‘वर्षैपिच्छे जस्तो साहित्य सेमिनार, गोष्ठि, चर्चा–परिचर्चा र फाटफुटे सांस्कृतिक प्रदर्शन जस्ता सस्ता देखावटी प्रचारलाई नै हामीले प्रज्ञा प्रतिष्ठानको उपलब्धि मान्नु परेको छ तर यति नै वास्तविकता हो त?’
आधा शताब्दीअघि अर्थात् २०२८ वैशाखमा लेकाली प्रकाशन (भोजपुर)को नाममा एउटा साहित्यिक पत्रिका प्रकाशनमा आयो– उपत्यका। लेकाली सांगितीक समूहका हर्ताकर्ता हिरण्य भोजपुरे र गणेश रसिक यो पत्रिकाका सम्पादक थिए। जम्मा एक अंक मात्रै प्रकाशित भएको ‘उपत्यका’को सम्पादकीयमा लेखिएको थियो–
“हामीलाई सधैँ त्यो ठूलो आकाशको थिचाइहरूले थिचिरहेका हुन्छन्। वरिपरिका पहाडका पर्खालहरूले सधैँसधैँ हाम्रा बाटाहरू रोकिरहेका हुन्छन्। यो सीमित क्षितिजभरिको संसारमा हामी झन् बाउन्ने बन्दै गैरहेका छौँ। र हामी यहाँ च्यापिएर, थिचिएर र उकुसमुकुसिएर केवल छट्पटी बाँचिरहेका छौँ।
हो, हामी यो उपत्यकाभित्र असंख्य खोक्रा उपत्यका पेट बोकेर, भोकहरू भागेर बाँचिरहेका छौँ। हामीहरू भोकको लावा लिएर कस्तो सुनसान ज्वालामुखी हिँडिरहेका छौँ। कस्तो सुनसान ज्वालामुखी डुलिरहेका छौँ– खोक्रो पेरुङ्गो पेट बोकेर र आगो बोकेर।”

यही ऐतिहासिक पत्रिका ‘उपत्यका’मा चर्चित कथाकार प्रेमा शाहको अन्तर्वार्ता छापिएको थियो, जुन बेला ‘पहेँलो गुलाफ’, ‘लोग्ने’ जस्ता उनका कथाहरूले वाहवाही पाइसकेका थिए। प्रेमाको जन्म २००२ असार १६ मा वीरगन्जको श्रीपुरमा र निधन २०७४ पुस ६ मा अमेरिकामा भएको थियो। ‘उपत्यका’का सम्पादक हिरण्य भोजपुरेले २०२७ मंसिरमा काठमाडौँमा लिएको यो अन्तर्वार्ता अर्का सम्पादक (गायक) गणेश रसिकको सौजन्यमा उकालोलाई प्राप्त भएको हो। लेखक प्रेमा शाहको स्मृतिमा उनको अन्तर्वार्ता प्रकाशन गरिएको हो।
तपाईंले कहिलेदेखि कथा लेख्न थाल्नुभएको हो? प्रथम प्रकाशित कथा कुन हो?
स्कुलमा पढ्दादेखि नै मलाई लेख्ने सनक चलेको थियो। त्यसै बेला मैले ‘प्रतिक्रिया’ लेखेँ र गुरु रत्नध्वज जोशीज्यूले ‘शारदा’ (२०१८) मा छापिदिनु भयो। मेरो पहिलो कथा त्यही हो। पछि ‘पहेँलो गुलाफ’ संग्रह निकाल्दा त्यो कथामा मैले केही हेरफेर गरेकी छु।
के तपाईंलाई लाग्छ तपाईंको परिश्रमअनुसार प्रतिष्ठा पाइरहनु भएको छ?
म यसपट्टि सजग छैन। लेखकको मूल्यांकन उसको कृतिले गर्छ। एउटा कुरा भनूँ! ख्यातिलाई हेतु बनाएर सायदै कुनै लेखकले लेख्ला। आफ्नो विषयमा म आफूमाथि गर्व गर्ने स्थितिमा पुगेको छैन। ख्यातिलाई फर्केर हेर्ने एउटा ठाउँ हुन्छ। प्रतिष्ठा या ख्याति नसोध्नुहोस्, म आफूलाई ‘लेखिका’ भनेर क्लेम पनि गर्दिनँ। लेख्नु मेरो एउटा क्रेज मात्र हो। तथापि लेख्दाका चरणमा म आफूमाथि विश्वस्त हुन्छु र आफूभित्रको इमान्दारीलाई ठग्ने सामर्थ्य छैन।
तपाईंलाई आफ्नो सबैभन्दा मन पर्ने कथा कुन हो?
