्जना भयो। “त्यो घटना आगोमा घ्यूँ थपेजस्तै भयो। त्यतिबेला राजाको सवारी पोखरामै थियो। जब लक्ष्मी कार्कीमाथि त्यस्तो घटना भयो, विद्यार्थीहरूले राँको बाल्न थाले। त्यसपछि राजाले पनि खोजीनिति गरे,” क्षेत्री सुनाउँछन्। 

त्यस घटनाबाट पञ्चायतको अन्त्यको दिनगन्ती शुरू भएको उनको दाबी छ। “हाम्रो दायित्व किताब र कक्षाकोठाको पढाइसम्म मात्र होइन। समाजमा भएका कुरीति, अन्याय र अत्याचारको विषयमा पनि बोल्नुपर्छ भन्थ्यौँ। किनभने त्यतिबेला पार्टीहरू प्रतिबन्धित थिए,” उनले भने।

शैक्षिक उपलब्धि हासिल गर्नेबाहेक अन्यायको विरुद्धमा बलियोसँग उभिन सिकाएको पीएन क्याम्पसले पश्चिमाञ्चल क्षेत्रकै शैक्षिक विरासत बोकिरहेको क्षेत्रीको भनाइ छ। २०२२ सालमा पीएन कलेज भर्ना भएका क्षेत्री विद्यार्थी युनियनको नेतृत्वमा समेत थिए। 

शैक्षिक उन्नयनको लागि पछिल्लो समय सुधारका कामहरू धेरै भए पनि अध्यापनमा गम्भीर नदेखिने जागिरे मानसिकताका ‘हेल्मेट टिचर’हरूको कारण गहन सिकाइ हुन नसकेको उनी बताउँछन्। क्याम्पसका पूर्वप्रध्यापक डाक्टर कर्णवीर पौडेल पनि क्षेत्रीको तर्कमा सहमति जनाउँछन्। बिहानी सत्रमा दुई–तीन पिरियड पढाउने शिक्षक ट्युसन पढाउन पनि पुग्ने गरेको उनले सुनाए।

“निजी स्कुलहरूमा प्लस टु कक्षा चल्न थालेपछि क्याम्पसका पूर्णकालीन शिक्षकहरू पनि एउटै सिफ्टमा दुई–तीन वटा कलेजमा पढाउन गएको पाइन्छ,” उनी भन्छन्, “जुन क्याम्पसमा गए पनि एकै टिचरले पढाउने। ट्युसन पढ्न गए पनि उही टिचर भेटिने। उनीहरू कुन शिक्षण संस्थाका टिचर हुन् भनेर पहिचान गर्न गाह्रो हुन थाल्यो। अनि क्याम्पसको शैक्षिक गुणस्तर खस्किँदै गयो।”


सम्बन्धित सामग्री