सावित्री मैनालीले गरेको विद्यावारिधि सोधका कारण एक हजार वर्षअघि राजा रुद्रदेवको पालामा लेखिएको ‘शिवधर्मशाश्त्रम्’ कृतिका गाताचित्रहरू नेपाल फर्काइए। ती सम्पदा राष्ट्रिय अभिलेखालयबाटै हराएका थिए।
काठमाडौँ— क्याम्पसमा पढाउने धेरैजसो गुरुबा–आमाझैँ सावित्री मैनालीको दैनिकी पनि उसैगरी चलिरहेको थियो। पद्यमकन्या जाने, कला–संस्कृति विषय पढाउने र बाँकी समय घरधन्दा।
२०३५ माघ २१ देखि शुरू भएको प्राध्यापनको चटारोमाझ सावित्रीले कला–संस्कृतिका राष्ट्रिय–अन्तर्राष्ट्रिय जर्नलहरूमा पुरातात्विक ग्रन्थ, हराएका सम्पदा र अभिलेखीकरण हुन नसकेको पुरातत्वबारे सोधपरक लेख लेख्दै आएकी थिइन्। प्राध्यापन पेसामा बढुवाका लागि धेरैले जर्नलका लागि लेख लेख्छन्। बढुवाकै लागि विद्यावारिधि गर्छन्।
“स्वभावतः मलाई पनि पीएचडीको रहर जाग्यो तर खालि प्रमोसन पाउने वा नाममा डा. लेखाउने रहरभन्दा माथि उठेर फरक केही गरौँ भन्ने लागेको थियो,” सावित्री भन्छिन्, “त्यस बेला विश्वविद्यालयको संस्कृति विभागमा हुनुभएका मुकुन्दराज अर्याल, प्रेमरमण उप्रेती, दिनेशचन्द्र रेग्मी जस्ता संस्कृतिविद् तथा अध्येताको परामर्शमा मैले सोधको विषय पनि अलिक भिन्न राखेकी थिएँ।”
उनले आफ्नो सोधको विषय ‘हिन्दू मिनिएचर पेन्टिङ्स अफ द काठमाडौं भ्याली’ अर्थात् काठमाडौँ उपत्यकामा रहेका हिन्दू सूक्ष्म चित्रकलाको आधार र प्रभावलाई बनाइन्। २०५६ सालदेखि पाँच वर्षसम्म गरेको सोध–अध्ययनबाट सावित्री मैनालीले नामको अगाडि ‘डा.’ मात्र लेखाइनन्, सिंगो मुलुकलाई पुरातात्विक सोध तथा उपलब्धिका हिसाबमा नसोचेको गुन लगायो।
सावित्रीले २०३५ देखि २०७४ सालसम्म झण्डै ४ दशक त्रिभुवन बिश्वबिद्यालयमा प्राध्यापन गरिन्। त्यसपछि न्यायसेवा सम्बद्ध श्रीमान् विश्वकान्त मैनालीका साथमा आफ्नो क्षेत्रमा थप अध्ययन तथा भ्रमणका लागि धेरैजसो समय अमेरिका, क्यानडातिर टहलिन थालिन्। उनले कलाक्षेत्रमा गरेको अध्ययनको प्रभाव देखिइरहेको छ।
केही साताका लागि काठमाडौँ उत्रिएकी उनले भनिन्, “राष्ट्रिय अभिलेखालयको सुरक्षा–संरक्षण घेराभित्रबाटै हिन्दू सूक्ष्म चित्रको केही पुरातात्विक गाताचित्र हराएको (वा चोरिएको) बारे मैले आफ्नो सोधमा उल्लेख गरेकी थिएँ। त्यही आधारमा २०७२ सालमा ६ थान काष्ठ गाताचित्र नेपाल फर्काइएको थियो। यो वर्ष पनि बेल्जियमबाट दुई थान गाताचित्र घर फर्कने भएका छन्।” आफूले पाएको विद्यावारिधि उपाधिभन्दा पनि देशको सम्पदा फिर्ता हुनु ठूलो उपलब्धिको रूपमा लिएको उनी बताउँछिन्। उनको सोधमा उल्लेख भएअनुसार राजा रुद्रदेवको पालामा नेपाल सम्वत् २९० (विसं ११७०) लेखिएको ‘शिवधर्मशाश्त्रम्’ कृतिको गाताचित्रहरू अभिलेखालयबाट चोरिएको थियो।
अभिलेखालयबाट कसरी चोरियो?
