भाषा र सीप नसिकी जानेहरूका कारण नेपाली कामदारको माग घट्दै गएको छ। रोजगारदाता कम्पनीले पनि सीपविहीन नेपाली कामदार नपरून् भनेर फिलिपिनी वा भारतीय नागरिकका लागि मात्र तोकेरै विज्ञापन गर्न थालेका छन्।
काठमाडौँ– युरोपेली देश क्रोएसियाले ठूलो संख्यामा दक्षिण एशियाली आप्रवासीहरूलाई आकर्षित गरिरहेको छ। नेपाललगायत भारत, श्रीलंका, फिलिपिन्स आदि देशबाट हजारौँ युवाहरू रोजगारीका लागि क्रोएसिया गइरहेका छन्।
सिन्धुपाल्चोकका सविन तामाङ पनि रोजगारीको खोजीमा क्रोएसिया गएको तीन महिना भयो। स्नातक सकेर नेपालमै केही समय एक निजी कम्पनीमा मार्केटिङको काम गरेका सविनलाई यहाँको कमाइले घरखर्च चलाउन गाह्रो भयो। विदेश जान पाए केही बढी कमाउन सकिन्थ्यो कि भन्ने सोचेर उनले वैदेशिक रोजगारीका लागि युरोपेली देश जाने निर्णय गरे। सीप सिकेर जाँदा काम पाउन सजिलो हुन्छ भन्ने थाहा पाएका उनले काठमाडौँमा बरिस्ताको तालिम लिए। त्यसपछि म्यानपावरलाई सात लाख रुपैयाँ बुझाएर उनी क्रोएसिया पुगे। अहिले उनी एक रेस्टुरेन्टमा काम गर्छन्।
उनको मासिक तलब ७०० युरो अर्थात् नेपाली एक लाख रुपैयाँभन्दा केही बढी छ। हातमा सीप हुनुका साथै अंग्रेजी पनि बोल्न आउने भएकाले आफूलाई क्रोएसियामा सजिलो भएको उनी बताउँछन्।
“सीप सिकेर आयो भने भनेकै काम पाइन्छ, नत्र त जे पनि गर्नुपर्ने हुन्छ,” ह्वाट्सएप कुराकानीमा उनले भने, “कति नेपाली साथीहरू त काम नपाएर त्यत्तिकै बसिरहेका छन्। कसैलाई स्टोरकिपरको जागिर भनेर अपार्टमेन्टको सरसफाइमा लगाइएको छ।”
“पढेलेखेको छु भनेर त्यस्तो काम नगर्ने भन्छन्, तर यहाँ त नेपालको सर्टिफिकेटको केही महत्व नहुने रहेछ, हातमा सीप नभएपछि यस्तै हो, जे पनि गर्नुपर्छ,” उनले सुनाए। नेपालबाट दैनिक २०० भन्दा बढी युवा रोजगारीको खोजीमा क्रोएसिया पुग्ने गरेका छन्।
विगत पाँच वर्षयता क्रोएसियाप्रतिको आकर्षण ह्वात्तै बढेको देखिन्छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार ६ वर्ष पहिले अर्थात् आर्थिक वर्ष २०७४/७५ मा नेपालबाट जम्मा सात जना मात्र क्रोएसिया गएकोमा चालू आर्थिक वर्षको फागुन मसान्तसम्म एक हजार ४४१ महिलासहित सात हजार ५०६ जनाले क्रोएसिया जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छन्।
युरोपेली देशमध्ये रोमानियापछि नेपालीहरू धेरै जाने देशमा पर्छ क्रोएसिया। त्यहाँ २५ हजार भन्दा बढी नेपाली रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) क्रोएसियाको अनुमान छ।
कामदारको अभाव
