तपाईं कसरी नुहाउनुहुन्छ? आबुई! खाना पनि पकाउनुहुन्छ? अनि सपना कसरी देख्नुहुन्छ? यस्ता प्रश्नहरूसँग हामी अव्यस्त भइसक्यौँ। यस्ता प्रश्नको उत्तर दिँदादिँदा कति साथी थाकिसके। कति चाहिँ रिसाइहाल्छन्।
म सौगात, आँखा देख्तिनँ।
मैले यति मात्र भनेँ भने तपाईं के बुझ्नुहुन्छ? सायद एकपटक मेरो हुलिया नियाल्नुहुन्छ! मान्नुहोस्, म सामान्य पोसाकमा छु, हातमा सेतो छडी छ र काँधमा झोला। अब मैले केही सोध्न खोजेँ भने तपाईंमध्ये केहीले वास्तै नगरी सरासर हिँडिदिनुहुन्छ, केहीले गच्छेअनुसार दान गर्ने इच्छा राख्नुहुन्छ, केहीले जिज्ञासा पनि राख्नुहोला वा समानुभूति पनि गर्नुहोला।
इतिहास अध्ययन गर्नेले बाबुराम आचार्य, चलचित्र पारखीले दर्पण छायाँका अभि (उत्तम प्रधान) र आजभोलि अधिकांशले रमेश प्रसाईं, सृष्टि केसी वा मेनुका पौडेललाई चिन्नुभएको होला। तर तपाईंलाई दृष्टिविहीन भनेपछि कसको सम्झना आउँछ? काठमाडौँ, पोखरा, भरतपुर, बुटवल वा अन्य ठूला शहर र आजभोलि त गाउँमा समेत पुगेर सडकगायन गर्ने साथीहरूको वा अगरबत्ती, भाँडा माझ्ने जाली र अन्य वस्तु किन्न आग्रह गर्ने साथीहरूको?
एउटै कक्षामा एकीकृत शिक्षा आर्जन गर्ने साथी पो थिए कि! हाल कुनै विद्यालय, सरकारी कार्यालय वा कुनै संस्थामा काम गर्ने समकक्षी पो छन् कि! कि आफ्नै छोराछोरी, भाइभतिजा वा अन्य नातेदारमध्ये नै कसैले आँखा देख्दैनन् कि! त्यसो पनि नभए, पक्कै पनि कुनै न कुनै बेला एक जना आँखा नदेख्ने मानिससँग त पक्कै ठोकिनुभएको होला।
के तपाईंलाई ती व्यक्तिहरूको जीवनशैलीबारे जानकारी छ? एकैछिन म र मजस्तै साथीहरूको जिवनशैलीबारे बुझौँ र सोच र वास्तविकताबीचको भिन्नता पत्ता लगाउँ।
२०२० सालको पूर्वार्धतिर सुदूरपश्चिमतिरका दृष्टिविहीन जंगबहादुर बोगटीले आफ्नो पढ्ने हुटहुटी पूरा गर्न भारत पुगेर त्यहाँबाट ब्रेल लिपि (आँखा नदेख्ने व्यक्तिहरूले छामेर पढ्ने लिपि) नेपाल भित्राए। त्यसपछि काठमाडौँको कीर्तिपुरस्थित ल्याबरेटोरी स्कुलमा आँखा नदेख्ने व्यक्तिहरूलाई आवासीय सुविधासहित पढाउन थालियो। त्यसअघि दृष्टिविहीनहरूको जीवन कसरी बित्थ्यो वा अवस्था के थियो भन्ने लेख्यरूपमा खासै भेटिँदैन। यद्यपि, उनीहरू घरायसी काम गर्थे वा आर्थिक रूपमा परनिर्भर थिए होलान्।