अहिलेसम्म लेख्न सकेको छैन।
हाम्रो देशमा लेख्नुलाई पेसा बनाउने नगन्य छन्। मलाई लाग्छ जीविकाको लागि तपाईं लेखिरहनु भएको छैन। त तपाईं केको लागि लेख्नुहुन्छ?
जीविकाकै लागि लेख्नलाई प्रोफेशन बनाउने हो भने न त यहाँ बाँच्नै सकिन्छ, न एउटा गतिलो लेखक बन्न। प्रोफेशनल लेखक आफैँमा एउटा खतरा हो। विशेषतः हाम्रो देशमा र जीविकाको निमित्त लेख्नुमा म विश्वास पनि गर्दिनँ। यसमा निःसन्देह नै लेखकले आफूभित्रको नैतिकतालाई कतै न कतैबाट मिनिमाइज गर्नुपर्छ। म स्वतन्त्र लेख्छु। हो, लेख्नु कसै–कसैका निमित्त उद्देश्य (पेसा) पनि हुनसक्छ, म यसमा छैन। न त आत्मसन्तुष्टिकै निमित्त लेख्छु। लेख्नुको बोध मलाई हुन्छ। लेखिसिध्याएर पनि म हलुङ्गिन्नँ, बरु अघोरी मनले आफू जहिले पनि थिचिएकी हुन्छु। थाह छैन किन लेख्छु, लेख्नु शायद मेरो सनक हो।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा कुलपतिको रूपमा कवि केदारमान व्यथितको कस्तो भूमिका रहिआएको छ? उहाँको प्रशासनिक र साहित्यिक दक्षतामा कुनै शंका छ?
भन्नेको दाँत कुँड्याउने र सुन्नेको मुटु कुड्याउने प्रश्न हो यो। आफैँ बुझ्नुहोस्।
प्रतिष्ठानमा केही महिनाअघि प्रतिस्थापित सदस्यहरू व्यथितको सिफारिशमा आएका हुन् भन्ने चर्चा छ। कसैकसैको भनाइमा यस छनोटमा केही अति अहम्वादी कट्टर सदस्यहरू पनि परेका छन् र केही चाहिँ सदस्य हुनको निम्ति निक्कै नयाँ व्यक्ति परेका छन्। यस सम्बन्धमा तपाईंको धारणा?
प्रज्ञा प्रतिष्ठान साहित्य संस्था नभएर गुटबन्दी र पहलवानीको अखडा भएको छ र त्यसको डिप्लोमेसी र दाउपेचको विषयमा केही बोल्नु खालि यौटा चित्त दुखाइ र बकबासबाहेक केही हुन आउँदैन। एउटा व्यक्तिको मोनोपोली हिसाबमा चलेको कामलाई के गम्भीरतासँग लिने! र सदस्यताको विषयमा हेर्दा नभन्दै त्यो खोटो पैसा हो जसलाई बिनामहत्त्व त्यसै फाल्दै हिँड्न सकिन्छ। अर्थात्, सकिँदोरहेछ। तपाईंलाई भएन र?
भविष्यमा प्रज्ञा प्रतिष्ठानबाट नेपाली साहित्य र कलाको विकासमा कस्तो आशा गर्न सकिन्छ?
अहिलेसम्म त प्रज्ञा प्रतिष्ठान खालि बहाना जस्तो लाग्छ। वर्षैपिच्छे जस्तो साहित्य सेमिनार, गोष्ठि, चर्चा–परिचर्चा र फाटफुटे सांस्कृतिक प्रदर्शन जस्ता सस्ता (अनुचित हुँदैन भने) देखावटी प्रचारलाई नै हामीले प्रज्ञा प्रतिष्ठानको उपलब्धि मान्नु परेको छ तर यति नै वास्तविकता हो त? यसको उत्तर प्रतिष्ठानले कार्यरूपमा दिन सक्नुपर्छ, खालि योजना र संभाव्यलाई सत्य मान्न सकिन्नँ। भनूँ भने अहिलेसम्म प्रज्ञा प्रतिष्ठान एउटा अन्धविश्वास हो र यस आधारमा खालि भ्रान्त हुनु र शंका पाल्नुबाहेक नेपाली साहित्य र कलाको कस्तो आशा गर्नु।
स्वास्नीमान्छे पनि सहसदस्यको निमित्त छानिनु पर्ने बारेमा तपाईंको के विचार छ? स्वास्नीमान्छेहरू नछानिनुमा कति कारणहरू हुन सक्छन्?
