सविनय अनुरोध, जसले जे सुकै भनोस्, लाज नमानौँ, हीनताबोध नगरौँ र बोतलबन्द पानीलाई नाइँ भनौँ र पर्यावरण जोगाउन थोरै भए पनि हिस्सेदारी लिऊँ।
पहिलो चरणको मनसुनसँगै उखरमाउलो गर्मीबाट केही राहतको सास फेर्न पाइयो। वायुमण्डल केही हदसम्म सफा देखियो, आकाश निलो। धुलाम्य सडक वर्षातले सिनित्तै बढारिदिँदा काँचुली फेरेझैँ देखिए। सडक बीचमा नसा च्यापिएजस्ता साँघुरा डिलमा धुलो र धूपले कक्रक्क परेका बोटबिरुवा भर्खरै नुहाएका बालकजस्ता देखिए।
खडेरीले सुकेको माटोमा पानीका थोपा बजारिँदा त्यसबाट सिर्जित एक किसिमको बास्नाले ‘नोस्टाल्जिक’ बनायो। तर हावाहुरी र झरीका कारण जिल्ला समन्वय समिति घोराही दाङको पर्खाललाई फन्को मारेर झपक्कै फुलेका गुलमोहर फूलचाहिँ सडक राताम्य हुनेगरी झरेछन्। अघिल्लो दिनसम्म यहाँ गुलमोहर फूललाई पृष्ठभूमिमा राखेर तस्बिर खिचाउनेको ताँती हुन्थ्यो।
मनसुनको पहिलो प्रहर पछिको दिन प्रभातकालीन हिँडाइमा निस्किएँ, घोराही मुख्य बजारको दक्षिणतर्फ। महेन्द्र बहुमुखी क्याम्पसदेखि केही तल पुग्दा थाहा लाग्यो, मनसुनको पहिलो प्रहर खुशी मात्र लिएर आएन।
पहिलो झरीले बजारतिरबाट सर्लक्कै फोहोर सोहोरेर कुलोमार्फत किसानका खेतबारीमा पुर्याएछ। यो फोहोरमा के मात्र छैन? चाउचाउ, चिप्स, बिस्कुटका खोल, पानी तथा अन्य पेय पदार्थ र मदिराका बोतल, प्लास्टिक झोला, गुट्खा तथा सुर्तीजन्य पदार्थका खोल।
केही तल गैरागाँउ पुग्दा कुलो सफा गर्दै गरेका निवृत्त निजामती सेवा अधिकारी कम्मन गिरी भेटिनुभयो। कुलोमा प्लास्टिक प्याकेट र बोतल तैरिएका छन्। उहाँलाई निकै झोक चलेको छ, “हामीलाई नखाएको विष लाग्यो बाबु। कुलोको पानी छुन दिगमिग लाग्छ। यो फोहोर सर्लक्क खेतबारीमा पस्दा माटोको प्राकृतिक गुण निमिट्यान्न भइसक्यो। खेतबारीमा बस्तुभाउ जाँदा घाँस सम्झेर प्लास्टिक खाइदिँदा बस्तुभाउ बिमार भए। कतै कुलो जाम भएर बस्तीमा पानी पसेको छ। कुनै समय हामी यही कुलोको सङ्लो पानीमा नुहाउँथ्यौँ, कपडा धुन्थ्यौँ र केटाकेटीले गर्मी पखाल्थे। माछा पौडन्थे, तर अहिले प्लास्टिक र फोहोर तैरन्छन्।"
घोराही उपमहानगरपालिका–१८ को प्रवेश बिन्दुमा पर्छ चमै सोतो (सहायक खोला)। यो सोतो करिब ४०० मिटर तल पुगेर कटुवा खोलामा मिसिन्छ। त्यसको ५०० मिटर तल भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको 'डिप बोरिङ' तथा भण्डारण ट्यांकी पर्छ। यस्तो भयंकर प्रदूषित खोलाको स्रोतबाट निसृत खानेपानीको शुद्धता कस्तो होला? चमै सोतोको अवस्था कस्तो छ तस्वीरमा हेरौँ। यो खोला कम र 'डम्पिङ साइट' बढी छ। भएजति सबै फोहोर यहीँ फ्याँकिन्छ। चमै सोतो मात्र होइन, बजार क्षेत्रका कटुवा खोला, सिस्ने खोला, सेवार खोला लगायतको अवस्था तकरिवन यस्तै हो।
म हाम्रो चेतनास्तर देखाउने तथ्यांक कोट्याउँछु। २०७८ सालको जनगणनाअनुसार घोराही उपमहानगरपालिकाको साक्षरता दर ८३ प्रतिशत रहेछ। ८३ प्रतिशत साक्षरको मतलब १७ प्रतिशत निरक्षर। यो भयावह प्रदूषणका कारक ती १७ प्रतिशत निरक्षर नै त होलान्! साक्षर ८३ प्रतिशतले पृथ्वीमाथि कसरी यस्तो हरकत गर्न सक्लान् र? हाम्रो उन्नत साक्षरता दर र हामीले नै सिर्जना गर्ने यो भयावह प्रदूषण बीचको यो सहसम्बन्ध (कोरिलेसन) बडो विरोधाभाषपूर्ण छैन त?
