नेवाः भोजका परिकारहरू खाजा सेटको रूपमा बजारीकृत भएसँगै यसको लोकप्रियता पनि फैलँदै छ। फास्टफुडको दुनियाँमा नेवाः खाजा स्वास्थ्य र स्वाद दुवै हिसाबले अब्बल भएको अध्येताहरूको ठम्याइ छ।
काठमाडौँ– गत आइतबार ललितपुरको बुंगमतीस्थित मछिन्द्र बहालमा बुंग द्यः (रातो मत्स्येन्द्रनाथ) को मूर्तिलाई मन्दिरमा स्थापना गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा समापन भयो। मत्स्येन्द्रनाथलाई स्थापना र दर्शनका निम्ति ललितपुर मात्र नभई छिमेकी जिल्ला भक्तपुर तथा काठमाडौँका श्रद्धालुहरूसमेत हरेक वर्ष उल्लेख्य संख्यामा पुग्ने गर्छन्।
रातको करिब साढे ८ बजे मूर्ति स्थापना गरेसँगै रातो मत्स्येन्द्रनाथको जात्रा टुंगियो। जात्राको भीडमा समूहबद्ध वयस्कहरू मन्दिर परिसरको छेउमा सानो कागजमा एक–एक मुठी चिउरा राखेर खानपान गर्न थाले। सोधपुछको क्रममा उनीहरू भक्तपुरदेखि आएको थाहा भयो। समूहका एक ज्येष्ठ नागरिकले समय्बजि खाएको बताए।
चिउरा, भट्मास, लसुन, अदुवा, वः (बारा) सहितको भोजको सानो आकार हो, ‘समय्बजि’। नेवार समुदायले विभिन्न चाडपर्वमा मुख्य भोज खानुअघि चमेनाको रूपमा समय्बजि खाने गर्छन्।
परम्परादेखि स्वाद र संस्कृति पस्किँदै आएको सम्यबजिले शरीरमा तागत दिने ती ज्येष्ठ नागरिकले बताए। “यति खाएपछि अब घर पुग्दासम्म भोक लाग्दैन, पेट डम्म हुन्छ,” उनले भने। बस रिर्भज गरेर आएको त्यो समूह समय्बजि खाइसकेर आफ्नो गन्तव्यतर्फ लाग्यो।
बुंगमतीमा भने बुग द्यः ल्याएको चौथो दिन भोज हुन्छ। प्यन्हु बिचाः (जात्रापर्व सकिएको चार दिनपछि देवीदेवताको हालखबर बुझ्ने) दिन ललितपुरका नगरप्रमुख चिरीबाबु महर्जनसहितको टोली बुंगमती पुगेको थियो। त्यहाँ समय्बजिसहित टोलीको स्वागत भयो।

काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुकी सेबिका श्रेष्ठ पेसाले शिक्षक हुन्। साबिकका दिनहरूमा विद्यालयमा खाजा, खानाको व्यवस्था हुँदा शनिबार र आइतबार भने उनको छुट्टी हुन्छ। बिदाको दिन उनी प्रायः मनमैजु मन्दिर पुग्छिन्। मन्दिर परिसरमा नेवाः परिकारहरू पाइने पुरानो मिठाइ पसल छ। ग्वाःमरि, लाखामरि, लड्डु, स्वारी, जेरी लगायतका आइटम उनी बिहान र दिउँसोपख चियानास्ता र खाजाको रूपमा रुचाउँछिन्।
नेवाः खाजा सेट निकै मन पराउने सेबिका बाहिर घुमघाममा निस्कँदा पनि सकेसम्म नेवाः खाजाघर नै खोज्छिन्। पिज्जा, बर्गर, किमानुडल्स लगायतका फास्टफुडको तुलनामा नेवाः खाजा सेट मीठो, धेरै भेराइटी भएको र पेट अघाउने परिमाणमा पाइने उनको अनुभव छ।
“कहिलेकाहीँ जाँगर चल्दा घरमै पनि छोयला बनाउने गर्छु,” उनी भन्छिन्, “घुमफिर गर्दा सकेसम्म नेवाः परिकार पाइने खाजाघर खोज्छु। नत्र मम त सबैको फेभरेट नै भइहाल्यो।” नेवार भएको कारण पनि आफ्नो मौलिक खानाको स्वाद र मायाले जता गए पनि तान्ने गरेको उनले बताइन्।