हाम्रो प्रज्ञा प्रतिष्ठानको चलन त अपूर्वको छैन र! फेरि सहसदस्यहरू नै किन सदस्यको रूपमा स्वास्नीमानिस छानिन्न? बौद्विकताले लिंगभेद मान्दैन। प्रज्ञा प्रतिष्ठानभन्दा निश्चय नै विद्वानहरूको ठाउँ बुझाउँछ। यसले त्यहाँ विद्वान स्वास्नीमानिसहरूको प्रवेश निषिद्व हुन्न। यहाँ प्रज्ञा प्रतिष्ठानमा लेखक र विद्धानको नाताले लोग्नेमानिस सदस्य र सहसदस्य हुन सक्छन् भने तिनैका स्तर या तीभन्दा माथिका र विद्वान (हाम्रा विद्वान सहसदस्यहरूका तुलनामा) स्वास्नीमानिसहरू प्रज्ञा प्रतिष्ठानको सदस्यतामा आउन नसकेको कारण प्रतिष्ठानको उपेक्षा पनि हो।
यो एउटा रिजन मात्र दिएको मैले। यसको अतिरिक्त स्वास्नी मानिसलाई सदस्य वा सहसदस्य छान्नु/नछान्नुमा प्रतिष्ठानको पोलिसी कस्तो छ कुन्नि? तर स्वास्नी मानिसका पक्षमा बौद्धिक कमजोरी या प्रशासनिक अयोग्यताको खोट लाएर भाँजी हाल्ने काम चाहिँ अर्थहीन हो। त्यसो त एकेडेमी जस्तो ठाउँमा लोग्नेमानिस होस् या स्वास्नीमानिस, योग्य व्यक्ति नै हुनुपर्ने हो र यस आधारमा स्वास्नीमानिस छानिनु र नछानिनुमा कारण छन् पनि, छैनन् पनि।
तपाईंको सबैभन्दा मन पर्ने नेपाली कथाकार को? र विदेशका नि?
कट्टरतासँग मन पराउनु पर्ने त्यस्तो कोही छैन। विशेष पारिजात र शैलेन्द्र साकारका कथा मलाई राम्रा लाग्छन्। राम्रा लाग्ने विदेशी लेखकमा दुई जनाको नाम कम्ती हुन्छ।
डीएच लरेन्सको ‘लेडि चेटर्लिज लभर’, एमिल जोलाको ‘नाना’ मोरावियाको ‘ओमेन अफ रोम’ र ब्लादिभिर नबोकोबको ‘लोलिता’ उपन्यासहरूमध्ये कुन चाहिँ सबैभन्दा राम्रो लाग्छ?
यी चारै वटा राम्रा लागेका हुन् तर राम्रो लाग्नुको प्रभाव अहिले उठ्दैछ।
तपाईंले उपन्यास लेख्नुभएको छ कि छैन? भविष्यमा लेख्ने कुनै योजना छ कि?
लेखेको छैन, लेख्छु होला।
कथाबाहेक साहित्यको कुन विधा लेख्न तपाईं बढी रुचाउनु हुन्छ?
लेख्ने गरेको त गद्य विधामै हो, यसलाई रुचि भन्नुहुन्छ भने भन्नुहोस्। कथाबाहेक कहिलेकाहीँ एकांगीहरू लेख्छु।
नवीनतामा बोध भएका कथाकारहरूमा ध्रुवचन्द्र गौतम, पारिजात, प्रेमा शाह, आदिलाई मानिन्छ। आफ्ना समकालीनका प्रवृत्तिहरू कता गइरहेको अनुभव गर्नु भएको छ? अनि तपाईं कता नि?
यथार्थ कुरा भन्ने हो भने आजको लेखन प्रवृति एकैतिर दोब्रिएको छ। बास्तवमा सत्य हो आज हामीले सामना गर्नु परिरहेको आर्थिक, सामाजिक, राजनैतिक व्यवस्था र विसंगतिमय परिवेशको विरुद्व खालि कुन्ठा, सन्त्रास, यौन यस्तै मात्रै लेखिरहेछौँ। जीवनका उत्तम पक्षहरूपट्टि हामी जानी–जानी उदासिन भइदिएका छौँ, जसले गर्दा हाम्रो लेखाइ सीमित र शिथिल भइदिएको छ। सन्त्रास र कुण्ठा हामीसित जन्मजन्मान्तर सम्बद्व छ र अवस्यै हाम्रो भित्र बाहिर तीदेखि आक्रान्त छन्। तर यसको अर्थ यो होइन कि हामी आफ्ना कलम लिएर यसैमा आकण्ठ डुबिरहौं। विद्रोहको पक्षमा आफैभित्र कुँढिएर र आफैलाई सिध्याएर हामी झन् नियतिवादी पो बन्दै गइरहेछौँ। चेतनशील लेखक भाग्य र व्यवस्थाको कमारो होइन। मलाई लाग्छ हामी निष्कृय र पानीमरुवा भएर लेख्दैछौँ। लेखन हाम्रो सोचाइ मात्र होइन, हाम्रा बाह्य कार्यकलापको वास्तविक भूमिका हो। अहिले हामी आफूलाई कता भन्ने?