ल्याबरेटोरीपछि पोखरा, धरानलगायत स्थानमा दृष्टिविहीनहरूका निम्ति पनि आवासीय सुविधासहितका विद्यालयहरू खुल्न थाले। विद्यालय नजिकै घर भएका एकाधबाहेक अधिकांश दृष्टिविहीनको बाल्यकाल छात्रावासबाट नै शुरू हुन्छ। नुहाउने, कपडा धुने त परको कुरा, कतिपयले खानसमेत नजान्दै र दिसा पिसाब स्याहार्न नसक्तै छात्रावासको जीवन शुरू गर्छन्।
अबोध र निर्दोष भइकन पनि 'कठै', 'थुक्क' र 'श्रापको उपज'को गह्रौँ भारी बोकेर छात्रावास पुग्ने हामी पढाइ र भविष्य मात्र होइन, व्यक्तिगत सरसफाइ, साथीसंगीको ठट्टा र आत्मियपन पनि छात्रावासमा पाउछौँ। कागले काग र बकुल्लाले बकुल्ला भेटाउछौँ। ब्रेल लिपिमा छाम्दै १ 'अ' भन्छौँ र १ ‘ए’ पनि। अहिले ती छात्रावासका दिन सम्झँदा भुर्र उडेर उतै जान पाए हुन्थ्यो जस्तो हुन्छ।
आउँछन् हामीलाई पनि घरको सम्झना र सम्झन्छौँ हामी पनि गाउँ, समाज र बाआमा। तर कति साथीहरूको तत्कालीन अवस्था सम्झँदा म आफैँ अवाक हुन्छु। छात्रावासमा कति साथीहरू यस्ता थिए जो वर्षैभरि घर जाँदैन थिए। कोहीको घर हिमालपारि थियो त कसैको थिएन नै। घर गएर दुब्लाएर आउने साथी पनि थिए। छात्रावास हाम्रो घर, विद्यालय, खेलमैदान, शहर, गाउँ वा यस्तै अनेक ज्ञान, स्मृति र आत्मीयताको त्रिवेणी थियो।
छात्रावासले हामीलाई शारीरिक रूपमा मात्र होइन मानसिक, संवेगात्मक र सामाजिक रूपमा समेत ठूलो बनाउँदै लान्छ। हामी त्यही नदीमा बग्ने पानीका कण थियौँ, कोही जल बन्यौँ वा बनाइयौँ, कोही बिजुली बनेर बलिरहेका छौँ त कोही अझै नदीमै बगिरहेर रुपान्तरणको खोजीमा छौँ।
हाल १२ र पहिले १० सम्म त छात्रावासले राख्छ/राख्थ्यो, न्यून शुल्क वा निशुल्क पनि! तर माध्यमिक शिक्षापछि भने चरी गुँडमै फर्किन्छ वा नाना, खाना र छाना खोज्न भौँतारिन्छ। एक जना दाइले भनेको सम्झन्छु, “टेबलमा राखेको भरि गिलास देख्नेले लडायो भने सामान्य हुन्छ तर त्यही गिलास आँखा नदेख्नेले लडाओस् त!”