यतिबेला क्रोएसियामा कामदारको चरम् अभाव छ। त्यसै पनि परम्परागत रूपमा मौसमी कामदारका लागि छिमेकी देशहरूमा निर्भर रहँदै आएको सो मुलुकमा कोभिड महामारीपछि झन् कामदारको अभाव देखिएको छ। त्यहाँका नागरिक धेरै तलबको आशामा रोजगारीका लागि जर्मनी, फ्रान्सलगायत अन्य युरोपेली देशमा गइरहेका कारण देशभित्र कामदार अभाव चर्किएको हो। रोजगारीका लागि देश छाड्नेहरू बढेकाले त्यहाँको जनसंख्या पनि बढेको छैन।
युवा छैनन्, तर विकास निर्माणका गतिविधि बढिरहेका छन्। त्यही कारण स्थानीय उद्योगमा कामदारको चरम् अभाव छ। कम्पनीहरूमा हजारौँ दरबन्दीहरू छन्, जुन त्यहीँका कर्मचारीले भर्न सकेका छैनन्। त्यसैले सस्ता कामदार पाइने एशियाली देशलाई क्रोएसियाले ‘टार्गेट’ गर्ने गरेको छ।
अहिले नेपाललगायत एशियाली देशका नागरिकले त्यहाँ कामदारको अभावलाई पूर्ति गरिरहेका छन्। तर एशियाबाट क्रोएसिया पुग्न भने सहज छैन। पहिले त्यहाँ पुग्ने खर्च, त्यसपछि बस्ने, काम खोज्ने र अन्य सुविधाका लागि ठूलो रकम खर्च भइरहेको छ। सविनले जस्तै नेपाली कामदारले त्यहाँ पुग्न सातदेखि १०/११ लाख रुपैयाँसम्म खर्चने गरेका छन्।
त्यसैमाथि निर्वाचनअघि क्रोएसियामा बढ्दो आप्रवासी विरोधी आन्दोलनले पनि उनीहरूका लागि समस्या सिर्जना गरिरहेको छ। अवैधानिक तवरले बस्नेहरू पनि बढिरहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
सन् २०२३ मा क्रोएसियाले करिब एक लाख २० हजार गैरयुरोपेलीलाई कामको अनुमति दिएको थियो। यो २०२२ को तुलनामा ४० प्रतिशत बढी हो।
तर यही अप्रिलमा हुन लागेको आमनिर्वाचनमा यो ठूलो मुद्दा बन्दैछ। दक्षिणपन्थी दलहरूले आप्रवासी देशको सुरक्षाका लागि खतरा भएको र स्थानीय जनताको रोजगारी खोसिइरहेको आरोप लगाएका छन्। आप्रवासीको बारेमा पनि इन्टरनेटमा गलत जानकारी फैलाइँदैछ। नेपाली आप्रवासीले राजधानी जाग्रेबका सार्वजनिक स्थलमा नयाँ वर्षको पूर्वसन्ध्यामा उत्सव मनाउँदाको दृश्य अशोभनीय ठानेका क्रोएसियालीले ‘नेपाली नयाँ वर्ष’ जस्ता ह्यासट्यागमार्फत व्यंग्य गरेका थिए।
देशको जनसंख्याको ९० प्रतिशत स्थानीय छन्, जसमध्ये ८० प्रतिशत रोमन क्याथोलिक हुन्। एशियाली देशका नागरिक धेरै संख्यामा पुगेको पहिलो पटक भएकाले उनीहरूका लागि धर्मबाहेक भाषा पनि निकै बाधक बनेको देखिन्छ।
“फ्रान्स वा बेलायतजस्ता देशहरूले ऐतिहासिकरूपमा अन्य संस्कृतिसँग सम्पर्क राखेका छन्। तर क्रोएसियामा विभिन्न समूहहरू सँगै बसेको यो पहिलो पटक हो,” जाग्रेब विश्वविद्यालयका समाजशास्त्री ड्रागन बाजिकले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीसँगको कुराकानीमा भनेका छन्।
आर्थिक चुनौतीहरूको तुलनामा यी अवरोधहरू साना देखिन्छन्। क्रोएसियाली रोजगारदाता संघले ३८ लाख मात्र जनसंख्या भएको देशलाई यो दशकको अन्त्यसम्म पाँच लाख विदेशी कामदारको आवश्यकता पर्ने आकलन गरेको छ।
