म भानुभक्त, घिमिरे, देवकोटाको कुरा गर्थें। लक्ष्मण सर बैरागी काइँला, श्रवण मुकारुङ, स्वप्नील स्मृतिको कुरा गर्नुहुन्थ्यो। म छन्दको कुरा गर्थें, उहाँ धमेन्द्रविक्रम नेम्वाङको रंगवाद सुनाउनुहुन्थ्यो।
खचाखच विद्यार्थी भरिएको कोठाको सबैभन्दा अगाडि उभिएको थिएँ। अरू सबै बेन्चमा बसेका थिए। धेरैका आँखा मतिर सोझिएको प्रष्ट देखिन्थ्यो। मलाई गीत वा चुट्किला सुनाउन भनिएको थियो। तर सबैको अनुमानविपरित मैले कविता सुनाउन थालेँ, त्यो पनि बालकृष्ण समको ‘इच्छा’।
खासमा त्यो म आफू पढ्ने कक्षा थिएन। मभन्दा नौगुणा ठूलो कक्षा थियो। कक्षा १ मा पढ्दै गरेको मात्र ७ वर्षको फुच्चे केटोले कक्षा ९ को पाठ्यक्रममा राखिएको इच्छा कविता पूरै सुनाउन सक्ने कुरा त थिएन। तर याद भएसम्मको छ–सात लाइन सुनाएँछु।
मेरो स्मृतिमा रहेसम्म त्यो नै जीवनको पहिलो सार्वजनिक कविता वाचन थियो। बुवाले पढाउने स्कुल कस्तो रहेछ भनेर हेर्न पुगेको थिएँ त्यो दिन। कक्षा–कक्षा दौडेर दुःख दिन्छ भनेर उहाँले कक्षा ९ का विद्यार्थीसँग राखिदिनुभएको थियो। मास्टरको छोरा आएको भनेर उनीहरूले घरी जोक सुनाउन लगाउने त घरी कालोपाटीमा चित्र बनाउन लगाउने गरिरहेका थिए। म निशंकोच आफूले जानेका सबै कला देखाइरहेको थिएँ।
त्यो २० वर्षअगाडिको घटना हो। अहिले पनि जब बालकृष्ण सम या इच्छा कविताबारे कतै चर्चा चल्छ, त्यो दिन बुबाको स्कुलमा कविता सुनाएको धमिलो तस्वीर मेरो आँखाअगाडि घुम्न थालिहाल्छ।
यसरी कविता, गीत, लोककथा सुनाउन सक्ने भए पनि त्यति बेला कविताप्रति मेरो लगाव थिएन। सुनेको कुरा ‘रेकर्डर’ले जस्तो दोहोर्याउन सक्ने वा स्मरण गर्न सक्ने सामान्य कौशल मात्र थियो। फुटबल खेल्नु, स्कुलका अतिरिक्त क्रियाकलापमा भाग लिनु र अलिक उट्पट्याङ काम गर्नुचाहिँ दिनचर्या थियो। उमेरले नसुहाउने देश–विदेशका गफ गर्नु मेरो लत–आदत थियो। त्यस्तो लतले बेलाबेला संकटमा पार्थ्यो। कहिले त साथीहरूको बगलबाट एक्लो बनाउँथे। यसैले होला आजसम्म जीवनमा ‘तँ’ सम्बोधन गर्ने साथी कहिले बनेन। शायद धेरै थरी कुरा जान्यो भने ठूलो मान्छे भइन्छ भन्ने भ्रम थियो ममा। आज यस्ता धेरै भ्रमहरूबाट म मुक्त छु। यो मुक्ति सृजनशीलताप्रतिको लगावले सृजित गरेको बानी हो।
स्कुल जीवनका अन्य वर्षहरूमा यदाकदा मात्र म कवितासँग ठोक्किएँ। कहिलेकाहीँ कविता प्रतियोगितामा भाग लिन्थेँ। मनभरि पुरस्कार जितेर घर फर्किन्छु भन्ने सोचेको हुन्थेँ तर कहिल्यै त्यो अवसर जुर्दैन थियो। यद्यपि घरमा उपलब्ध भएका साहित्यका किताबचाहिँ सबै पढ्ने गर्थें। रेडियो नेपालका कार्यक्रमहरू सुन्दै आफ्नै कल्पनामा मग्न हुन्थेँ। त्यसले भाषा सुधार गर्न धेरै मद्दत गरेछ।
