Sunday, April 28, 2024

-->

सिरहा कारागारः जेल प्रशासन र प्रहरीको रोहबरमा चौकीदारको ‘शासन’

कैदीलाई न्यानो लुगा किन्न आएको पैसा खाइदिएपछि भएको विरोध दबाउन सिरहा कारागारमा पुस १८ गते चौकीदारले गरेको ज्यादतिसँगै कारागार प्रशासन र प्रहरीको आडमा चलिरहेको ‘चौकीदार शासन’ पनि छताछुल्ल भएको छ।

सिरहा कारागारः जेल प्रशासन र प्रहरीको रोहबरमा चौकीदारको ‘शासन’

काठमाडौँ– पुस १८ गते, राति करिब ८ बजे। सिरहा कारागारभित्र कैदी–बन्दीहरूबीच एक्कासि झडप हुँदा २० जना घाइते हुन्छन्। कैदी सुनील यादव (३५) रगताम्य हुन्छन्। उनको टाउकोबाट बगेको रगत नरोकिएपछि तत्कालै प्रादेशिक अस्पताल सिरहा पुर्‍याइन्छ। त्यसपछि घटना सार्वजनिक हुन्छ।

अस्पतालको पुर्जीअनुसार सुनीललाई ९ बजेर ४ मिनेटमा प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। उनको टाउकोमा २५ वटा टाका लगाइएको छ। उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि थप उपचारका लागि शनिबार विराटनगर लगिएको छ। अरू दुई जना कैदी अझै प्रादेशिक अस्पताल सिरहामा उपचाररत छन्। बाँकी कारागारभित्रै सरकारी चिकित्सकको निगरानीमा छन्।

सरकारले जाडोमा सिरक र रासनको लागि दिएको रकम हिनामिना भएपछि केही कैदी–बन्दीहरूले असहमति जनाएका थिए। सोही क्रममा चौकीदार कैलाश ठाकुरका सहयोगीहरूले असन्तुष्ट कैदीमाथि आक्रमण गरेका थिए। त्यसपछि कारागार युद्ध मैदानजस्तै भएको थियो। यो घटना ढाकछोप गर्न कारागार प्रशासनले त्यहाँका केही कैदीहरूलाई हेटौँडा कारागारमा सरूवा गरेको छ।

सिरहाबाट थप उपचारका लागि प्रहरीको गाडीमा विराटनगर लैजानेक्रममा सुनीलले प्रहरीलाई घटनाबारे बेलिबिस्तार लगाएको एउटा भिडियो क्लिप उकालोलाई प्राप्त भएको छ। जसमा उनले आफूलाई मरणासन्न हुने गरी कुटपिट गरिएको उल्लेख गरेका छन्। उनको टाउकोमा पट्टी बेरिएको थियो भने हात र पिठ्यूँमा ब्यान्डेज थियो। आफूलाई कारगारका नाइकेहरू विजय महतो, इन्द्रजीत र अमर साफीले कुटपिट गरेको उनको भनाइ छ।

“चिसोमा राज्यको तर्फबाट हामीलाई सिरक किन्न पैसा आएको थियो। तर चौकीदारले सारा पैसा आफैँ राख्न खोजेपछि हामीले आवाज उठायौँ। त्यही निहुँमा हामीमाथि कुटपिट गर्न थाले,” सुनील भन्छन्, “म, सकिल मियाँ र जीवछ साहलाई पिटेको याद छ, तर मलाई बाहिर निकालिसकेपछि केही याद छैन। सिरकको पैसा त दिएन नै, खानाका लागि आउने रकममा पनि पूरै पैसा दिँदैन। जेलभित्र उनीहरू विरूद्ध बोल्ने सबैलाई यसैगरी कुटपिट हुन्छ। डरले कोही बोल्दैन।”

प्रत्येक जाडोमा सरकारले कैदीहरूलाई ३५ सय रुपैयाँ उपलब्ध गराउँछ। प्रतिमहिना २४ सयको दरले सिधाका लागि रकम वितरण हुन्छ। जाडोमा कैदीबन्दीका लागि आउने करिब २० लाख रुपैयाँ नै हिनामिना भएको कैदीबन्दी बताउँछन्।

