Sunday, May 05, 2024

-->

नेपाली फुटबललाई आफ्नै वरिपरि घुमाइरहेका इन्द्रमान

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले गणेश थापालाई भ्रष्टाचारको आरोपमा प्रतिबन्ध लगाउँदा होस् या उनीनिकट नरेन्द्रलाल श्रेष्ठ कार्यवाहक अध्यक्ष हुँदा नै किन नहोस्, इन्द्रमान शक्तिमै रहे।

नेपाली फुटबललाई आफ्नै वरिपरि घुमाइरहेका इन्द्रमान
इन्द्रमान तुलाधर जो सोमबार मात्र एन्फाको सीईओमा नियुक्त भएका छन्।

काठमाडौँ– करिब डेढ दशकअघि इन्द्रमान तुलाधरको लक्ष्य अखिल नेपाल फुटबल संघ (एन्फा)लाई विभाजन गरेर आफूनिकट विजयनारायण मानन्धरलाई अध्यक्ष नियुक्त गर्ने थियो। २०६३/६४ सालमा उनले त्यसैका लागि तत्कालीन सदस्य–सचिव जीवनराम श्रेष्ठसँग हातेमालो गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा अस्तित्वमा नरहेको नेपाल फुटबल संघ ब्युँताए। तर, तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले ‘सीईओ’को लोभ देखाएपछि उनी ‘ब्याक’ भए।

त्यसपछि इन्द्रमान गणेश नेतृत्वको एन्फामा नै सक्रिय भए। त्यसपछि सधैँ जसो शक्तिकेन्द्रमा रहेका उनी ‘ए’ डिभिजन क्लब संकटाका अध्यक्ष र एन्फाका महासचिव रहिरहे। तर, शक्तिकेन्द्रमै पुग्न फुटबल संघ खोल्न तम्सिएका उनले एन्फा अध्यक्षमा प्रतिस्पर्धा गर्ने आँट भने कहिल्यै गरेनन्। पाँच वर्षअघि भएको एन्फाको निर्वाचनमा अध्यक्षका उम्मेदवार कर्माछिरिङ शेर्पालाई जिताउन उनले निकै दौडधुप गरेका थिए।

शेर्पा समूहमा लागेर एन्फा प्रवेशलाई आठ वर्षसम्म कायम राख्ने उनको लक्ष्य थियो। शेर्पा अध्यक्ष भएपछि उनी एन्फाको महासचिव भए। गत वर्ष भएको निर्वाचनमा शेर्पालाई दोस्रो कार्यकालका लागि जिताउन पनि उनले दौडधुप गरे। तर शेर्पाको पालामा वरिष्ठ उपाध्यक्ष भएका पंकजविक्रम नेम्वाङले पासा पल्टाइदिए। नेम्वाङ एन्फा अध्यक्ष निर्वाचित भएपछि इन्द्रमान संकटा क्लबको अध्यक्षमै खुम्चिए।

एन्फाबाट बाहिरिएका इन्द्रमानको सक्रियता भने घटेन। उनले एन्फा नेतृत्वलाई काम गर्न नसकेको, नेपाली फुटबलको भविष्य अन्धकारतर्फ लगेको जस्ता आरोप सार्वजनिक रूपमै लगाउन थाले। त्यति मात्र नभई नेम्वाङलाई अध्यक्षबाट हटाउने अभियान पनि थाले। उनले गएको भदौ २५ गते एन्फामा नेम्वाङलाई अध्यक्षबाट बर्खास्त गर्नुपर्ने प्रस्ताव दर्ता गरे।

त्यसपछि अध्यक्ष नेम्वाङसँग इन्द्रमानको मिलन सम्भव नहुने अनुमान धेरैको थियो। तर बर्खास्तीको प्रस्ताव पेश भएको महिना दिनमै उनीहरू दुईबीचको निकटता बढ्यो। हेटौँडामा गत कात्तिक २३ गते सम्पन्न विशेष साधारणसभामा अध्यक्षलाई बर्खास्त गर्नुपर्ने आफ्नै प्रस्तावमा इन्द्रमानले मतदान गरेनन्। आफूसँग भएको १५ भोट पनि अध्यक्ष नेम्वाङलाई दिए। यसरी उनीहरू दुईबीच सहकार्य शुरू भयो।

कुनै बेला तत्कालीन अध्यक्ष शेर्पाका विश्वासपात्र रहेका इन्द्रमानले आफूलाई शक्तिकेन्द्रमा पुर्‍याउन थुप्रै गोप्य भेटघाट र छलफलहरू गरे। अध्यक्ष नेम्वाङसँग आफूलाई एन्फाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाउन माग गरे। उनका कारण पूर्वअध्यक्ष शेर्पा समूह कमजोर भयो। 

