शरीरमा ट्याटु बनाउने ‘क्रेज’ युवा पुस्तामा बढ्दै गएको छ। काठमाडौँका गल्लीपिच्छे ट्याटु पसल पनि खोलिएका छन्। कतिपय पसलले आमाबुवाको सहमतिबिना नाबालिगको गोप्य अंगमा ट्याटु बनाइदिने गरेका छन्।
काठमाडौँ– नेपालको लोकप्रिय विश्व सम्पदास्थल हो काठमाडौँको वसन्तपुर दरबार स्क्वायर जहाँ दैनिक हजारौँ मानिस ओहोरदोहोर गर्छन्। त्यहाँबाट नजिकैको ‘फ्रिक स्ट्रिट’मा गल्लीपिच्छे शरीरमा ट्याटु खोप्ने पसलहरू छन्। पसल आउजाउ गरिरहेका ग्राहकहरूसँग कुरा गर्दा अधिकांशले अरूभन्दा फरक देखिन, आफ्नो रुचिले वा कुनै दाग लुकाउन शरीरमा ट्याटु हानेको बताए।
त्यसरी पसलमा आएर ट्याटु खोपेर फर्कनेहरूमध्ये कतिपय १८ वर्ष मुनिका नाबालिग पनि भेटिए। ट्याटु पसलेले आफ्नो उमेर नसोधी आफूले भनेअनुसारको ट्याटु बनाइदिएको उनीहरूले बताए।
बालाजुको माछापोखरीस्थित ‘ट्याटु डेस्टिनेसन’का सञ्चालक सविर सुवालले ट्याटुको लागि उमेरले केही फरक नपर्ने बताए। उनले भने, “ट्याटु खोपाउन उमेरले फरक पार्दैन। यहाँ आउने जुनसुकै उमेरका ग्राहकलाई पनि हामी ट्याटु बनाइदिन्छौँ।” १८ वर्षभन्दा कम उमेरका नाबालिगको गोप्य अंगमा ट्याटु खोपाउन पनि अभिभावकको स्वीकृति नचाहिने उनले जनाए।
नयाँ बसपार्कमा रहेको लोत्से मलमा ‘इन ट्याटु’ स्टुडियो छ। त्यहाँ कार्यरत विश्व लामाले विगत आठ वर्षदेखि आफूले ट्याटु खोप्दै आएको बताए। ग्राहकलाई सहज महसुस भए उमेर र शरीरको कुनै अंगले फरक नपर्ने भन्दै उनले आफ्ना ग्राहकलाई आश्वस्त तुल्याइरहेका थिए। “ट्याटु १८ वर्षभन्दा कमकाले हान्नै नमिल्ने चाहिँ होइन। ग्राहकले घरमा कुरा मिलाएर आए हामी बनाइदिन्छौँ,” लामाले भने।
नाबालिग उमेरका बालक या बालिकाको गोप्य अंगमा कुनै प्रकारको दाग भएमा त्यसलाई छोप्न आमाबुवाको सहमतिबिना नै ट्याटु बनाउन नहिच्किचाउने ट्याटु पसलहरू पनि उत्तिकै भेटिन्छन्।
अनिल ताम्राकार विगत १८ वर्षदेखि ट्याटु आर्टिस्टको रूपमा कार्यरत छन्। उनको पाटनस्थित मंगलबजारमा ‘ट्रेडिनल ट्याटु नेपाल’ नामक ट्याटु हाउस छ जहाँ विभिन्न उमेर समूहकालाई ट्याटु खोप्ने गर्छन्।
ग्राहकका रूपमा आउने १८ वर्ष मुनिका नाबालिगको गोप्य अंगमा दाग भए त्यसलाई छोप्न अभिभावकको स्वीकृति अनिवार्य नभएको उनले बताए। “खासमा १८ वर्ष भन्दा तलकाले आमा बुवाको कन्सेन्ट लिएर आउनु राम्रो हो। तर उनीहरूको गोप्य अंगमा कुनै दाग छ भने चाहिँ हामी यत्तिकै पनि ट्याटु हान्दिन्छौँ,” ताम्राकारले भने।