कक्षा १० पुग्दा भने नेपाली पढाउने शिक्षकसँग अस्वभाविक रूपमा नजिकिएँ। उहाँ हुनुहुन्थ्यो स्व. शिवविक्रम तिमल्सिना। अहिले उहाँको नामअघि स्व. लेख्दा मेरो हात काँपिरहेको छ। भर्खरै प्रकाशित मेरो कवितासंग्रह उहाँलाई शिष्य–सौगात दिने मेरो इच्छालाई सदाका लागि अधुरो छाड्दै गएको दशैँछेक उहाँ सवारी दुर्घटनामा बित्नुभयो।
शिवविक्रम सर हुनुहुन्थ्यो अत्यन्त रसिक। (मिल्ने भए उहाँको नाम शिवविक्रम रसिक राखिदिनुहुन्थ्यो!) विद्यार्थीसँग रमाइला कुरा गर्ने, अलिकति पनि नरिसाइकन सम्झाइबुझाइ गर्ने र सकेसम्म अतिरिक्त क्रियाकलापमा जोड दिने। शिव सर छन्दका कविता भाका हालेर सुनाउनुहुन्थ्यो। त्यसबाहेक एक दिन कक्षामा मोतिराम भट्टको ‘इ सानै उमेरदेखि’ भन्ने गजल सुनाउनुभयो। भोलिपल्ट उहाँकै भाका टिपेर त्यही गजल पुनः एकपटक कक्षामा सुनाएँ मैले। उहाँ धेरै खुशी भएर ‘केटाकेटी हो, कला र गला हुने मानिस कहीँ भोको बस्नुपर्दैन!’ भनेको क्षण कहिल्यै बिर्सन सक्दिनँ।
स्कुलको परीक्षाहरूमा उहाँले ९० अंकसम्म दिनुहुन्थ्यो मलाई। अपत्यारिलो लाग्ला, शायद टेस्ट वा कुनै परीक्षामा उहाँले मलाई ९२ नम्बर दिनुभएको थियो। पछि एसएलसीमा ८५ अंक प्राप्त गरेपछि उहाँले ‘यति कम त नआउनुपर्ने, के बिगारेछौ’ भन्नुभएको थियो। अनि आफूले जीवनमा पढाएको विद्यार्थीमध्ये सर्वोत्कृष्ट अंक ल्याएबापत आफ्नो पिताको नामको पुरस्कारले पुरस्कृत गर्नुभयो। दुई वर्षमा उहाँसँग मेरो शिक्षकको सम्बन्धसँगै साहित्यिक सम्बन्ध स्थापित भयो। बेलाबेला नयाँ कविताको डायरी बोकेर एसएलसीपछिका दिनमा उहाँ भएको ठाउँमा पुग्थेँ म।
एसएलसीपछिको खालि समयमा यत्तिकै रल्लिरहँदा एक दिन मेरो आँखा कान्तिपुर पत्रिकामा प्रकाशित कवि हरिभक्त कटुवालको जीवनबारे लेखिएको लेखमा ठोकियो। त्यो पढ्दापढ्दै मेरो आँखाबाट आँशु बगेको पत्तै भएन। म कवि कटुवालको सर्वोच्च सृजनशीलता र सकसपूर्ण जीवनले शायद द्रवीभूत बनेँ। यहीबेला बुबाको स्कुलमा १० वर्षपछि पुनः पुगेको थिएँ यत्तिकै घुम्नका लागि।
यो त्यही स्कुल हो, जहाँ म सानो छँदा पनि गइरहन्थेँ। खुशी लाग्यो गाउँको यो स्कुलमा पुस्तकालय बनेछ। भवन नयाँ बनेछ। कालोपाटीको ठाउँमा ‘ह्वाइट बोर्ड’ झुण्डिएछ। त्यही पुस्तकालयमा मैले हरिभक्त कटुवालको ‘यो जिन्दगी खै के जिन्दगी’ भेटाएँ। ढुंगा खोज्दा देउता मिलेको भन्ने उखान चरितार्थ भयो। कृति त्यहीँ बसेर सरसर्ती पढेँ। पुस्तक यति मन पर्यो कि फिर्ता गर्न मनले मानेन। झोलामा राखेर बनेपा फर्किएँ।
