तस्वीर : नेपाल फोटो लाइब्रेरी
काठमाडौँ– शंखमूल निवासी ७२ वर्षीय राजेन्द्र स्थापित मधुमेह र उच्च रक्तचापबाट पीडित थिए। गत बुधबार साँझसम्म हिँडडुल गरिरहेका उनी राति अचानक अचेत हुन पुगे। श्रीमती दात्रीबाबा उनलाई लिएर आत्तिँदै बिहीबार बिहान तीन बजे वीर अस्पतालको आकस्मिक उपचार कक्षमा पुगिन्। दम्पती मात्र बस्ने घरमा ताला लगाएर छरछिमेकीसँग हारगुहार मागी उनले श्रीमान्लाई अस्पताल पुर्याएकी थिइन्।
अस्पतालको आकस्मिक कक्षमा स्थापितको उपचार शुरू भयो। त्यहाँ चिकित्सक र नर्सहरू जति कुदिरहेका थिए त्यति नै जोरले दात्रीबाबाको मुटुको धड्कन बढ्दै थियो। उनले आफ्नो एक मात्र सहारा रहेका श्रीमान्को स्वास्थ्यमा सुधार आउने कामना गरिरहिन्। अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई ‘ब्रेन ह्यामरेज’ भएको हुनसक्ने बताएका थिए। तत्काल गरिएका परीक्षणहरूको रिपोर्ट बिहान उज्यालो भएपछि आयो।
नभन्दै उनलाई ब्रेन ह्यामरेज भएको रहेछ। दात्रीबाबाले बताएअनुसार चिकित्सकले उनलाई तत्काल शल्यक्रिया गर्न सके बाँच्न सक्ने सम्भावना १० प्रतिशत रहेको बताए। त्यसका लागि शल्यक्रियाअघि नै पाँच लाख रुपैयाँ जम्मा गर्नुपर्ने भयो। त्यसपछि थप रकम लाग्ने अस्पताल प्रशासनले दात्रीबाबालाई बताएको थियो।
तर त्यतिबेला उनको साथमा हजार रुपैयाँका केही नोट मात्र थिए। त्यस्तो अवस्थामा उनलाई पैसा दिनसक्ने र आशा गरेको एक मात्र व्यक्ति थिए, किसन राई।
राई, युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष हुन्। उनको सहकारीमा स्थापित दम्पतीको एक करोड ३६ लाखभन्दा बढी रकम बचत छ। दुःखमा वा आवश्यक पर्दा सजिलै निकाल्न सकिने आशामा उनीहरूले त्यहाँ बचत गरेका थिए। अध्यक्ष राईलाई उनले फोन गरेर विपद्को वृतान्त सुनाइन्। राईले परेको सबै खर्च आफूले बेहोर्ने भन्दै अप्रेशन हुनेमा ढुक्क हुन आश्वासन दिएको दात्रीबाबा बताउँछिन्।
उनको आश्वासनबाट ढुक्क थिइन् उनी। यता अस्पतालले आवश्यक तयारी भइसकेको भन्दै उनलाई पैसा जम्मा गर्न बारम्बार ताकेता गरिरहेको थियो। सहकारीका अध्यक्ष राई अस्पताल आए र चिकित्सकले लेखिदिएका केही औषधि किनेर उनको हातमा थमाइदिए। दात्रीबाबाका अनुसार उनले अप्रेशनका लागि आवश्यक पैसाको कुरै गरेनन्, झन् टारिरहे। त्यसबाट निराश बनेकी उनले सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसी र अन्य प्रतिनिधिहरूसँग व्यथा पोखिन्।
अभियानका अध्यक्ष केसीको पहलमा सहकारीका अध्यक्ष राई र अस्पतालका चिकित्सकहरू बसेर शनिबार अप्रेशन गर्ने निर्णय गरे। तर त्यसपछि पनि सहकारीका अध्यक्षसहित केही प्रतिनिधिले अप्रेशन सफल हुन नसक्ने भन्दै घर लान दबाब दिएको दात्रीबाबाको भनाइ छ। “पहिले अस्पतालको व्यवस्थापनमा आफ्ना मान्छेहरू छन्, ढुक्क हुनुस्, चिन्ता गर्नुपर्दैन भनेको मान्छे। अन्तिममा आएर जति गरे पनि तपाईंको श्रीमान् बाँच्ने छैनन्। बरु घर लगेर राख्नुस् भन्दै दबाब दिन थाले। राईले मात्रै होइन, डाक्टरले समेत अप्रेशन गर्न खतरा छ खर्च नगर्नुस् भन्न थाले। यसबाट के बुझ्ने?” उनले भनिन्।
