बाकुनिनका कुरा पहिलो पटक सुन्दा आवेगपूर्ण र आक्रोशयुक्त लाग्छन्, तर समाज, राज्य र काल्पनिक ईश्वरका नाममा हुने गरेका तमाम कर्म देख्दा भने उनको तर्क युक्तिसंगत लाग्छन्।
जबसम्म स्वर्गमा भगवान् हुनेछन्, हामी पृथ्वीमा दास भएर बाँचिरहेका हुनेछौँ। राज्य केबल कसैको प्रभुत्व, वर्चस्व र शोषणका लागि मात्र हो, जुन विविधतायुक्त र व्यवस्थित हुन्छ। राज्य हुन्जेल एउटा वर्गले अर्को वर्गमाथि नियन्त्रण र शोषण गरी नै रहन्छ र फलस्वरूप त्यहाँ दासत्व कायम भइरहन्छ। दासत्वबिनाको राज्य कल्पनाभन्दा परको कुरा हो। शासकका केही आसेपासे र झोलेले मात्र राज्यबाट फाइदा लिन सक्छन्। राज्य र दासत्व एक अर्काका अधीन र आश्रित हुन्छन्। दासबिना राज्य सम्भव छैन। त्यसैले वृहत् मानव कल्याणार्थ राज्य र भगवान् दुवै मनबाट र विश्वबाट हट्नुपर्छ। भगवान् र राज्य पनि अन्योन्याश्रित छन्, किनकि राज्यको अस्तित्वका लागि शोषकहरूले दैवी शक्तिको स्रोत र विश्वास खोजिरहेका हुन्छन् (गड एन्ड द स्टेट नामक पुस्तकमा मिखाइल बाकुनिनको अभिव्यक्तिको भावानुवाद)।
बाकुनिनका कुरा पहिलो चोटी सुन्दा आवेग र आक्रोशयुक्त लाग्छन्, तर समाज, राज्य र काल्पनिक ईश्वरका नाममा हुने गरेका तमाम कर्म देख्दा भने उनको तर्क युक्तिसंगत लाग्छ। मानव जातीबीच रहेको दासत्व-चेत हटाउन प्रथमतः मान्छेको मस्तिष्कबाट नै मानव जाति तथा समग्र जीव उत्पत्तिबारे विद्यमान गलत धारणा हटाउनु अपरिहार्य हुन्छ। त्यसका लागि मान्छेको सोच सृष्टिवाद (भगवान्ले नै सबै ब्रह्माण्डको सिर्जना गरेका हुन् भन्ने अवधारणा) बाट डार्बिनको विकासवादतिर, अध्यात्मबाट विज्ञानतिर र आदर्शवादबाट भौतिकवादतिर उन्मुख हुनु आवश्यक हुन्छ।
आफ्नो प्रख्यात पुस्तक 'गड एन्ड द स्टेट' (सन् १८८२) को पहिलो अध्यायको शुरूमा नै बाकुनिन भन्छन्: आदर्शवादी र भौतिकवादीमध्ये को ठिक छ भन्ने प्रश्न जब तेर्सिन्छ, बिनाहिच्किचाहट उत्तर स्पष्ट छ : निस्सन्देह आदर्शवादी गलत छन् र भौतिकवादी सही छन्। तथ्य या यथार्थ विचारभन्दा अघि हुन्छ। जस्तो प्राउधोनले भनेका थिए, 'आदर्श एक फूल हो, जसको जरा अस्तित्वको भौतिक परिस्थितिमा गाडिएको हुन्छ। मानव जातिको बौद्धिक, राजनीतिक, सामाजिकलगायत समग्र इतिहास केवल आर्थिक इतिहासको प्रतिविम्ब मात्र हो।'
बाकुनिन १९औँ शताब्दीका एक सक्रिय क्रान्तिकारी र अराजकतावादी योद्धा थिए। रुसमा जुलाई १८१४ मा जन्मेका उनी समाजवादी अराजकतावाद या 'अशासनवाद' विचारधाराका अग्रज थिए। उनको र कार्ल मार्क्सबीच शुरूमा निकै आत्मीय सम्बन्ध भए पनि पछि गएर केही सैद्धान्तिक मतान्तर बढ्न थाल्यो। धेरै विषयमा यी दुईबीच कुरा मिले पनि एक प्रमुख मुद्दामा दुईबीच मतभिन्नता थियो। मार्क्स पूर्ण समाजवाद हासिल गर्न केही समय शक्ति केन्द्रिकरणको समर्थक थिए भने मिखाइल बाकुनिन पूर्ण समाजवादको लागि केन्द्रित या विकेन्द्रित राज्यको उन्मूलनको पक्षमा लड्नु अपरिहार्य मान्थे।
मार्क्स सर्वहाराको अधिनायकत्वको समर्थक थिए, जहाँ एक दलको अधिनायकत्व हुन्छ। अन्त्यमा सर्वहारामाथि नै शासन हुन्छ। सोही कारण बाकुनिन मार्क्सको विरोध गर्थे। बाकुनिन राज्यविहीन समाजवादको पक्षधर थिए। वास्तवमा कुनै पनि राज्य व्यवस्था प्राय: गरिब, सर्वहारा या निमुखाकामा पक्षमा हुँदैन। उदाहरणका लागि कुनै दलित, गरिब किसान या मजदुर र साहु महाजन, व्यापारी या उच्च ओहदामा बस्नेबीच झगडा या मुद्दा पर्यो भने पैसा र शक्तिको बल भएकाकै प्राय: पल्लाभारी हुन्छ। अदालतले पहुँचवालाकै हित संरक्षण गर्छ भन्ने ठानिन्छ। देशका प्रहरी, सेना, अदालतलगायत धेरैजसो निकाय शक्तिशाली र धनीमानी वर्ग र समुदायकै पक्षधर हुन्छन्, हितकारी हुन्छन्। त्यही वर्गले राज्यका निकाय सञ्चालन गरिरहेका हुन्छन्।
जसको घरमा अकुत धन सम्पत्ति छ, त्यसको सुरक्षाका लागि प्रहरी र सेनाको आवश्यक पर्छ भने घरमा धन सम्पत्ति नहुनेका लागि केको सुरक्षा चाहियो? जसको सम्पत्तिको नाममा बल्लतल्ल एउटा निम्छरो ज्यानबाहेक केही हुँदैन। राज्य मूल रूपमा हुनेखानेहरूको हित रक्षाका लागि उभिन्छ। बरु, हुँदा खानेहरू राज्यका निकायहरू बेलाबेला उत्पीडन र अन्यायमा पर्छन्।
अर्को कुरा, परम्परादेखि धर्म र राज्यमा परस्पर बलियो सम्बन्ध रहिआएको छ। दुवै पूर्ण रूपमा अन्योन्याश्रित छन् अर्थात् राज्य र शासकलाई आफ्नो शासन सुदृढ बनाउन धर्म चाहिन्छ भने धर्मलाई सधैँ राज्यको प्रश्रय, अभिभावकत्व र संरक्षण अपरिहार्य हुन्छ। यसबारे मिखाइल बाकुनिनले उनको किताबमा अझै प्रस्ट भनेका छन्: "राज्यबिना धर्म टिक्नै सक्दैन अर्थात् धर्मबिना राज्य अस्तित्वविहीन बन्छ। संसारका तथाकथित स्वतन्त्र राज्यलाई हेरौँ - संयुक्त राज्य अमेरिका, स्विस महापरिसंघ। उनीहरूका आधिकारिक भाषणहरूमा राज्यका लागि सधैँ भगवान् या विधाताको कृपा, अनुकम्पा र संरक्षण आदि कुरा सधैँ स्पष्टतासाथ व्यक्त हुन्छ।"
सबै धर्मप्रति उस्तै व्यवहार गर्ने धर्मनिरपेक्षताको नीति संविधानमा उल्लेख गरेको नेपाल राज्यका कतिपय अभिजात र शक्तिशालीहरू आजका दिनमा नेपाल धर्म सापेक्ष देश या हिन्दू राष्ट्र हुनुपर्छ भनेर आन्दोलन उचाल्न खोजिरहेका छन्, किनकि त्यहाँ उनीहरूको स्पष्ट र सूक्ष्म निहित स्वार्थ घुसेको हुन्छ। बाकुनिनको तर्क छ, 'मान्छेहरू चर्च या मन्दिरमा जानुमा नितान्त त्यही कारण देख्छन्, जुन कारण उनीहरू भट्टी जान्छन्। यी दुवै ठाउँमा उनीहरू क्षणिक आनन्दानुभूति गर्छन् , स्वतन्त्र भएको महसुस गर्न सक्छन्।'
हाम्रो तथाकथित प्रजातान्त्रिक या गणतान्त्रिक राज्य व्यवस्था कसरी चलिरहेको छ भनेर बुझ्न बाकुनिनको उल्लेखित उद्धरण नै काफी हुन्छ, 'राजतन्त्र र प्रजातान्त्रिक गणतन्त्रमा एउटै मात्र विशेष फरक हुन्छ; पहिलोमा नोकरशाहीको बोलवाला हुन्छ, जहाँ धनिमानि र शक्तिशालीहरूलाई पोस्न जनतालाई चुसिन्छ र राजा रजौटाद्वारा देशको ढुकुटी रित्याइन्छ भने दोस्रोमा अर्थात् कपोलकल्पित गणतन्त्रमा पनि फरक तरिकाबाट जनताको रगत चुस्ने, उही आफ्ना र आसेपासेलाई पोस्ने बाहेक अरू केही हुँदैन।"
२१औँ शताब्दीको पुँजीवादी व्यवस्थामा दासको परिभाषा पनि बदलिसकेको छ। आजकाल को दास हुन् र को स्वाधीन छ भनेर छुट्याउन त्यति सजिलो छैन। आजका दासहरू अदृश्य र अगोचर हुन्छन्। बाहिरबाट हेर्दा आजका दासहरू स्वतन्त्र देखिन्छन्; हेर्दा सम्पन्न देखिन्छन्। राम्रै लुगा लगाउँछन्, मिठै खाना खान्छन्। बेलाबेला तारे होटेलमा भोजन गर्नसम्म पुग्छन्। तर गहिरिएर उनीहरूको कामको प्रकृति र उनीहरूप्रति तिनका रोजगारदाताको व्यवहार हेर्दा मात्र उनीहरू दासत्वको पासोमा रहेको बुझिन्छ। रोजगारदाता या संस्थाको अन्तर्निहित स्वार्थ र सूक्ष्म भेद बुझ्न सके आजका दास (कर्मचारी)हरूको अवस्था बुझ्न सकिन्छ।
न्युन स्तरका कर्मचारी र मजदुरहरूको 'दासझैँ जीवन'लाई सहजै ठान्न सकिन्छ, आजका उच्च ओहदाका प्रमुख कार्यकारी अधिकृत पनि शेयरधारक या रोजगारदाताका सामु झुक्छन्, नतमस्तक हुन्छन्। रोजगारीको निरन्तरताका निम्ति नैतिकताले नमिल्ने कामसमेत गर्न विवश बन्छन्। त्यो वास्तवमा दासत्व नै हो। यसरी हेर्दा उपल्लो ओहदामा काम गर्ने र धेरै तलब लिने कार्यकारी अधिकृतहरू आजका दिनमा साधारण कर्मचारी र मजदुरभन्दा पनि अझ जटिल र सूक्ष्म दासत्वमा बाचिरहेका हुन्छन् भन्दा अन्यथा नहोला।
चपरासी, अस्थायी कर्मचारी या घरेलु कामदारहरू आफ्नो नोकरीमा जाँदा आफ्नो रोजगारदाताबाट त्यति त्रस्त रहँदैनन्, पेसासँग उति अनुरक्त पनि हुँदैनन्, जति ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकृत रहन्छन्। तिनका लागि ओहदा र शक्ति अप्राप्य र दुर्लभ हुन्छ भने तल्लो तहका मजदुरका लागि तुलनात्मक रोजगारी सुलभ हुन्छ। यसरी हेर्दा चिल्ला, सुकिला र महँगा गाडी चढेर हिँड्ने कतिपय व्यक्ति सूक्ष्म र अदृश्य रूपमा दासत्वमा बाँधिएको बुझिन्छ। उसो त पुँजीवादी समाजको मूल जरो पनि दासत्वसँग जोडिएको हुन्छ।