कस्तो कथालाई तपाईं सफल कथा भन्नुहुन्छ?
कथा कस्तो हुनुपर्छ भन्ने कुनै निर्धारित नियम छैन र परम्परावादी दृष्टिकोण वा स्थापित मान्यताको आधारमा कथालाई सफल या असफल भन्न सकिन्न। र त्यसको फर्ममा नै म विश्वास पनि गर्दिनँ। परन्तु, सामयिक परिप्रेक्ष्यमा कथा (कथ्य) लाई स्वीकार गर्ने हाम्रा केही स्वतन्त्र बौद्धिक धारणाहरू छन्। यी धारणा आजको सन्दर्भमा कथ्यहीनताविरुद्ध निश्चय नै कट्टर हुन्छन्। कथ्य र संवेदनशीलताको अतिक्रमणलाई एकछिन परै सार्ने हो भने पनि कतै न कतै हेतुमा कथाको सार्थकता युगबोध र कथाकारले टेकेको त्यसको हदको इमान्दारीपूर्ण भोगाइको अभिव्यक्तिमा छ। यस्तो अभिव्यक्ति बोल्ड हुनुपर्छ।
‘पहेँलो गुलाफ’, ‘लोग्ने’ र अरू यस्तै कथाहरूमा तपाईंले नै यौनलाई साधन तुल्याएर मनुष्य चरित्रको सुन्दर मनोविश्लेषण गर्नुभएको छ। तर यता केही कथाहरूले मानव चरित्रलाई साधन बनाएर यौनलाई उदांगो पार्ने प्रयत्न गर्नु नै आफ्नो कलाकारिता ठानिरहेका छन्। मनुष्यको सम्पूर्ण क्रियाकलाप यौनद्वारा प्रेरित हुन्छ भन्ने फ्रायडवादी कथाकारहरू एकातिर छन् भने अर्कोथरि यिनीहरूलाई अश्लील छाडावादी, फटाहा ठान्छन्। यसबारे तपाईंको दृष्टिकोण?
अन्य प्राकृतिक प्रवृत्तिसरह सेक्स पनि सहजता हो। तर प्रवृत्तिहरूदेखि व्यक्ति सर्वोपरि हुन्छ। सेक्स नै जीवनको मूल समस्या होइन। यो मान्छेको कन्सेप्सनमा भर पर्ने कुरा हो। आज सेक्सको स्थिति जति पातलिँदै गएको छ, उति यसले विकटताहरू संग्रहण गर्दैछ, यो प्रयत्न छ। यो स्थिति अर्थात् गोलमाललाई हाम्रा ‘सेन्सिटिभ मास’ले बुझेका छन्। यो मान्नै पर्छ– सेक्सलाई घृणित, अति र विवादास्पद तुल्याउनुमा आजका छितरिएका पिँढीका क्रियाकलाप र अन्धदृष्टिका दोष हुन्। परिणामस्वरूप आजका भ्रान्त युवापिँढी र तथाकथित यौनवादी साहित्यकारलाई लिन सकिन्छ जो विद्रोहको नाममा छाडा साहित्य प्रस्तुत गर्छन् र यस्तै प्रोपोगान्डामा विश्वास राख्छन्।
हो, मैले यौन कथाहरू लेखेकी छु तर मनुष्य जीवनको मूल्यांकन खालि सेक्सको माध्यमबाट मात्र हुन सक्दैन र म सेक्सलाई नै साहित्यको उद्देश्य मान्दिनँ। एकतरहले लेख्नलाई सेक्स पर्याप्त भइसक्यो। जहिले पनि एउटै विषयमा के लेख्ने, कति लेख्ने? इमान्दारिसँग भन्ने हो भने खालि एउटा पुनरावृत्तिको भरमा लेखकले आफूलाई कहाँसम्म कायम राख्न सक्छ? अर्को कुरा, आजका सेक्स विषयी पुनरावृत्तिलाई लिएर परम्पराग्रस्त देखिन्छन्- एउटा तिनका बाह्य फर्मलाई छोडिदिऊँ। सेक्स सम्बन्धी मान्यता केवल कुण्ठाग्रस्त छन् र एउटा विकृति र जुगुप्साबाहेक आजको कथामा नौलो कुरा पाइन्नँ। सेक्ससम्बन्धी हाम्रो विचार र दृष्टिकोण आधुनिक, बौद्धिक र सुल्झिएको हुनुपर्छ। खालि तर्क र कुण्ठाले कुनै दर्शन दिन सक्दैनन्। सैद्धान्तिक आदर्शवादको सन्दर्भमा साहित्यमा सेक्सलाई छाडावाद र अश्लील भन्नेहरू चाहिँ मुकुन्डो भिरेर टिन ठटाउँछन्।
यौन स्वतन्त्रतालाई तपाईं कुन अर्थमा लिनुहुन्छ? के व्यवहारिक दृष्टिकोणले आजको हाम्रो समाजमा यो स्वीकार्य हुनसक्ला?