दिगमिग लाग्ने गुट्खा र सुर्तीका खोल
गुट्खा र सुर्तीको खोल त बजारका सडक, सरकारी कार्यालय परिसर, खुल्ला चौरमा बिस्कुनसरी ढाकिएका छन्।
गत वर्षको बजेटअनुरूप गुट्खालगायत सुर्तीजन्य पदार्थ प्लास्टिक प्याकेटमा प्याकेजिङ गर्न नपाइने भन्ने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले अन्तःशुल्क नियमावली, २०५९ संशोधन गर्दै जैविक रूपमा सड्ने खालको प्याकेजमा मात्र प्याकेजिङ गर्ने कानूनी व्यवस्था गरेको छ। यो व्यवस्था वैशाख १ गतेदेखि नै लागू हुने भनिएको छ, तर खै किन हो यसको कार्यान्वयनको संकेत कहीँ कतै देखिएको छैन। बजारमा पुरानै स्वरूपका 'प्लास्टिक प्याकेज' देखिन्छन्। प्लास्टिक प्रदूषणको एक प्रमुख स्रोतमा यिनै गुट्खा र सुर्तीजन्य पदार्थका रङ्गीचङ्गी खोल छन्। गुट्खा दोहोरो महारोगको स्रोत हो किनकि, मानव स्वास्थ्यलाई त यसले क्यान्सर दिनमा योगदान गर्छ नै, धर्तीलाई पनि कहिल्यै निको नहुने दीर्घरोगी बनाउँछ।
हेरौँ अन्तःशुल्क नियमावली, २०५९ (२४औँ संशोधन २०८०) को व्यवस्था:

बोतलबन्द पानीको कथा छुट्टै छ।
खाजा खान रेस्टुरेन्ट छिर्नेबित्तिकै बिनासोधपुछ सिल गरिएको ‘मिनरल वाटर’ भनिने ’ड्रिङ्किङ वाटर’को बोतल आइहाल्छ, मूल्य टाँसिएको हुन्छ २५/३० रुपैयाँ। करिब १० मिनेट प्रयोग हुने तर पर्यावरण प्रदूषित गर्ने यी बोतल सयौँ वर्षसम्म वातावरणमा रहिरहन्छन्। 'मिनरल वाटर’ फिर्ता लैजानुस् भन्दा रेस्टुरेन्टवाला तथा छेउछाउका टेबलवालाले के भन्लान् भन्ने सकस। फेरि पानी पनि पिउनै पर्यो। ‘मिनरल वाटर’को विकल्पमा कस्तो पानी दिने हुन्, त्यो अर्को सकस।
कथंकदाचित शुरूमै ‘मिनरल वाटर’ आएन र पानी मागियो भने भन्छन्, “म्याडम/सर मिनरल वाटर कि सादा?” त्यो सादा भनेकोचाहिँ कस्तो हो? फेरि सादा पानी मागेर हीनताबोधको दलदलमा फस्नुपर्ने अर्को डर। यस्तोमा होटल रेस्टुरेन्टवालाले होटलमै पानी प्रशोधन मेसिनको माध्यमबाट शुद्धीकरण गरिएको पानी दिए सबैलाई सहज हुँदो हो। बरु त्यसबापत थोरै शुल्क लिए पनि हुन्थ्यो नि! विभिन्न साहित्यिक कार्यक्रम, अन्तरक्रिया, बहस, छलफल कार्यक्रममा पनि बोतलबन्द पानी 'टक्र्याउने' चलन सामान्य भइसक्यो। मान्छेहरूलाई लाग्दो हो, बोतलको पानी पिउनु सानको कुरा हो।
सन् २०२१ मा विश्वभर ६ खर्ब (६०० बिलियन) यस्ता पानीका बोतल उत्पादन भएछन्। यीमध्ये करिब ३० प्रतिशतको मात्र उचित व्यवस्थापन भयो र बाँकी ७० प्रतिशत पर्यावरणमा छरपस्ट भए। सन् २०३० मा यस्ता प्लास्टिक बोतलको उत्पादन दोब्बर हुने अनुमान छ। मेरो सविनय अनुरोध, जसले जे सुकै भनोस्, लाज नमानौँ, हीनताबोध नगरौँ र बोतलबन्द पानीलाई नाइँ भनौँ र पर्यावरण जोगाउन थोरै भए पनि हिस्सेदारी लिऊँ।
