पनौतीबाट हराएको भैरव मुकुण्डो ३२ वर्षपछि हङकङमा भेटियो

३२ वर्षअघि हराएको मुकुण्डो हङकङका एक निजी संग्रहकर्तासँग भएको जानकारीमा आएको छ। लिलामका लागि राखिएको मुकुण्डो पहिचान भए पनि फिर्ता ल्याउन चुनौतीपूर्ण रहेको  यसका जानकार बताउँछन्।

बद्री बनेपालीले सन् १९८० को दशकमा पनौती जात्रामा खिचेको तस्वीर।

काठमाडौँ– काभ्रेको पनौतीस्थित वोलाछेः टोलबाट हराएको भैरवको मुकुण्डो (मास्क) हङकङको एक निजी संग्रहकर्तासँग रहेको जानकारीमा आएको छ। गत वर्ष हङकङस्थित एक ‘अक्सन’ कार्यक्रममा उक्त मास्क भेटिएको थियो। मास्कलाई पनौतीका स्थानीयसमेत रहेका सम्पदा अभियन्ता तथा फोटोग्राफर प्रशान्त श्रेष्ठले पहिचान गरेका हुन्। 

उक्त मास्क सन् १९९० को दशकमा पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिरको द्य्य छेः (देवताको घर) बाट हराएको उनी बताउँछन्। सन् १९९५ मा आर्ट अफ एशिया’, नामक म्यागजिनमा मास्कलाई अक्सनको लागि राखिएको जानकारी पाएपछि त्यसको पहिचान र खोजीमा आफू लागेको उनी बताउँछन्। 

गएको असारमा पनौती जात्रामा प्रयोग गरिएको मुकुण्डोको रेप्लिका। तस्वीर सौजन्य : प्रशान्त श्रेष्ठ

म्यागजिनमा प्रकाशित भएको तस्वीर भने नेपालका बद्री बनेपालीले सन् १९८० को दशकमा एक महोत्सव (पनौती जात्रा)मा खिचेका थिए। यो जानकारी ‘लस्ट आर्ट्स अफ नेपाल’ले तस्वीरसहित सार्वजनिक गरेको पोस्टमा उल्लेख छ। तामा धातुबाट बनेको ३२ इन्चको उक्त मास्क नेपाल संवत् ९५७ मा बनेको हुँदा १८७ वर्ष पुरानो भएको ‘पन्तीय अभिलेख’ नामक पुस्तकको विवरण उल्लेख गर्दै श्रेष्ठ बताउँछन्। 

मूर्ति हराएपश्चात् केही समयको लागि मास्कको प्रतिमा राखिएको थियो। हाल पुरानै मास्कको ‘रेप्लिका’ अर्थात् प्रतिरूप बनाएर जात्रा पर्वमा प्रयोग भइरहेको श्रेष्ठले बताए। यस विषयमा ‘लस्ट आट्र्स अफ नेपाल’ले सोमबार आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थियो। “हराएका मूर्तिको खोजी र पहिचानको सन्दर्भमा स्थानीयको सहभागिता देखिनु साह्रै उत्साहजनक लाग्यो,” लस्ट आट्र्स अफ नेपालले भन्यो।  

मूर्ति चोरीदेखि पहिचानसम्मको घटनाक्रम
“सन् १९९१ मा पनौतीको इन्द्रेश्वर महादेव हाताभित्रबाट मास्क हराएको दिन हामी एसएलसी परीक्षा दिएर क्याम्पस पढ्ने तयारीमा थियौँ,” पनौतीका वासिन्दासमेत रहेका सम्पदा अभियन्ता तथा फोटोग्राफर श्रेष्ठ भन्छन्, “त्यस दिन रातको समयमा मूर्ति चोरिएको हुनुपर्छ। यद्यपि बिहान पूजाको क्रममा मन्दिरको द्येय् छेः (देवताको घर) फोडिएको हल्ला चलेको थियो।” 

स्थानीय चलनअनुसार सामान्यतया मन्दिरमा मुख्य देवताका प्रतिमा राखिन्छ भने मूल मूर्ति मन्दिरको परिसर अथवा नजिकै परिधिमा बनाइएको देवताको घरमा राख्ने गरिन्छ। वर्षको एक पटक मूर्तिलाई मन्दिरको गर्भगृहमा राख्ने तथा जात्राको समयमा नगर परिक्रममा गराउने प्रचलन छ। 

“देवताको घरभित्र भएको कलावस्तु (मास्क) त्यहाँको साँचो नखोली कसरी हरायो भन्ने कुरा पनि आयो,” प्रशान्त सम्झन्छन्, “द्येय् छेः को एकातिरको पर्खालमा सानो प्वाल भेटियो। सोही पर्खालबाट मास्क चोरेर लगेको हुनसक्ने अनुमान तत्कालीन समयमा भयो।” 

‘आर्ट अफ एशिया’ म्यागेजिनको १९९५ मार्च–अप्रिल अंकमा प्रकाशित भैरवको मुकुण्डो। तस्वीर सौजन्य : प्रशान्त श्रेष्ठ

भैरवको सक्कली मास्क हराएपछि जात्रा चल्ने कि नचल्ने भन्नेमा द्विविधा भयो। प्रहरीमा उजुरी पर्‍यो। संरक्षणको जिम्मा लिएका सम्बन्धित व्यक्तिहरूलाई प्रहरीले केरकारसमेत गरेको उनी सम्झन्छन्। तत्कालीन समयको लागि मन्दिरमा पहिल्यैदेखि राखिएको प्रतिमा मूर्तिलाई जात्रामा प्रयोग गरियो। हराएको तीन वर्षपछि मास्कको रेप्लिका बनाइएको श्रेष्ठले जानकारी दिए। 

“हराएको ४–५ वर्षपछि नै ‘आर्ट अफ एशिया’ म्यागजिनमा उक्त मूर्ति अक्सनमा राखिएको थाहा पाएका थियौँ,” उनले भने, “तर एकाएक फेरि हरायो, केही जानकारी आएन। त्यसपछि गत वर्ष हङकङमा भएको एक अन्तर्राष्ट्रिय अनलाइन अक्सनमा पुनः मास्क देख्न पाइयो। देख्नासाथ मैले चिनिहालेँ।” 

मास्क निजी संग्रहकर्तासँग भएको कारण फिर्ताको पहलमा केही कठिनाइ आउन सक्ने उनको अनुमान छ। उकालोसँगको फोनवार्तामा श्रेष्ठ भन्छन्, “हामी अक्सन रोक्न सफल भयौँ। मास्क पहिचान भए पनि कोसँग, कुन स्थानमा छ त्यो भने थाहा छैन। संग्रहालय क्षेत्रमा भएको भए यस खालको कठिनाइ हुने थिएन।”

मास्कको पहिचान भएसँगै अब त्यसको किनबेचका लागि कुनै प्रकारको अक्सन नहुने जानकारीले भने प्रशान्त ढुक्क छन्। “अब त मास्कलाई जसरी पनि फिर्ता ल्याउनुपर्छ। त्यसका लागि राज्यका निकायहरू लागिरहेका छन्। अवश्य सफल भइन्छ,” उने भने। 

“हाम्रो भगवान् त बाहिर वस्तुको रूपमा विनिमय गर्दारहेछन्। हामीले पहिचान गरेका छौँ, फिर्ता ल्याउन हरसम्भव प्रयास गर्नेछौँ,” उनले भने, “यस घटनाले हामीलाई चनाखो भएर मूर्ति बचाउन आत्मबोध भएको छ।”