सहकारीका अध्यक्षले नै पैसा खर्च नहोस् भनेर अप्रेशन नगर्न चिकित्सकहरूलाई दबाब र प्रभावमा पारेको उनको आरोप छ। शल्यक्रियाबिना अस्पतालमा राखिएका स्थापितको अवस्था शुक्रबार बेलुका ८ बजेपछि नाजुक हुँदै गयो। अन्ततः शनिबार बिहान २ बजेको समयमा उनले संसार छाडे। आफ्नो श्रीमान्को मृत्यु हुनुमा सहकारीका अध्यक्ष नै जिम्मेवार रहेको दात्रीबाबाको आरोप छ।
समयमै उपचार नपाएकाले श्रीमान्लाई गुमाउनुपरेको उनको दाबी छ। उपचार अभावका कारण सहकारीका बचतकर्ता स्थापितको मृत्यु भएको भन्दै वचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आइतबार विरोध प्रदर्शन गर्यो। पीडित बचतकर्ताहरूले रत्नपार्कको शान्तिवाटिकादेखि भद्रकालीसम्म शव राख्ने बाकससहित र्याली निकालेका थिए। स्थापितको परिवारको संरक्षण सरकारले गर्नुपर्ने अभियानको माग छ।
स्थापितको मृत्युपछि सहकारीका अध्यक्ष राईले प्रेस विज्ञप्ति जारी गर्दै उपचार खर्च अभावका कारण उनको मृत्यु भएको ठहरिएमा जस्तोसुकै कारबाही भोग्न आफू तयार रहेको बताएका छन्। उनले विज्ञप्तिमा लेखेका छन्, “राजेन्द्र स्थापितको मृत्यु औषधि उपचारमा पैसाको अभावले भएको होइन। हामीले सदस्यको उपचारमा कुनै कसर बाँकी नराखी संस्थाका प्रतिनिधिहरू खटिएका थियौँ। यसबारे अस्पतालमा खटिने कर्मचारी र प्रशासनबाट सत्यतथ्य जानकारी प्राप्त हुने नै छ। यदि उपचारखर्च अभावका कारण मृत्यु भएको ठहरिएमा जस्तोसुकै कारबाही भोग्न तयार छौँ।”
मुलुकमा भइरहेको आर्थिक मन्दी र अर्थतन्त्रमा परेको नकारात्मक असरका कारण अत्यावश्यक बाहेकका रकम सहकारीले फिर्ता गर्न नसकिरहेको अध्यक्ष राईले बताएका छन्। घटनाका सम्बन्धमा संस्थालाई अनावश्यकरूपमा जोडेर गलत प्रचार गरिएको भन्दै त्यसमा संस्थाको गम्भीर ध्यानाकर्षण भएको उनको विज्ञप्तिमा उल्लेख छ।
एक्लिइन् दात्रीबाबा
श्रीमान्को मृत्युपछि दात्रीबाबा एक्लिएकी छन्। उनले श्रीमान्लाई यति छिट्टै गुमाउनुपर्ला भन्ने सोचेकी पनि थिइनन्। जिन्दगीको एक मात्र सहारा गुमाउनुपर्दा उनी भावविह्वल छिन्। अस्पतालमा चिकित्सकले उपचारपछि पनि आधा शरीर नचल्ने बताएका थिए। त्यसैमा खुशी खोज्ने सोच बनाएकी उनको त्यो आशा पनि टुटेको छ।
स्थापित दम्पती निसन्तान हुन्। उनीहरू न्युरोडको परिवारबाट छुट्टिएर शंखमूल सरेका थिए। झण्डै दुई दशकदेखि उनीहरू एकअर्काका सारथी हुन्। उनीहरूले विवाह गरेको १८ वर्ष मात्र भएको थियो। “अब श्रीमान् पनि साथमा रहेनन्। म एक्लिएँ। न साथमा पैसा रह्यो न त उहाँको ज्यान नै। अब मेरो लागि शान्तिवाटिका नै प्यारो हुनेछ,” उनले भनिन्।