यही कुरा गाइने र सडकगायन गर्ने साथीहरूको हकमा पनि लागू हुन्छ। तर वास्तविकता भने म र तपाईं कसैले बिर्सन हुन्न। त्यो हो हाम्रो अपांगता।
हाल प्रविधिको विकाससँगै हामीलाई पनि सहज भएको छ। हामी सफ्टवेयरको मद्दतले ल्यापटप, मोबाइल र अन्य आधुनिक विद्युतीय उपकरणहरू सबै चलाउन सक्छौँ। आज लोकसेवा, शिक्षकसेवा र अन्य प्रतिस्पर्धी परीक्षा उत्तीर्ण गरेर म र मजस्तै धेरै साथीहरू स्वावलम्बनको पथमा छौँ। तर समाज सबैलाई सामान्यीकरण गर्छ र चर्को आवाज तथा प्रस्ट स्वरलाई रमेश र सृष्टि अनि सुरिलो आवाजलाई मेनुका देख्छ। सामान्य पोसाक र गह्रौँ झोलामा अगरबत्ती पाउँछ भने 'कठै' र 'विचरा' उसको थेगो समान छ।
समाजको चिन्तन र सोच देख्दा म अझै पनि छक्क पर्छु। दिनकै ३/४ जना मानिसहरू आएर 'मलाई चिन्यौ?' भनेर सोध्छन्। नचिनेदेखि चिनाउन होइन, 'फलानाले त चिन्थ्यो' भन्छन्। अनि चिनेदेखि 'ए यो त तिमीहरूको अदभूत क्षमता हो' भनेर स्याबास दिन्छन्। तिनका सोचमा हामी फरक क्षमता भएका, उच्च स्मरण शक्ति भएका व्यक्ति हौँ, ती हामीलाई एकैछिनमा दरिद्र र एकैछिनमा विद्वानको संज्ञा दिन्छन्।
तपाईं कसरी नुहाउनुहुन्छ? जुत्ता कसरी लगाउनुहुन्छ? आबुई! खाना पनि पकाउनुहुन्छ? अनि सपना कसरी देख्नुहुन्छ? यस्ता प्रश्नहरूसँग हामी अव्यस्त भइसक्यौँ। यस्ता प्रश्नहरूको उत्तर दिँदादिँदा कति साथीहरू थाकिसके। कति चाहिँ रिसाइहाल्छन्।
भन्ने हो भने कथा अनेक छन्। माथिका प्रश्नवाचकमध्ये जतिलाई सक्छु पूर्णविराम लगाउँछु।
सर्वप्रथमत, अधिकांश व्यक्तिहरूले अपांगतालाई सामान्यीकरण गरेको देख्ता म अलमल पर्छु। अपांगता कुनै धर्म वा पापसँग जोडिएको कुरा होइन र अपांगता कसैको रहरले हुने कुरा पनि होइन। यो त एक अवस्था हो जुन जन्मजात कुनै अनुवांशिक गुण वा वंशाणुगत गुणका कारण र पछि कुनै रोग वा दूर्घटनाका कारणले हुन्छ। नेपालमा नै पनि ‘अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४’ ले अपांगतालाई १० प्रकारमा विभाजन गरेको छ। यस ऐनले नसमेटेका र संसारमा पहिचान भएका अन्य अपांगता पनि थुप्रै छन्।
मुलुकको पछिल्लो जनगणना अनुसार कुल जनसङ्ख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको अपांगता छ। यो तथ्यांकले देखाएको संख्या हो। जनगणनाले नसमेटेका धेरै व्यक्तिहरूसँग अपांगता छ।
अपांगताको १० प्रकारमध्ये म दृष्टिविहीनहरूको कुरा गर्दै छु। आँखा नदेख्नेमा पनि विविधता छ। देख्तै नदेख्ने, छायाँ वा बत्ती र उज्यालो-अँध्यारो छुट्याउने, ठूला-ठूला सामग्रीहरू जस्तै मोटरसाइकल, गाडी, घर वा मान्छे देख्ने वा नजिकैबाट छापाका अक्षरहरू पनि पढ्न सक्नेहरू हुन्छन्। यसलाई चिकित्सकीय हिसाबमा कति फिट नजिक वा टाढाबाट देख्न सक्छ भनेर मापन गरिन्छ। गजबको कुरा त कोही आँखा नदेख्ने व्यक्तिहरू नजिकको वस्तु सजिलो गरी हेर्न सक्छन् र कोही भने टाढाको वस्तुहरू सजिलो गरी हेर्न सक्छन्।
