साल्ट ट्रेडिङले आफ्नाे काराेबार र सेवाक्षेत्र विस्तार गर्ने

कृषि क्षेत्रको विकासमा समेत योगदान पुर्‍याउने उद्देश्यले अनुदानित मलमा मात्रै सीमित नभइ गैर अनुदानित मल पनि आयात गरी बिक्रीवितरण गरिरहेको साल्ट ट्रेडिङले जनाएकाे छ।

काठमाडाैँ– साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कारोबार र सेवाक्षेत्र विस्तार गर्ने प्रतिबद्धता जनाएकाे छ।

बुधबार कर्पोरेसनले काठमाडौँमा स्थापनाको ६१ औं वार्षिकोत्सव मनाउँदै यस्तो बताएको हो। कर्पाेरेसनले जनतालाई दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउने लक्ष्य लिएर स्थापना भएको ६ दशक पूरा गरेको छ।

कर्पाेरेसनले उद्देश्यअनुसार जनतालाई सुपथ र सहज रूपमा गुणस्तरीय उपभोग्य वस्तुहरूकाे उपलब्धतालाई निरन्तरता दिइरहेको कर्पाेरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन्। उनले कर्पाेरेसन अप्ठेरो परिस्थितिमा पनि आम उपभोक्ताहरूलाई सहज रूपमा व्यापार विविधीकरणसहित सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

कर्पाेरेसनले कृषि क्षेत्रको विकासमा समेत योगदान पुर्‍याउने उद्देश्यले अनुदानित मलमा मात्रै सीमित नभइ गैर अनुदानित मल पनि आयात गरी बिक्रीवितरण गरिरहेको उनकाे भनाइ छ। उनले उपभोक्तालाई गुणस्तरीय तेल उपलब्ध गराउन हेटौँडाको नेपाल वनस्पति घ्यु उद्योगबाट तोरीको तेल उत्पादन प्रारम्भ गरी उपभोक्ता समक्ष पुर्‍याइरहेको बताइन्। कर्पाेरेसन अब कारोबार र सेवा विस्तार गर्नमा प्रयत्नशील रहेको उनले जानकारी गराइन्।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साल्ट ट्रेडिङ कर्पाेरेसनले उपभोग्य वस्तु मात्रै नभएर कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान गर्न आवश्यक रहेको बताए। यस्तै, सरकारको आवश्यकताअनुसार निर्देशन पालना गरी उपभोग्य वस्तुहरूको उपलब्धतामा देखाएको सक्रियता सकारात्मक रहेको उनकाे भनाइ छ।

उनले कृत्रिम मूल्यवृद्धि नियन्त्रणमा कर्पाेरेसनको सकारात्मक भूमिका रहेकाे साथै जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराएकाे भन्दै प्रशंसा गरे।