घोराही उपमहानगरपालिकामा भएको एउटा प्रशंसनीय कार्य हो, दर्जनौँ विशाल जलाशय निर्माण। भूमिगत पानी रिचार्ज गर्न, कृषि सिँचाइ र पर्यटनमा समेत यिनले योगदान गरिरहेका छन्।
बजारदेखि केही उत्तरतर्फ एक किलोमीटरको दूरीमा बाह्रकुने दह र ज्यामिरे दह छन्। बाह्रकुने दह आकारमा सानो छ। यहाँ धार्मिक रूपमा प्रसिद्ध बराह मन्दिर छ। यो कहलिएको बनभोजस्थल पनि हो। ज्यामिरे दह भने जंगलको बीचैमा अवस्थित विशाल सिमसार जलाशय हो। यी दुई दह जोड्ने करिब २ किलोमिटर लामो पदमार्ग जंगल छेडेर बनेको छ। यहाँ हजारौँ स्थानीय पर्यटक आइरहन्छन्। तर यो पदमार्गमा प्लास्टिक खोलहरू र पानी र पेय पदार्थका बोतलको बिस्कुन छरे झैँ छ।
एकातिर छ शान्त र सौम्य विशाल जलाशय जहाँ चराचुरुङ्गी खेलिरहेका देखिन्छन्, तर छेउमै प्लास्टिकलगायत फोहोरको डुङ्गुर छ। पुनः प्रशोधन (रिसाइकल) गर्न मिल्ने प्लास्टिक हुँदाहुँदै तिनलाई छरपस्ट फ्याँकिदिँदा कवाडी व्यवसायीका लागि यसको संकलन खर्च नै निकै महँगो पर्न जान्छ। प्लास्टिकजन्य सामग्री सके प्रयोगै नगर्ने, गरे पनि बारम्बार र दिगो खालको प्रयोग गर्ने, त्यति नसके पुनः प्रशोधन हुने ठाउँमा दिने, त्यति पनि सकिँदैन भने पर्यावरणमा छरपस्ट हुनुभन्दा डम्पिङ साइटमा पुग्नेगरी व्यवस्थापन गर्ने हाम्रो अभ्यास हुनुपर्ने हो। तर हामी 'अधिक साक्षर'हरूसमेत यीमध्ये कुनै पहल गर्न जरुरी ठान्दैनौँ।
केही समयअघि प्राध्यापक तथा अध्येता विष्णु सापकोटाले एक लेखमा नेपालमा आम रूपमा बौद्धिक वृत्त भनेर चिनिने वा बुद्धिजीवी समुदाय निरन्तर एक अमूर्त र शास्त्रीय रटानमा भएको उल्लेख गरेका थिए। दैनन्दिनको जीवन सहज बनाउने विषयको नीतिगत र व्यवस्थापकीय पक्ष उसका लागि खासै महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण नै नठानिएपछि पढ्नु पनि परेन, तर्क बहस गर्नु पनि परेन।
नेता-प्रशासकको कुरा एकछिनलाई थाँती राखौँ। नागरिक स्तरमा पनि दैनन्दिनका यस्ता अप्ठ्यारालाई सहज बनाउने र आफ्नो सामान्य प्रयासमा गर्न सकिने काम तिनको प्राथमिकतामा छैन। सिधै ‘देश बनाउने’भन्दा तलका खुद्रा मसिना र साँच्चिकै ‘देश बनाउने’ आधारभूत कुरोमा तिनको रुचि छैन।
घोराहीमा हामी प्लास्टिक प्रदूषण नियन्त्रण र सरसफाइबारे ‘पर्यावरण प्रहरी’मार्फत चौधौँ हप्तासम्म निरन्तर लागिरहँदासम्म पनि 'देश बनाउने'हरूले यो पहल पनि देश बन्ने एक आधारभूत खुड्किलो हो भन्ने बुझ्न चाहेनन्। साना बालबालिकालाई गृहकार्य गराउन जुनजुन जुक्ती लगाइन्छ, त्यसभन्दा धेरै जुक्ति हामीले यो पहलमा सबैलाई आकर्षित गर्न लगाइसक्यौँ। समृद्ध राष्ट्रको उदाहरण दिएर दाँज्दा त्यो वाञ्छनीय नहोला भनेर हामीले हरेक आर्थिक सामाजिक आँकडामा पछि रहेको, तर प्लास्टिक मुक्ति र सरसफाइमा 'अफ्रिकाको सिङ्गापुर' कहलिएको रुवान्डाको राजधानी किगालीको उदाहरण राख्यौँ।