राष्ट्रिय अभिलेखालय स्थापना लगत्तै नेपालमा शुरू भएको नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजना २०२६ सालको अन्त्यमा पूरा भएको थियो। यो परियोजनाले अभिलेखालयका पुरातात्विक (हस्तलिखित) सामग्री माइक्रोफिल्म गरेको ३० वर्षपछि धुलोले पुरिएको अभिलेखालय दस्तावेज पल्टाउने क्रममा सावित्रीले चोरिएका सम्पदाबारे जानकारी पाएकी थिइन्।
“संयोगले मैले मेरो पीएचडी सोधको कृति अमेरिकी लाइब्रेरी कंग्रेसमा पठाएकी थिएँ। २०१३ मार्चतिर न्यूयोर्कस्थित कला–सम्पदा लिलामी गृह क्रिष्टिजले नेपालका केही पुरातात्विक सामग्री लिलामीमा राखेको सूचना पाएर कलाविद् डा. हारुनागा ज्याक्सनले सोधपुछ गरेका रहेछन्,” उनी भन्छिन्, “यता अभिलेखालयबाट आधा शताब्दीअघि हराएका पुरातात्विक गाताचित्र त्यो लिलामीमा राखिएको पुष्टी भएपछि लामो कूटनीतिक प्रकृयाबाट ती सम्पत्ति घर फर्काइएको थियो।”
आफ्नो सोधमा समेटिएका पुरातत्व लिलामीमा राखिएकोबारे आफ्ना देवर एवं वासिंग्टनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख अर्जुनकान्त मैनालीले जानकारी दिएपछि यसबारे नेपालमा सरकारी तहमा सोधखोज र फिर्ती प्रकृया अघि बढेको उनले जानकारी दिइन्। क्रिष्टिजमा लिलामीमा राखिएका सामग्री भने सन् १९८९ को शुरूवातमै अमेरिका पुर्याइएको जानकारी आए पनि कसरी र कुन माध्यमबाट लगियो भन्ने आधार खुल्न सकेको छैन।

त्यसबेला शिवधर्म र विष्णुधर्म पाण्डुलिपिका गाताचित्र क्रिष्टिजबाट नेपाल फर्काइएको अभिलेखालयका तत्कालीन प्रमुख प्रकाश दर्नालले अभिलेखालयको जर्नल ‘अभिलेख’ (२०७०, पूर्णांक ३१)मा लेखेका छन्। अभिलेखालयको थैलीभित्र राखिएको सम्पत्ति चोरिएको वर्षौपछि मात्रै जानकारी आएपछि पुरातत्व विभागले दर्नालकै संयोजकत्वमा २०६९ चैत २० गते पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा उत्तम खनाल, श्यामसुन्दर राजबंशी, सुरेश सुरश श्रेष्ठ र राजु रिमाल सदस्य थिए।
समितिले जर्मन प्रोजेक्टमा माइक्रो–फिल्मिङ भैसकेका शिवधर्म संग्रह, विष्णुधर्म, भागवत पुराण र विष्णु धर्मका गाताचित्रहरू अभिलेखालयबाट हराएको तथ्य बाहिर ल्याएको थियो। तर गाताचित्र हराएकोबारे अभिलेखालयका तत्कालीन प्रमुखहरू बलरामदास डंगोल, सानीमैयाँ राणा, सानुनानी कंसाकार, सरला मानन्धर, भीमप्रसाद नेपाल र प्रकाश दर्नाल सबैले आफूलाई थाहा नभएको बताएका थिए।
“सोधकर्ता डा.सावित्री मैनालीले अभिलेखालय प्रमुख सरला मानन्धरको समयमा (२०५८–२०६३) अनुसन्धान गर्दा शिवधर्म (लगत संख्या प्र.१०७५, रिल नं. बी ७/३, ने.सं.२९०)को गाताचित्र नभएकाले माइक्रोफिल्मबाट प्रतिलिपि राखेको भने पनि त्यसबारे सोधीखोजी नगरी एकैपटक १५ मार्च २०१३ मा जब प्राध्यापक हारुनागाले क्रिष्टिजले लिलाममा राखेको इमेलहरूको प्रतिलिपि दिई जानकारी दिएपछि मात्रै औपचारिक रूपमा इन्टरपोलमा हराएको रिपोर्ट दर्ता भयो”, अभिलेखालयका तत्कालीन प्रमुख (२०६८–२०७२) दर्नालले ‘अभिलेख’ जर्नलमा लेखेका छन्।
चोरिएकामध्ये शिवधर्म र विष्णुधर्मका गाताहरू अमेरिकास्थित क्रिस्टिजबाट २०१३ अगष्ट १६ मा पुरातत्व विभागमा फिर्ता आइसकेका छन्। सन् १९७० को दशकमा एकैचोटि अभिलेखालयबाट हराएको भागवतपुराणको हस्तलिखित कृतिका (अभिलेखालय रिल नं.ए.१०८०/४) दुई थान गाता भने अझै फेला परेका छैनन्।
बाँकी छ सोध–अनुसन्धान!