कटुवालका कविताहरू पढेसँगै मैले जीवनमा जे खोजेको थिएँ त्यसलाई कसै न कसैले सम्बोधन गरेको रहेछ भन्ने महसुस भयो। मलाई लाग्यो, कटुवालको रगतभरि नेपाली भाषा छ। उनी एकै हरफले, एकै लाइनले करोडौँ नेपालीको मन छुन सक्छन्।
विद्यालय जीवनपछि म कविताको संसारमा खुलेर होमिएँ भन्ने लाग्छ। विद्यालयमा शिवविक्रम सर अनि घरमा लक्ष्मण मगर सर। यी दुई ‘सर’को संगतले पढेर डाक्टर वा यस्तै केही बन्नुपर्छ भन्ने आम मानसिकताले विज्ञान पढ्न थालेको मेरो जीवनको यात्रा नै मोडिदियो।
झापाका लक्ष्मण मगर बनेपास्थित हाम्रो घरमा डेरा लिएर बस्नुहुन्थ्यो। उहाँ पनि बनेपाको स्कुलमा नेपाली विषय नै पढाउनुहुन्थ्यो। मैले जेलाई साहित्य सोचेको थिएँ लक्ष्मण सरले त्यसलाई ठीक उल्टो ढंगले सोच्ने बनाइदिनुभयो। उहाँले मलाई आधुनिक कविताबारे बुझाउनुभयो। शनिबार दैनिक पत्रिकाको साहित्य प्याकेज पढ्नेदेखि गरिमा, मधुपर्क चिनाइदिनुभयो।
म आफूले कोर्समा पढेका भानुभक्त, घिमिरे, देवकोटाको कुरा गर्थें। लक्ष्मण सर भने बैरागी काइँला, श्रवण मुकारुङ, स्वप्नील स्मृतिको कुरा गर्नुहुन्थ्यो। म छन्दका कविताको कुरा गर्थें, उहाँ धमेन्द्रविक्रम नेम्वाङको बुद्धिवाला रंगवादी कविताको उदाहरण दिनुहुन्थ्यो। म शेक्सपियर वा टैगोरको कुरा निकाल्थेँ, उहाँ ल्याङ्स्टन ह्युज र पाब्लो नेरुदाको चर्चा गर्नुहुन्थ्यो। कवि भनेको कस्तो हुन्छ भन्ने सवालमा लक्ष्मण सर आफ्नो नातेदार पर्ने कवि मुनाराज शेर्माको खुला हृदय र जीवन जिउने तरिकाको उदाहरण दिनुहुन्थ्यो। (धेरैपछि कवि मुनाराज सेर्मा र मैले फोनमा यो कुरा गर्दै निकैबेर हाँसेका छौँ।)
यी सबै हुन् काठमाडौँ आउनुअघिको कुरा। लेख्न त थालियो तर कहाँ र कसरी प्रकाशित गर्ने मेसो थिएन। यहीबेला लोकप्रिय साहित्यिक पत्रिका जनमत भेटियो। बनेपाबाट प्रकाशित हुने रोशी साप्ताहिक, तीर साप्ताहिक भेटियो। आफूजस्तै लेखनमा रुति भएका साथीहरू समर्पण श्री र शुकदेव थपलिया भेटियो। यी दुई जनाले मेरो कविता, निबन्ध, लेखलाई सार्वजनिक गर्न धेरै सहयोग गरेका छन्। भुइँचालोपछिको समय पढ्नका लागि काठमाडौँ जानुपर्ने भयो। पढ्न जाने एकातिर थियो भने मनभरि थियो कविता र लेखनको हुटहुटी।
कस्तो होला भाटु राजाको शहर!
बनेपाबाट काठमाडौँको यात्रा भन्यो भने मानिस हाँस्छन्, यी दुई शहरलाई एउटै सोचिन्छ। खासमा बनेपाको संसार र काठमाडौँबीच निकै फरक छ। जग्गाको मूल्य एउटै हुँदैमा अनि रेस्टुरेन्ट, क्याफे वा ठूलो बजार हुँदैमा बनेपा र काठमाडौँ एकै हुन सक्दैन। अवसर, पहुँच, सामाजिक सोचाइ र जीवनशैलीमा आज पनि फरक छ। उसै बनेपा वरपरलाई काँठ भनिएको होइन!
