‘राजदूत पदमा विशुद्ध कार्यकर्ता भर्ती किन?’

‘राज्यसत्ता र शासन प्रणाली नै फेरिए मात्रै एकमुष्ट राजदूत फिर्ता बोलाइने प्रचलन रहे पनि नेपालमा सरकारको दलगत संरचना हेराफेरिकै भरमा पनि ‘जागिरे राजदूत’ पद खाली गरिछाड्ने प्रवृत्ति स्थापित बनेको छ।’

काठमाडौँ– पूर्वपरराष्ट्र सचिव एवं कूटनीतिज्ञ मधुरमण आचार्यले राजदूत नियुक्तिका नाममा आफू, आफ्नो पार्टी र कार्यकर्ताको हितमा मात्रै जोडिएर भइरहेको कूटनीतिक खेलाँचीले सिंगो मुलुककै छवि बिगार्ने काम भइरहेको धारणा राखेका छन्।

“विशुद्ध राजनीतिक कार्यकतालाई राजदूतमा सिफारिस भैरहनु निराशाजनक छ, राष्ट्रको गरिमासँग जोडिएको त्यो पदलाई कार्यकर्ताका निम्ति जागिर खाने थलोका रूपमा स्थापित गरिनु आफैमा दुर्भाग्यपूर्ण कुरा हो,” न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोगका प्रमुख समेत रहिसकेका आचार्यले उकालोसँगको संवादमा भने, “दलहरूभित्रै पनि विषयगत विज्ञ र कूटनीतिक सरोकारका जानकार पात्रहरू रहे–भए पनि भनसुन वा आफ्नो पकेटबाटै राजदूत सिफारिस गर्ने प्रकृया हाँसोउठ्दो देखिएको छ, अझ तोकिएको मुकाममै पुगेर कूटनीति सिक्ने भन्ने तहका कार्यकर्ताको कूटनीतिक नियुक्तिले यो पदको विशिष्टतालाई निमिट्यान्न पारेको छ।”

जुन ओज र गरिमायुक्त कूटनीतिक पात्र पठाइएको हो, त्यही अनुसार सम्बद्ध मुलुकले व्यवहार गर्ने भन्दै आचार्यले हालसालै ११ जना राजदूत असमयमै फिर्ता बोलाइएको सन्दर्भले पनि राजदूत पदलाई पार्टी, विचार वा दलगत घेराबाट माथि उठ्न नदिइएको छनक मिल्ने प्रतिक्रिया दिए। त्यसमा पनि राज्यसत्ता र शासन प्रणाली नै फेरिएको हो भने मात्रै यसरी एकमुष्ट राजदूत फिर्ता बोलाइने प्रचलन रहे पनि नेपालमा सरकारमा दलगत सामान्य हेराफेरिकै भरमा पनि ‘जागिरे राजदूत’ पद खाली गरिछाड्ने प्रवृत्ति स्थापित बनेको उनले बताए। 

कूटनीतिक स्थायित्व र निरन्तरताले मुलुकलाई दीर्घकालीन रूपमा हित गर्ने धारणा राख्दै आचार्यले यो यथार्थबारेमा राजनीतिक दल र नेतृत्व पंक्तिलाई बुझाउनै नसकेको स्वमूल्यांकन सुनाए। राजनीतिक पंक्तिबाटै भए पनि विगतमा नियुक्त भएका बीसी मल्ल, लोकराज बराल, केदारभक्त माथेमाजस्ता आफ्नो प्राज्ञिक क्षेत्रका विज्ञहरू राजदूत बनेर गएको बताउँदै आचार्यले अहिले जो जहाँ पनि ‘फिट’ हुने शैलीमा राजदूत सिफारिस गर्न थालिएको अवस्थाले कूटनीतिक ह्रास निम्त्याउने धारणा राखे।

छिमेकी भारत वा चीनसँगको सम्बन्ध सहजीकरण र सुदृढीकरणका हकमा पनि आपसी सम्बन्ध–सम्पर्कमा अड्किएका विषयहरू बाहेक पनि थुप्रै सरोकारका मुद्दामा काम गर्न सकिने धारणा राख्दै आचार्यले भने, “बीआरआई मात्रै भनेरै चीनसँग सम्बन्ध–सम्पर्कमा अल्झने वा सिमावर्ती मुद्दा र इपीजीकै कारण भारतसँग संवादहीन हुने अवस्था आउनुहुन्न। आपसी सम्पर्क र संवादका अरू आयामहरूको खोजी र प्रवेशमा पहल हुनुपर्छ।” 

प्रधानमन्त्रीको तहमा हुने छिमेक भ्रमणहरूमा हाम्रा सम्बन्धका आयाम र जटिलताबारे जतिसक्दो स्पष्ट हुनैपर्ने र ‘यो विषय उठाएमा भारत रिसाउला वा चीन रिसाउला’ भनेर तस्वीरमा मात्रै हात मिलाएको वा मुस्कान साटासाट गरेको दृष्यले कुनै परिणाम दिन नसक्ने उनको टिप्पणी छ। 

हाम्रा राजनीतिक तहका शीर्ष नेताहरूमा कूटनीतिक बुझाइ र ज्ञान निकै फितलो रहेको बताउँदै उनले एक लाख भुटानी शरणार्थीलाई पुनर्बसोबासमा पठाउँदैमा यो समस्या समाधान भयो भनेर गलत व्याख्या गर्न नमिल्ने बताए। “नक्कली शरणार्थीको बहाना वा अन्य कारणले पनि बाँकी रहेका ६ हजार ५०० जति शरणार्थीलाई बन्धक अवस्थामा राख्न मिल्दैन। घरफिर्तीको अडानमा अडिग हुँदै बरु संख्यामा एक हजार शरणार्थी मात्र भए पनि भुटान फर्काउन सकिएमा मात्रै यो समस्या समाधानमा सफलता मिलेको भन्न मिल्छ,” उनले भने।     

कूटनीतिमा राजनीति हाबी भएका कारण नेपालको कूटनीतिक छवि धुमिल देखिएको भए पनि आशलाग्दा र सुधारका सूचांक पनि निकै भएको बताउँदै कूटनीतिज्ञ आचार्यले भने, “लौ सकियो, खत्तम भयो भन्ने न्यारेटिभलाई म भने मान्दिनँ। कुनै निजी संस्थाले कहिले हाम्रो पासपोर्टको कमजोर र्‍यांक देखाएर वा कहिले ‘असफल राष्ट्रको सूची’ निकाल्दैमा त्यसलाई किन पछ्याउने? यत्तिको दह्रो संस्थागत पद्धति, खुला समाज, लोकतन्त्र भएको मुलुकमा छौँ हामी। सधैं निराश मात्र भएर बस्नुको अर्थ रहन्न।”

पूर्वपरराष्ट्रसचिव आचार्यसँग उकालोका लागि देवेन्द्र भट्टराईले गरेको कुराकानी: