Saturday, May 11, 2024

-->

प्रसाईंको ‘अभियान’मा आएकाहरू भन्छन्– घरबाट बोलाउन थालिसके

वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज मिनाहाको आसमा देशका विभिन्न स्थानबाट प्रसाईंको ‘आन्दोलन’मा सहभागी हुन आएकाहरूलाई घरपरिवारबाट फर्किन दबाब आउन थालेको छ।

प्रसाईंको ‘अभियान’मा आएकाहरू भन्छन्– घरबाट बोलाउन थालिसके
तस्वीरहरू : किसन पाण्डे

काठमाडौँ– तनहुँको दमौलीबाट काठमाडौँ आएका मनकुमारी लामा र पवित्रा मियाँ तीन दिनयता मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ भनिने प्रदर्शनमा सहभागी हुँदै आएका छन्। केही समयअघि दमौलीमा आयोजित कार्यक्रममा प्रसाईंले आफ्नो दबाबमूलक अभियानले सरकारले २० लाखसम्मको ऋण मिनाहा गर्ने आश्वासन दिएपछि उनको अभियानमा सहभागी हुन काठमाडौँ आएको उनीहरू बताउँछन्।

मनकुमारीले व्यावसायिक रूपमा बाख्रा पालनका लागि सातआठ लाख रुपैयाँ लघुवित्तबाट लिएकी थिइन्। पवित्राले आफ्नो छोरीको उपचारका लागि सरसामान धितो राखी ऋण झिकेकी थिइन्। आफूहरूले लिएको ऋणको ब्याज मात्र मिनाहा हुँदा पनि ठूलो राहत पाउने आसले उनीहरू तीन दिनयता प्रसाईं पक्षधरका कार्यक्रममा सहभागी हुँदै आएका छन्।

“हामी कुनै पार्टीबाट आएको होइन, हामीलाई उहाँले काठमाडौँ आउनु, यस (अभियान)मा सहभागी भए ऋण मिनाहाका लागि दबाब दिन सकिन्छ। २० लाखभन्दा कमको ऋण तिर्ने नपर्ने गराइदिन्छौँ भनेर ल्याउनु भएको थियो,” लामा भन्छिन्, “हाम्रो ब्याज मात्र पनि मिनाहा गरिदिए हुने।”

सहभागी अघिल्ला दिनभन्दा न्यून देखिनुको कारण सोध्दा उनले टियर ग्यासका कारण स्वास्थ्यमा समस्या देखिएका कारण कतिपय उपस्थित हुन नसकेको र कोही घरबाट बोलाएपछि घर फर्किएको सुनाइन्।

मंसिर ७ गते बल्खुमा आयोजित प्रदर्शनका क्रममा भीड अनियन्त्रित भएपछि प्रहरीले टियर ग्यास प्रहार गरी प्रसाईंका समर्थकलाई तितरबितर बनाएको थियो। मंसिर ८ गते तीनकुनेमा कार्यक्रम गर्ने प्रसाईंको घोषणालाई काठमाडौँ जिल्ला प्रशासनले अनुमति दिएको थिएन।

अराजक गतिविधि बढाएको भन्दै प्रशासनले प्रसाईं र उनी नेतृत्वको समूहलाई तीनकुनेमा प्रदर्शनको अनुमति नदिएको भनेको थियो। अनुमति नदिएको क्षेत्रमा भेला भएको भन्दै प्रहरीले बल प्रयोग गरी तीनकुने क्षेत्रमा आएकाहरूलाई पक्राउसमेत गरेको थियो।

शनिबार भने गौशालास्थित जयबागेश्वरी पछाडिको सिफलचौरमा प्रसाईं पक्षधरले कार्यक्रम आयोजना गरेको थियो। शनिबार प्रदर्शनमा सहभागी हुनेको संख्या न्यून थियो। “आन्दोलनमा आएका कतिपय साथी टियर ग्यासको कारण बिरामी परेको छन्। कोही घर फर्किएको छन्,” मियाँले भनिन्। उनले केही मानिसहरू काठमाडौँ आउने क्रममा रहेको पनि सुनाइन्। ऋण मिनाहा हुने आश्वासन पाएकी उनले घरबाट फर्किन दबाब आए पनि सकेसम्म काठमाडौँमै बसी दबाबमूलक कार्यक्रममा सहभागी हुने मनसाय व्यक्त गरिन्।


शनिबारको कार्यक्रममा भेटिएका नवलपरासीको नवलपुरका शेषनारायण ढुंगाना ऋणका कारण अन्यायमा परेकाहरूलाई साथ दिन आएको बताउँछन्। ०४६ सालमा आफूसहित १५ जनाले माछापोखरी र उद्योगधन्दा गर्दा लिएको ऋण कारणवश समयमा तिर्न नसक्दा मुद्दामामिला गर्दै अन्ततः मिनाहा भएको अनुभव सुनाए। अहिले आफूमाथि ऋण नभए पनि ऋणैका कारण पीडित बनेकाहरूलाई न्याय मिलोस् भन्ने उद्देश्यले प्रसाईंको अभियानमा लागेको बताए। यद्यपि, तीन दिनअघि काठमाडौँ आएका उनलाई घर फर्कन परिवारका सदस्यहरूले दबाब दिन थालेका छन्।

“यहाँका दाजुभाइ, दिदीबहिनीको समस्या नै मेरो समस्या हो। ब्याजस्याज मिनाहा होस् भन्ने उद्देश्यले आएको हुँ। सबैलाई दुःख मर्का परेको छ,” उनले भने, “तीन दिन भयो यहाँ बसेको, अब घरबाट बोलाउन थालिसके।” देशको अवस्था र आफ्नो सम्पत्ति भन्न नपाउँदा आफूलाई चिन्ता लागेको उनी सुनाउँछन्।


प्रदर्शनमा अघिल्ला दुई दिनको तुलनामा शनिबार आधा प्रतिशत सहभागी कम भएको उनी स्विकार्छन्। मानिसहरूको सहभागिता पातलिँदै जानुको कारणबारे उनी भन्छन्, “कतिपय साथीहरू बिस्तारै घर फर्कन थालेका छन्। घर व्यवहार पनि हेर्नै पर्‍यो।” प्रसाईंको अभियानमा सहभागी हुन आएकाहरूमाथि शुक्रबारसम्म अलिक कडाइ गरिएको तर शनिबार सजिलै हिँडडुल गर्न दिइएको उनको अनुभव छ।

लामा, मियाँ र ढुंगानाजस्तै ऋण मिनाहाको आसमा देशका विभिन्न भागबाट आएकाहरूको बसाइँ पशुपतिबाट दक्षिणतर्फ रहेको वीरेन्द्र चोकस्थित एक पार्टी प्यालेस छ। त्यहाँ उनीहरूका लागि खानपिनको व्यवस्था गरिएको उनीहरूको भनाइ छ। शनिबारको कार्यक्रममा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको थियो। कार्यक्रममा मानिसहरूको उपस्थिति पातलिँदै गएको प्रसाईंले समेत स्वीकार गरेका थिए। यद्यपि, उनले विरोध कार्यक्रम निरन्तर अगाडि बढाउने बताउँदै उपत्यकावासीलाई पनि सहभागी हुने भनेका थिए।


सम्बन्धित सामग्री