म कुरा गर्दैछु काठमाडौँ यात्राको। खास मेरो काठमाडौँ यात्रा त च्याँख्लेबाट भएको हो। च्याँख्ले अर्थात् म जन्मिएको काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिकामा पर्ने गाउँ। बनेपा र काठमाडौँको कुरा एकैछिन छाडेर म च्याँख्लेतिर जान्छु।
त्यसबेला दैनिकी अत्यन्त सरलरेखामा थियो।
आमाले बोक्नुभएको खाली डोकोमा चढेर घाँस काट्न जंगल जानु र फर्किंदा शीतैशीतको बाटो हिँड्दै फर्किनु। जंगलमा हुँदा रेडियोमा सुनेका बालगीत र लोकगीत गाउनु। वनमा शीतले खुट्टा भिजायो भनेर घर आइपुग्नासाथ रूनु। आमाले ‘नरो बाबु! घाँस नभए सेती गाईले कहाँ दुध दिन्छे’ भनेपछि म केही आश्वस्त हुनु। अनि तिनै गाईबाख्रासित खेल्न थाल्नु।
यसरी दिनहरू बित्दै थिए। ५ वर्षको उमेरमा आमालाई गाउँमा नै छाडेर पढ्न बनेपा जानुपर्ने भयो। गाउँमा नजिकै विद्यालय थिएन। बुबाले पढाउने स्कुल पनि धेरै नै टाढा थियो। शुरूआतका दिनमा विरानो शहरमा हराएजस्तो भएँ। तर बिस्तारै शहरका गल्ली, मन्दिर, चोक, बजार, जात्रा परिचित लाग्न थाले। व्यस्त शहरमा आफूलाई अभ्यस्त राख्ने बानी पर्दै गयो।
डेढ दशक बनेपा बसेसँगै विद्यालय जीवन सकियो। यसपछि शहरहरूको समेत केन्द्र मानिने काठमाडौँ महानगर जानुपर्ने भयो। पहिला गाउँबाट शहर आउँदाजस्तै केही समय काठमाडौँ पनि नौलो–विरानो लाग्यो। तर बिस्तारै जेब्रा–क्रसिङको भीड, पाटनको कफी–अड्डा, क्याम्पसको चौघेरो, वसन्तपुरको साँझ, भृकुटीमण्डपको हिउँदे घाम, बागबजारको ओसिलो गल्ली, दरबारमार्गको तडकभडक परिचित लाग्न थाल्यो। यही भीडमा छँदासमेत म बेलाबेला आफू हुर्केको–पढेको सानो बनेपा शहर सम्झिन्थेँ। पहाडको काखमा रहेको हरियाली च्याँख्ले गाउँ सम्झिन्थेँ।
यसर्थ गाउँसँगै मेरो कवितामा बढी जोडिने थलो काठमाडौँ हो।
काठमाडौँमा आफूले पत्रपत्रिकामा पढ्दै आएका अधिकांश लेखक, साहित्यकार भेट्दा अनि नाटक, सिनेमा, चित्रकला सहजै हेर्न पाउँदा शुरूशुरूका दिनमा दंग परियो। एक्लै कोठामा रातभरि मन परेका संसारभरिका गीत सुनेर कल्पनामा हराउन पाउँदा स्वतन्त्रताको अनुभूत गरियो। नितान्त एक्लोपन अनुभव गर्न पाइयो। कविता लेखन र पठनले हारलाई पनि जीवनको एउटा पाटो मानेर सजिलै स्वीकार गर्ने बानी पर्यो। जीवनलाई घरी इन्द्रेणी त घरी अँधरो रात मान्दै, नयाँ–नयाँ दृष्टिले हेर्दै जीवनको सत्वलाई सम्मान गर्न सिकियो।
यहीबीच पत्रकारिता, लेखन, अनुवाद आदि कर्मले स्रष्टाहरूको संगत गर्न पाएँ। कहिले नवीन प्यासी त कहिले विष्णु सन्न्यास। कहिले विनय सरगम त कहिले देवव्रत। कहिले चन्द्रवीर तुम्बापो त कहिले स्वप्नील स्मृति। कहिले श्रवण मुकारुङ, विप्लव प्रतीक, विमल निभा, शैलेन्द्र साकार। कविता सुनाउनका लागि देशका विभिन्न स्थानमा जान पाइयो। धरानदेखि जनकपुर, रोल्पादेखि पोखरा। साहित्यिक महोत्सवहरू चाडपर्वजस्ता लाग्न थाल्यो। कवि, लेखक, गायक, नाट्यकर्मी, चित्रकार आदिको बीचमा बस्न पाउँदा मात्र अर्कै आनन्द आउँथ्यो। फेरि यहीबेला मलाई लाग्यो, कविता लेख्ने म मात्र होइन मजस्ता हजारौँ छन्। मजस्तै हाम्रो साहित्यलाई जीवन ठान्ने अरू पनि छन्। उनीहरूको समर्पण र सृजनालाई सम्मान गर्दै आफूले पनि सकेको राम्रो कर्म गर्ने प्रयास गर्नुपर्ने रहेछ। क्षणिक रमझम वा आत्मश्लाघामा बाँच्न नहुने रहेछ भन्ने क्रमशः महसुस भयो।