यो कुरा इन्द्रमान आफैँ पनि स्वीकार गर्छन्। उनी भन्छन्, “पछिल्लो समय कर्माजीसँग थिएँ। उहाँलाई नै साथ दिइरहेको थिएँ। तर हाम्रो मतभेद शुरू भयो। यसरी फुटबललाई लैजान अत्यन्तै कठिन हुन्छ भन्ने लाग्यो र भूमिकासहित पंकजजीको नेतृत्वमा आउन तयार भएँ।” 

अन्तत: अध्यक्ष नेम्वाङको समर्थक बनेपछि उनले त्यो 'भूमिका' पाएका छन्। सोमबार बसेको एन्फा कार्यसमित बैठकले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको छ। पंकज क्याम्पमा फर्किएका मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घलेलाई सहायक महासचिवमा नियुक्त गर्ने तयारी पनि भइरहेको एन्फा स्रोतले जनाएको छ। वसन्त अर्याललाई राजीनामा गराएर उनलाई सहायक महासचिव नियुक्त गर्ने तयारी भएको हो। 

यद्यपि, वसन्तले भने राजीनामा दिन आनाकानी गरिरहेको एन्फाका एक पदाधिकारी बताउँछन्। “उहाँहरू जिम्मेवारीसहित फर्किनुभएको हो। इन्द्रमानजीले कर्मा खेमाका मनाङसहित फ्रेन्ड्स र खुमलटारलाई ल्याउनुभएको छ। यसबापत सीईओ र सहायक महासचिव माग गर्नुभएको थियो। सहायक महासचिवमा वसन्तजीलाई राजीनामा गराउने तयारी थियो। तर मान्नुभएको छैन,” ती पदाधिकारीले भने। 

जता पद, उतैको मोह
इन्द्रमानको टोल काठमाडौँको टेबहालमै छ संकटा मुख्यालय। टुँडिखेलनजिक रहेको संकटामा फुटबलको महोल उत्तिकै थियो। आफ्ना पाँच दाजुभाइ यसमै लागेका कारण उनलाई पनि फुटबलले आकर्षित गरिहाल्यो। उनले १२ वर्षको उमेरदेखि नै डिफेन्डर बनेर फुटबल खेल्न थाले। उमेर समूहका सबै प्रतियोगिता खेले। तर साहिँला दाइबाहेक अन्य दाजुभाइले राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्न सकेनन्। उनी पनि त्यसैमध्ये एक रहे। 

नेपाल आदर्श माध्यमिक विद्यालयबाट प्रतिस्पर्धात्मक फुटबल खेल्न थालेका उनले ‘बी’ डिभिजन लिगमा २०४२ सालमा संकटा क्लबबाट प्रतिनिधित्व गरेका थिए। उनले ब्वाइज युनियन, त्रिभुवन आर्मी, तत्कालीन आरएनएसीलगायत ‘ए’ डिभिजन क्लबहरूबाट एक दशक व्यवसायिक फुटबल खेले। २०५८ सालतिर त दार्जिलिङको मिहालश्री क्लबबाट समेत छोटो समयका लागि फुटबल खेल्ने अवसर उनले पाए। 

तर राष्ट्रिय टोलीमा पुग्न नसकेका उनी खेलयात्रा रोकेर व्यवस्थापनतर्फ मोडिए। त्यसपछि संकटाको महासचिव बने। उनी संकटाको महासचिव बन्नुभन्दा अगाडिदेखि नै एन्फामा नेतृत्वलाई लिएर किचलो चलिरहेको थियो। २०५८ कात्तिक २५ मा गणेश थापा चौथोपटक एन्फाको अध्यक्ष बनेका थिए। तर त्यसको एक वर्ष पुग्न नपाउँदै विवाद भई राखेपको सहयोगमा गीता राणा अध्यक्ष निर्वाचित भइन्। 

त्यो विवादले इन्द्रमानलाई निकै फाइदा पुर्‍यायो। यद्यपि २०५९ साउन २३ गते कार्यसमितिको बैठक बस्नुअघि गीतालाई छाडेर इन्द्रमान र कर्मा गणेशको 'खास मान्छे' बन्न पुगे। उक्त कार्यसमिति बैठकमा बहुमत सदस्यले अविश्वास प्रस्ताव पारित गरे। राखेपले गीतालाई एन्फा अध्यक्षबाट बर्खास्त गर्‍यो। कर्मा कार्यवाहक अध्यक्ष भए। यद्यपि सर्वोच्च अदालतको अन्तरिम आदेशले गीतालाई पदमा कायमै राख्यो। मंसिर २ गते कर्मासँग मिलेर ताल्चा फोड्दै एन्फा कम्प्लेक्स फर्किन गणेश सफल भए। 