त्यसैले त्यहाँको सरकारले आप्रवासी कामदारको जीवनयापन र रोजगारीको सुविधामा पनि सुधार गर्ने प्रयास गरिरहेको छ। भर्खरै सरकारले यसका लागि कानूनमा परिमार्जन गर्ने घोषणा गरेको छ। तर यस्तो मौकालाई नेपाली श्रमिकले सदुपयोग गर्नुको साटो ‘इमेज’ खराब गरिरहेको क्रोएसियामा रहेका नेपालीहरू नै आरोप लगाउँछन्।
बिनासीप जाँदाका समस्या
क्रोएसियाले विशेषगरी निर्माणका साथै कृषि, होटल तथा समुद्री क्षेत्रसँग सम्बन्धित रोजगारीका लागि एशियाली कामदार लिने गर्छ। तर नेपालबाट सीप र भाषा नसिकी जाँदा धेरै नेपाली समस्यामा पर्ने गरेको बताउँछन् एनआरएनए–क्रोएसियाका सहसचिव मनि काफ्ले। त्यहाँको अवस्था उनकै शब्दमाः
नेपालीहरू पछिल्लो समय क्रोएसिया आउने क्रम निकै बढेको छ। शुरूशुरूमा त दुईचार जना नेपाली भेटिँदा पनि अर्कै अनुभूति हुन्थ्यो, अहिले त जताततै भेटिन्छन्। हाम्रो बुझाइअनुसार २५ हजारभन्दा धेरै छन्।
यहाँ आएर नेपालीले राम्रो गरिरहेका उदाहरण पनि छन्। आफ्नै व्यवसाय गरेर बसेका छन्। एक हजार ५०० युरो भन्दा धेरै तलब बुझ्नेहरू पनि छन्। तर पछिल्लो समय नेपालबाट केही बुझ्दै नबुझी, भाषा तथा सीप नसिकी आउने गर्दा नेपालीको इमेज बिग्रेको छ। यहाँका रोजगारदाता कम्पनीले पनि ‘वन्ली फर फिलिपिनो’, ‘वन्ली फर इन्डियन’ भनेर विज्ञापन गर्ने गरेका छन् ताकि सीप नभएका नेपाली कामदार नपरून्।
विदेश जाने र त्यसमा पनि युरोपको देश भनेपछि म्यानपावरले जति मागे पनि बुझाइहाल्छन्। म्यानपावरले पनि पैसा दिने मान्छे भेटेपछि पठाइहाल्छ। तर यहाँ आएपछि न कुनै काम गर्न आउँछ, न त राम्रोसँग अँग्रेजी नै बोल्न नै। त्यसपछि कम्पनीले पनि निकालिदिन्छ। नत्र तलब रोकेर राख्छ, जसले गर्दा नेपालीहरू अवैधानिक भएर बस्ने क्रम पनि बढेको छ। उद्धार गरिदिनुपर्यो भनेर हामीलाई फोन आइराख्छ। काम खोजिदिनुस् भनेर फोन गरिरहन्छन्। काम खोजिदियो भने म त्यो काम गर्दिनँ, म यति पढेको उति पढेको भनेर उल्टै धाक लगाउँछन्।
त्यस्तै, कतिपय नेपालबाटै फ्रान्स वा जर्मनी जान पाउने सोचेर पनि क्रोएसिया आउने गरेका छन््। रोजगारदाता कम्पनीले यहाँ रुम दिएर राखेको हुन्छ, फ्याट्टै एक महिनामै छाडेर ईयूका अन्य देश जाने गर्नाले निकै समस्या ल्याएको छ। खाडीजस्ता देश भए ‘डिपोर्ट’ गरेर पठाइसक्थे होला। यहाँ त्यस्तो कडा कानून चाहिँ बनेको छैन।
अहिले आप्रवासी श्रमिकहरूले गर्दा शान्तिसुरक्षामा खतरा हुने भन्दै विभिन्न राजनीतिक दलले विरोध गरिरहेका छन्। त्यसैमाथि हामीले त्यस्ता व्यवहार गर्दा पछि झन् समस्या हुन सक्छ। नेपालीलाई ल्याउनै बन्द गरियो भने हामीले रोजगारीको आकर्षक गन्तव्य मुलुक गुमाउँछौँ। अहिले हामीले अवसर पाएका छौँ। त्यसैले भाषा र सीप सिकेर मात्रै आउने गरौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