सहकारीका अध्यक्षको असहयोग र अस्पतालको लापरबाहीले श्रीमान्को मृत्यु भएको आरोप लगाउँदै यसबारे सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने माग उनले राखेकी छन्। उनले उकालोसँग भनिन्, “मैले न्याय पाउनुपर्छ।”
सहकारीमा यसरी जोडिएका थिए स्थापित दम्पती
२०७४ सालतिरको कुरा हो। दात्रीबाबा नेपाल बैंक लिमिटेडमा सहायक अधिकृतको रूपमा कार्यरत थिइन्। उनका श्रीमान् घरमै रहेर व्यवसाय गर्थे। त्यसबेला उनीहरूको दैनिकी राम्रैसँग चलिरहेको थियो। सहकारीमा पैसा जम्मा गर्दा फाइदा हुनेबारे उनीहरूले सुने।
काठमाडौँको न्युरोडमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १३ प्रतिशत ब्याज दिने भनेपछि उनीहरू आकर्षित भए। बैंकले भन्दा पनि बढी ब्याज दिने र आवश्यक परेको बेला सजिलै निकाल्न सकिने आश्वासन सहकारीबाट पाएपछि उनीहरूले न्यूनतम एक लाख रहने गरी खाता खोलेर रकम जम्मा गर्दै गए। बचत संकलन र भुक्तानी प्रक्रिया सहज र सरल ठानेर क्रमशः ठूलो रकम जम्मा गर्न थालेको दात्रीबाबा बताउँछिन्।
उनका अनुसार बुढेसकालमा चाहिँदा निकाल्न पाइने र ब्याज बढ्दै जाने आशामा दम्पतीले कमाएजति सबै रकम सहकारीमा जम्मा गर्दै गए। समय–समयमा आवश्यक पर्दा रकम निकाले पनि। तर कोभिड–१९ को महामारी शुरू भएदेखि भने समस्या देखियो। सहकारीले मागेको भन्दा थोरै रकम दिने, पैसा फिर्ता नगर्ने गर्न थाल्यो। सहकारीका कर्मचारीले कहिले अध्यक्ष नभएको त कहिले सहकारी समस्यामा रहेको बताउँदै पैसा दिन छाडे।
बिस्तारै कार्यालय नै बन्द हुने अवस्थामा पुग्यो। यद्यपि कहिलेकाहीँ पाँचदेखि १० हजारका दरले ब्याज रकम दिने गरेको दात्रीबाबा बताउँछिन्। सहकारी पीडितहरू एकजुट भएर आन्दोलनमा उत्रिएपछि उनीहरूले पनि त्यसमा समर्थन र सहभागिता जनाउन थाले। राजेन्द्र स्थापित पनि विगत १६ महिनादेखि आन्दोलन र धर्नामा निरन्तर आवद्ध थिए। लगातारको आन्दोलन, धर्ना र अनशनमा सहभागी भएका कारण पनि स्वास्थ्य अवस्था बिग्रँदै गएको उनका सहयोगीहरू बताउँछन्।
दात्रीबाबाका अनुसार सहकारीमा दम्पतीको एक करोड ३६ लाख २१ हजार रुपैँया फसेको छ। तर उपचारका लागि पाँच लाख नहुँदा ज्यान गुमाउनुपरेको उनको भनाइ छ। बचत रकम फिर्ता हुने टुंगो छैन।
सोही सहकारीका अर्का पीडित प्रकाश श्रेष्ठका अनुसार मुलुकमा कोरोना फैलिएयता सहकारीका अध्यक्ष, सञ्चालक र पीडित बचतकर्ताबीच दोहोरो संवाद भएको छैन। अध्यक्षले आवश्यक परेमा मेसेज वा फोन गर्ने गरेको उनी बताउँछन्। श्रेष्ठका अनुसार सो संस्थाले झन्डै ५०० जना वचतकर्ताको २२ करोडभन्दा बढी रकम हिनामिना गरेको छ।