देशै बन्नु भनेको यस्तै अनेक सहायक कामहरू बन्दै जानू नै हो। यस्ता सयौँ विधामा काम बनेपछि अनि देश बन्ने होला। तर हामी अमूर्त ढंगले देश बनाउने त भन्यौँ तर त्यसको आधार बसाउने ‘स–साना’ आधारभूत र व्यवस्थापकीय कामलाई अनदेखा गर्यौँ।
अझै पनि प्लास्टिक प्रदुषण पृथ्वीको एक भयावह समस्या हो भनेर स्वीकार गर्न नागरिकको ठुलो हिस्सा तयार छैन। हुँदो हो त यो नौबत नै किन आउँथ्यो? नागरिक जागरुक नहुँदासम्म शासक प्रशासक पनि तात्ने छैनन्।
सोही कारण हामीले पर्यावरण प्रहरी नामक कार्यक्रम शुरू गरेका हौँ। पर्यावरणीय साक्षरता प्रवर्द्धन गर्ने र सतहमै उत्रेर पर्यावरण संरक्षणका काम गर्ने एक अनौपचारिक समूह हो। यो डन्डा चलाउने वा बल प्रयोग गर्ने ‘प्रहरी’ होइन। लोकतन्त्रमा जतिसुकै राम्रो काम भए पनि बल प्रयोग गरी कार्यान्वयन गराउने प्रयास गलत हो। प्लास्टिकजन्य प्रदूषणको स्रोतमै कटौती गर्ने उद्देश्यका साथ नागरिक जागरुकता बढाउन, प्लास्टिकको पुनः तथा दिगो प्रयोग र चक्रीय अर्थप्रणाली (सर्कुलर इकोनोमी) का औजार प्रयोग गर्नु यसको मूल उद्देश्य हो।
वित्तीय साक्षरता, बिमासाक्षरता, कानूनी साक्षरताजस्ता साक्षरता कार्यक्रम नियमित भइरहेका हुन्छन्। तर अहिले समुदायमा अत्यावश्यक कार्यक्रम हो पर्यावरणीय साक्षरता।
पर्यावरण जोगाउने सचेत प्रयास हाम्रो आचरण र व्यवहारमा देखिने गरी सतर्क हुने, पर्यावरण संरक्षण अनुकूलका नीति–योजना कार्यक्रम बनाउन दबाब दिने, बनिसकेका नीति कार्यान्वयन गराउन पैरवी गर्ने र पर्यावरणको बहसमा सधैँ अद्यावधिक रहने गरी आफूमा रूपान्तरण ल्याउने प्रयत्न गर्नु पर्यावरण साक्षरताको उद्देश्य छ।
विश्व पृथ्वी दिवस २०२४ ले आफ्नो नारा दिएको छ ‘प्लास्टिक वनाम प्लानेट’। यसबाट पनि थाहा हुन्छ कि प्लास्टिक प्रदूषण एक समस्या मात्र नभई आजको आपतकालीन समस्या हो। हावा, पानी, माटो, समुद्र, मानव स्वास्थ्य, पशु चौपाया, जनावर, समुद्री जीव, वनस्पति, खाद्यान्न, प्लास्टिकले खराबी नगर्ने कुनै क्षेत्र छैन। माइक्रो प्लास्टिकका अंश अनकन्टार अन्टार्कटिकाका कुनाकन्दरादेखि मान स्वास्थ्यका सूक्ष्म कोषसम्म पुगिसके। आउनूस्, पर्यावरण साक्षरतामा हिस्सेदारी गरौँ।
(आचार्य दाङमा रहेर उद्यम गर्छन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