कारागारभित्र ‘चौकीदार शासन’
कर्तव्य ज्यान मुद्दामा सजाय पाएका २८ वर्षीय कैलाश ठाकुर करिब ६ वर्षदेखि सिरहा कारागारमा सजाय काटिरहेका छन्। धनुषाका कांग्रेस नेता राजेन्द्र यादवको हत्यामा उनी जेल परेका हुन्। उनीमाथि कर्तव्य ज्यानसँगै संगठित अपराध तथा हातहतियार खरखजानाको मुद्दा पनि छ। 

ठाकुर विगतमा भूमिगत समूह, जनतान्त्रिक मुक्ति मोर्चाका लागि काम गर्थे। त्यतिखेर मोर्चाले उनलाई 'शूटर'को रूपमा परिचालित गरेको थियो। अहिले भने उनी कांग्रेसकै कोटामा कारागारको चौकीदार भएको सिरहाका एक पत्रकार बताउँछन्। उनलाई सिरहा कांग्रेसका नेता धनेश्वर यादवको भरथेग रहेको जिल्लाभर ‘ओपन सेक्रेट’ जस्तै छ। कैलाश सिरहास्थित मिर्चैयाका बासिन्दा हुन्। 

एक महिनाअगाडि पनि उनले कैदी ललित यादवलाई कुटपिट गरेका थिए। उनले ललितको घरमा फोन गरेर १ लाख रुपैयाँ चन्दा माग गरेका थिए। तर घरबाट रकम नआएपछि उनको सरूवा धनुषा गराइदिएका थिए। पछि ललित पुन: सरूवा गराएर सिरहा जेल आउँदा कैलाशले फेरि चन्दा माग गरे। तर पैसा दिन नसक्दा उनीमाथि कुटपिट गरेका थिए। 

कुटपिटपछि ललितका परिवारले मंसिर १९ गते सिरहास्थित विष्णुपुर बजारमा विरोधस्वरूप दुई घण्टा चक्का जाम गरेका थिए। त्यतिखेर उनकी श्रीमती अञ्जुदेवीले भनेकी थिइन्, “कैलाश ठाकुर वर्षौँदेखि चन्दा असुली गरेर कैदीलाई डराउने, धम्काउने र कुटपिट गरिरहेका छन्। उसको सरूवा नभई उल्टै कुटाइ खानेकै सरूवा भइरहेको छ। यो सबै कसको मिलोमतोमा भइरहेको छ?” 

उनीहरूले अन्दोलनको क्रममा कैदीको सरूवा सीडीओ र जेलरको समन्वयबिना हुन नसक्ने भन्दै दुवै जनाको राजीनामा माग गरेका थिए। तर त्यो घटनापछि पनि कारागार प्रशासनले कैलाशलाई कुनै कारबाही गरेन।


यस्ता घटनाहरूबाट आजित भएका कैदीहरूले केही दिनअगाडि एउटा प्रेस विज्ञप्ती जेलबाहिर पठाएका थिए। विज्ञप्तिमा कारागारका कोठा नं १ देखि ८ सम्मका सम्पूर्ण कैदीलाई कैलाशले अत्याचार गर्ने गरेको उल्लेख छ। जेल परेका परिवारका सदस्य भेट्न आउनेले दिएको खर्च पनि कैलाश समूहले खोस्ने गरेको विज्ञप्तिमा उल्लेख छ।

“यसअघि यस्तै रवैयाका कारण कैलाश ठाकुरलाई मकवानपुरस्थित भिमफेदी कारागारमा सरूवा गरिएको थियो। त्यतिबेला कारागार साँच्चिकै सुधार गृहजस्तो भएको अनुभूति हुन्थ्यो। तर कैलाश पुन: यहाँ आएदेखि हामी आतंकित छौँ,” विज्ञप्तिमा लेखिएको छ, “उसले घरी नेपाली कांग्रेसकी नेतृ मञ्जु खाँण र सीडीओ लालबाबु कवाडी हाम्रै प्यानलको मान्छे हो भन्छ भने घरी आफूले भनेको कुरा पार्टीका नेताहरूले मान्ने गरेको भन्दै अन्य कैदीहरूलाई डरत्रास देखाउने गरेको छ।”

