Wednesday, October 16, 2024

-->

अमेरिकाले किन रोक्छ ‘सेलेब्रिटी’को भिसा?

अमेरिकाले गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदी, प्रख्यात फुटबलर म्याराडोना, दक्षिण अफ्रिकी राष्ट्रपति नेल्सन मण्डेला, बलिउड अभिनेता शाहरूख खानलाई पनि भिसा दिएको थिएन। किन अस्वीकार हुन्छ भिसा?

अमेरिकाले किन रोक्छ ‘सेलेब्रिटी’को भिसा
एआईको सहयोगमा तयार पारिएको प्रतीकात्मक तस्वीर

काठमाडौँ– सन्दीप लामिछाने टी२० विश्वकप क्रिकेट खेल्न संयुक्त राज्य अमेरिकाको भिसाका लागि प्रयासरत रहँदा अर्जेन्टिनाका गल्फ खेलाडी एन्जेल क्याब्रेरा पनि त्यही ध्याउन्नमा थिए। यसअघि अमेरिकामै हुने गल्फका ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता ‘यूएस ओपन’ र ‘द मास्टर्स’ विजेता रहिसकेका ५४ वर्षीय क्याब्रेरालाई अमेरिकाले यसपटक भिसा दिएको थिएन।

क्याब्रेरा श्रीमती र दुई प्रेमिकामाथि घरेलु हिंसा तथा शारीरिक यातनाको फरक–फरक मुद्दामा ३० महिना जेलमा बिताएर गत वर्ष अगस्टमा मात्र रिहा भएका थिए। त्यसपछि उनी निरन्तर अमेरिकी भिसाका लागि प्रयासरत थिए। गत मार्चमा पहिलोपटक उनको भिसा अस्वीकृत भएको थियो, जसले गर्दा अप्रिलमा अमेरिकाको जर्जियामा सम्पन्न द मास्टर्समा उनले सहभागिता जनाउन पाएनन्।

क्रिकेटर लामिछानेले पनि पुनरावेदन गरिएको बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट जेठ २ (मे १५) मा सफाइ पाएका हुन्। उनलाई काठमाडौँ जिल्ला अदालतले भने दोषी ठहर गरेको थियो। सफाइ पाएपछि उनले टी२० विश्वकप खेल्न पाउने आशामा उनका समर्थक उत्साही थिए। अमेरिका र वेस्ट इन्डिजमा हुन गइरहेको विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ क्यानले पनि १५ खेलाडीमा उनको नाम समावेश गरेर स्वीकृतिका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) पठाएको जनाएको थियो।

तर नेपालस्थित अमेरिकी दूतावासले मे २२ मा सन्दीपलाई भिसा दिन अस्वीकार गर्‍यो। त्यसपछि उनका समर्थकले भिसाका लागि दबाब दिन भन्दै नाराबाजीसहित काठमाडौँको महाराजगन्जस्थित अमेरिकी दूतावासअगाडि पुगे। उक्त समूहमा राप्रपा सांसद ज्ञानेन्द्र शाही पनि थिए। सन्दीपलाई मे ३० मा दूतावासले अन्तर्वार्ताका लागि फेरि बोलाएर दोस्रो पटक भिसा अस्वीकार गर्‍यो।

क्रिकेटर सन्दीप र गल्फर क्याब्रेराको व्यक्तिगत जीवनमा मेल खाने अर्को घटना पनि छ। दुवैलाई पक्राउ गर्न सम्बन्धित देशको प्रहरीले इन्टरपोललाई गुहार्नुपरेको थियो। क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैकामा रहेकै बेला लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेपछि उतैबाट सम्पर्कविहीन भएका थिए। नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेपछि मात्र उनी नेपाल फर्केका थिए। उनलाई २०२२ अक्टोबर ६ मा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो।