पुरानो बानेश्वरको सेतो पुलमा एउटा ट्याटु हाउस छ। सन्दीप लामा विगत १४ वर्षदेखि त्यहाँ कार्यरत छन्। १८ वर्ष नपुगेका नाबालिग आएमा उनीहरूले ‘आफ्नै रिस्कमा’ ट्याटु हान्नुपर्ने उनले बताए। लामाका अनुसार अभिभावकको अनुपस्थितिमा गोप्य अंगमा ट्याटु खोप्न सोही पसलकोे एउटा ‘कन्सेन्ट फारम’मा हस्ताक्षर गर्नुपर्ने हुन्छ।
काठमाडौँमा त्यस्ता केही ट्याटु पसल पनि छन् जसले अभिभावकको अनुपस्थितिमा कुनै पनि हालतमा नाबालिगको शरीरमा ट्याटु खोपिदिँदैनन्।
वसन्तपुरस्थित ‘केटीएम ट्याटु इन’ ३८ वर्षीय निरज शाहीको हो। १४ वर्षअघि खोलेको यस ट्याटु पसलमा १८ वर्षभन्दा मुनिका नाबालिगले शरीरको कुनै पनि अंगमा ट्याटु हान्न नपाउने उनले बताए। आफ्नो उमेर लुकाएर धेरै जना ट्याटु हान्न आउने गरेको शाही बताउँछन्।
“१८ वर्ष मुनिका केटाकेटीहरू ट्याटु बनाउन आफ्नो उमेर ढाँट्छन्। तर हामी उनीहरूको नागरिकता माग्छौँ,” उनले भने, “यदि १८ वर्ष मुनिका कोहीलाई आफ्नो शरीरमा ट्याटु बनाउन मन छ भने हामी अभिभावकको उपस्थितिमा मात्र गर्छौं। आमाबुवाले पहिले आएर हाम्रो सहमति फारममा हस्ताक्षर गरेपछि बल्ल काम शुरू हुन्छ।”
अभियन्ता उज्ज्वलविक्रम थापालाई १८ वर्ष मुनिको जलन पीडितको गोप्य अंगमा ट्याटु देखेको स्मरण छ। उनका अनुसार बालिकालाई जलन भएपछि उपचारका लागि अस्पताल ल्याइयो। शरीरको सबै भाग जलेको हुँदा संक्रमित अंगमा डे«सिङ गर्नुपर्यो। त्यसै क्रममा थापाको नजर बालिकाको ट्याटुमा पर्यो। उनी नाबालिगहरूको गोप्य अंगमा ट्याटु हान्न पाइँदैन भन्दै आक्रोशित भए।
“प्राइभेट पार्टमा ट्याटु बनाउँदा प्रायः कसैको अभिभावकलाई थाहा हुँदैन। १८ वर्षभन्दा मुनिका नाबालिगले दिएको कन्सेन्टलाई कन्सेन्ट मानिँदैन भन्ने त कानूनमै प्रष्ट छ। त्यो कानूनअनुसार कुनै पनि महिला या पुरुष ट्याटु आर्टिस्टले १८ वर्षभन्दा मुनिका बालबालिकाको प्राइभेट पार्ट छुन मिल्छ कि मिल्दैन?,” उनले भने, “ट्याटु आर्टिस्टले शरीरमा कसरी छुन्छ त्यो ट्याटु खोप्न जाने नाबालिगको हातको कुरा होइन। उसले जानेर बुझेर नै अनुचित तरिकाले छुन सक्छ।”
यस विषयमा नियमनको व्यवस्था अहिलेसम्म नभएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ। मन्त्रालयका उपसचिव दीपक ढकालले हालसम्म यससम्बन्धी कुनै पनि गुनासो वा उजुरी नआएको बताए।
“मन्त्रालयमा अहिलेसम्म यस्ता केस आएको छैन। नियमनको लागि हामीसँग निश्चित कानून पनि छैन,” उनले उकालोसँग भने, “नाबालिगको गोप्य अंगमा मात्रै होइन, शरीरको कुनै पनि भागमा अभिभावकको अनुमतिबिना ट्याटु हान्न पाइँदैन। आगामी दिनमा यो विषयसम्बन्धी मुद्दा हामी उठाउने छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