२०७९ मंसिर २४ गते सिरहा कारागार कार्यालयमा खटिएका सुरक्षा गार्डका प्रमुख, प्रहरी नायब निरीक्षक सुरज आचार्यको टोलीले कैलाश सुत्ने कोठाबाट धारिला हातहतियार पनि फेला पारेको थियो। त्यतिखेर उनले कैलाशलाई कारबाही सिफारिस गरेका थिए। खनतलासी गर्दा कैलाश सुत्ने कोठामा खुकुरी एक थान, धारिलो कत्ता दुई थान, धारिलो चक्कु तीन थानलगायत फलामको पाइप, कलको डन्डी, काठको लठ्ठी र चुलेसी फेला परेको थियो। यस्ता हातहतियार फेला परेपछि कार्यालय सहयोगी अमरेशकुमार महतो र नथुनी गोइतलाई पनि कारबाहीका लागि जिम्मा लगाइएको थियो।


चौकीदारको हैसियतमा रहेका कैलाश मन लागेको बेला बाहिर निस्किने गरेको उनकै एक छिमेकी बताउँछन्। कारागारभित्र रासनपानी ल्याउने जिम्मा कैलाशकै भएकोले कारागार प्रशासनले उनीसँग एक जना प्रहरी जवानलाई साथ लगाएर निस्किन दिने गरेको छ।

“त्यही मौका छोपी कैलाश बेलाबेला आफ्नो घर पुगिरहन्छ। कतै आर्केस्ट्रा वा नाच आएको छ भने त्यहाँ पनि जान्छ। उसलाई कसैले केही भन्दैन,” ती छिमेकी भन्छन्, “फेरि मन लागेको बेला कारागारभित्र जान्छ र कैदीउपर शासन चलाउँछ। यो विषयमा न त्यहाँभित्र रहेका कुनै प्रहरीले बोल्छ, न कोही नेता वा बुद्धिजीविले।”

सिरहा कारागार प्रमुख मातृकाप्रसाद दाहाल भने कैलाश एकदमै शालिन व्यक्ति भएको बताउँछन्। दाहालले १८ गतेको घटना पनि सामान्य भएको बताए। “बाहिर कसरी त्यस्तो हल्ला चल्यो थाहा भएन। तर भित्रको माहोल एकदमै शान्त र सुरक्षित छ। अस्ति कारागारको चौकीदार आफ्नो मान्छे हुनुपर्ने भनेर अर्को पक्षले कैलाशसँग समान्य विवाद गरेको थियो,” उनी भन्छन्, “त्यतिबेला कैलाश कारागारभित्र पनि थिएन। कैलाशमाथि अनेकले आरोप लगाइरहन्छन्। यो सबै अनावश्यक हल्ला मात्रै हो।”

दाहालका अनुसार उक्त दिन कैलाश सिन्धुली गएका थिए। उनले कारागारमा नै २२० सीसीको 'अनटेस्ट' पल्सर मोटरसाइकल राखेका छन्। कारागारको सीसीटीभीको सर्भर नै उनको कोठामा राखिएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजेन्द्रदेव पाण्डेले भने कारागारमा भएको झडप चौकीदारको कारण नभएको दाबी गरे। महिला कैदीबन्दीलाई कारागारबाट अन्तै सारेको विषयमा विवाद भएको उनी बताउँछन्। “मलाई कारागार प्रशासन र प्रहरीबाट भएको रिपोर्टिङ यही नै हो। मलाई अरू कुनै कारणले त्यहाँ विवाद भएको जानकारी छैन,” पाण्डे भन्छन्, “यो विषयमा धेरै हल्ला पनि चलेको छ। त्यति धेरै जानकारी मलाई पनि छैन।”