तपाईंलाई अनौठो लाग्नसक्छ, आँखा नदेख्ने व्यक्तिहरू पनि क्रिकेट खेल्छन्। छ्याइँछ्याइँ आवाज आउने बललाई बलरले गुडाएर फाल्ने र सोही आवाज सुनेर ब्याटरले बल हिर्काउँछ, अनि फिल्डरले पनि आवाज सुनेर बल समात्छ। यो प्रसंग किन पनि उक्काउन पर्यो भने क्रिकेटका भाषामा दृष्टिविहीनहरूलाई नदेख्नेबाट अलि बढि देख्नेका हिसाबले क्रमश 'बी वान’, ‘बी टु’ र ‘बी थ्री’ गरी तीन प्रकारमा विभाजन गरिन्छ। ‘बी वान’का लागि रन लिइदिने काम आफ्नै टोलीका ‘बी टु’ र ‘बी थ्री’ ले गरिदिन्छन्।
आँखा नदेख्ने व्यक्तिहरूलाई गाह्रो जरुर हुन्छ। तपाईं सांगलाई भन्दा हामीलाई थप समय पक्कै लाग्छ। तर हाम्रा सबै नित्यकर्महरू हामी बिनासहयोग पनि राम्ररी गर्न सक्छौँ। केही यस्ता व्यक्तिहरू पनि छन्, जो कपडामा स्त्री पनि स्वयं गर्छन्। यो सबै अभ्यास र अव्यस्ततामा भर पर्छ।
मलगायत धेरै आँखा नदेख्ने जोडीहरू छन्, जो खाना पकाएर आफ्नो दैनिक गुजारा गरिरहेकै छन्। कतिले बालबच्चा हुर्काएका छन्। त्यसैले, यस्ता जिज्ञासालाई उत्सुकताका साथ चासो राख्नु स्वाभाविक हो तर 'यसले सक्तैन' भनेर पहिल्यै धारणा बनाउनुभयो भने र त्यसरी नै प्रस्तुत हुनुभयो भने हामीलाई नमज्जा लाग्छ। त्यो हाम्रो क्षमताको अवमूल्यन पनि हो।
सपना सुतेर देखिन्छ। सपना आँखा चिम्लिएर नै देखिन्छ। त्यसैले, सपना हामी पनि देख्छौँ। दिन र रात दुवैमा। मूर्त र अमूर्त दुवै। अनि पूरा हुने र काल्पनिक दुवै। तर फरक यत्ति हो, जन्मजात आँखा नदेखेका, रङ र दृश्यसँग परिचित नभएका साथीहरूको सपनामा दृश्यबोध नहुनसक्छ। महसुस मनले गरिन्छ, आँखाले होइन। हाम्रा निम्ति दृश्य भनेकै स्वाद, गन्द र स्पर्श हो।
हामीसँग त्यस्तो अदभूत क्षमता केही पनि हुँदैन। हामी पनि तपाईंजस्तै हौँ। बरु, सांग व्यक्तिको तुलनामा हामीलाई केही अवरोध र अप्ठ्यारो पक्कै हुन्छ। तर तिमीहरू धेरै सम्झन्छौँ। तपाईंका पाँचै इन्द्रीयले काम गर्छन्, एकैपटक पाँचै इन्द्रीय सक्रिय बनाउनुभयो भने अनेकतिर भड्कनुहुन्छ। तर हाम्रो आँखा सक्रिय हुँदैन वा तपाईंको जति सक्रिय हुँदैन। त्यसैले, हामी सुनाइमा जोड दिन्छौँ। त्यसैगरी, कान नसुन्ने साथीहरू हेराइमा बढी जोड दिन्छन्। एउटा इन्द्रीय सक्रिय नभएपछि अर्को इन्द्रीयलाई बढी चनाखो राख्नुपर्ने हुँदा हामीले सुनेका कुरा सम्झनुको विकल्प छैन।
