Saturday, December 14, 2024

-->

शेयर बजारले विष्णु पौडेललाई रुचाउनुको कारण

पौडेलले अर्थमन्त्रीका हैसियतमा पुँजीबजारका लागि कुनै ठोस काम नगरे पनि बजार उनी अनुकूल देखिन्छ। पुँजीबजार राजनीतिक पार्टी र अझ खासमा व्यक्ति निकटले प्रभावित पारेको हुनसक्ने विज्ञ बताउँछन्।

शेयर बजारले विष्णु पौडेललाई रुचाउनुको कारण

काठमाडौँ– चौथो पटक अर्थमन्त्रीको रूपमा सोमबार शपथ ग्रहण गरेर कार्यभार सम्हाल्दै गर्दा विष्णु पौडेललाई शेयर बजारले भने स्वागत गरेन। धेरै लगानीकर्ताले सोमबार पनि बजार बढ्ने अनुमान गरेका थिए। त्यसको विपरीत नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ अंकमा ओर्लिएको थियो। तर त्यसअघि भने उनी आउने हल्लाले बजार बढिसकेको थियो। एक सातायता दुई कारोबार दिन घटे पनि अन्य ९ कारोबार दिनमा समग्रमा बजार २७९ अंकले बढेको छ। 

यसपालि अर्थमन्त्री पौडेलको स्वागतमा अपेक्षा विपरीत बजार नबढे पनि अर्थमन्त्रीको कार्यभार सम्हाल्दै पौडेलले शेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै अनुकूल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने बताएका थिए। त्यसको भोलिपल्ट मंगलबार नेप्से परिसूचक ७० अंकले बढेर २३१०.५९ अंकमा पुगेको छ जुन २६ महिनायताकै उच्च विन्दु हो। २०७९ वैशाख २९ गते २३५०.४२ विन्दुमा पुगेयता नेप्सेले २३०० विन्दु नाघेको थिएन।

संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि असार १७ गते राति सहमति भएपछि मंगलबार नेप्से परिसूचक ४७ अंकले बढेर २१०० अंकमा पुगेको थियो। एमालेले अर्थ मन्त्रालय आफूले लिने गरी सत्तासाझेदार दल कांग्रेससँग सहमति गरिसकेको थियो। सोही आधारमा बजार माथि गएको धेरैको अनुमान छ।

अहिले मात्र होइन, २०७२ सालदेखि नै विष्णु पौडेल र शेयर बजारको ‘ट्युनिङ’ मिल्दै आएको छ। २०७२ असोजदेखि २०७३ साउनसम्म केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पौडेल अर्थमन्त्री थिए। उनकै कार्यकालमा २०७३ साउन १२ मा नेप्सेले १८८१ अंकमा पुगेर रेकर्ड कायम गरेको थियो।

फागुन २०७४ मा ओली दोस्रो पटक प्रधानमन्त्री बन्दा शुरूमा अर्थ मन्त्रालयको जिम्मेवारी युवराज खतिवडाले सम्हाले पनि बजार उनीप्रति सकारात्मक देखिएन। खतिवडाको बहिर्गमनपछि २०७७ असोजमा  दोस्रो पटक अर्थमन्त्री बनेका पौडेलले २०७८ असारसम्म जिम्मेवारी सम्हालेका थिए। उनकै पालामा नेपालको शेयर बजारले ‘बुलिस ट्रेन्ड’ समातेको थियो।

२०७८ भदौ २ गते नेप्से हालसम्मकै उच्च विन्दु ३१९८ मा पुग्दा भने कांग्रेस माओवादी गठबन्धनबाट जनार्दन शर्मा अर्थमन्त्री थिए। शर्मा आएपछि बजार ‘बियरिस ट्रेन्ड’ मा गएको हुँदा ‘बुल’ यात्राको जस पनि पौडेलले नै पाउँछन्। बुलिस ट्रेन्डबाट २०७८ भदौ २ पछि घट्न थालेको बजारको नेप्से २०७९ पुस ७ गते १८६५ अंकमा झरेको थियो। 

संसदीय चुनावको नतिजा आएसँगै २०७९ पुस ११ गते पुष्पकमल दाहाल नेतृत्वमा एमाले–माओवादी गठबन्धनको सरकार बन्यो र विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री भए। उनी आएपछि फेरि शेयर बजार उकालो लाग्दा नेप्से २२०० अंक नाघ्यो। तर अर्थ मन्त्रालयमा पौडेलको कार्यकाल ६४ दिन मात्र रह्यो। उनी गएपछि घट्न थालेको बजार गत जेठ १ गते १८१८ अंकमा झरेको थियो। त्यसयता धेरै समयसम्म बजार १९०० देखि २१०० अंकसम्म चलिरहेको थियो।

अर्थमन्त्रीमा पौडेल आएपछि शेयर बजार उकालो लाग्ने अनुमान लगानीकर्ताहरूले गरिरहेका छन्। हालका गभर्नर महाप्रसाद अधिकारी एमालेनिकट रहेको हुँदा मौद्रिक नीति बजार अनुकूल आउने आशामा बजार बढेको इन्भेस्टर्स फोरम नेपालका पूर्वअध्यक्ष छोटेलाल रौनियार बताउँछन्। 