क्याब्रेरी पनि इन्टरपोलको रेड नोटिसपछि २०२१ जनवरीमा ब्राजिलबाट पक्राउ परेका थिए। अर्जेन्टिनालाई सुपुर्दगी गर्नुअघि उनलाई रियोको जेलमा पाँच महिना राखिएको थियो। बाँकी समय उनले अर्जेन्टिनाको जेलमा बिताए। जेलबाट छुटेको नौ महिनापछि गत मे अन्तिममा बल्ल अमेरिकाले भिसा दियो। अहिले उनी यूएस च्याम्पियन खेलिरहेका छन्।

अमेरिकाले भिसा नदिँदा सन्दीपको पनि विश्वकप खेल्ने सपना बिथोलिएको थियो। तर क्यानले वेस्ट इन्डिजमा हुने खेलमा सहभागी गराउने भएपछि उनी सेन्ट भिन्सेट एन्ड द ग्रेनेडिन्स पुगिसकेका छन्।

‘राष्ट्रिय दबाब’को केही चलेन
सन् २०१९ मा पनि अमेरिकी दूतावासले सीपीएल खेल्न जान लागेका सन्दीपलाई शुरूमा भिसा दिएको थिएन। तर सामाजिक सञ्जालमा आलोचना भएपछि दूतावासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पुनः पूरा गरेर भिसा दिएको थियो।

यसपटक भिसाका लागि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अमेरिकी दूतावासमा फोनबाट आग्रह गरेको खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सन्दीपलाई भेटेरै भनेका थिए। परराष्ट्र सचिवमार्फत कूटनीतिक नोट पनि पठाइएको थियो। खेलाडीलाई भिसा दिलाउन भरपूर पहल गर्दागर्दै असफल भएपछि, यस विषयले सदनमा प्रवेश पायो। 

राप्रपा प्रवक्ता एवं सांसद् ज्ञानेन्द्र शाहीले अमेरिकी राजदूतलाई बोलाएर सरकारले स्पष्टीकरण सोध्नुपर्ने बताए। जेठ २३ गतेको प्रतिनिधिसभा बैठकमा उनले भने, “अदालतले सफाइ दिएको, क्यान र आईसीसीले स्वीकृत गरेको, खेलाडीलाई आयोजक देशले भिसा किन नदिएको? सरकारले त्यो देशको राजदूतलाई बोलाएर स्पष्टीकरण किन नलिएको?”

शाहीले बोलेको भोलिपल्टै जेठ २४ गते अर्को बैठकमा यही विषयमा नेपाली कांग्रेसले पनि सरकारको ध्यानाकर्षण गर्‍यो। कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भिसा प्रक्रियामा सरकारको उचित पहल नभएको बताए। “आफ्नो खेलाडीबारे अदालतले गरेको फैसला सुसूचित गरेर उनको भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपथ्र्यो। यसमा कमजोरी कहाँ रह्यो, किन कमजोरी भयो? खेलकुद, परराष्ट्र र सरकारलाई यसबारेमा ध्यानाकर्षण गराउँछु,” उनले भने।

तर प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव कुनै देशले भिसा दिएन भनेर सडकमा ओर्लिनु, संसदमा ‘कराउनु’लाई अराजकता मान्छन्। “रोइकराइ गरेर भिसा आउने होइन, दूतावास पुगेर प्रदर्शन गर्नु राम्रो होइन। देशमा अराजकता फैलिएको उदाहरण हो यो,” उनी भन्छन्, “सडक र सदनले माग गर्दैमा अमेरिकाले भिसा दिने होइन, त्यो उसको आफ्नो अधिकारको कुरा हो। उपयुक्त लागेन, दिएन। यसमा हामी केही गर्न सक्दैनौँ।”

अमेरिकाले भिसा नदिएको घटना सन्दीपको मात्र होइन। कयौँ विश्व चर्चित व्यक्तिहरूलाई पनि अमेरिकाले भिसा दिन रोकेका अनेक उदाहरण छन्।

म्याराडोनादेखि मोदीसम्मले पाएनन् भिसा
अमेरिकाले कतिपय विश्वका चर्चित व्यक्तिहरूको पनि ‘भिसा रिजेक्सन’ गरेको छ। बेलायतका पूर्वराजकुमार प्रिन्स ह्यारी अहिले भिसा विवादमा पनि परेका छन्।