राज्य व्यवस्था र हरेक संरचनाको पदानुक्रम आखिर दासत्वमा नै आधारित हुन्छ। जब कुनै कर्मचारी संस्थाको पिरामिडको शिखरमा पुग्छ, उ तल गिर्ने भयमा हुन्छ। यसै पनि तल, उसै पनि तलको स्थितिमा रहेकालाई त्यो भय कम हुन्छ। बाकुनिनले आफ्नो पुस्तकमा समय काल अनुसार दासत्व फरक प्रकृति, नाम र पेसामा परिभाषित भएको उल्लेख गरेका छन्: प्राचीन समयमा देशहरूमा दुई वर्ग मात्र हुन्थे, मालिक र दास, जुन आज पनि एसिया-अफ्रिकामा प्रस्ट देखिन्छ। मध्य युगमा बँधुवा श्रमिक हुन्थे भने आज उनीहरूलाई ज्यालादारी भनिन्छ।
बाकुनिन आफ्नो पुस्तकमा भन्छन्, 'चाहे त्यो भगवान्को शासन होस् अथवा मान्छेको या राज्यको प्रशासन, मान्छेको पूर्ण स्वतन्त्रता र कल्याणको लागि सत्ताको उन्मुलन हुनु अपरिहार्य हुन्छ।' हामी कसरी हरपल कुनै शक्ति या सोचको दास बनेर बाँचिरहेको छौँ भन्ने कुरा उनको यस व्यङ्ग्यपूर्ण भनाइमा स्पष्ट हुन्छ-भगवान् सबै कुरा हुन्, शाश्वत हुन्; मान्छे भगवान्का अघि तुच्छ जाति हो, भगवान् सत्य, न्यायमूर्ति, सुन्दरता, जीवन, भद्रता र महानताका प्रतीक तथा शक्तिका श्रोत हुन्, भने मान्छे असत्य, झुट, अधर्म, अन्याय, दुष्टता, कुरूपता, नपुंसकता र मृत्युको प्रतीक हो।
एक दशक अघिसम्म मात्र राजालाई नेपालमा विष्णुको अवतार मानिन्थ्यो, सत्ताबाट हत्याइएका राजाप्रति सोही भावना राख्नेहरू अझै पनि केही होलान्। तर सत्ता चलाउनेहरूको चाल, जाल र रणनीति हो। ईश्वर अझै पनि संसारका धेरै जनसंख्याको लागि सत्य हो। त्यसो हुँदा राजालाई नै ईश्वर बनाइदिएपछि दासता झनै झांगिन सम्भव हुन्थ्यो। कोही धनी हुने र कसैले अवसर पाउनेजस्ता कुरालाई अहिले पनि सम्भवतः अधिकांश नेपाली पूर्वजन्मकै फल मान्छन्।
यस्तो सोच राज्यसत्तामा बस्ने तथा शोषण गर्नेहरूका लागि उर्वर भूमि हो। समग्रमा मान्छेहरू शोषित हुँदाहुँदै पनि किन शान्त, चुपचाप छन् या किन उनीहरू क्रान्ति तथा आफ्नो मुक्तिको लागि उठ्दैनन्, भ्रष्ट र शोषकविरुद्ध लड्न तयार हुँदैनन् भन्ने कुरा बुझ्न धर्म, राज्य, समाज र अर्थतन्त्रको संरचना बुझ्न जरुरत हुन्छ। बाकुनीनले यस पुस्तकमा शायद यही भन्न खोजेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