विवाद उत्कर्षमा पुगेपछि तत्कालीन शिक्षा तथा खेलकुद सहायकमन्त्री रवीन्द्र खनालको उपस्थितिमा एन्फा एकीकरण भएको भन्दै थापाले पत्रकार सम्मेलन गरे। उनले कर्मालाई वरिष्ठ उपाध्यक्ष र तुलाधरलाई केन्द्रीय सदस्य बनाए। तर काठमाडौँका अधिकांश ‘ए’ र ‘बी’ डिभिजन क्लबसँग राम्रो सम्बन्ध भएका इन्द्रमान फुटबल क्लबलाई सुविधा र अधिकार कम भएको भन्दै २०६३ सालमा आन्दोलनमा होमिए। 

उनी त्यतिमै रोकिएनन्। एन्फाको समानान्तर संघको रूपमा राखेपमा विजयनारायण मानन्धरलाई अध्यक्ष र आफूलाई महासचिवमा राख्दै 'नेपाल फुटबल संघ' दर्तासमेत गर्न भ्याए जसलाई राखेपमा दोस्रो कार्यकाल सम्हालेका तत्कालीन सदस्य सचिव जीवनराम श्रेष्ठले मान्यता दिए। यो विवादले करिब तीन वर्षसम्म घरेलु फुटबल पूर्णरूपले प्रभावित बन्यो।  

पछि तत्कालीन युवा तथा खेलकुदमन्त्री गोपाल शाक्यको पहलमा सात बुँदे सहमतिसहित एन्फा–नेपाल फुटबल संघको विवाद अन्त्य भएको घोषणा भयो। थापाले विगतका कमीकमजोरी सच्याउने वाचासहित एन्फा पारदर्शी ढंगले सञ्चालन गर्ने सहमति गरे। आन्दोलनले निकास पायो। त्यसको फल भने फेरि पनि विजयमान र इन्द्रमानको भागमा पर्‍यो। विजयमान उपाध्यक्ष र इन्द्रमानले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद पाए। उनी भन्छन्, “२०६३–६४ मा आफैँ नेतृत्वमा आउन चाहेँ, तर सकिनँ। नेतृत्व गर्न नसकेपछि मिलेँ।” 

त्यसयता उनी करिब एक दशक गणेशको प्रिय पात्रमै रहिरहे। अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले गणेशलाई भ्रष्टाचारको आरोपमा प्रतिबन्ध लगाउँदा होस् या उनीनिकट नरेन्द्रलाल श्रेष्ठ कार्यवाहक अध्यक्ष हुँदा नै किन नहोस्, इन्द्रमान शक्तिमै रहे। 

२०७४ वैशाख २ गते कर्मा, विजयनारायण श्रेष्ठ र पंकज ‘चेन्ज एन्फा’को नारासहित चुनावमा होमिए। गणेशपक्ष कमजोर बन्ने आकलन गरिसकेका इन्द्रमान महासचिवको ‘डिल’ गर्दै कर्मा प्यानलमा फर्किए। कर्माले पनि आफूलाई सघाएबापत उनलाई महासचिवमा नियुक्त गरे। तर, उनको चारवर्षे कार्यकाल त्यति सुखद् रहन सकेन।

रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित हातेमालो सामुदायिक वनको जग्गामा महिला फुटबल एकेडेमी बनाउन प्रतिस्पर्धाबिनै एक करोड सात लाख रुपैयाँ बढीको निर्माण र फ्लोरिङको ठेक्का नेपाटेक प्रालिलाई दिएको, खेलाडीले भन्दा बढी तलबसुविधा लिएको, एन्फाको रकम हिनामिना गरेको आरोप उनीमाथि लागिरह्यो। 

फिफाले पनि बोलपत्र आहृवान नै नगरी ठेक्कापट्टा दिएको भन्दै एन्फामा ‘कन्ट्रोल फन्डिङ’ शुरू गर्‍यो। तर इन्द्रमानलाई कुनै फरक परेन। उनी उल्टै पुन: एन्फामा फर्किन कर्मालाई सघाउन 'फ्रन्टलाइन'मा देखा परे। यद्यपि २०७९ साउनमा भएको महाधिवेशनमा नेम्वाङसँग ६ मतले कर्मा पराजित हुँदा उनको आशामा तुषारापात लाग्यो। त्यसयता उनको नजर तेक्वान्दोतर्फ मोडिएको थियो। 

