उच्च पहाडी भेगमा पाइने दुर्लभ रातो च्याउ खोज्न जुम्लाको पातरासीस्थित खालीका स्थानीय वर्षात् सकिएपछि वनतर्फ लाग्छन्। सुकेका रूखमा मात्र पाइने यो च्याउ टिप्न जोखिम भएको स्थानीय बताउँछन्।
जुम्ला- पातरासी गाउँपालिकास्थित खालीमा रहेको थापा होटेल एन्ड रेस्टुरेन्ट पुग्दा राममाया चुलो लिप्दै थिइन्। केहीबेरमा उनका श्रीमान् दाना थापाले एउटा पोको चुलो नजिकै राखिदिए। राममायाले खाना बसालिसकेपछि थापा दम्पती पोको खोलेर च्याउ सफा गर्न लागे।
पहाडको उच्च स्थानमा रहेको घाँसेमैदान। खप्तड र बडिमालिका जस्तै लाग्ने डाँडामाथि फराकिलो फाँट। यही फाँटको एक छेउमा छ दाना र राममायाको होटल।

उनीहरूले खालीमा होटल चलाएको १८ वर्ष भइसकेको छ। तर वर्षा सकिएपछि दानाको अधिकांश समय अजंगका पहाडको वनमा बित्छ। बर्षात्को अन्त्यसँगै उनी माथिल्लो भेगमा पाइने दुर्लभ जडीबुटी संकलनमा जुट्छन्। तीमध्ये एक हो रातो च्याउ।
स्थानीयले 'रातो च्याउ' नै भनेर चिन्ने यसको वैज्ञानिक नाम गानोडेर्मा एसपी हो। यो औषधिका रूपमा पनि प्रयोग हुने वनस्पतिविज्ञ डा. मान रोकाया बताउँछन्।

दाना वनमा सुकेका रूख खोज्दै हिँड्छन्। ती रूखमा उम्रिएका दुर्लभ च्याउ संकलन गर्छन्। रातो रङका ती च्याउ संकलन गर्न ठूलो मिहिनेत चाहिने उनी बताउँछन्। दानासँगै त्यहाँका गाउँले पनि यो च्याउ खोज्न वन चाहार्छन्।
यसरी संकलन गरेर ल्याइएको च्याउ एक-दुई दिन पारिलो घाममा सुकाएपछि बेच्न योग्य हुन्छ। गाउँका अरूले संकलन गरेको च्याउसमेत जम्मा गरेर व्यापारीलाई बेच्ने गर्छन् थापा।
दुर्लभ जडीबुटीमा पर्ने रातो च्याउ पाँच वर्ष अघिसम्म बेचबिखन गर्न निषेध थियो। दानाका अनुसार अहिले पुर्जी काटेर रातो च्याउलाई स्थानीय व्यापारीले खरिद गर्छन्। दाना आफूले संकलन गरेको च्याउ उनै व्यापारीलाई बेचेर राम्रो आम्दानी गर्छन्।

उनका अनुसार ठूलो भैसकेको च्याउको बजारमूल्य प्रतिकिलो ९ हजार रुपैयाँसम्म पर्छ। सानैमा टिप्दा व्यापारीले प्रतिकिलो २ हजार ५०० सम्म मात्र हाल्छन्। स्थानीयहरूले सानैमा टिपिदिँदा राम्रो मूल्य नआउने दानाको भनाइ छ। गाउँका सबैले गरेर यो सिजनमा अहिलेसम्म करिब सात किलो जम्मा गरेको र त्यसको बजार मूल्य करिब ६० हजार रहेको उनले बताए।
यी प्रजातिका च्याउ सुकेका रूखहरूमा मात्र पाइने हुँदा संकलन गर्न जोखिम हुने दाना बताउँछन्। एकपटक उम्रिएको स्थानमा हरेक वर्ष च्याउ क्रमिक रूपमा कम हुँदै जान्छ। यो च्याउको प्रमुख बजार चीन भएको दानाले बताए। स्थानीयले भने रातो च्याउको धुलो चियामा समेत प्रयोग गर्छन्।
बाँकी कथा भिडियोमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