लहना, सःसः, नेपाली सुलि, थ्रीजी, होनाचा लगायतका नेवाः परिकार पाइने क्षेत्र सेबिकाजस्ता स्वादका पारखीहरूको लागि केन्द्र बनेका छन्। नजिकिँदो जनैपूर्णिमामा क्वाःटीको झोलले स्वादिलोसँगै ताजगी दिने उनी बताउँछिन्। चाडपर्वको अवसरमा पाक्ने परिकारले मनमष्तिकमा समेत ऊर्जा पैदा गर्ने उनको अनुभूति छ।
यद्यपि आजकलका बालबालिका यस्ता मौलिक र पौष्टिकताले भरिपूर्ण खाना खासै नरुचाउने उनको अनुभव छ। किशोरावस्थामा रहेकी आफ्नी छोरीको स्वाद बबल टी, किमा नुडल्स, लाफिङजस्ता खानेकुरामा बसेकोमा उनको चिन्ता र चासो छ।

नेवाः खाना, खाजा नेवार समुदाय मात्र नभई गैरनेवार समुदायका व्यक्तिले पनि उत्तिकै रुचाएका छन्। यसका उदाहरण हुन् महोत्तरीका इरज पौडेल। २६ वर्षका इरज काठमाडौँ आएको चार वर्ष भयो। व्यावसायिक रूपमा एक कर्पोरेट कम्पनीमा आवद्ध पौडेललाई काठमाडौँको नेवाः जीवनशैली मन पर्छ। त्यसो त उनको जन्मथलोमा पनि नेवार छन्। भोज, जात्रामा उनलाई नेवार साथीभाइले छुटाउँदैनन्।
यद्यपि काठमाडौँ आएयता त्यस्ता आउजाउमा कमी आएको छ। तर नेवाः परिकारको स्वाद लिन उनलाई कसैको भोजभतेर नै पर्खनु पर्दैन। खाजाको समयमा प्रायः नेवाः परिकार नै खान रुचाउँछन्।
बिदाको समयमा सहजताको हिसाबले उनी पाटनस्थित थ्रीजी होनाचा पुग्छन्। त्यहाँ उनी वः, चटामरि, छोयला खान रुचाउँछन्। सपुमिचा (हड्डीभित्रको मासीलाई छालाभित्र पोको पारी तारेर बनाइने एक किसिमको नेवाः परिकार) उनको ‘फेभरेट फुड’ हो।
“पिज्जा, बर्गरजस्ता जंक खानाको सट्टामा मासबाट बनेको वः (बारा) र चामलको पिठोबाट बनेको चटामरि मीठो लाग्छ जुन स्वास्थका हिसाबले पनि पौष्टिक लाग्छ,” पौडेल भन्छन्। आफ्ना नेवार साथीभाइकहाँ हुने भोजमा पनि उनी पुगिरहन्छन्।
भोजभतेरले उनलाई आफ्नो गाउँघरको सम्झना दिन्छ “भोज एउटा सामाजिक जमघट हो, हामी गाउँघरबाट आएको, गाउँमा जस्तै भेटघाट, जमघट गर्न मन हुन्छ,” पौडेलले भने, “खानपिनको बहानासँगै आफ्नो गाउँको सामुदायिकताको झल्को दिने र न्यास्रो मेटाउने गर्छ।”

उनी मासुजन्य परिकार बढी रुचाउँछन्। यद्यपि नेवाः परिकारमा प्रयोग हुने रातो मासु, भुटन र अधिक पिरो हुने छोयलाबाट भने उनी सकेसम्म टाढा रहन्छन्। डाइटको रूपमा रहेको नेवाः खाजा सेटमा रातो मासुबाहेक बारा, आलुतामा, बोडी भने निस्फिक्री खान सक्ने उनले बताए।
नेवाः भोजको यो आयाम अहिले बजारमा पनि फैलिएको छ। प्रमुख शहरी क्षेत्र तथा कतिपय ग्रामिण परिवेशका खाजाघरमा समेत नेवारी खाजा सेट लोकप्रिय बन्न थालेको छ।
