काठमाडौँ महानगरपालिका र नेपाल हस्तकला महासंघले मिलेर हाँडीगाउँमा माटाको भाँडा बनाउने ४५ दिने तालिम चलाइरहेका छन्। त्यसमा १५ स्थानीय युवाले आधुनिक प्रविधिबाट परम्परागत भाँडा बनाउन सिकिरहेका छन्।
काठमाडौँ– जोशिला युवाको एउटा समूह काठमाडौँ महानगरपालिका–५ गहनापोखरीस्थित प्रजापती भवनमा माटोका भाँडा बनाउन व्यस्त छ। कोही चिया खाने कप बनाउँदै गरेका देखिन्छन् भने कोही कप राख्ने प्लेट बनाइरहेका छन्। काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग र नेपाल हस्तकला महासंघ कला तथा शिल्प परिषद्ले आयोजना गरेको यो तालिममा उनीहरू उत्साहका साथ माटोका भाँडा बनाउन सिकिरहेका छन्।
४५ दिनसम्म चल्ने यो तालिममा चिया खाने कप, फूल रोप्ने गमलादेखि सजावटमा प्रयोग हुने थरिथरी भाँडा बनाउन सिकाइँदैछ। तालिममा १५ जना स्थानीय युवकयुवती सहभागी छन्। हाँडीगाउँमा हुने हरेक जात्रामा प्रयोग हुने माटोका भाँडा टोलमै उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको वडाध्यक्ष वीरेन्द्र प्रजापतिले बताए। यसका साथै तालिम लिएका युवा व्यावसायिक रूपमै पनि आत्मनिर्भर हुन सक्ने उनको विश्वास छ।
यसले आम्दानीका साथै रोजगारीसमेत दिलाउने प्रजापति बताउँछन्। “सांस्कृतिक जात्रामा प्रयोग हुने माटोका भाँडा अब यहीँका स्थानीयले बनाउने योजनासहित यो तालिम आयोजना गरेका हौँ। यसले हाम्रो मौलिक संस्कृतिको जगेर्ना हुनुका साथै केही स्थानीयले रोजगार पाउने हाम्रो अपेक्षा छ,” उनले भने।

तालिममा माटोका पाला, कफी मग, चियाकप, धुप स्ट्यान्ड, क्यान्डल होल्डर, टीपट, मिल्कपट, एस्ट्रे, सुप बउल्स जस्ता भान्छामा प्रयोग हुने सामग्री बनाउन सिकाइन्छ। यसरी बनाइएका सामग्रीलाई सेरामिकको प्रयोग गरी आधुनिक बनाउन पनि सिकाइएको छ। तालिम अवधिमा बनेका समग्रीहरू प्रदर्शनका लागि राखिने वडा कार्यालयले जनाएको छ।
परम्परागत पेसाको जगेर्ना गर्दै वडा
काठमाडौँ महानगरपालिका– ५ मा पर्ने हाँडीगाउँ धेरै जात्रा हुने ठाउँको रूपमा परिचित छ। यहाँ नेवारी समुदायको बसोबास छ। हाँडीगाउँलाई नेवार समुदायले लिच्छविकालीन राजाहरूले राज्याभिषेक गर्ने शहरको रूपमा सम्झन्छन्। हाँडीगाउँको प्रत्येक जात्रामा भान्छादेखि पूजासम्म प्रयोग हुने भाँडा अधिकांश माटोका हुने गर्छन्।
करिब ३० वर्ष अघिसम्म जात्राका लागि माटोका भाँडा हाँडीगाउँमै बनाइन्थ्यो। हाँडीगाउँका प्रजापतीहरूलाई माटोको भाँडा बनाउने जिम्मेवारी दिइन्थ्यो। तर पुस्ता बदलिएसँगै सीप हस्तान्तरण हुन छाड्यो। व्यवसायिकरूपमा खुम्चिँदै गई आवश्यक कच्चा समग्री पाउन पनि समस्या भएपछि उत्पादनै हुन छाडेको थियो। जात्रामा चाहिने माटाको हरेक सामानमा भक्तपुरका यवसायीहरूमाथि निर्भर हुन थालियो। त्यसले गर्दा जात्राका लागि आवश्यक माटोका सामग्री हाँडीगाउँमै उत्पादन गर्ने परम्परा लोप हुने चिन्ता स्थानीयलाई लाग्न थाल्यो।
अहिले त्यही परम्परालाई जगेर्ना गर्न स्थानीय सरकार लागिपरेको वडा सदस्य शशी थापा बताउँछन्। माटोको भाँडा बनाउन आत्मनिर्भर हुने उद्देश्यसहित इच्छाएका स्थानीयलाई अघिल्लो वर्ष पनि वडाले आधारभूत तालिम दिएको उनले बताए। त्यसलाई थप परिमार्जन गर्दै निरन्तरता दिइएको यस वर्षको तालिममा सीप सँगसँगै प्रविधिको समेत प्रयोग गरी भाँडा बनाउन सिकाइएको थापाले जानकारी दिए।

