Wednesday, May 01, 2024

-->

आन्दोलन दुर्गा प्रसाईंको, ‘कमान्ड’ माओवादीका पूर्वलडाकु र कार्यकर्ताको

बैंकबाट लिएको ऋणले घरजग्गा लिलाम भएका व्यक्तिहरू जम्मा गरेर काठमाडौँकेन्द्रित प्रदर्शनमा उत्रिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पूर्वमाओवादी लडाकु र कार्यकर्ताहरूले दह्रोसँग साथ दिएका छन्।

आन्दोलन दुर्गा प्रसाईंको ‘कमान्ड’ माओवादीका पूर्वलडाकु र कार्यकर्ताको 
पूर्वराजा ज्ञानेन्द्र र दुर्गा प्रसाईंको तस्वीरको आडमा उभिएका पूर्वमाओवादी लडाकु (बायाँबाट पहिलो) मकबुल मियाँ लगायतका प्रदर्शनकारीहरू। तस्वीर: दिपा दाहाल/उकालो

काठमाडौँ– बिहीबार बिहान ९ नबज्दै चाबहिलचोकमा सुरक्षाकर्मीहरू बाक्लो संख्यामा तैनाथ भइसकेका थिए। चोक र आसपासमा अघिपछिको भन्दा फरक दृश्य थियो। विवादमा परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन सडकमा आएका एक युवक चनाखो भएर सुरक्षाकर्मीहरूको आडैमा उभिएका देखिए। 

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिइएको प्रदर्शनमा सामेल हुन बिहान साढे १० बजे चाबहिलचोकमा जम्मा हुने सूचना पाएअनुसार उनी तम्तयार देखिन्थे। जब करिब ११ बज्यो तब प्रदर्शनकारीहरूको भिड उनको सामु आइपुग्यो र उनी त्यसको अग्रपंक्तिमै मिसिए। 

लगत्तै उनले ‘घरजग्गा लिलाम गर, वित्तीय आतंक बन्द गर’ भन्दै मुठ्ठी कसेर नारा लगाउँदै प्रदर्शनको अगुवाइ गर्न थाले। उनका नारा यतिमै सिमित थिएनन्। ‘सघीयता खारेज गर, वैदिक सनातन धर्म कायम गर, संवैधानिक राजतन्त्र कायम गर’ जस्ता नारा पनि जोशका साथ लगाउँदै उनी अघि बढे। यी नारा लगाउँदा लगाउँदै उनले आँसु झारेको देखियो। त्यसपछि नारा लगाउने कामको नेतृत्व अरू कसैले लिए। 

नारा लाउँदा लाउँदै भक्कानिएका ती युवक थिए– भरतपुर, चितवनका ३५ वर्षीय नविन गैरे। प्रसाईं नेतृत्वको अभियानमा नौ महिनाअघि नै सामेल भएका उनी त्यसको चितवन जिल्ला इन्चार्ज पनि हुन्। त्यसअघि आफू हाल सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) को चितवन जिल्लाका सदस्य रहेको उनैले बताए।  

कुनै बेला उनी माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को सचिवालय सदस्यसमेत थिए। २०७४ सालको संघीय निर्वाचनमा माओवादी अध्यक्ष एवं हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विगतका दुई वटा स्थानीय निर्वाचनमा उनैकी छोरीसमेत रहेकी रेणु दाहाललाई भरतपुर महानगरको मेयर पदमा जिताउन गैरे अहोरात्र खटिएका थिए। 

राजनीतिसँगै गैरेले पोल्ट्री व्यवसाय पनि गर्दै आएका थिए। व्यवसाय गर्न भनेर आफूले विभिन्न बैंकबाट एक करोड रुपैयाँ ऋण लिएको बताए। तर व्यवसाय गर्ने वातावरण नभएको र माओवादीले पनि आफूलाई नहेरेको कारण त्यस पार्टीबाट अलग्गिएर प्रसाईं नेतृत्वको अभियानमा लागेको उनले सुनाए। 

“प्रचण्डले गरिब जनतालाई बचाउँछु भनेर हाम्रो जिल्लाबाट पनि चुनाव जित्नुभयो। पटकपटक प्रधानमन्त्री हुनुभयो। तर उहाँले आफू र आफ्ना आसेपासेको हितमा मात्रै काम गर्नुभयो,” गैरेले भने, “उहाँलाई जिताएर सत्तामा पुर्‍याउने हामीलाई व्यवसाय गरेर खाने वातावरण पनि भएन। बाध्य भएर सडकमा आएका हौँ। ऋणका कारण कसैलाई मर्न दिनु हुन्न।” भ्रष्टाचार रोक्न र गरिब जनताको जीवनस्तर माथि उठाउन व्यवस्था परिवर्तन अनिवार्य रहेको उनले बताए। 