गत पुष ५ गते राखेपले उही प्रकृतिको दुई संघ रहेको भन्दै नेपाल तेक्वान्दो संघ विघटन गरी तदर्थ समिति बनायो। प्रदीपराज जोशीको अध्यक्षतामा बनेको नेपाल तेक्वान्दो महासंघमा इन्द्रमान महासचिव नियुक्त भए। तर तेक्वान्दो संघलाई निरन्तरता दिन उच्च अदालत पाटनले पुस २१ गते आदेश दिएपछि भने इन्द्रमान पुन: फुटबल राजनीतिमा फर्किएका हुन्। 

कर्मानिकट एक व्यक्तिका अनुसार शक्तिमा फर्किन इन्द्रमानले नै अध्यक्ष पंकज र महासचिव किरण राईविरुद्ध बर्खास्तीको प्रस्ताव हाल्ने योजना बुनिएको थियो। कर्मा भने यसमा सहमत थिएनन्। बर्खास्तीको प्रस्ताव सफल भए को अध्यक्ष बन्ने भन्नेमा कर्माले जिज्ञासा राखेका थिए। इन्द्रमानले कर्मालाई नै अगाडि सारे। 

“कर्मा दाइले काम गर्न दिऔँ। बर्खास्तीको प्रस्ताव नहालौँ, सफल भइँदैन भन्नुभएको थियो। तर उहाँलाई पद चाहिएको रहेछ। उहाँले तपाईं अध्यक्ष बन्नुस्, म सघाउँछु भनेर प्रस्ताव हाल्नुभयो,” ती व्यक्ति भन्छन्, “कर्मा दाइ अध्यक्ष बन्न चाहनुभएकै थिएन। उहाँलाई नै पद चाहिएको भएर होला १९ बुँदे आरोप लगाउँदै बनाइएको प्रस्तावमा हस्ताक्षर गर्न उहाँ आफैँ क्लबका प्रतिनिधिको घरघरमा पुग्नु भएको हो।”

उक्त प्रस्ताव दर्ता भएपछि भने पंकज पक्षले इन्द्रमानलाई सीईओ पद दिने आश्वासन दिएको थियो। उनले सीईओको अधिकारसहित आफ्नो पक्षको जिम्मेवारी खोजेका थिए। सीईओमा छिर्दा उनले आकर्षक तलबसुविधा त प्राप्त गर्थे नै, फिफा र एएफसीको जिमेल आइडीमा सहेत सहज पहुँच बनाउने तय थियो। तर कर्मा समूहको चर्को दबाबले उनी त्यसबेला एन्फा छिर्न नसकेको ती व्यक्ति बताउँछन्। 

त्यसैले उनी हेटौँडाको विशेष साधारणसभासम्म पुगेका हुन्। तर विधिसम्मत नभएको भन्दै कर्मा समूहले साधारणसभा बहिस्कार गरेको थियो। आफू कुनै हालतमा पंकज र किरणलाई हटाउनुपर्ने पक्षमा पुगे पनि कर्मा समूहले बहिस्कार गर्दा मतभेद सिर्जना भएको इन्द्रमान बताउँछन्। विशेष साधारणसभाको मतदानमा ५२ मत ल्याएर पंकजविरुद्धको बर्खास्तीको प्रस्ताव असफल भयो। इन्द्रमानले आफ्नो समूहमा रहेको १५ मत पंकजलाई नै दिए। उनले भने मत हालेनन्। 

“म बहिस्कार गर्नुहुँदैन भन्ने पक्षमा थिएँ। तर सबैलाई मनाउन सकिएन। त्यहाँबाट हामीबीचमा केही भिन्नता रह्यो। हाम्रा कतिपय साथीहरुले मतदानमा भाग लिनुभयो। पछि बैधानिक अध्यक्षविरुद्ध अख्तियार र अदालतमा मुद्दा दर्ता भएको सुनेँ। त्यसमा मसँग सल्लाह भएन। यसरी हुँदैन भनेर म जिम्मेवारीसहित फुटबल विकासमा फर्किन तयार भएको हुँ,” उनी भन्छन्। 

कर्मा समूहले भने उनलाई अवसरवादीको ‘ट्याग’ लगाएका छन्।  एन्फाबाहिर हुँदा क्लब आन्दोलन चर्काउने र ‘डिल’ मिलेपछि पुन: एन्फा फर्किने उनको पुरानो स्वभाव भएको त्यो समूहको निष्कर्ष छ। यो घटनाले 'घुन र मकै छुट्टिएको' समूहका एक सदस्य बताउँछन्। तर आफू फुटबलमा काम गर्न चाहने व्यक्ति भएको कारण कर्मा समूहका ती आरोपहरूको खण्डन नगर्ने इन्द्रमानले बताए। 


सम्बन्धित सामग्री