प्राध्यापक सावित्री मैनालीले झण्डै पाँच वर्षजति अभिलेखालय, केशर पुस्तकालय, छाउनी म्युजियम, भक्तपुर र पाटन संग्रालय हुँदै बेलायतको लन्डनस्थित पुस्तकालय/संग्रहालयमा पनि हिन्दू सूक्ष्म चित्रबारे सोध गरेकी थिइन्। अभिलेखालयमा छँदा तत्कालीन प्रमुख सानुनानी कंसाकार हुँदै सरला मानन्धर र त्यहाँका फोटाग्राफर (ओम/मनोहरलाल)ले दिएको साथ–सहयोगलाई सावित्रीले अझै भुलेकी छैनन्। सेतो कपडामा बेरेर राखिएका पाण्डुलिपिको जोहो र नेपाली परम्परागत कागज, ताडपत्र आदिको महत्त्वबारे पनि सावित्रीले अभिलेखालयको त्यही अँध्यारो कुनोमा पुगेर जानकारी पाएकी थिइन्।
“हाम्रो इतिहासमा चोरिएका वा हराएका मुर्ति, शिलालेख र टुँडालका बारे निकै सोधखोज भएको छ, ‘स्टोलन इमेजेज अफ नेपाल’(वाङ्गदेल) जस्ता कृतिहरू पनि निस्किएका छन्,” उनी भन्छिन्, “तर नेपाल उत्पत्तिको कथासँगै जोडिएका सूक्ष्म चित्र, गाताचित्र र अरू मिहिन चित्रकलाबारे त्यति सोध हुन सकेको छैन।” बुद्ध धर्म र बौद्ध सम्प्रदायको सामग्री देशभित्र र विदेशी संग्रालय–पुस्तकालयमा आफूले बढी देखेको उनी बताउँछिन्।
सावित्रीले कला–संस्कृतिको क्षेत्रमा ऐतिहासिकताको सन्दर्भसहित नयाँ सोध र व्याख्या गर्न लागीपर्ने प्राध्यापक बीणा पौड्याल, पेशल दाहाल, रमेश कुँवर, सन्ध्या खनाल आदिको प्रयास स्तुत्य रहेको सुनाइन्। “धर्ममा समन्वयवाद र सहिष्णुता भएको नेपाली समाजमा आफ्नो इतिहास, पहिचान र सभ्यताको सोधखोज गर्ने हामीले नै हो, कोही विदेशी अभियन्ताले आएर सबैकुरा पहिल्याउला र हामीलाई जिम्मा लगाइदेला भनेर सोचिरहनुको अर्थ रहन्न,” उनी भन्छिन्।
सावित्रीलाई कतिपयले भन्ने गरेका रहेछन्— गाँस–बास–कपास पछि मात्रै कला–सम्पदाको सरोकार आउँछ, किन यसरी कुदिरहनुभएको हो?
यस्तो बेला हत्तपत्त उनी जवाफ फर्काउँदिनन्। बरु, आफैंपट्टि फर्केर भन्छिन्— त्यस्तो होइन, आफ्नो सभ्यता, पहिचान र इतिहास भनेकै यही हो। नभए त हाम्रो पुरातत्व र इतिहासको के अर्थ रह्यो? हाम्रो यो समाज, समय र सभ्यता पनि आजै (भर्खरै) उभिएको र बनिएको जस्तो भैहाल्यो नि।
यसरी प्राडा सावित्रीले गरेको सोधअनुसार बेल्जियमको नेपाली दुतावास हुँदै नेपाल फर्काइन लागेका एक हजार वर्ष पुराना काठे गाताचित्रको सम्पूर्ण श्रेय ‘हिन्दू मिनिएचर पेन्टिङ्स अफ द काठमाडौँ भ्याली’ कृतिलाई जान्छ। यो सम्पदा उता पुर्याइनुका कारणबारे नखुलाइकन अन्तर्राष्ट्रिय पहिचान भएको आर्ट रिकभरी इन्टरनेशनल (एआरआई)को पहलमा गत फागुनमा बेल्जियमस्थित नेपाली राजदूत गेहेन्द्र राजभण्डारीलाई बुझाइसकिएको छ। एआरआईका संस्थापक सीइओ क्रिस्टोफर ए. मारिलेनोले यी सामग्री फर्काउनमा गुन लगाएका छन्। राजदूत राजभण्डारीका अनुसार केही कागजी र कानूनी प्रकृया जारी रहेकाले केही महिनामा मात्रै यी सामग्री काठमाडौँ आइपुग्ने छन्।
सावित्री पनि हाम्रा सम्पदाहरू के–कसरी चोरिए भन्ने सोधखोजतिर लागेकी छैनन्। “विगतमा राज्य संयन्त्र र तत्कालीन शक्ति केन्द्र (राजदरबार) संलग्न नभइकन हाम्रा सूक्ष्मदेखि सय–सय केजीका मुर्तिहरू विदेशिन सम्भव थियो होला भन्ने मलाई लाग्दैन। त्यसरी हराएका, चोरिएका हाम्रा मूर्ति/सम्पदाबारे केही जानकारी अंश ‘स्टोलन इमेजेज अफ नेपाल’ जस्ता कृतिमा उल्लेख भए तर धेरै त बाँकी नै छ,” कुराकानीको बिसौनीमा सावित्रीले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