प्रधानमन्त्री दाहाल र उनकी छोरी रेणुलाई चुनाव जिताउन समर्पित भएर लागेका माओवादीकै भरतपुर महानगरका पूर्वअध्यक्ष शम्भु थापा पनि बिहीबारको प्रदर्शनमा जोशपूर्वक नारा लगाउँदै गरेका भेटिए। उनले प्रसाईं नेतृत्वको ‘महाअभियान’को युवा दस्ताको केन्द्रीय अध्यक्षका रूपमा आफूलाई चिनाए। 

“राजसंस्था हटाएर गणतन्त्र ल्याउन सहयोग गरेको हामीले नै हो। गणतन्त्र ल्याउन हजारौँ जनता शहिद भए, कैयौँ अंगभंग भए। नबलेको चुल्हो बल्ला भन्ने आसमा बसेको युवा म पनि हुँ,” थापाले भने, “गणतन्त्र ल्याएर नेताहरू शासक मात्रै भए। युवा लागुऔषधको व्यापारमा लाग्ने स्थिति बन्यो। अबको विकल्प दुर्गा प्रसाईं नै हो। त्यसैले उहाँलाई हामीले साथ दिएका छौँ।” 

प्रसाईंको अभियानलाई माओवादीको ‘पूर्वजनमुक्ति सेना’का कमान्डरहरूले नै साथ दिएको उनले दाबी गरे। प्रसाईंद्वारा गठित ‘कालोमोसो दस्ता’को संयोजकसमेत रहेका थापालाई यसअघि २०७९ फागुन २४ गते भरतपुरबाट प्रहरीले पक्राउ गरेको थियो। तर केही दिनमै उनी छुटे।

थापाले भने, “हामीलाई जताततैबाट आक्रमण गरिएको छ। यसमा एमाले सबैभन्दा अघि छ। हामीसँग पनि १० हजारको फोर्स छ। यो फोर्स बाहिर निस्कियो भने के हुन्छ? समयमै नेताहरूले सोचून्, खासगरी प्रचण्डले सोचून्।” चितवनबाट मात्रै सयौँको संख्यामा पूर्वमाओवादी कार्यकर्ताहरू प्रसाईं नेतृत्वको अभियानमा लागेको दाबी उनले गरे।  

दाहाललाई गोरखामा जिताउने कार्यकर्ता पनि सामेल 
प्रधानमन्त्री दाहालले २०७९ मंसिरको चुनावमा साबिकको चितवन निर्वाचन क्षेत्र नम्बर ३ छोडेर गोरखा–२ बाट चुनाव लडेका थिए। उनले जित पनि हात पारे। तर त्यहाँबाट यसपटकको चुनाव जिताएर प्रधानमन्त्री बन्न जनादेश दिने गोरखाका माओवादी कार्यकर्ता पनि दुर्गा प्रसाईं नेतृत्वको ‘अभियान’मा संलग्न भेटिए। 

तिनैमध्येका एक हुन्– रामबहादुर मल्ल। उमेरले ७० वर्ष पुग्न लागेका मल्ल लठ्ठीको सहारामा जुलुसको अघिअघि हिँडिरहेका थिए। चाबहिलदेखि रुद्रमती–बागमती करिडोर हुँदै बल्खुसम्मको ८ किलोमिटर दूरी उनले ठमठम हिँडेरै पार गरे। वृद्धास्थामा पनि किन आन्दोलनमा होमिनुभएको भन्ने प्रश्नमा उनको जवाफ थियो, “मैले बाबुराम भट्टराईलाई जिताउन सहयोग गरेँ। यसपटक प्रचण्डलाई पनि भोट हालेँ। तर म सँधै बेरोजगार भएँ।” 

त्यतिमै नरोकिएका मल्लले थप गुनासो पोखे, “दुई रोपनी जग्गा थियो। त्यै पनि छोरालाई विदेश पठाउँदा बैंकमा धितो राखेर ऋण लिएँ। जग्गा लिलाम भयो। छोरो पनि दुःख पाएर देश फर्कियो। परिवारकै उठिबास भयो। तर पार्टीले हेरेन। अब राजा आए हाम्रा दिन फर्किन्छन् भनेको सुनेँ अनि आन्दोलन गर्न आएँ।” यति भन्दै उनी पनि नारा लगाउन तम्सिए, “कालो धन बन्द गर, भ्रष्टाचारीलाई कारवाही गर, राजालाई सम्मान गर।” 

मल्लको परिवारले उठिबास भोगेको गोरखा–२ बाट दाहालभन्दा अघि पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराई निर्वाचित भएका थिए। दाहाल र भट्टराई दुवै माओवादी सशस्त्र द्वन्द्वका सहयात्री नेतासमेत हुन्। 