यसले माटाका भाँडाको बढ्दो बजार मागलाई समेत सम्बोधन गर्ने वडा सदस्य थापाको भनाइ छ। “हामीले माटोको भाँडा बनाउन मात्र होइन, त्यसलाई टेक्नोलोजीमा ढालेर अहिलेको मागअनुसारको सामग्री बनाउन पनि सिकाउँदै छौँ। त्यसकारण यसले युवाको सीपलाई बजारसँग पनि जोड्ने छ,” उनले भने।
प्रविधिसँगै परिवर्तित स्वरूप
माटोका सामग्रीलाई स्वरूप दिएपछि थप मजबुत बनाउन आगोमा पोलेर पकाउने चलन छ, जसलाई टेराकोटा भनिन्छ। तर पछिल्लो समय यस्ता टेराकोटा सामग्रीको खपत घटेको छ। विशेषगरी भान्छामा प्रयोग गर्न टेराकोटा भाँडा असहज हुने प्रशिक्षक अमर प्रजापती बताउँछन्। उनका अनुसार सफा गर्न समस्या हुुने र सजिलै फुट्ने हुनाले मानिसले रुचाउदैनन्।
तर अहिले त्यस्ता भाँडालाई थप मजबुत र आकर्षक बनाउन रसायनयुक्त ग्लेजको प्रयोग गरी नयाँ रूप दिने प्रविधि आएको छ। माटोका सामग्रीलाई सेरामिक अर्थात ग्लेज प्रयोग गर्नाले बलियो हुने, पानी नरसाउने, राम्रो देखिनुका साथै सफा गर्न र प्रयोग गर्न सजिलो हुने प्रजापती बताउँछन्। ग्लेज प्रयोग गरिएका भाँडा प्रयोगकर्ताले मन पराउने गरेको प्रजापतीको अनुभव छ।

“अहिले विशेषगरी भान्छामा प्रयोग हुने भाँडामा ग्लेज प्रयोग गर्दा मानिसले औधी रुचाउँछन्। खान आकर्षक, माझ्न सजिलो र हेर्दा पनि राम्रो हुन्छ। त्यसैले सेरामिक भाँडाले बजार लिन्छ। तर सेरामिकका गमलामा भने पानी रसाउने हुनाले उपभोक्ताले टेराकोटा नै रुचाउँछन्।” प्रजापतिका अनुसार ग्लेज एक रसायन भए पनि प्राकृतिक हुने भएकाले यसले स्वास्थ्यमा असर पार्दैन। तालिममा ग्लेजको प्रयोग गरी भाँडा तयार गर्न पनि सिकाइँदै छ।
माटोका भाँडाको व्यवसाय फस्टाउँदै
माटोका भाँडाको सट्टा प्लास्टिकका भाँडाको प्रयोगमा व्यापकता आएपछि माटोका भाँडाको व्यवसाय संकटमा परेको थियो। तर केही वर्षयता मानिसहरू माटोको भाँडामै फर्किन थालेको वडाध्यक्ष प्रजापतीको भनाइ छ। बजारमा माटोका भाँडाको माग बढेसँगै व्यवसाय पनि फस्टाउन थालेकाले यसको व्यावसायिक सम्भावना प्रबल देखिएको उनी बताउँछन्।
परम्परागत सीपमा आधुनिक प्रविधिको संयोजन गर्दै माटोका भाँडा उत्पादन हुन थालेपछि यसप्रति आकर्षण पुनः बढ्न थालेको प्रजापतीले बताए। उनका अनुसार अहिले अधिकांश व्यवसायीलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई छ। “अहिले होटल, रेस्टुरेन्टबाट आधुनिक डिजाइनका कप, कपप्लेट र टीपटको माग धेरै छ। त्यसैले धेरै व्यवसायीहरूलाई बनाउनै भ्याइनभ्याई छ। बिस्तारै माटोका भाँडाले बजार लिँदैछ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