होनाचा लगायतका १०० वर्ष इतिहास बोकेका केही पसलबाहेक पहिले खासै बजारिया खाजा खाने चलन नरहेको फुड एन्ड बेफरेजका अध्यापक सुगम ताम्राकार बताउँछन्। खाजाको रूपमा ३०–३५ वर्षअघिदेखि मात्र ममले बजार पिट्न थालेको उनले देखेका छन्।
बिस्तारै ममसँगै ग्वारःमरि, योमरि, जेरी–स्वारी, बारा, चटामरि खान थालेको ताम्राकारले बताए। त्यो समयदेखि नै यस्ता पसल स्ट्रिट–फुड तथा अहिलेका व्यावसायिक खाजा सेट सहितका रेस्टुरन्ट खोलिन थालेको सम्झना उनलाई छ।
नेवा परिकारमा भरिएको पौष्टकता
मैदाबाट बनेका पिज्जा, बर्गर लगायतका फास्टफुडमा निकै कम क्यालोरी हुने पोषणविद् रश्मी बजिमय श्रेष्ठ बताउँछिन्। जसको पनि समानन्तर रोजाइमा पर्ने नेवाः परिकारको रूपमा रहेको चटामरि पिज्जा स्टाइलमा पाइन्छ। चामलको पिठोबाट बन्ने भएकाले चटामरिमा कार्बोडाइड्रेट हुन्छ। अण्डामा प्रोटिन पाइन्छ।। त्यसमाथि काउली, गाजर लगायतका ताजा तरकारीको ‘टपिङ’ले मिनरल्स र भिटामिनको मात्रा पनि पूरा गर्छ।

मासको दालबाट बनेको वः (बारा) उच्च क्यालोरीयुक्त हुँदा स्वास्थमा लाभदायक हुने भै भयो। त्यसबाहेक मनसुनसँगै कृषिमा आवद्ध नेवार समुदाय जनैपूर्णिमा तथा घोडेजात्रामा ‘क्वाःटी’ खाने गर्छन्। नेपाल भाषामा ‘क्वाः’ को अर्थ ‘तातो’ र ‘टी’ को अर्थ ‘झोल’ हो। गैरनेवार समुदायले यसदिन आफ्नो रीतिअनुसार जनै फेर्ने गरिरहँदा विभिन्न गेडागुडीको तातो झोल खाएर जनैपूर्णिमा मनाइन्छ।
लामो समय चिसोमा धान रोप्ने तथा हिलोमा गाडिएको हुँदा क्वाःटीले शरीरभित्र गडेको चिसो निकाल्ने पोषणविद् श्रेष्ठ बताउँछिन्। “गेडागुडी प्रोटिनको राम्रो स्रोत हो। गेडागुडीको झोलमा ज्वानो राख्दा क्याल्सियम थपिन्छ,” उनले भनिन्, “हिलोमा काम गर्नेको लागि यो निकै उचित खाना हो। त्यसअघि सिथी नखःको दिनमा चटामरि र बारीमा काम गर्ने बेला वः खाइने हुँदा यी दुवैले प्रोटिन र क्यालोरी ब्यालेन्समा राख्छन्।”
मौसमअनुसारकै कुरा गर्दा जाडो महिनामा पर्ने धान्य पूर्णिमा अर्थात् योमरि पुन्हिका लागि चामलको पिठोमा चाकु राखेर बनाइन्छ। कतिपय स्थानमा तिल पनि राख्ने गर्छन्।
“एक त कालो चाकुमै धेरै क्यालोरी र मिनरल्स हुन्छ भने त्यसमा तिल राख्दा फाइबर थपिन्छ,” पोषणविद् श्रेष्ठ भन्छिन्, “चामलको पिठोको तातो तातो योमरिले ऊर्जा बढ्ने, जीउलाई पुनर्ताजगी दिने तथा इम्यिुनिटी पावर बुस्ट गर्ने काम गर्छ।”
स्थानअनुसार योमरिमा मासको दाल, मासु, खुवा राखेर पनि बनाइन्छ। यद्यपि नेवाः परिकारमा नुनखुर्सानी बढी हुने कारण त्यसले निम्त्याउन सक्ने ग्यास्ट्रिक तथा पेटलगायतका समस्यामा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। पिरो र नुनिलो कम गर्न सकेमा नेवाः परिकार स्वादसँगै पोषणको हिसाबले समेत अग्रणी स्थानमा रहने उनी बताउँछन्।