पत्रकारिता र लेखनको जतिसुकै माझमा रहे पनि जीवनका निर्मम प्रहारले नहानेको होइन। एकै समय मभित्र एउटा कवि मन बाँचेको हुन्थ्यो भने अर्कोतिर भविष्यको संघर्ष गरिरहेको विद्यार्थी–जीवन। दिउँसो जति उर्जाशील पत्रकार बने पनि साँझमा आफूले समाज र देशको लागि केही गर्न नसकेको क्रूर यथार्थले प्रहार गर्थ्यो। हरिभक्त कटुवालले भनेझैँ ‘जागिर जोगाउन स्वस्ति गरिरहेको’ कोही मान्छे मभित्र हुन्थ्यो। कहिल्यै कसैको निगाहमा, दबाबमा वा बन्धनमा बस्न मन नपराउने स्वभावलाई केही न केहीले जिस्काइरहेजस्तो लाग्थ्यो। त्यहीबीच म लेख्थेँ साँझका कविता। प्रेमका कविता। पहाडमा चल्ने चैतको उत्ताल बतासको कविता। आफ्नै देशमा अनागरिक बनेर बाँच्नुपरेका मानिसको कविता। जीवनको कविता।
तर वियोग, वेदना र निराशाको चकोरबीच आशा जगाउने माध्यम कविता बन्यो। कसैले नराम्रो व्यवहार गर्दा मेरो चित्त दुख्नेरहेछ। त्यो कुराबाट मैले बुझेँ कि अरूलाई मैले नराम्रो व्यवहार गरेँ भने उसको पनि चित्त दुख्नेरहेछ। तीता क्षणलाई समेत जीवनको एउटा पाटोको रूपमा स्वीकार गरेर अगाडि बढ्न कविताले नै सिकायो। विश्वास गर्न, सपना देख्न र प्रेम गर्न कविताले सिकायो। सँगै अन्यायविरुद्ध संघर्ष गर्न पनि। व्यक्तिगत जीवनलाई एक ठाउँ राखेर सामाजिक–राजनीतिक सवालमा अगाडि बढ्दा पनि कविता सँगै रह्यो। अरू कवि, कलाकारसँगै म पनि धेरैपटक सडकमा पुग्न पाएँ। विद्रोहको बेला रेशमले बेरेर विचारको कलात्मक ढुंगा कवितामार्फत् प्रहार गर्न पाइयो।
यसरी निरन्तर कवितासँगै यात्रा गर्न पाउँदा ‘म एक्लो छैन है’ भन्ने महसुस भयो। फेरि नितान्त एक्लो हुँदा पनि एक्लोपनलाई उत्सवझैँ ‘सेलिब्रेट’ गर्न सिकियो। जीवनका कतिपय क्रूर सत्यलाई स्वीकार गर्न बिम्ब र प्रतीक सहारा बने। निराशाको गीत गाउनसमेत आशाको लय र भाका भेटिए।
जीवनको यही सिलसिला बाँच्ने क्रममा २०७० देखि २०८० सालसम्म लेखिएका कविताहरू नै ‘त्यसरी त कहिल्यै सोचिएन’ कवितासङ्ग्रहमा समेटिएका छन्। कतिपय कविता पत्रपत्रिका तथा अनलाइनमा प्रकाशित भइसकेका छन् भने कति कविता कुनै पत्रिकामा प्रकाशित नभएका छन्। बेलाबेला म आफैंलाई सोध्छु– के हुन् मेरा कविता? सायद म (स्वयं) र मेरो पुस्ताले भोगेको साझा समयको चित्र हुन् यी कविता। युगको आवरणमा आफ्नो अनुहार खोज्दै गर्दा मैले गाएको जीवनका गीत हुन् यी कविता।
अनि अहिले कवितासंग्रह प्रकाशनसँगै धेरैजनाले सोध्ने साझा प्रश्न हो— कविता कसरी लेख्न थाल्नुभयो? तपाईंको साहित्य यात्रा कसरी शुरू भयो?
झट्टै उत्तर दिन गाह्रो पर्छ। अनायासै म शीतले छोपेको च्याँख्ले गाउँ सम्झिन्छु। धरतीको पूर्व दिशातिर हरियो रङमा बत्तिरहने रोशी खोलाको वेग सम्झिन्छु। बडो फुर्तीले इच्छा कविता सुनाउने त्यो फुच्चे केटो सम्झिन्छु। शिवविक्रम सर र लक्ष्मण सर सम्झिन्छु। म क्रमशः स्मृतिको बाक्लो हुस्सुमा हराउँछु।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