माओवादी नेतृत्वबाट निराश, प्रसाईंमाथि आस
बल्खु पुग्दै गरेको जुलुसमा चर्को नारा लगाउने अर्का व्यक्ति थिए– भिरकोट नगरपालिका, स्याङजाका मकबुल मियाँ। जुलुसको बीचमा गुडिरहेको एउटा जिपको पछाडि दुर्गा प्रसाईं र पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर ठड्याइएको थियो। तिनै तस्वीरहरूको आडमा उभिएर उनले नारा लगाइरहेका थिए। लामै समय चर्को स्वरमा नारा लगाएका मियाँ पनि पूर्वमाओवादी लडाकु हुन्। 

माओवादीमा संलग्न भएर २०५८ सालदेखि आफूले हतियार उठाएको उनले बताए। जिल्लास्तरीय मुस्लिम मोर्चाबाट माओवादीको राजनीतिमा होमिएका उनी त्यसको केन्द्रीय उपाध्यक्षसमेत भए। तर शान्ति प्रक्रियामा आइसकेपछि आफ्नो जिम्मेवारी बिर्सिएको माओवादी नेतृत्व सत्ता स्वार्थमा मात्रै तल्लिन रहेको र उसले आफ्ना कार्यकर्ताको दुःख भुलेको गुनासो उनले गरे। 

पटकपटक चेतावनी दिँदा पनि नेतृत्व सच्चिन नसकेपछि माओवादी छोडेर आफू प्रसाईं नेतृत्वको अभियानमा संलग्न भएको उनले बताए। “हामीले समानताका लागि युद्ध गरेका थियौँ। शान्ति प्रक्रियामा आइसकेपछि माओवादी नेतृत्वले गरिब जनतालाई हेर्छ भन्ने लागेको थियो,” मियाँले भने,” तर माओवादी नेतृत्व सत्तामा टिक्ने खेलमा मात्रै फस्यो। नेपाल झन् झन् विदेशीको खेलमैदान भयो। भ्रष्टहरूले देशलाई खत्तम गराए। त्यसैले माओवादी त्यागेँ, दुर्गा प्रसाईं रोजेँ।”

यो अभियानको गण्डकी प्रदेश इन्जार्च बनेका ऋषि चापागाईं पूर्वमाओवादी लडाकु नै हुन् जो बिहीबारको प्रदर्शनमा उस्तै उत्साहका साथ अगुवाइ गरिरहेका थिए। आफ्नो नेतृत्वमा करिब पाँच हजार मानिस काठमाडौँ आएको उनले दाबी गरे। 

आफैँ सामेल ‘सशस्त्र क्रान्ति’पछि सत्तामा आएको माओवादी राजनीतिबाट निराश भएका उनी ‘युवालाई रोजगारीको ग्यारेन्टी गर, भ्रष्टाचार बन्द गर, राजतन्त्र फिर्ता गर’ जस्ता नारा लगाउन व्यस्त थिए। निकै हतारमा रहेका चापागाईंले भने, “अहिले हाम्रो ध्यान आन्दोलनमा छ। यो आन्दोलन पहिलो चरणको मात्रै हो।” 

‘आन्दोलन’का अगुवा प्रसाईंले आफ्नै जिल्ला झापाबाट पनि पूर्वमाओवादी कार्यकर्ता जम्मा गरेका छन्। झापाकी समिता पोखरेल तिनैमध्येकी एक हुन्। माओवादी आन्दोलनमा बिताएको लामो समय अर्थहीन लागेपछि प्रसाईं नेतृत्वको ‘महाअभियान’मा जोडिएको उनले बताइन्। “म मत हाल्न योग्य भएदेखि माओवादीमा लागेकी हुँ। तर माओवादीका नेताहरू स्वार्थी भए। उनीहरूलाई सत्ताको मात्रै लोभ भयो। आफूले प्रतिनिधित्व गर्ने जनता भोकभोकै मरेको र लुटिएको उनीहरूलाई पत्तो भएन,” उनले भनिन्। 

त्यति भनेर पोखरेल पनि नारा लगाउँदै जुलुशको अघि लागिन्। उनको पछिपछि विभिन्न जिल्लाबाट आएका गृहिणी महिलाहरूको लाम थियो।  

त्यसो त पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का पूर्वस्वकीय सचिव विरु तामाङले पनि आफ्नो ‘महाअभियान’लाई साथ दिएको प्रसाईं आफैले दाबी गर्दै आएका छन्। उनको पछि लागेका पूर्वमाओवादी लडाकु तथा कार्यकर्ताहरूको दाबीअनुसार यसपटकको ‘आन्दोलन’मा काठमाडौँ आएका नागरिकमध्ये ३० देखि ४० प्रतिशत हिस्सा उनीहरूकै छ।


सम्बन्धित सामग्री