“झन्डै दुई तिहाइको सरकार बनेको छ। त्यसमा पनि प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नर एउटै लाइनको हुनाले बजारमा सकारात्मक सन्देश गएको छ। तीन वर्षदेखि राम्रो मौद्रिक नीति आएको छैन। यसपटक पुँजीबजारमैत्री मौद्रिक नीति आउँछ भन्ने लगानीकर्ताको विश्वास छ, रौनियार भन्छन्, “पौडेलकै पालामा बजार १८०० बाट ३२०० अंकमा पुगेको थियो। नयाँ रेकर्ड बनाएर ह्याट्रिक हुन्छ भन्ने पनि अनुमान छ।” 

 

 

पौडेलले पुँजीबजारका लागि नीतिनियम नै बनाएर कुनै उल्लेखनीय काम नगरे पनि उनको ‘लिबरल नेचर’ भएकाले लगानीकर्ता र व्यवसायी खुशी भएको रौनियार ठान्छन्। 

अर्कोतर्फ राजनीतिक खिचातानीले रोकिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पनि नियुक्त हुने आम लगानीकर्ताको बुझाइ रहेको उनको तर्क छ। “लडाइँ–झगडाले गर्दा सेबोनको अध्यक्ष ६ महिनादेखि नियुक्त हुन सकेको छैन। यो सरकारको बहिर्गमनको एउटा मुख्य कारण पनि धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्बन्धी विवाद हो। अब धितोपत्र बोर्डको अध्यक्ष पनि आउँछन्। यो सबै कुरा मिलेर जाँदा बजार बढ्दै जाने आशा छ,” उनले भने।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं पुँजीबजारविज्ञ गोपाल भट्ट भने पुँजीबजारलाई गभर्नरसँग जोडेर हेर्नु उचित नहुने तर्क गर्छन्। उनका अनुसार राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गर्न सक्ने भए पनि पछिल्लो समय बजारले नै ब्याज घटाइरहेको छ, तर बजार सकारात्मक हुन सकेको छैन। बरु नेपालको पुँजीबजारमा पनि राजनीतिकरण भएको उनी ठान्छन्। 

“गभर्नरले पुँजीबजारलाई धेरै गर्न सक्दैनन्। एउटा ब्याजदरको इफेक्ट त हो। ब्याजदर प्रशस्त मात्रामा बजारले नै घटाएको छ। त्यही पनि पुँजीबजार सकारात्मक हुन सकेको छैन। गभर्नरले घटाउनै पर्दैन। बाँकी चिजहरूमा लगानीबजार पनि राजनीतिक भएजस्तो छ। त्यहाँ पनि युनियन हुने, संगठन बन्ने प्रक्रियाले गर्दा बढी राजनीतिक भयो भन्ने लाग्छ।”

स्टक मार्केटमा नै विद्यावारिधि गरेका भट्ट, पौडेल अर्थमन्त्री हुँदा एमाले पार्टी र अझ पौडेल निकटकै केही व्यवसायीको समूहले नै बजार प्रभावित पारेको हुनसक्ने आशंका गर्छन्।

“खासगरी फाइनान्सियल कारणतिर बजार जानुपर्थ्यो। कम्पनीको ग्रोथ, समग्रमा इकोनोमिक फ्याक्टर कारण हुनुपर्ने हो। त्यसपछि मात्र गैरइकोनोमिक फ्याक्टरहरू हुनुपर्ने हो। तर नेपालको पुँजीबजार लगानीकर्ताको हिसाबले हेर्ने हो भने इनइफिसियन्ट छ र केही सीमित ग्रुपहरूले गाइड गरेको जस्तो देखिन्छ,” भट्ट भन्छन्, “केही लगानीकर्ताको मात्रै गाइडिङमा चल्ने किसिमको, पार्टी र त्यसमा पनि व्यक्तिमुखी भएजस्तो देखिन्छ। उहाँ (अर्थमन्त्री पौडेल) निकट केही ग्रुप होला, उनीहरूले पनि प्रभावित पारेको हुनसक्छ। यसकारण नेपालको सन्दर्भमा पुँजीबजारमा उतारचढाव आउनुको वास्तविकता अन्तर्राष्ट्रिय अभ्यासभन्दा फरक देखिन्छ।” 

नेपालको बजार सीमित व्यक्तिले चलाइहेको दाबी गर्ने भट्ट राजनीतिक पार्टीको सैद्धान्तिक धरातलअनुसार कांग्रेस पुँजीबजारमैत्री रहे पनि उक्त पार्टीका अर्थमन्त्री हुँदा बजार सकारात्मक नदेखिएको उदाहरण पेश गर्छन्। उनी भन्छन्, “कांग्रेसबाट अर्थमन्त्री बनेका रामशरण महतकै पालामा पुँजीबजारलाई आधुनिक बनाइएको हो। धेरै पुँजीबजारमैत्री कुराहरू ल्याइएको हो। तर उनको कार्यकालमा बजार सकारात्मक देखिएन।” 

पार्टीमा पनि व्यक्ति विशेषको उपस्थितिसँग बजारको उतारचढाव जोडिएको उदाहरण स्वरूप एमालेका तर्फबाट युवराज खतिवडा अर्थमन्त्री रहेका बेला बजार बढ्न नसकेको स्मरण गर्दै पुँजीबजारविज्ञ भट्ट भन्छन्, “क्यापिटल मार्केट, व्यक्तिमुखी भन्दा पनि नीतिमुखी र राजनीतिक पार्टीको सिद्धान्तमुखी हुनुपर्थ्यो। तर त्यस्तो भइरहेको छैन।”


सम्बन्धित सामग्री