सेक्स अवैध होइन, तर यौन स्वतन्त्रताको तात्पर्य समाजको जथाभावी नग्नताको प्रदर्शन र अश्लीलताको पराकाष्ठा पनि होइन। यौन जीवनमा एकप्रकारको मर्यादा हो र यसलाई नियन्त्रित र शिष्ट बाटोले उपभोग गरिनुपर्छ। अर्को कुरा हाम्रो आर्थिक व्यवस्था र संस्कारशील नेपाली जनजीवन निश्चय नै यसको अत्यधिक स्वच्छन्दता र उच्छृङ्खलताको अभ्यस्त र अनुकूल छैन। यौन स्वन्तन्त्रताको नाममा यहाँ निकै सामाजिक भ्रष्टाचार भएका छन्। बास्तवमा हाम्रा देशमा सेक्सको समस्याभन्दा काम र मामको समस्या विराट छ जसले हाम्रा जीवनको विकासलाई रोकिदिएको छ। अँ, त्यसो त सेक्स समस्याको निदान यहाँ विवाह, विधवा विवाह, तलाकपूर्ण विवाह र डेटिङ (विवाहका निमित्त तत्पर हुनेहरूका)बाट सरल भएको छ र यी व्यवहारिक छन्।
प्रेम र विवाहसम्बन्धी तपाईंको कस्तो धारणा छ?
जन्माउने र जन्मेको बीच अनि पति र पत्नीको बीच एउटा प्रवृत्तिको रूपमा केही हदसम्म प्रेम सार्थकजस्तो देखिन्छ। यी स्थितिबाहिर प्रेम एक जेन्युन अवस्था हो। मान्छेको अन्डरस्ट्याण्डिङको यस छेउमा आएर प्रेम र व्यक्ति छुट्टिन्छ। आफ्नो आफ्नो सहजतामा। यी दुई तथ्य एकअर्काका क्लेम होइनन्। एक अर्थमा विवाह व्यवस्था हो। पराश्रयीका निमित्त र स्वावलम्बीका बीच एउटा कम्प्रमाइज र एड्जस्टमेन्ट मात्र हो।
प्रयोग सधैँ सफल नै हुन्छ भन्न सकिन्नँ, त्यैपनि यो एउटा ठूलो आँट हो। राल्फाली, आयामेली र अरू विभिन्न प्रयोगिक साहित्यको रचना गर्नेहरू आफ्नो प्रयासमा कतिसम्म सफल छन्?
प्रयोग निश्चय नै कुनै विचित्रको सज्जाको वस्तु वा रङ्गाउने रङ होइन। प्रयोगभन्दा म हाम्रा सामयिक र समकालीन अन्तर्बोध र युगबोधका अभिव्यक्तिका ट्रेण्डलाई सम्झन्छु।
संगीतमा तपाईंको कतिको चाख छ? तपाईंलाई सबैभन्दा मनपर्ने गीतकार, संगीतकार र गायक को–को हुन्?
संगीतले हाम्रा भावनालाई कम्युनिकेट गर्छ। यसैले मलाई यसमा विश्वास लाग्छ। मनपर्ने संगीतकार र गीतकार लेकाली र राल्फाहरू हुन्। गायक? राम्रा स्वर भएका त धेरै छन्।
साहित्यकारमा हुनुपर्ने गुणहरू तपाईं के–के ठान्नुहुन्छ?
प्रथमतः साहित्यकार एउटा मानिस हो र यदि नैतिकताको सांगो अर्थमा लिइँदैन भने मानिसको भच्र्यू नैतिकता हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