२०२३ को जनवरीमा प्रकाशित आत्मवृत्तान्त ‘स्पेयर’मा उनले आफूले गाँजा, म्याजिक मसरुम, कोकिनलगायत लागुऔषध खाने गरेको खुलाएका छन्। वास्तविक विवरण नखुलाएर लिएको भिसालाई अमेरिकाले दुरुत्साहन मात्रै होइन ‘अपराध करार’ नै गर्छ। प्रिन्स ह्यारीको लागि यो मुद्दा निकै पेचिलो बन्दै गएको छ। 

ह्यारीले सन् २०२० मा अमेरिका प्रवेश गर्दा भिसा आवेदनमा आगूऔषध सेवन गर्ने विषय खुलाए वा खुलाएनन् भन्ने माग गरेर थिंक ट्यांक समूह हेरिटेज फाउन्डेसनले अमेरिकी अदालतमा मुद्दा नै दायर गरेको छ। बाइडेन प्रशासन ह्यारीलाई जोगाउन लागेको उक्त समूहको आरोप छ।

हेरिटेज फाउन्डेशनका निर्देशक नाइल गार्डिनर भन्छन्, “यदि ती रेकर्डहरू जारी गरियो र प्रिन्स ह्यारीले आफ्नो आवेदनमा झूट बोलेको पाइयो भने उनलाई अमेरिकाबाट निर्वासन गर्न सार्वजनिक रूपमा ठूलो दबाब हुनेछ।”

फुटबल खेलाडी तथा प्रशिक्षक अर्जेन्टिनाका डियोगो म्याराडोनालाई पनि पटक–पटक अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सस्थित अमेरिकी वाणिज्य दूतावासले इटालीमा कोकिन राखेको आरोपमा पक्राउ परेका भन्दै सन् १९९३ मा म्याराडोनालाई भिसा दिएको थिएन। यद्यपि, उनले सन् १९९४ मा अमेरिकामा भएको फिफा विश्वकपका लागि भने भिसा पाएका थिए। तर लागुऔषध परीक्षणमा असफल भएपछि केही दिनमै फिर्ता पठाइएको थियो। उनको भिसा पनि खारेज गरिएको थियो। त्यसपछि उनले अमेरिकाविरोधी अभिव्यक्ति दिन थालेका थिए।

आफ्नी पूर्वपत्नीसँगको कानूनी लडाइँका लागि अमेरिका जान म्याराडोनाले फेरि सन् २०१८ मा भिसाको लागि दिएको आवेदन अस्वीकार भएको थियो। त्यतिबेला यूएईको अल फुजैराह क्लबका प्रशिक्षक रहेका उनलाई दुबईस्थित अमेरिकी दूतावासले भिसा दिएको थिएन। अमेरिकाविरुद्ध अभिव्यक्ति दिन नछाड्ने म्याराडोनाले अमेरिकाको भिसा पाउन निकै प्रयास गरे। अमेरिकी भिसा नपाउँदै सन् २०२० मा हृदयघातका कारण उनको निधन भयो।

अमेरिकाले भारतका प्रधानमन्त्री तथा गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई पनि भिसा दिएको थिएन। सन् २००५ मा उनी मुख्यमन्त्री हुँदा गुजरात दंगा भएको तीन वर्ष पूरा भएको थियो। उनीविरुद्ध चलेको गुजरात दंगाको मुद्दामा पनि सर्वोच्च अदालतले निर्दोष ठहर गर्दै सफाइ दिइसकेको थियो। तर अमेरिकाले उनको भिसा आवेदन अस्वीकार गरिदियो।

गुजरात दंगामा मोदीको नाम आएपछि अमेरिकाले यस्तो निर्णय गरेको बताइएको थियो। अमेरिकी संसदले त्यसबेला ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता अधिनियम १९९८’ कानूनअन्तर्गत यस्तो प्रतिबन्ध लगाएको थियो। उनले लामो समयसम्म अमेरिकाको भिसा नै पाएनन्।