भोजमा प्रयोग हुने मद्यपदार्थ भने सकेसम्म सेवन नगर्न तथा गर्नैपर्दा पनि कम मात्र लिन उनको सल्लाह छ। नेवाः भोज खाएपछि पानी धेरै पिउनुपर्छ। बानी नभएकाको लागि भोजको विविधताको कारण पेटले पचाउन नसक्ने उनी ठान्छिन्।
भोजको विषयमा उनी र डा. अरुणा उप्रेतीको विचार एउटै छ। दुवैले नेवा भोजलाई वैज्ञानिक र स्वास्थ्यबद्र्धक मानेका छन्। डा. उप्रेती काठमाडौँका रैथाने नेवारहरूको चाडपर्वमा गाँसिएको खानेकुरा पौष्टिकताले भरिपूर्ण रहेको पाउँछिन्।
“भेजिटेरियनहरूको लागि समेत क्वाःटी असाध्यै पौष्टिकताले भरिपूर्ण हुन्छ,” उनी भन्छिन्, “टुसा उम्रेको गेडागुडी तरकारी, अण्डा मिसाएर खुवाउनु बालबालिकाको लागि असाध्यै राम्रो हुन्छ।”
डा. उप्रेतीका अनुसार बालबलिकालाई दहीचिउरा, मासुचिउरा, आलुचिउरा, खीर, चिउराको पिठो सातुको रूपमा खुवाउनु बाहिरी खानाभन्दा हितकारी हुन्छ।
नेवाः संस्कृतिमा चिउराबाट शुरू हुने भोज, मासु, गेडागुडी हुँदै ल्यास्से पाउँ (लप्सीको झोल) दही हुँदै अन्त्यमा सिसाफुसा (सानो केराउ र मुला) बाँडिन्छ। धेरै भेराइटीको भोज खाएपछि पेटमा उत्पन्न हुने ग्यासलाई मत्थर पार्न ल्यास्से पाउँमा हुने साइट्रिक एसिडमा हिङ धेरै राखेर बनाइएको हुन्छ। यस्ता परिकारले पेटमा ग्यास बढ्न नदिई खाएका परिकारलाई पचाउँछ।
सिसाफुसामा प्रचलित मुला भोज पचाउनकै लागि हो। नेवाः भोजमा सिक्वेल अनुसार, चिउरा हुँदै सिसाफुसासम्म पुग्दा स्वादसँगै पाचन प्रक्रियाको पनि चक्र पूरा हुन्छ। यसबारे थप्दै खाद्य अध्येता सुगम ताम्राकार हरेक भूगोलको जमिनसुहाउँदो गरी मानिसको शरीर र पोषणतत्वबीच मेल हुने बताउँछन्।

“हामीलाई सूर्यमुखी अथवा ओलिभ आयलको जरूरत विदेशमा बस्नेलाई जस्तो पर्दैन। नेपालीलाई शुद्ध तोरीको तेल नै काफी हुन्छ,” उनी भन्छन्, “माटोअनुसारको शरीर हुने हुँदा पौष्टिकता पूरा गर्न यहाँका मौलिक खानपिनभन्दा पर पुग्नै पर्दैन। आफ्नो शरीरलाई आवश्यक पर्ने तत्व आफ्नै वातावरणमा हुन्छ।”
उनका अनुसार नेवाः परिकार मात्र नभई राम्रो बजार पाइरहेका अन्य समुदायका मौलिक खानपिन पनि स्वास्थ्यबद्र्र्धक हुन्छन्। सपुमिचाको उदाहरण दिँदै उनले थपे, “जनावरको मासी निकालेर सपुमिचा बनाएपछि अझ चिल्लो हुन्छ भन्छन्। तर हाम्रो भान्सामा भएको वनस्पति तेलभन्दा यो प्राकृतिक चिल्लो पदार्थ अझ राम्रो हुन्छ।” कति र कसरी खाने त्यो भने व्यक्तिले आफ्नो स्वास्थ्यको हिसाब आफैले गर्नुपर्ने तर्क ताम्राकार राख्छन्।
यद्यपि खानामा ‘फ्याब्रिकेसन’ भने गर्न नमिल्ने उनको जोड छ। होटल, रेस्टुरेन्टले बनाउने यस्ता परिकारमा पुरानो टेस्टलाई यथावत् राख्नुुपर्ने आवश्यकता उनी देख्छन्।
नेवार बिग्रिए भोजले!