कैदीबाट महिनाकै २० लाख संकलन!
सिरहा कारागारमा धेरै पहिलादेखि नै यस्ता प्रकृतिको घटना भइरहेको त्यहीँका एक कैदी बताउँछन्। कैदीको नाममा आउने पैसा प्रहरी र चौकीदारले व्यापक हिनामिना गरेको उनी बताउँछन्। “यो त रगताम्य हुनेगरी कुटपिट भएपछि घटना बाहिरिएको हो। नभए यस्ता लफडाहरू त यहाँभित्र दिनहुँ हुन्छ,” उनी भन्छन्, “यहाँ ५०० भन्दा धेरै कैदी छन्। १०० जनालाई नाइके बनाइएको छ। नाइकेहरू यहाँको डनजस्तै हुन्। उनीहरूले भनेको नमान्नेलाई जे गरे पनि हुन्छ।”

सिरहा कारागारभित्र तीन वटा मेशमा खाना पाक्छ। एउटा कारागारको दैनिकीअनुसार खाना पाक्छ। अर्कोमा छुट्टै खान चाहनेले व्यक्तिगत हिसाबले पकाउँछन्। अर्कोमा नाइके र चौकीदारका लागि खाना पाक्छ। “पहिला सिधाका लागि आउने २४ सयबाट ब्रस र पेष्टहरू किन्नका लागि ४-५ सय जति दिन्थ्यो। तर अहिले साराका सारा पैसा चौकीदारले आफैँ राख्ने गरेको छ,” ती कैदी भन्छन्, “खानाका लागि घरबाट केही मगाउनु परे पनि दिँदैन। कारागारभित्रकै पसलबाट किन्नु पर्छ, त्यो पनि आफ्नै पैसाले। यदि त्यस्तो गरिएन भने त्यहीँ कुटपिट गरेर एकैछिनमा ठिक पारिहाल्छन्।”

कारगारभित्रको जञ्जाल विशाल रहेको सिरहा कारागारका एक पूर्वकैदी बताउँछन्। त्यहाँ हुने अपराध र आर्थिक लेनदेन राजनीतिक दलका नेतादेखि कारागार व्यवस्थापन विभागका कर्मचारीसम्म पुग्ने गरेको उनी बताउँछन्। अलिक टाठोबाठोलाई कैलाशले नाइके बनाइदिने, १०–१५ दिनको अन्तरमा ५०० रुपैयाँका दरले हातमा थमाइदिने, प्रतिमहिना चौकीदारले कारागारभित्रबाट २० लाखको हाराहारीमा पैसा उठाउने र त्यसमध्ये कैलाशको भागमा २–३ लाख पर्ने उनले बताए। “बाँकी रकम माथिल्लो तहसम्म बाँडफाँड हुन्छ,” उनले भने। 

“म आफैँ त्यहाँको भुक्तभोगी हुँ। साढे दुई वर्ष कैदी भएर बसेको हुनाले मलाई त्यहाँको जञ्जालबारे थाहा छ। त्यहाँको सूचना चुहावट नहुन दिन भित्रैबाट सयौँ मान्छे परिचालित हुन्छन्,” उनी भन्छन्, “कोही फोनमा बोलिरहेको छ भने त्यहाँ चौकीदारको मान्छे हुन्छ। कोही आफन्तसँग भेटिरहेको छ भने त्यहाँ पनि मान्छे खटाइएको हुन्छ। त्यहाँभित्र हुने केही कुरा बाहिरिन नदिने उनीहरूको मुख्य मक्सद हुन्छ।”

कैलाशभन्दा अगाडि सिरहा कारागारका चौकीदार श्रीदेव कापर थिए। उनको पालामा यस्तो अवस्था नरहेको ती पूर्वकैदी बताउँछन्। “उनी १०-१२ वटा जति कारागार बसेर आएका थिए। मान्छे पनि पढेलेखेको। त्यसैले होला सबैलाई मिलाएर राख्थे,” ती पूर्वकैदी भन्छन्, “उनी गएपछि चौकीदारको जिम्मा कैलाशले पायो। र कारागारभित्र अपराध र अत्याचारको शृंखला शुरू भयो।”


सम्बन्धित सामग्री