मोदी मात्र होइन, संयुक्त राष्ट्रसंघका चौँथो महासचिव अस्ट्रियाका कुर्त वाइल्डह्यामदेखि दक्षिण अफ्रिकाका विख्यात नेता नेल्सन मन्डेलासमेतलाई कुनै समय अमेरिकाले भिसा दिएको थिएन। सञ्जय दत्त, शाहरुख खानलगायत कतिपय बलिवुड कलाकारलाई पनि भिसा नदिएका उदाहरण छन्।

किन हुन्छ अमेरिकाको भिसा रिजेक्ट?
नेपालको प्राज्ञिक क्षेत्रमा चिनिएको नाम हो प्राडा अभि सुवेदी। अमेरिकी भिसासँग जोडिएको उनको किस्सा पनि रोचक छ। सन् २००६ मा अमेरिकी लेखकहरूको निमन्त्रणामा सुवेदीलाई न्यूयोर्क जान अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। उनलाई अन्तर्वार्ताका लागि बोलाएर विभिन्न प्रश्न गरेपछि अन्तिममा ‘फेरि प्रयास गर्नुहोला’ भनिएको थियो।

अमेरिकाले नै निमन्त्रणा पठाएको कार्यक्रममा जान खोज्दा भिसा नदिइएपछि सुवेदीले ‘भिसा र उदासीनताको साम्राज्य’ शीर्षकमा द काठमाडौँ पोष्टमा लेख नै लेखेका थिए। त्यसपछि नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जेम्स एफ. मोरियार्टीले प्रायश्चितः गरेका थिए। उनले सार्वजनिक रूपमा माफी माग्न भने अस्वीकार गरेका थिए।

प्रायः भिसा रिजेक्ट हुनुको कारण नखुलाउने अमेरिकाले आफ्नो सरकारी वेबसाइटमै प्रष्ट लेखेको छ, ‘आवेदक भिसा प्राप्त गर्न योग्य छ वा छैन भनी निर्धारण गर्न आवश्यक सबै जानकारी कन्सुलर अफिसरसँग नभएको वा व्यक्तिले भिसा आवेदनमा पर्याप्त जानकारी नराखेको अवस्थामा पनि आवेदन अस्वीकार हुन सक्छ।’ प्राडा सुवेदीले उकालोसँग उक्त विषयमा आफूले केही नबोल्ने बताए। 

भिसा अस्वीकृत हुनुको कारणलगायत भिसासम्बन्धी अन्य विषय अमेरिकाले आफ्नो आधिकारिक वेबसाइटमै खुलाएको छ। आपराधिक गतिविधि, नैतिक पतन हुने कार्य तथा लागुऔषधसँग जोडिएका व्यक्तिले भिसा पाउँदैनन्। अध्यागमन नियम उल्लंघन गरेको, आवेदनमा झुटा विवरण पेश गरेको वा यथार्थ विवरण नखुलाएको आदि अवस्थामा पनि अमेरिकाले भिसा दिँदैन।

कुनै पनि व्यक्तिलाई भिसा दिने वा नदिने भन्ने सम्बन्धित देशको आफ्नो अधिकार भएको परराष्ट्र मामिलाका जानकार बताउँछन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशकसमेत रहेका कूटनितिज्ञ निश्चलनाथ पाण्डे कोही पनि व्यक्तिलाई भिसा दिने/नदिने त्यो देशको नितान्त अधिकार भएको बताउँछन्।

“कुनै देशले भिसा दिएन भनेर विरोध गर्नुको औचित्य हुँदैन, हामी पनि त आपराधिक व्यक्तिलाई भिसा दिँदैनौँ नि,” पाण्डे भन्छन्, “आफ्नो देशको नीति, अवस्था सबै बुझेर हेरेरै नै भिसा प्रक्रिया अगाडि बढाउने हो, हचुवाको भरमा हुने कुरा होइन।”


सम्बन्धित सामग्री