पोषणविद्हरूले समय्बजिको पौष्टिकताबारे उल्लेख गरिरहँदा यसलाई साँस्कृतिक चालचलनमा तान्त्रिक सगुनको रूपमा नेवार समुदायले मान्दै आएको त्रिभुवन विश्वविद्यालय, इतिहास विभागका सहप्राध्यापक विश्वमोहन जोशी बताउँछन्।
जन्मदिन, व्रतब्रन्ध लगायतका हरेक शुभकार्यमा सगुनका रूपमा प्रचलित मांसले पृथ्वी, सिद्रा माछाले जल, मदिराले तेज, अण्डाले आकाश र अदुवा–लसुनले वायु गरी क्रमशः पञ्चतत्वको प्रतिनिधित्व गर्ने उनले बताए।

नेवाः भोज र खानाको चर्चा भइरहँदा ‘क्षेत्री बिग्रियो मोजले, नेवार बिग्रियो भोजले’ भन्ने उखान प्रचलित छ। उक्त उखानको तात्पर्य आफू २०३५ सालमा अध्ययनको सिलसिलमा जाजरकोट पुग्दा बोध भएको जोशीले सुनाए, “ठकुरी (क्षेत्री) आफ्नो शान, शौकतामा मोजमस्ती गर्छन्, नेवारहरूमा जन्मदेखि मृत्यु संस्कार र त्यसपछि समेत भोज खुवाउनुपर्ने हुँदा पनि यस खालको उखान बनेको हुनसक्छ।”
“जन्म हुनुअघि दहीचिउरा लैजाने चलन नेवार समुदायमा छ,” जोशी भन्छन्, “न्वारन, पास्नी, इही (बेलविवाह), व्रतबन्ध, बाह्रासी (गुफा) देखि विवाह हुँदै मृत्युपश्चात् पनि वर्षदिनमा श्राद्ध गरी भोज गर्ने गरिन्छ।”
नेवार समुदायको कुलमा मानिस बित्दा १३ दिन, ४५ दिन, ६ महिना र एक वर्ष र त्यसपछि वार्षिक रूपमा श्राद हुँदासमेत भोज हुने गर्छ।
गैरनेवार समुदायले मृत्युको बेलामा पनि भोज खानुको औचित्यबारे उठाउने गरेको प्रश्नमा जोशी भन्छन्, “वैदिक सनातन धर्ममा मृत्युलाई मोक्ष प्राप्तिको रूपमा लिइन्छ। मनुष्य चोलाले मोक्ष प्राप्तिलाई अवसरको रूपमा लिने कारण भोज गरिएको हो।”

बिरामी छँदा आफन्तले गरेका सहयोग तथा मृत्युको संस्कार गर्दै गर्दा मानिस थाक्ने कारण पनि सामाजिक, व्यावहारिक तथा व्यक्तिगत स्वास्थ लगायतका पाटोमा सन्तुलन मिलाउन नेवार समुदायले सुखदुःख दुवै अवसरमा भोज राख्ने गरेको जोशीको तर्क छ।
उनका अनुसार भोजले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक तन्दुरुस्ती पनि दिन्छ जसले मानिसलाई सधैँ जीवन्त र उत्साहबद्र्धक बनाइराख्छ।
निरणकुमार राजवंशीको पुस्तक ‘नेपालका संस्कृति र संंग्रहालय’मा लेखिएअनुसार नेवार समुदायमा करिब १८ थरीका भोज पाइन्छ। ती भोजका परिकारहरू कामकाज तथा समयअनुसार विशेष वा फरक हुने गरेको उनको ठम्याइ छ। पुस्तकमा उल्लिखित मासुका परिकार मौसम सुहाउँदो तरिकाले बेलाबखत सेवन गरेमा स्वास्थलाभ हुने उनको मत छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