जिन्दगी जीउने सबैका आफ्नै कला र तरिका हुन्छन्। जिन्दगीको गोरेटोमा अनेक किसिमका मानिस भेटिन्छन्। सबै व्यक्तिहरूले बुझेका छैनन् वा अनौठा जिज्ञासा राख्छन् भन्ने होइन। आज धेरै अपांगता भएका व्यक्तिहरू छात्रवृत्तिमा पढ्न पाएका छन्। लोकसेवा आयोग र शिक्षकसेवा आयोगका कारणले गर्दा हामीले राष्ट्रसेवा गर्ने अवसर पाएका छौँ। एकीकृत शिक्षा पढ्दाका बखत सेतोपाटीमा लेखेका कुरा भनिदिने र दीर्घकालसम्म साथै रहने अनि एकैपटकको भेटबाट हाम्रो क्षमता र व्यावहारबाट प्रभावित भएर सकारात्मक व्यवहार गर्नेहरू पनि हुनुहुन्छ।
काठमाडौँका जस्ता वर्षामा हिलाम्य हुने सडक, अव्यवस्थित पार्किङ र अपांगतामैत्री नरहेका भौतिक संरचना हाम्रा निम्ति चिन्ताका विषय हुन्। सडक, चोक र गल्लीमा छाडिने कुकुर र चौपायाहरूका कारण एक पाइला सार्न पनि शरीर काम्ने अवस्था छ। पहुँचयुक्त हिसाबले पुस्तक तयार नगरिँदा वा उपलब्ध नहुँदा पढ्न सकस छ। सक्षम हुँदाहुँदै पनि बैंक तथा वित्तीय संस्थाले खाता खोलिदिन र बैंकिङ सुविधाहरू दिन नमान्दा हामी अधिकारबाट बञ्चित हुन्छौँ। राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा धेरै कठिनाइ छ। तर यसको मतलब हामी केही गर्न सक्तैनौँ, परनिर्भर छौँ भन्ने होइन।
आजको प्राविधिक र वैज्ञानिक युगमा हामी कम्तीमा गरेर खान सक्षम छौँ। हो, काम गर्ने आआफ्नै तौर छन्। कोही सरकारी अड्डामा छन् त कोही निजी संस्थामा। कसैले घरघरै पुगेर व्यापार गरिरहेका छन् त कसैले आफ्नो प्रतिभा देखाएर खाएका छन्। ती सडकमा बस्ने हाम्रा साथीहरूलाई व्यवस्थित हिसाबले राख्ने वा अन्य रोजगार र स्वरोजगारको अवसर सिर्जना गरिदिने दायित्व राज्य र हाम्रा निम्ति खोलिएका संस्थाहरूको हो।
ती साथीहरू स्वयमले पनि आफ्ना निम्ति अन्य विकल्पहरू खोज्न सक्छन्। घरघरै पुगेर व्यापार गर्न पनि सडकभरि रहेका कुकुर र अन्य अवरोध निकै चुनौतिपूर्ण छ। तर यसका निम्ति तपाईंको साथ, सहयोग र समर्थनको भने खाँचो रहिरहने छ। कम्तिमा आज र अहिल्यैदेखि कतै सेतो छडी लिएर उभिएको व्यक्तिले सहयोगको अनुरोध गरेको छ वा त्यस्तो कुनै भाव देखाइरहेको छ भने एकपटक उसको कुरा सुनिदिनुहोस्। बाटोमा एक्लै वा समूहमा नै भए पनि कतै हिँड्दै हुनुहुन्छ भने उसलाई पनि 'साथै जाउँ' भन्नुहोस्। मुख्य कुरा त हामीले आफ्ना अधिकारका निम्ति एक्लै बोल्दा नसुनिनसक्छ, सुनिएर पनि नबुझिन सक्छ, बुझेर पनि नटेरिन सक्छ। कार्यान्वयन गर्ने तहमा बसेकाहरूलाई हाम्रा कुरा सुनाउन, बुझाउन र कार्यान्वयन गर्नका निम्ति खबरदारी गर्न हातमा हात मिलाइदिनुहोस्।
यही त हो समावेशीकरण, यसरी नै त बन्छ सम्मृद्ध समाज।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
